खण्डकाव्य : रैबार

~कविराज भट्ट ‘बिलौना’~

सारा भूतलमा वसन्त ऋतुको, हावा चलेको थियो
धर्तीमाथि जवानीको रस मिठो, सारा झरेको थियो ।।
आहा † जंगलमा अनेक थरीका, फूलै फुलेका थिए
यस्तो सुन्दर वन्विशे हरिणका पाठा डुलेका थिए ।। १ ।।

हावा सँग खेलेर खेल लहरा, हल्किरहेका थिए
गोधुलीपख सूर्यका किरण ती, टल्किरहेका थिए ।।
एउटा रुखविशे बसेर कोकिला, चरी ठूला स्वरले
दुःखी गीत बिछोडका मन छुने, गाईन बडो जोरले ।। २ ।।

एउटा युवक जो निरास चेहरा बोकी बसेको थियो
आºना प्रिय अतितका खतहरु, घोकी बसेको थियो ।।
सुनी कोकिल भाक ती बिरहका, आँशु बगाइकन
यस्ता गीत मिठा कसोरी तिमीले, गायौ मलाई भन ।। ३ ।।

भन्ने प्रश्न गरेर कोकिल तिरै, फर्कन्छ त्यो युवक
छोडी गीत मनुश्य देखि डरले, तर्कन्छ त्यो कोकिल ।।
लुकी हेर्दछे पातका पछि बसी, हो की शिकारी भनी
देखी वस्त्र पिताम्बरी अनि सोची, हो की भिखारी भनी ।। ४ ।।

देख्दा लाग्छ उमेर वर्ष बिसको, हाँस्ने र खेल्ने अहो
यस्तो निर्जन वन्विशे भन तिमी डाक्ने मलाई को हो ?
तिम्रा गीत सुने कठै † समयका, आँखा रसायो चरी
मिठा बात गरौँ कि ता समयका, रुखबाट आऊ भरी ।। ५ ।।

मै ता हुँ बनकी चरी तल झरी, मिठा कहानी गरी
फस्ने छैन बसी मनुश्य कहिल्यै, तिम्रा पिँजारा परी ।।
मान्छको भर हुन्न कुन समयमा, कस्तो मति लिन्छ त्यो
रोटी सँग बनाइ झोल कहिले, सुरुप् सुरुप् पिन्छ त्यो ।। ६ ।।

ए पंक्षी किन डर्दछेऊ न हुँ म ता, कुनै शिकारी पनी
माग्ने छैन म हड्डी ती दधिचका, कुनै भिखारी बनी ।।
एउटा स्वर सुने अनि समयले, यो मन् गलाई दियो
तिम्रा साथ बसेर बात गरने, आँधी चलाई दियो ।। ७ ।।

आजिवन् ब्रतमा छु आज गुलेली, ताक्छौ भनी सोच्दछेऊ
तिम्रो साग बनाइ भात कसरी, खान्छौ भनी सोच्दछेऊ ।।
सारा सुख बिसाइ दुःख जतिछन् , रोज्दै हिडेको म छु
राम्रो भावुकता हुने मन कतै, खोज्दै रिटेको म छु ।। ८ ।।

यस्तो बादककालमै यति कुरा, गर्छौ तिमीले किन ?
दुःखको सागर हुन्छ है अति कठिन, तर्छौ तिमीले किन ?
कस्तो दुःख प¥यो निरास चेहरा, बोकेर हिड्छौ किन ?
यस्तो पुष्प सरी जवानी घरमै , छोडेर हिड्छौ किन ? ।। ९ ।।

देखी दुःख गृहस्थीका तब तिमी, भागेर आयौ कि ता ?
गोपी चन्द जसै अजम्बर कया , मागेर आयौ कि ता ?
पासा खेल खेलेर राज्य धन सब, हारेर आयौ कि ता ?
कुन्ती द्रोपतीलाई नी त दुःखमा पारेर आयौ कि ता ? ।। १० ।।

गृहस्थी जब थे त दुःख पनि ता, भागेर हिड्थ्यो चरी
गोपी चन्द थिया त काल पनि भिख, मागेर हिड्थ्यो डरी ।।
पासा ता कहिल्यै खेलेन तर खै , हारे भनी सोच्दछु
मेरी द्रोपती कौरवादिहरु साथ, पारे भनी सोच्दछु ।। ११ ।।

ए पंक्षी सुन भन्दछु सब कुरा, खोली मनैको पोको
एउटै कारणले तथापी अरु ता, बाँकी न केही धोको ।।
आँखा बन्द गरे पनि हर घडी, तस्बिर एक् देख्दछु
खोल्दा कापी किताब नाम उनकै , सोची सोची लेख्दछु ।। १२ ।।

त्यही तस्बिर रोगको मुल हुँदा , औधी नमिल्दा पख
बाँच्नै सक्न कठिन भो जगतमा , छोडेर जाँदा तब ।।
कस्तो यो सब अन्धकारमय यो , मिलेछ संसार भनी
तस्मात् कारणले कठै † बनचरी, एकान्त प्रेमी बने ।। १३ ।।

