~सुवास दीपक~
मि. लुइँटेल (आफै) – चैने कुन्नि मलाई किन बोलाउनुभयो होला?
अँ, उहाँ त यसपालि चैने जानुभएको थियो, चैने बिहे गरेर पो आउनुभयो ‘रे ! पुर्खाल भनेको कुरा उहाँले चैने उहाँले ठिकै पुऱ्याउनुभएको रहेछ – पशुपतिनाथको यात्रा पनि, सिद्राको व्यापार पनि ! (उठ्छ र टेबुलमा गएर रक्सीको बोतल सुँघेर अनुहार बिगारेर जोरले भन्छ) चिटिक्क परेकी, गोरी, राम्ररी दुल्ही पो छ तर अलिक चैने गरीबकी छोरी ‘रे। यस्ता बुढा धनीले किन चैने गरीबकी छोरी भित्र्याएको होला, फेरि दुल्ही अलिक कम उमेरकी छे’रे। यस्ता धनी बुढाले चैने किन गरिबकी छोरी भित्र्याएको होला? फेरि उमेर पनि साह्रै कम छ दुल्हीको। यो त त्यति राम्रो कुरा लागेन मलाई पनि। चालिस वर्षे योबन पो लागेछ बुढालाई, थुक्क! तर मलाई केको खसखस! चैने खाने मुखलाई जुँगाले के छेक्न सक्थ्यो र?
(साहूजीको प्रवेश – मि. लुइँटेल उठ्छ)
मि. लुइँटेल – नमस्कार साहूजी!
साहू – ए, तपाईं आउनुभयो? बस्नुहोस्, किन उभिरहनुभएको?
(दुवै बस्छन्)
मि. लुइँटेल – अन्त भन्नुहोस् साहूज्यू, जाति नै हुनुहुन्छ?
साहू – अरे, अलि अलि बिरामी त भइ नै रहन्छु! अँ, (अलिक लजाएर) तपाईंले…तपाईंले मेरो बिहेको खबरत सुन्नुभयो होला?
मि. लुइँटेल (खुसी हुँदै) – यस्तो कुरा चैने कहाँ लुक्ने हो र? बधाइ छ है!
साहू – बधाइका लागि धन्यवाद! (केही क्षण बिसाएर) – अन्त चैने, भन्नुहोस् न कस्तो सर-सल्लाह होला?
साहू (अड्किँदै) – त लुइँटेलज्यू, खास कुरो त यो हो कि… मेरो विचार यो छ कि… मेरो जम्मै धन-सम्पत्ति, आफ्नी स्वास्नीको नाममा गर्ने विचार गरेको छु!
मि. लुइँटेल (अचम्ममान्दै) – हन कस्ता कुरा गर्नुहुँदैछ साहूज्यू तपाईंले? जम्मै धन-सम्पत्ति? चैने तपाईंले आफ्नो वसीयतनामा लेख्ने विचार गर्नुभयो कि कसो?
साहू – हो, वसीयतनामा नै बुझ्नुहोस्!
मि. लुइँटेल – तर साहूज्यू, चैने वसीयतनामा कुनै खेलाञ्ची कुरा होइन। यो त राम्ररी सोचेर-विचारेर गर्नुपर्ने काम हो, होइन? तपाईं एकजना ठूला व्यापारी हुनुहुन्छ। समाजमा तपाईंको नाम छ, सम्मान छ। एकै चोटि बिहे गर्नेबित्तिकै स्वास्नीका नाममा आफ्नो जम्मै धन-सम्पत्ति गरिदिँदा चैने तपाईंको बिजिनेसमा चैने र तपाईंको सामाजिक स्थितिमा चैने पनि त प्रभाव पर्नसक्छ! मान्छेहरूले के भन्लान्? अहिले केको हतार?चैने एक-दुइजना भुरा-भुरी भएपछि….अनि विस्तारै गरौंला नि, के भने तपाईंको वसीयतनामा लेख्ने काम!हतार नगर्नुहोला साहूज्यू।
साहू – यो सब कुरा त ठिकै हो लुइँटेलज्यू… तर मैले पनि सबैतिर सोच-विचार गरेर नै यो फसेला गरेको हुँ। सायद तपाईंलाई थाहा छैन कि मेरी श्रीमती लाटी छिन्।
मि. लुइँटेल (अचम्म मान्दै) – के भन्नुहुँदै छ साहूज्यू तपाईंले? तपाईंकी श्रीमती लाटी छिन्?
