कविता : मन्त्र फुक चामल हान

~बिमल गुरुङ~bimal-gurung

रोक्ने को हो तिमीलाई?
छेक्ने को हो तिमीलाई?
पुगिसक्यौ घर-घर
हिंडिसक्यौ पर-पर
मान्छेहरु दुखी छन्
सुखीहरु कम्ती छन्
यस्तो समाज योग्य छैन
यस्तो पर्खाल पुज्य छैन
पर्खालहरु भत्काइ दिन्छौ
यस्तो समाज पल्टाइदिन्छौ
सूर्य हाम्रो साथमा छ
चन्द्र हाम्रो माथमा छ ।

देशको रोग कुन चाहिं हो
हामीलाई थाहा छ
समाजको किटाणु को चाई हो
धामीलाई थाहा छ
मन्त्र फुक चामल हान
फर्काएर सर्प माथि
बिषैबिषको बाण हान ।
योग्यताको बदर हुने
चाकडीको सदर हुने
यस्तो प्रथा घृण्य छ
मन्त्र फुक चामल हान
फर्काएर सर्प माथि
बिषैबिषको बाण हान ।

कुपोषणले ख्याउटिएका दुधमुखे बच्चाहरु
प्रेरणा हाम्रा हुन्
आइमाईमाथि हुने पशुब्यवहार
मुटुका आगा हाम्रा हुन्
काम गर्ने भरपेट खानबाट बञ्चित हुने
कामदार हाम्रा होस्टे हुन्
अशिक्षाको आँध्यारोले पिल्सिएका
निर्दोष- कञ्चन स्त्रीगण हाम्रा प्रेरणा हुन्
हक मांग्दा कैद हुने बन्दीहरु
हाम्रा प्रेरणा हुन्
अत्याचारको बिरोध गर्दा मारिएका शहिदहरु
हाम्रा प्रेरणा हुन्
अन्यायको बिरुद्धमा जुध्ने
ताता फलामहरु हाम्रा प्रेरणा हुन् ।

असमानता च्यातिदिन्छौं
दरिद्रता काटिदिन्छौं
पराधिनता फ्यांकिदिन्छौं
पिंजडालाई च्यातिदिन्छौं
जातिभेद मेटाईदिन्छौं
रङ्गभेद जलाईदिन्छौं
बाटिमाटस – मुर्दाबाद !
स्पार्टाकस – जिन्दाबाद !
दासहरु – जिन्दाबाद !!
मालिकहरु – मुर्दाबाद !
सर्पहरु – मुर्दाबाद !
चमेराहरु – मुर्दाबाद !
बिरालाहरु – मुर्दाबाद !

गाडीमुनि चक्का छ
जीत हाम्रो पक्का छ
सूर्य हाम्रो साथमा छ
चन्द्र हाम्रो साथमा छ
मन्त्र फुक चामल हान
फर्काएर सर्पमाथि
बिषैबिषको बान हान ।

(०४६/१२/२४)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.