एउटा नाम दिइन सदैव मनमा, जप्नु भनेकी थिइन
माला पूर्ण हुँदा अनि समयमै , थप्नु भनेकी थिइन ।।
गुरु नै बनी ज्ञानले भरी गइन, बन्का बीचैमा छोडिन
गर्नु ध्यान भनिन् परीक्षण भनी , आफू कता पो गइन ।। १४ ।।

गुरुले जब मन्त्रयो दिनुभयो, माला लिइ हातमा
जप्नु नित्य नछोड्नु पुर्ण नहुँदा, जागा हुनु रातमा ।।
आज्ञाले तब आइयो वनविशे, माला जपुला भनी
लामो होस् तर पूर्ण होस् भनी बसे, हप्ता र मैह्ना गनी ।। १५ ।।

भन्थिन रे तिनले सदैव मनमा , राख्छु पियारा भनी
तिम्रै स्वर सुनेर रातहरुमा , जाग्छु पियारा भनी ।।
सीता राम सरी बसेर रहुँला , आजन्म जन्मै तक
भन्थिन रे छोडि गै गइन बनविशे , मिल्ने तिनी हुन् कब ।। १६ ।।

आधा जीवन गै गयो पथविशे, हेरीरहेको म छु
उन्कै यादविशे जलेर जगमा, पागल् भएको म छु ।।
यस्तै हो सुन ए तिमी बनचरी , मेरा जीवनको कथा
गर्नु के अब बस्नु काँ सब कुरा, पंक्षी तिमी लौ बता ।। १६ ।।

एउटा बात मनुश्य आज अहिले, शंका मलाई भयो
भन्दै छौ गुरु हुन तथापी मन त्यो, कल्ले जलाई गयो ।।
नाता पर्दछ को ? को हुन ? किन उसै, तड्फीरहेछौ भन
कस्का निम्ति सुकाई आज तिमीले, राख्यौ फगत्मा तन ।। १७ ।।

माया मोह छ सर्मिलो जगतमा, श्वार्थी सबै मानव
छोरा छोरी पकाइ खान्छ जसले, सुखी उनै दानव ।।
कस्ले बुझ्दछ भावना ऊ त उसै, तन भित्र पो बस्दछे
भेटै हुन्न उडाई लान्छ गतिमा, मन भित्र पो फस्दछे ।। १८ ।।

शंका भो तिमीलाई ए वन चरी, सम्झाउँ कुन रीतले
नाता हुन्छ एकै भनेर कहिल्यै, भन्दैननी प्रीतले ।।
एउटा कोकिल गाउँछे विरहले, आफ्ना मिठा भाकमा
मैह्ना चैतविशे अनुज बहिनी , भेट्लान् भनी आसमा ।। १९ ।।

त्यही भाक सुनै कुनै विरहीले् , जो प्रेममा मर्दछन्
मेरी प्रियसी हो भनी समयले, शंका उनी गर्दछन् ।।
छोरा छन् परदेशमा त जननी, उन्ले सुनिन् यो भने
मेरा पुत्र भनेर भावुक हुँदा , हिच्की र आँशु बने ।। २० ।।

यस्तै रीत छ रे यहाँ बनचरी , नाता जोडु कुन अव
नारी रुप हजार जुन जस बखत् , पर्छन अगाडि तब ।।
मेरा निम्ति उनी तिहार पखमा, बैह्नी सरीकी भइन्
राता अक्षतको टिका मखमली, माला लगाई गइन ।। २१ ।।

लाग्दा भोख थकाइ प्यास कहिले , रोटी पकाई दिए
यी ता हुन् जननी भनेर ममता, झन् झन् बढाई दिए ।।
मेरा निम्ति बजारबाट कपडा , ल्याऊ भनेमा जब
छोरी हुन् यी भनेर सोच्दछु अहो †, उन्ले रुदामा तब ।। २२ ।।

प्रेमको दिवसमा गुलाफ रसिलो, पाए सबैले जब
त्यो बेला मन थाम्न लाल रसिलो, गुच्छो दिएमा तब ।।
मेरी प्रियसी हुन् सोचेर मनले, माया दिएमा थिए
उस्का निम्ति श्रृगार लाल कपडा मैले लिएको थिए ।। २३ ।।

जुन बेला उनी साँझमा कुटिविशे, छाया र माया बनी
गर्थीन चुम्बन यी कपोलहरुमा, मेरो पियारा भनी ।।
त्यस बेला म सोचे तिमी प्रियसी हौ , माया कति गर्दछेऊ
मेरा निम्ति नदी र सागरहरु, एक्लै तिमी तर्दछेऊ ।। २४ ।।

फेरी ज्ञान भूलेर अन्ध पथमा, दौडिरहेको देखी
गुरुका सरी ज्ञानका खतहरु मेरा उपरमा लेखी ।।
थामी हात देखाइ मार्ग जगमा , आऊ यता लौ भनी
ढोग गर्छु म झकेर भित्री मनले मेरी गुरु हौ भनी ।। २५ ।।

मेरो चञ्चल यो जवानी बसमा पार्ने बखतमा कठै †
भार्या हौ भनी सोच्छु र मनले , पाप्मा डुबीकन् तसै ।।
खेल्छु खेल रमाइ बालक बनी , तिम्रा सुधा बागमा
जवानी पनि गल्दछे परि अहो , तिम्रा मिठा तापमा ।। २६ ।।