साहू (आरामसँग) – लाटी, जन्मैदेखि लाटी! तर कस्ती लाटी भने, अरू सबै ठिकै छ, उनको बोली मात्र छैन। सुन्नु त पुरै सुन्छिन् नि!
मि. लुइँटेल – अँ, चैने त्यसो भए… उनको बोली मात्र छैन, बाठी त बाठी नै हुन् नि!
साहू – ज्यू, र त्यही कारणले मैले यो निर्णय लिएको हुँ (दुवै मदिरा पिउँछन्)
मि. लुइँटेल – तर मैले चैने तपाईंको यस्तो निरणयको अर्थ बुज्न सकिनँ। लाटी स्वास्नीको नाममा आफ्ना धन-सम्पत्ति गरिदिँदा चैने पछि झन् अपठेरो पर्दैन? जस्तै भए लाटीका हातमा परेको लम्पत्ति बर्बाद पनि त हुनसक्छ, होइन र?
साहू (बात काट्दै) –यहाँ एउटा रहस्य छ। तपाईंले मेरो योजना बुझ्नुभएकै छैन। वास्तवमा कुरा के छ भने उनको नाउँमा वसीयतनामा गरिदिँदा मलाई कुनै नोक्सानी छैन, किन भन्नुहुन्छ भने आजकल तपाईंलाई थाहै छ बिजिनेस गर्नु कति मुस्किल छ! फेरि इन्कमट्याक्स माग्ने, सेल्स ट्याक्स माग्ने, वाटर ट्याक्स, यताको ट्याक्स, उताको ट्याक्स माग्नेहरूले वाक्कै पारिसक्यो। लाटी स्वास्नीले ट्याक्स अफिसरहरूलाई केही भन्ने होइन। म भने कङ्गाल, मलाई उनीहरूले के सोध्लान्! अब आजैको कुरा लिऊँ; आज मैले श्रीमतीलाई मेरो पैसाको बेगै दिएर हाट बजार पठाएको छु। उनलाई चाहिने जति चीजबीज मेरै दोकानमा मात्र पाइन्छन्। त घरको पैसा घरमै रहेन? साँप पनि मर्ने, लट्ठी पनि नभाँच्ने, कस्तो लाग्यो मेरो बुद्धि?
मि. लुइँटेल (ट्वाँ परेर हेर्दै) – अँ… चैने अब पो बुझें म त! उकिल म नभएर तपाईं पो हुनुपर्ने थियो। चैने कस्तो बुद्धि लडाउनुभएको?
साहू – लौ त अब लेख्न सुरु गरौं, होइन?
(मि. लुइँटेल आफ्ना कागजपत्र र पेन निकालेर लेख्न टिकटाक गर्छ। त्यति नै बेला दैलो ढकढक गर्छ। साहूले दैलो खोल्छ। नेप्टी र श्रीमती धनमायाको प्रवेश। धनमाया डराएकी जस्ती देखिन्छिन्। साहू मि. लुइँटेलसित तिनको परिचय गराउँछ)
साहू – मि. लुइँटेल, यिनी नै मेरी श्रीमती हुन्, (श्रीमतीतिर फर्केर) अनि सुन्यौ, यहाँ हाम्रा उकिल मि. लुइंटेल हुनुहुन्छ।
(दुवै नमस्कार गर्छन्, श्रीमती जान्छिन्)
साहू (श्रीमतीलाई) – तिम्रो अनुहार किन यति डराएको जस्तो देख्छु म, के भयो? (नेप्टीलाई हेर्छ)
नेप्टी (झस्कँदै) – होइन मालिक, आज हाट बजारमा हामीले सुन्यौं कि एकजना ठूला डागदर साब आएका र’छन् र तिनले चीरफाड गरेर नबोल्ने मान्छेको पनि बोली फुटाउनसक्छन्। र चिरफाडको डरले माल्किनी डराउनुभएको छ।
साहू (अचम्म मान्दै र खुसी हुँदै) – हन के भन्छस् तँ नेप्टी? यस्ता डागदर आएका छन् ‘रे!
मि. लुइँटेल – हो साहूज्यू, चैने मैले पनि त यो कुरा सुनेको छु।
साहू – तपाईंले मलाई भन्नुभएन त?
मि. लुइँटेल – चैने मौका नै त परेन ज्यू!
साहू – ए नेप्टी, तँ गएर च्याँठेलाई पठा…
(नेप्टी जान्छे)
साहू (मि, लुइँटेलसित) – अन्त, उकिलज्यू, के त्यो डाक्टररले साँच्चै अपरेसन गरेर नबोल्नेलाई बोल्ने बनाउँछ? मलाई त विश्वासै लागेको छैन!
