~एम.वी. बुढा~
म मुटु चलेको मान्छे कसरी भनुँ मरिसकेँ
म शरीर चलेको मान्छे कसरी भनुँ जलिसकेँ
म आँखा देखेको मान्छे कसरी भनुँ देश छ माथि
म सीमा टेकेको मान्छे कसरी भनुँ सीमा छ बाँकी ?
आमाको दूध चुसेको मान्छे कसरी भनुँ अशक्त भनी
पुर्खाको रगत बोकेको मान्छे कसरी भनुँ म हार्छु भनी
हरेक क्षण पलमा लड्छु कसैले देश चिथोर्न आए
म प्राण सकेरै भिड्छ, कसैले माटो बिगार्न लाए
म मुटु चलेको मान्छे….
थाहा छ मलाई माटोमा धेरै किराले चुस्न लागेका छन्
थाहा छ यही माटोमा हार खाई धेरै शत्रु भागेका छन्
थाहा छ मलाई कुन हातले यो देश सारा रित्तिदैछ
थाहा छ फेरि कुन पाराले यो देश सारा सिद्धिदैछ
म मुटु चलेको मान्छे…….
म रगत उम्लेको मान्छे कसरी सहुँ पराइको बुट
स्वतन्त्र बाँच्न चाहेको मान्छे कसरी सहुँ चोटमाथि चोट
म देशको मर्म बुझेको मान्छे कसरी भनुँ बुझ्दिन्न भनी
म कर्म बुझेको मान्छे कसरी भनुँ लड्दिन्न भनी
देशको कर्म बुझेको मान्छे कसरी भनुँ लड्दिन्न भनी
म मुटु चलेको मान्छे कसरी भनुँ मरिसकेँ
म शरीर चलेको मान्छे कसरी भनुँ जलिसकेँ
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २२ – April 7, 2013 – २०७० बैशाख ४ गते, बुधबार)