आमा हुन् बहिनी गुरु र प्रियसी , पत्नी र छोरी पनि
नाता के म बताउँ ए बनचरी , मेरो यही हो भनी ।।
मनले भन्छ जसो उसो भनी दिए, के सर्म के लाज हो
केही छैन मलाई जात अहिले , के धर्म के पाप हो ।। २८ ।।

ए पंक्षी अब लौ बता म कसरी यो मन् बुझाउ भन
मेरो दुःख कहाँ लगेर अहिले , मैले लुकाउ भन ।।
जुन बेला पनि देख्दछु प्रियसीको, तस्बिर सामुन्नेमा
कुरा गर्दछ त्यो जसोरी उसमा , जीवन् रहेको छदा ।। २९ ।।

ज्यूनारी जब गर्दछौ त्यती बेला , सुरुवातका गासमा
सम्झिनु जलपानमा पनि उनी , भन्थिन छदा साथमा ।।
जुनबेला तिमी घोक्दछौ पुस्तकका , पैह्ला पाता मा छु म
हुने छ म बसेकी हेर्नु तिमीले , सारा कथामा छु म ।। ३० ।।

थाकी कर्म गरेर साँझ पखमा , पुग्दा तिमी घरमा
त्यो कुटी म हुँ सम्झिनु समयको , बिश्राम गर्नु वहाँ ।।
जान्छौ घुम्न जहाँ प्रकृतिका , बुट्टाहरु देख्दछौ
तिन्को सुन्दरता देखेर कविता भावुक बनी लेख्दछौ ।। ३१ ।।

बिना बादलनै कुनै बखतमा, पानी परेमा जब
इन्द्रेणी पनि श्वर्गबाट कहिले , धर्ती झरेमा तब ।।
सम्झिनु उपहार यो प्रियसीले, दिईन मलाई भनी
मिल्ने छु तिमीलाई आउँली म ता , हावा चलाई अनी ।। ३२ ।।

खाली छैन कतै पनि केही कुरा, प्रकृतिका काखमा
यस्तो निर्जन वन्महाँ पनि त हो , हुन्छिन उनी साथमा ।।
आधा जीवनता गयो प्रियसीकै , तड्फेर यादमा बसी
बाँकी जीवन यो कठै बनचरी बस्नु खरानी घसी ।। ३३ ।।

मेरो चित्त बुझाइ जाऊ तिमीले, बाँच्नु कसोरी अब
बालो वैश बोकेर दर्द मनमा , हाँसु कसोरी अब ।।
कस्ता शास्त्र पढुँ जहाँ मन मेरो , बस्ला मेरै पासमा
मै जस्तै ऊ पनि कतै पथविशे , होलिन् कि ता आसमा ।। ३४ ।।

हुँदिहुन् कुनहालमा कसविशे , मनका कुरा खोल्दछिन्
रुँदिहुन् कि बगाइ आँशु उनले, छाती उसै पोल्दछिन् ।।
जाँदिहुन् बनमा उनी समयको , डोको बोकी पिठमा
एकान्तस्थलमा फुकाली मनको , पोको उनी गीतमा ।। ३४ ।।

गर्दिहुन् कि बिलाप आँशुहरुका, धारा बगाइकन
खोल्दिहुन् कि कुरा ती मनका , सारा पराँइ कन ।।
लेख्दिहुन उन काव्य भावुक भई, मन्ले उनी झुर्दिहुन
हुलाकी खत ल्याउला कतिबेला , बाटो उनी कुर्दिहुन ।। ३५ ।।

हाम्रो आज समाज अन्ध पथमा , रुकिरहेको छ जो
पानी नै नभइ कुवा र पधेरो , सुकिरहेको छ जो ।।
बाटो, पुल, बिजुली, पानी अनि त्यो, स्कुल खोलीकन
छर्दै ज्ञान जगाइ पूर्ण जनता , जुटेर बोलीकन ।। ३६ ।।

मिली कर्म असल् गरेर यसको , सेवा गरौँला भनी
राम्रा फूल अनी मिठा फरोपी , बुट्टा भरौँला पनी ।।
बिग्रेका रीति ज्ञानका गीति भरी , राम्रा बनाइ कन
निमुखा , टुहुरा गरिब, सब ती हाम्रा बनाइ कन ।। ३७ ।।

लड्नेछौँ सब हक् मिलुन भनी सबै, सरकारका साथमा
रोक्ला दुस्मनले यदि सब मिली , ताकेर निधारमा ।।
दिनु पर्छ यदि भने पनि त ज्यान , यो देशका नाममा
दिइ जीवन पूर्ण नै हरघडी , समाजका नाममा ।। ३८ ।।

गर्नु पर्छ दया ती बृद्धहरुमा , भन्ने सिकाइ कन
साना बालकलाई प्रेम रसले , अक्षर लिखाइ कन ।।
ज्ञानको ज्योति छरी पुरै जगतमा, हाम्रा यी नानी हरु
चम्केलान र अमर बनेर रहलान् , होलान् यी दानी बरु ।। ३९ ।।