मि. लुइँटेल – चैने किन विश्वास नगर्नुभएको? मैले त चैने यस्तो अपरेशन गर्दैगरेको आफ्नै आँखाले देखेको छु।
(च्याँठेको प्रवेश)
च्याँठे – (साहूसित) – मालिकले बोलाउनुभयो?
साहू – हो, तँलाईं नै बोलाएको हुँ, जा दगुरेर त्यो डाक्टर (मि. लुइँटेलसित) त्यस डाक्टरको के नाम होला/
मि. लुइँटेल (च्याँठेलाई) – च्याँठे, जा डा. हमाललाई बोलाएर ले, भन्नू, साहूजीको अर्जेन्ट काम छ।
च्याँठे – हवस् हजुर, म गएँ।
साहू (खुसीसित) – अहो! म कति भाग्यमानी! (स्वास्नीतिर फर्केर) सुन्यौ धनमाया? तिमी पनि कति भाग्यमानी रहिछौ! ईश्वरले साँच्चै नै यस रूप र यौवनको कदर गरेछन्। तिम्रो र मेरो मिलन हुनु नै एउटा सत्य प्रेमको उज्जवल उदाहरण हुनेछ। अहो! त्यो दिन कस्तो रमाइलो होला जब तिमीले मलाई प्यारसित बोलाउन सक्नेछौ। तिमीले कुनै सुर्ता गर्नुपर्दैन। उनी नामी डाक्टर हुन्। कि कसो मि. लुइँटेलज्यू?
मि. लुइँटेल (धनमायातिर फर्केर) – हो हो , चैने तपाईंले कुनै सुर्ता गर्नुपर्दैन। थाहै नभइकन चैने उनले अपरेसन गरेर जाती पार्नेछन्। मैले त, चैने आफ्नै आँखाले देखेको।
साहू (धनमायाको हात समाउँदै) – धनमाया अब तिमी बोल्नसक्नेछौ। तिमी ईश्वरले पठाएको मेरो निम्ति एउटा सुन्दर उपहार हुनेछौ।
मि. लुइँटेल (साहूसित) – क्षमा गर्नुहोला साहूज्यू।
साहू (लुइँटेलतिर फर्केर) – अँ, भन्नुहोस्!
मि. लुइँटेल – चैने जस्तै भए पनि यहाँको अपरेशन हुनु जाँदै छ र चैने म तपाईंको उकिल हुनाकारण चैने मैले तपाईंलाई सल्लाह पनि त दिनुपऱ्यो, होइन? चैने एउटा अकरनामा त तयार गर्नै पर्ला, किनभने डाक्टरले यसको डिमान्ड गर्लान्…।
साहू – ए त्यसो भए, तपाईंले उनीहरू आउनुभन्दा अघि नै एउटा तयार पारिदिनुपऱ्यो। मेरो केही भन्नु छैन। म अपरेशनको जिम्मा लिन्छु। धनमायालाई पनि कुनै आपत्ति छैन होला। (धनमाया हल्लाउँछिन्)
(लुइँटेल अकरनामा लेख्न थाल्छन्। नेपथ्यबाट हो – हल्ला सुनिन्छ)
कम्पान्डर – कृपया बाटो छाडिदिनोस्… कृपया बाटो छोडिदिनोस्…
साहू – अँ, सायद डाक्टर आउनुहुँदैछ!
मि. लुइँटेल (लेख्दै गर्दा) – हो, यो कम्पान्डरकै आवाज हो।
(धनमाया डराएर खुम्चिन थाल्छिन्)
साहू (धनमायासित) – अरे तिमी किन डराएकी? केही हुंदैन, नडराऊ!
कम्पान्डर, जसको नाम सुन्दर हो बाहिरबाट आवाज लगाउँछ –
– साहू कुलबहादुरको घर यही हो?
(साहू दैलो उघार्छन्। कम्पान्डर सुन्दरको प्रवेश, तिनको पछि पछि डा. हमालको प्रवेश)
डा. हमाल – साहू कुलबहादुर को हुनुहुन्छ?
साहू (उसको छेउमा आएर) – म हुँ, कुलबहादुर डा. साहब, नमस्कार। पाल्नुहोस्।
(सबैजना बसेपछि डा. बोल्छन्)
डा. हमाल – म तपाईंका सेवा उपस्थित डा. हमाल हुँ र यिनी हुन् मेरा सहायक मि. सुन्दर जो एक सिपालु सर्जन पनि हुन्।
(मि. सुन्दरले सबैलाई ‘नमस्कार’ गर्छन्)
साहू – हजुरहरूको स्वागत गर्दा मलाई साह्रै आनन्द लागिरहेको छ र म आफुलाई भाग्यमानी ठानिरहेको छु।
डा. हमाल (साहूसित) – साहूजी, हामीलाई सेवा गर्ने मौका दिनुहोस्। भन्नुहोस्, कस्को अपरेशन गर्नु छ?