मिठा काव्य समाजका उपरमा, हामी लेखौँला भनी
पाइला यिन उन्नती शिखरमा , हामी टेकौँला अनी ।।
भन्थिन रे अब गै गइन् बनचरी ,एक्लो परेको म छु
माली आज नपाइ वागहरुमा , ओइली झरेको म छु ।। ४० ।।

तिम्रो क्रन्दन सुन्दछु मनुज ए , यो मन भरियो उसै
मेरा नेत्र अगाडि आज कसरी , कालो छरियो उसै ।।
तिम्रा भाव मिठा र सोचहरु ती , कस्ता थिए सुन्दर
तिम्रा दुःखहरु एकान्त वनमा , कस्ले यहाँ सुन्छ र ।। ४१ ।।

श्वार्थी यो दुनियाँ यहाँ बुझिदिने , छैनन कोही सज्जन
राम्रा काम गरे अनी मन भरे , हो मुर्ख यो भन्छन ।।
भन्छौ प्रेम गरे तथापी जनले सोच्लान , कुकर्मी भनी
पुराना रीति तोड्दथ्यौ त सबले , भन्लान अधर्मी भनी ।। ४२।।

यो संसार अपार सार यसको , को बुझ्न सक्ला यहाँ
दुःखी सागरमा उसै फगतमा , को रुक्न सक्ला यहाँ ।।
मान्छे ता कती श्वार्थीछन् सुन तिमी , आमा र छारी पनि
नाफा मिल्छ भने बेचेर रहनन , शत्रु सरीका गनी ।। ४३ ।।

सोच्नु मानव मन कुनै जन पनि, तिम्रो दुखाइ गए
ढुङ्गा पाउछ वृक्ष त्यो जसविशे, मिठा मिठा फल् भए ।।
मात्रै काम परे कुनै जनहरु , याद्् गर्दछन् ता पनि
अध्यारो छ होला म ता यस घडी , त्यो रोशनी हुँ भनी ।।४४ ।।

गल्ती ता एक पेज हो जीवनको , नाता किताबै सरी
च्यात्नु पेज अनि किताब त शखे , राख्नु सुरक्षा गरी ।।
मान्छेको पहिचान हेर उसको , व्यवहार जस्तो भयो
मिठा बात दिवारमा पनि कति , लेखी कसैले गयो ।। ४५ ।।

एउटै नै सुखले जीवन भरी खुसी , हुन्नन् कसैले चिन
एउटै दुःख परे हरेक घडीमा, गन्छौ तिमीले किन ।।
ढोका बन्द हुँदा सबै जनहरु , ढकढक गरी बस्दछन्
आऊ बस्नु भनेर आज दिलको , दैलो खोले भाग्दछन् ।। ४६ ।।

सारा जीवन नै कुनै जनविशे , सहयोग गर्दा पनी
एक्चोटी नसके पूरै जीवनका, गिन्ती सकिन्छन अनी ।।
हुन्नन साथ यदि कोही जनभने , खोज्छौ नमिल्ने फल
हुन्छन् साथ सदैव कोही जन ता , आउन्न रे अक्कल ।। ४७ ।।

जुनबेला तिमी जित्दछौ सोच यही , बानी मेरो हो भनी
हारेमा तिमी सोच्नु एक खुसीका , खाँतिर गरेको भनी ।।
नाम ठूलो कसरी भयो जगतमा, कामै नआए पछि
सागर व्यर्थ भयो र मात्र नदीले प्यासै बुझाइ गए ।। ४८ ।।

निरासा नहुनु कतै हरघडी , हुन्नौ सफल नै भने
अन्तिम पल्ट पनि सफल हुनपुगे , संसार नौला बने ।।
क्रोध गर्नु पनि हुन्न त्यो मनुजता , सुखा रुखैका सरी
निरस भैकन जान्छ यो जीवन नै , जान्छन छिटै ति मरी ।। ४९ ।।

दुस्मनलाई सजाय नै दिनु परे , खुसी हुनु पर्दछ
त्यो खुसी उसलाई जन्मभरी नै ठूलो सजा गर्दछ ।।
यो जीवन त छ नासवान त शखे , मृत्यु हुने हो भनी
तस्मात कारण कर्मता असलनै , गर्नु तिमीले पनि ।। ५० ।।

दिएको विधिले यहाँ जगतमा , दुई दिनको जीवन
एउटा सुख हुने कुनै दिन रुने , धिर राख्नु पर्ने मन ।।
यस्तो कर्म गरौँ पुरै जगतले , चिनुन मरेमा पनि
जस्तो जीवन होस् मिठा फल सरी , टिपुन झरेमा पनी ।। ५१।।

जस्तो दुःख परोस् यहाँ जगतमा , दुःखी देखेमा भन
चिन्ता गर्नु हुँदैन छु म अहिले , तिम्रो साहारा कन ।।
आºनो जीवन अन्धकारमय नै , हुने बखत्मा पनि
राम्रा तस्बिर ता ती बन्द कुटीमै , राखेर बन्छन् भनी ।। ५२।।

आºनो चित्त बुझाउनु ईश कतै , तस्बिर सुन्दर मेरो
बनाइकन भेज्छ की मकन ता , तक्दिर सुन्दर मेरो ।।
यात्रा जो सुरुवात गर्दछन त उनले गन्तव्यमा पुग्दछन
इच्छा राख्नु तिमी असल् जनहरु , पथबीच मै मिल्दछन् ।। ५३ ।।

राम्रो खोज्नु हुँदैन व्यर्थ समयै , फाल्छौ फगतमा किन
राम्रो बन्नु तिमी असल जनहरु , खोज्दै घुमेका छन ।।
त्यस्तो सुन्दर फूल् पनि सुन तिमी काँटाहरुका बीच
बस्छन् रे त्यस फूलझैँ अति मिठो , बन्नु तिमीले सिक ।। ५४ ।।

सानो एक् मुस्कानले अति निका , तस्बिर बन्छन् भने
पुरै जीवन हाँस्न सक्दछ भने , सुन्दर कति पो बने ।।
राम्रा मानिसलाई ता सब जना , मिल्छन कति साथमा
अज्ञानीहरु छन् जहाँ गइ त्यहाँ , बालौँ दीयो रातमा ।। ५५ ।।

यस्तै हो अब के भनु मनुज ए , जान्छु आहारा लिन
यो कर्म थलो सकिन अहिले , मैले साहारा दिन ।।
बिदा देउ मलाई यो समयमा, फेरी मिलेमा कतै
यस्तै बात गरेर मैल दिलको , सफ गरौँला सबै ।। ५६ ।।

कस्तो ज्ञान दियौ कठै † बनचरी , अज्ञान मेरो ह¥यौ
मिठा बात सुनाइ आज तिमीले कृपा मलाई ग¥यौ ।।
जत्ती बात गरे पनि बनचरी , यो मन कहाँ मान्दछ
जे जस्तो गरिए पनि मन मेरो फेरी उतै तान्छ ।। ५७ ।।

तिमी ता बनकी चरी घुमिघुमी, संसारमा डुल्दछेऊ
देखि रंग हजार यी बिरहका , सारा कुरा भुल्छेऊ ।।
जाऊ पंक्षी घुमेर आऊ तिमीले , उडेर आकाशमा भेटेमा
उनलाई यी सब कुरा , भन्नु तेरा भाकमा ।। ५८ ।।

मेरा गीत सुनाइ आऊ कोयली, तिम्रा मिठा भाकमा
यो रैबार लगेर जा प्रियसीका, राखी दिए काखमा ।।
जाऊ हाल बताइ आउ मनका , सारा मिलाई कन
तिम्रै ध्यान गरेर योग भूमिमा , बसी रहेछ भन ।। ५९ ।।

भन्दिनु जुन योगमा समय मै , बस्नु भनेकी थियौ
छोड्नु हैन अखण्ड गर्नु कमरै, कस्नु भनेकी थियौ ।।
धर्तीबाट आकाश मार्ग तिमीले , खस्नु भनेकी थियौ
ढुङ्गा पेली निकाली तेल तिमीले , घस्नु भनेकी थियौ ।। ६० ।।

निद्रा नै नलिनु र रात भरमा, जाग्नु भनेकी थियौ
आफै देखि डराइ मध्य दिनमै , भाग्नु भनेकी थियौ ।।
चर्का धुप पुकारी शित तिमीले , माग्नु भनेकी थियौ
छोडी यो दुनियाँ एकान्त नगरी लाग्नु भनेकी थियौ ।। ६१ ।।

खोल्दा कापी किताब ध्यान मनमा , गर्नु भनेकी थियौ
सोची फेरी मलाई पेट तिमीले , भर्नु भनेकी थियौ ।।
आºनै तस्बिरलाई हेरी तिमीले डर्नु भनेकी थियौ
मेरै नाम लिएर अन्तिम घडी मर्नु भनेकी थियौ ।। ६२ ।।

मर्नु बाँकी छ भन्दिनु अरु सबै , चल्दैछ चल्दैछ रे
जल्नु बाँकी तथापी आत्म दिल यो , जल्दैछ जल्दैछ रे ।।
ढल्नु बाँकी तथापी मन्द गतिले , ढल्दैछ ढल्दैछ रे ।।
ज्यादा छैन शरिर मन्द गतिले , गल्दैछ गल्दैछ रे ।। ६३ ।।

कोयली सब हाल यी समयका , बियोग पोकाहरु
राम्रो सँग सुनेर जा सब कुरा , खोल्दैछु ढोका अरु ।।
आसा बास बसाली कर्म घरमा , ताला लगाइ दिदा
एक्लो छोडी मसान घाट तटमा , भन्दा ल तिम्रो चिता ।। ६४ ।।

पोलिनु कसरी बसेर यसमा , अग्नी बिनाका चिता
सुनाऊ अब भन्नु गीत नीतिका के भन्छ तिम्रो गीता ।।
के लेखु कोयली यी अन्ध घडीका, हेरेर तस्बिर म ता
रङ्गाऊ कुन रंगले खत त्यसै , सोचेर तैले बता ।। ६५ ।।

सोचुँ आज जति पनि त दिलले , बियोग पोका लिई
आई फेरी अतित दिन सामुने , तस्बिर तिम्रो दिई ।।
त्यही तस्बिरका म ता बस परी , रोगी भएको यहाँ
एक्लो पारी मलाई यो जगतमा , छाडी गएकी कहाँ ।। ६६ ।।