साहू – अपरेशन त मेरी श्रीमतीको गर्मुछ तर हतार किन, पहिले चिया-खाजा लिनुहोस् र त्यसपछि अपरेशन गर्नुहोस्, हुन्न? ए च्याँठे!
(च्याँठेलाई बोलाउँछन्)
डा. हमाल (रोक्दै) – होइन, कष्ट नगर्नुहोस्, हामी आप्नो काम गर्छौं पहिले र पछि मात्र यसबारे विचार गर्छौं। सुन्नुभयो (श्रीमती कुलबहादुरतिर फर्केर) तपाईं यता आउनुपऱ्यो। भन्नुहोस्, तपाईंलाई के भएको छ, के रोग लागेको छ?
साहू – डा. साहब, मेरी श्रीमती…
डा. हमाल (रोक्दै) – साहूजी, तपाईं चूप लागेर बस्नुपऱ्यो। इट इज अवर जोब । (सुन्दरपट्टि फर्केर) मेरो चस्मा!
(सुन्दर चस्मा दिन्छन्) मि. सुन्दर, यहाँको नाडी छाम्नुहोस्।
(सुन्दरले नाड़ी छाम्छन्) होइन, तपाईं होइन, म आफै छाम्छु (छाम्दै) बीटिङ त ठिकै छ। तपाईं चूप लागेर बसिरहनुहोस् है!
साहू – होइन, डा. साहब, मेरो भन्ने…
डा. हमाल( कुरा काट्दै, सुन्दरलाई) –मि. सुन्दर, कुनै फिजिकल डिफेक्ट थाहा लाग्यो?
(सुन्दर धनमायाको वरिपरि घुम्छ)
मि. सुन्दर – फिजिकल डिफेक्ट त केही छान, जिउ-डाल पनि चिटिक्कै मिलेको छ।
साहू (उत्तेजित भएर) – दया गरी मलाई पनि त केही भन्न दिनोस् न!
डा. हमाल – साहूजी, तपाईं किन अत्तालिनुभएको? एक छिन चूप लागेर बस्नुसक्नुहुन्न?
(डा. हमाल आफै धनमायाका कान, नाक, आँखा, जिब्रो, घिच्रो, औंला आदिको छामेर निरीक्षण गर्छन्। सुन्दर पनि डा.जस्तै अभिनय गर्दैछन्)
मि. सुन्दर – तर मलाई एउटा रोगको पत्तो लाग्यो।
डा. हमाल – मि. सुन्दर, तपाईंको कुरा ठिकै हो। रोगले डाक्टरलाई छल्नसक्दैन।
(डा. हमाल मि. सुन्दरको पिठ्यूँ थपथपाउँछन् र दुवै चौकीमा बस्छन्)
मि.सुन्दर – तपाईं साँच्चै नै धन्वन्तरीको अवतार हुनुहुन्छ।
डा. हमाल – तिमी पनि त एउटा एक्सपर्ट र अक्सपिरियन्स्ड सर्जन हौ।
साहू – मलाई डर लागिरहेछ। मेरो कुरा सुन्नुहोस् न!
डा. हमाल (कुरा काट्दै) – म तपाईंलाई भन्नेछु कि तपाईंकी श्रीमतीलाई के भएको छ? यस दु:खित र विस्फोटक समाचारलाई सुन्नको निम्ति तयार हुनुहोस्। (विस्तारै) तपाईंकी श्रीमती ‘एफोनी’-ले पीडित छिन्।
साहू – एफोनी? यो एफोनी भनेको के होला?
डा. हमाल (आफ्नो चस्मा ठिक गर्दै) – सामान्यतया यसलाई dumbness पनि भनिन्छ अथवा अझै स्पष्ट भाषामा बन्ने हो भने तपाईंकी श्रीमतीको बोली फुट्दैन।
साहू (लामो सास फेर्दै) – मेरी श्रीमती जन्मैदेखि लाटी छिन्।
डा. हमाल – अँ, यो कुरा त म भन्नै आँटेको थिएँ। यहाँलाई यो रोग वंशानुगत छ, Do you agree with me Mr. Sunder?
मि. सुन्दर – Yes Dr. I agree with you, you are right.