लौ जाऊ अब कत्ति बेर नगरी फर्केर आऊ पनि
सारा हाल बुझेर ल्याऊ तिमीले , मेरी प्रियाका अनी ।।
मै जस्तै ऊ पनि एकान्त नगरी रोएर बस्दै होली
सारा आँशु बगाइ मुख उसले , धोएर बस्दै होली ।। ६७ ।।

भन्दिए कोयली मेरा दुःख सबै , तिम्रा मिठा भाकले
छोडेकी जुन दिन देखी प्रियसी, ल्याएन निद् रातले ।।
तिम्रै नाम भएछ फाम अनि त्यो सँगै बसेको फोटो
व्यथै भो सब कल्पना सपनीका , यो कर्म खाली खोटो ।। ६८ ।।

कस्तो त्यो दिन रावणै हरी लग्यो , सीता मुटु रामकी
बुझाउ म कसोरी चित्त प्रियसी , गीता गुरु ज्ञानकी ।।
यी सन्ध्या अनी रात दिनहरुमा , हेरेर कस्का मुख
बस्नु आँशु नझारी साँझपखमा , यस्तै छ मेरो दुःख ।। ६९ ।।

कोकिला सब दुःख खोली मनका , भन्नु मिलाइ कन
मेरो अन्तिमको श्रृगार कपडा , माग्नु सिलाइ कन ।।
माग्नु धुप, कपुर साथ तुलसी , कात्रो र टिला पनि
अन्तिम्को उपहार भेज प्रियसी , जाऊ पियारा भनी ।। ७० ।।

जानेछु तिमी आज भन्नु प्रियसी , जाऊ पियारा भनी
दौडेलान् जब इन्द्र साँझपखमा, रोक्नु तिमीले पनि ।।
तिमी काव्य स्वरुप भै कन यहाँ, उपदेश बाँडी हिड
बन्दै तिर कमानकी तिमी कतै, संसार काटी हिड ।। ७१ ।।

यी आख्यान जति अतित पलका, इच्छा लिइ साथमा
आए निद गुरु बनेर मनका, हिसाब लि हातमा ।।
एक्मुखी रचनाहरु समयका , घोक्नु तिमीले पनि
थन्क्याउँछु इतिहास यी विगतका, सोचेर हेर्नु तिमी ।।७२।।

ऐनाले कहिले तकेर मुखमा हाँसो, उडाइ दिए
गिज्याइ मनले कतै समयमा, मुटु दुखाइ दिए ।।
त्यो बेला म निन्याउरो मुख गरी ,माऊ बिनाको भइ
ब्स्ने छु नीति घोक्न योगीहरुका, चिम्टा रिसानी सही ।।७३।।

सारा जीवन दिन्छु आज सतिझैँ, यो प्रेमका नाममा
सारा रक्त बगाइकन् रणविशे, मारा सरी दाममा ।।
बाँकी केवल नाम मात्र बचिगो , यो जात खाली भयो
बाँच्नु छैन मलाई यस जगतमा, औकात छाडिगयो ।।७४।।

खाली राम छोडेर नाम अहिले , लौ मात्र तिम्रो भयो
पुरा यो जगतै मलाई अहिले , श्मसान भूमि भयो ।।
यो गाउँ त मसान भूमि अहिले, ज्यूँदा यहाँ लास्हरु
यम्पुरी सरीका शहर हुन गए, खोज्नु कहाँ बास् अरु ।।७५।।

भन्छु यै रीतले बेहाल मनका , सारा मिलाइकन
बस्नु योगी बनी भनेर दिइछौ , चोलो सिलाइकन ।।
धर्छु आज दियौ भनी समयले, सारा मिलाइकन
भेजी आज मलाई योग भूमिमा, माला दिलाइकन ।। ७६।।

लागे रोग अनेक आज तनमा ,कारण् बिनाका भइ
हे प्यारी अझ सम्मता सब कुरा , बस्दैछु मैले सही ।।
छाया यी मधुरा भए कतिकति, वैशाखका घाममा
यो जीवन् अवमुल्य भो उतिउति, यो प्रेमका नाममा ।। ७७ ।।

भन्छु आज यसै घडी समयले, मिल्ने छु आर्को जुनी
भूली जाउ कतै रमाउ जगमा, संसार नौलो चुनी ।।
यी चाहा मनका बेकार हुन लौ, सप्ना सरीका बरु
खेस्त्रा हुन् यी गणितका भनी सोचे, खत्का ती पाताहरु ।।७८।।

काटेलान् सब रक्तका नमिटिने, धर्सा मसिनाहरु
हेला भोकमरी वसन्त ऋतुमा, पर्दा असिना बरु ।।
जोखी जीवन विम्वका डकधरी ,राखेर ओजन् गरी
सारा रक्तनसाहरु प्नि उसै, पाकेर भोजन गरी ।।७९।।

सोचु आज जति पनि त दिलले, वियोग पोका लिइ
घुम्छन् आज अतित दिन सामुने, तस्बिर तिम्रो दिइ ।।
आँशुका दह बीचमा बसी बसी , तिर्खा मिटाए पनि
मेटिन्नन् मनका यी प्यास कहिल्यै, लोटा हजारौँ गनी ।। ८०।।

दौडिन्थे अहिले यो कर्म भूमिमा, हज्जार देहै भए
गर्थे कर्म हजार लाख बनका , फूल नेल्न गोड्नै रहे ।।
यस्तै रीत समाइ आज प्रियसी, यो कर्म भूमि पनि
गर्छु त्याग छोडेर आज दुनियाँ, यस्मै भलाइ भनी ।। ८१ ।।

सम्झी ग्रहण गर्छु रात दिनका , यी आत्मका रोदन
ज्यूनारी पनि यै भयो भनी म ता , मिठा मिठा भोजन ।।
खानेछु बसि श्वर्गका कुटिविशे, भान्छा घरैमा बसी
जनेछु अहिले खोलेर दिलका , व्यथा तिमीमा भरी ।। ८२ ।।

तिम्रो तस्बिर रोगको मुल हुँदा, औधी नमिल्दा पख
बस्नै सक्न कठिन भो जगतमा , छोडेर जाँदा तब ।।
यो छाती कति दुख्छ सास अहिले, धेरै ग¥हुङ्गो भयो
मेरा निम्ति समान्य रोग हरुको , बुटी महङ्गो भयो ।। ८३।।

चल्दै सास जवानी पार नहुँदै , बर्कत छदै हातमा
थाकी कर्म गरी सकेर दिनमा, आएन निद् रातमा
के रीति हुनगो यो नाटक विशे , बन्नु गरिबै भयो
एकै जीवनका हरेक पलमा , भन्नु ल सासै गयो ।। ८४ ।।

दोस्रो जीवन आज जेल्न नसकी, पर्दा पछाडी बसी
मेरा निम्ति छ सर्मिलो जगतमा, यो नाट्य कौशल पनि ।।
यस्तै रीत बनाइ मित दुनियाँ , पर्दा पछाडी म छु
जाऊ जन्त रमाइ आऊ तिमीले , मर्दा मलामी म छु ।। ८५ ।।

तिमी साँझ बनेर जोर सितले , मन् पक्रि लग्दा पख
आँशु मात्र भएछ साथ रहने , सुतेछ सारा जग ।।
निडर भै कन आज आइ तिमीले , यो रातको बासमा
जाऊ कुटि सजाइ आऊ उनको , होलान उनी आसमा ।। ८६ ।।

दोस् खाली अहिले जवाफ नदिइ, रोइ नबोल्दा पख
तिम्रा रक्षकले बसेर पथमा, ताला नखोल्दा जब ।।
बस्ने छु म डराइ रातहरुमा छाया नदेख्दा पख
भाग्नै सक्न पनि कठिन हुनगो, बाटो रोकिदा तब ।।८७ ।।

खाली मात्र तथापी वाक्यहरुमा कुन् वाक्य बोलु अब
छन् के मा उपदेश शास्त्रहरुका, कुन् काब्य खोलु अब ।।
कुवा, ताल, नदी, इनार पोखरी, लम्बा ती गंगाहरु
हिराका गहना र मोतीहरुमा , आँशु मह¨ा बरु ।।८८।।

प्राण प्यारी अहिले बसेर कुटिमै, मिल्ने इरादा भयो
छोडी इन्द्र मलाई साँझ पखमा, तिम्रा कुटिमा गयो ।।
भन्नु झन्जट लाग्छ मिल्न अवता, डुली न आऊ तिमी
खाली छैन यो बाग भूमि अहिले, फूली नआऊ तिमी ।। ८९ ।।

यस्तै बात गरी पठाउ अहिले , जान्छु मनैमा भरी
छैनन् खेत असार मास पखमा, जान्थे रोपाइ गरी ।।
सीमा छैन रहेछ बाघ मनको, डुल्दै छ रे लौ कता
दिइ जाउँ कसोरी अन्तिम घडी, कस्का कुटिको पता ।। ९० ।।

अहो † नारी कस्तो प्रणय पथको खेल रचिछौ
शरिर खुल्ला छोडी कसरी मनको खेल रचिछौ ।।
नयन्का द्वार खोली कसरी मनका भित्र गइछौ
अनी भित्रै देखि नयन नदीको भेल रचिछौ ।। ९१।।

अहो † कस्तो प्रिती मन र तनको नास भइगो
शरिर सुक्दै सुक्दै कसरी जिउँदो लास भइगो ।।
म ता जान्छु प्यारी तिमी त धरणीमा फूली बसे
सुधाका वाग् वाग्मा अब त पुतली नै बनी डुले ।। ९२ ।।

वदन पखाली नयन नदीले ।।
भजन गरेको समय गतिले ।। ९२ ।।

अब पृर्य दुख्योतन कति सुक्यो ।।
शिर कति झुक्योसमय नी रुक्यो ।। ९३ ।।

कसम र वाँचाभजन र बाँजा ।।
दिन दिन ताजा छिन छिन खाजा ।। ९४ ।।

रमाए समाएत्यसै छम् छमाए ।।
उसै कुब्जिकाकोकुटिया बनाए ।। ९५ ।।

कुटिया छुटियाफटिया लुटिया ।।
बिना आग तावा म त्यसै भुटिया ।। ९६ ।।

अमिलो नुनिलोकति हो गुनिलो ।।
छ स्वादी कति योत नौनी सरी भो ।। ९७ ।।

जसै जेठ आयोगलियो ढलियो ।।
उसै मेघ कालो अनारो भरियो ।। ९८ ।।

भन मार्ग खुला , अब जाउ तिमी
म गए प्रियसी , अब लाऊ तिमी ।।
अब ता जगमा , बस राज गरी
उनका कुटिया , बस बास भरी ।। ९९।।

फुल फूल बनी , उनका गमला
दिनु पुष्प मिठा, तनका कमला ।।
कुसुमी कहिले , मधु भोक परे
तिमी फूल भयौ, म त फूल झरे ।। १०० ।।

मेटौँला अब प्यास यो पिरतीको , दोस्रो जुनी भेटमा
मिल्ने छु पछि आउनु तिमी पनि , बैकुण्ठका गेटमा ।।
केही दुःख नमान्नु नाटक सोचौँ, तेरा मेरा वागमा
यो रैबार सँगै फुलेर रहुँला , हामी दुबै साथमा ।। १०१।।

आभार

न यो कुनै काव्य हो , न कुनै कथा , नाटक या गीत नै । यो एर्क रैबार’ पंक्षीसँग पठाएको, उचित ठाउँमा पुग्छ या पुग्दैन । कसैले सोच्लान् प्रेममा पागल भएर लेखेको लेखकको आºनै जीवनको कथा तर होइन । हो कि त हजारौँ प्रेमका सहिदहरुको साँझा बिरह मेरा लागि यो एक दर्शन ……..। प्रेमका जोडीहरुका लागि प्रेमको रस हुन सक्छ तर धर्मका आँखाले हेर्न सकेमा गीताको ज्ञान बन्ला की ? जुन प्रेममा यो संसार अडिएको छ उसै प्रेमलाई धेरैले घृणा गरे पनि “मानिसका सम्पूर्ण क्रियाकलाप यौन उत्तेजनाको उपज मात्र हुन्” भन्र्ने फ्राइड’ आज यो संसारका ठूला दार्शनिकका रुपमा चम्किएकै छन् । व्याकरणको कैदमा बसेका मास्टरहरु भत्किएको बाटो भनी दोस्याउलान तर भावनामा खेल्नेहरु खुल्ला आकाशमा रमाउलान् । यसको भूमिकामा जनक रसिकज्यूले यस्तो ज्ञानविज्ञानको युगमा पनि चरा सँग सन्देश पठाएर विज्ञानबाट कृतिलाई दूर राखेको गुनासो पोखेका छन् । हुन पनि हो यो युगमा विज्ञानबाट बाहिरिन सक्नु बालुवामा घर बनाउनु हो तर के गर्ने विज्ञान महङ्गो लाग्यो , निर्दयी र अविश्वासिलो लाग्यो भन्दा मान्छेले हाँस्लान् ।। मेरा ग्वालेकका जङ्गलमा अझै कम्प्यूटर जडान गरिइसकिएका छैनन् मोबाइलबाट पूर्वहान्दा पश्चिम लाग्छ त्यसैले चराको सहायता लिएको । रकेटमा बसी पलभरमै चन्द्रलोक पुगे जाने बेला हात हल्लाएको देख्ने हैन मेरी पृथ्वीले मेरा लिला अपुरा रहदाहुन् की भन्ने डर लाग्यो तब चराको सहायता लिएको । तर यो चरो कम्प्युटर भन्दा कम्ति छैन । पछिका दिनमा प्रयास गर्नेछु अणुबमको सहायताले संहार गरेको कतै मनसँग जित्न सकेछु भने । अन्त्यमा मुल्याङ्कन पाठक वर्गका लागि छोडिदिए यस कृतिमा भूमिका लेखिदिने जनक रसिक दाईलाई धन्यवाद दिन चाहान्छु । मेरो जीवनमा उज्यालो पारिदिने स्व. हजुरआमा जानकी भट्ट, जन्म दिने आमा सरस्वती भट्ट , पिता स्व. श्री ईश्वरी दत्त भट्ट ज्यू साथै मेरा जीवनका सम्पूर्ण गरुजन वर्गका चरण स्र्पस गर्दै यो कृति समर्पण गर्न चाहान्छु । यो कृति निकान्ने वातावरण सिर्जना गरीदिने समयको म सदैव ऋणी रहने छु । जीवनका हरेक क्षेत्रमा सकारात्मक प्रेरणका साथ सहयोग गर्नुहुने दिदी सविता चन्द , समर जंग ब. चन्द, दिदी बिस्ना अवस्थी एवम् सम्पूण मित्रगण सहित मेरा साथीभाईहरु प्रति आभार व्यक्त गर्दछु । यस कृतिलाई योग्य ठानी प्रकाशन गरिदिने महाकाली साहित्य सङ्गम प्रति हार्दिक आभार व्यक्त गर्दछु । अन्त्यमा यस कृतिलाई अन्तिम रुप दिने जगदम्बा छापाखानालाई धन्यवाद दिन चाहान्छु ।

कविराज भट बिलौना’
भी.न.पा. ६ ऐंठपुर मधुवन
कोठामा २०७०।०६।१३ गते बिहान

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in खण्ड-काव्य and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.