डा. हमाल (साहूसित) – साहूजी, तपाईं साँच्चै नै एकजना ज्ञानी मानिस हुनुहुन्छ।
साहू – किन? मैले लाटी स्वास्नी बिहे गरें भनेर!
डा. हमाल – होइन, तपाईंले हामीजस्ता जानिफकार डाक्टरहरूलाई बोलाउन पटाउनुभयो। अनि तपाईंकी श्रीमतीको रोग म बाहेक अरू कसैले निको पार्न सक्दैन।
साहू – निश्चयै, म तपाईंको कुरा सुनेर अत्यन्त प्रसन्न भएँ।
डा. हमाल – अब म मेरो काम सुरु गर्छु। अब केही छिनपछि तपाईंकी श्रीमतीका मुखारविन्दबाट सुमधुर बोली फुट्नेछ। त्यसकारण, तपाईं आफ्नी श्रीमतीलाई उहाँको रूममा पठाइदिनोस्। तर एक छिन् पर्खनोस् है! अपरेसन गर्नुभन्दा अघि एउटा एग्रिमेन्ट गर्नुपर्ने आवश्यकता छ।
साहू – त्यो त हाम्रा उकिल साहेबले तयार पारिसक्नुभयो होला, होइन?
मि. लुइँटेल – ज्यू, चैने तयार भयो।
डा. हमाल – अँ. त्यसो भए, एकपल्ट पढेर सुनाइदिनु पऱ्यो।
(मि. लुइँटेल पढेर सुनाउँछन्। धनमाया र साहू एग्रीमेन्टमा सही गर्छन्)
डा. हमाल – लौ त अब अपरेशनका लागि श्रीमतीजीलाई उहाँको रूममा पठाइदिनुहोस्। (मि. सुन्दरलाई)मि. सुन्दर, लौ त तपाईं गएर अपरेशनका औजारहरू लिएर आउनुपऱ्यो। (साहूतिर) साहूजी, तपाईंको नोकरलाई पनि सघाउन पठाइदिनुहोस् है!
साहू – ए च्याँठे, लु यहाँ डाक्टर बाबूसित जा जा…
(च्याँठे आएर मि. सुन्दरसित जान्छ)
साहू (नेप्टीसित) – नेप्टी माल्किनीलाई उनको कोठामा पुऱ्याइदे..
(धनमाया र नेप्टी जान्छन्)
साहू (डा. हमालसित) – लौ त डा. साहब, अब जाऊँ होइन?
डा. हमाल (साहूलाई) – होइन साहूजी, अपरेशन एकान्तमा हुन्छ। तपाईंहरूको उपस्थिति नितान्त निषेध छ।
मि. लुइँटेल – होइन डा. साहब, चैने म साहूजीको उकिल भएको नाताले चैने यही परामर्श दिन्छु कि साहूजीको उपस्थितिमै अपरेशन सम्पन्न होस्।
डा. हमाल – नो, नो, मि. लुइँटेल (नरम भएर) यो बिजिनेस सेक्रेट हो। यहाँ सहूजीलाई थाहै छ। उहाँ पनि एकजना व्यापारी नै हुनुहुन्छ। अनि तपाईं पनि त! I need not to explain more on this topic.
(औजारहरू लिएर कम्पाउन्डर र च्याँठे आइपुग्छन्)
सुन्दर (औजारहरू ब्यागबाट झिक्दै) – लौ त अपरेशनका सामानहरू तयार छन्।
साहू (औजारहरू देखेर अत्तालिएर) – यो आरी, बन्फक, खुकुरी, चुप्पी, कैंची? केको लागि हुन् डाक्टर सा’ब?
सुन्दर – साहूजी यी अपरेशनका औजारहरू हुन्, बुझ्नुभएन? तर तपाईंले सुर्ताउने काम छैन।
डा. हमाल –यी औजारहरू देखेर पनि तपाईं अपरेशन गरेको हेर्न चाहनुहुन्छ, साहूजी?
साहू (हात जोड्दै) – यो यो, ईश्वरले मेरी श्रीमतीको रक्षा गरून्! हे भगवान रक्षा गर्नोस्!
डा. हमाल (सुन्दरसित) – लौ त, अब अपरेशन गर्न जाऔं।
(पर्दा खस्छ)
– दोस्रो भाग –
(पर्दा खुल्दै साहूको बैठकको दृश्य। साहू टाउको समातेर बसिरहेका छन्। दैलो ढकढक हुन्छ। नोकर गएर दैलो खोल्छ। मि. लुइँटेलको प्रवेश। नोकर जान्छ)
मि. लुइँटेल – नमस्कार साहूज्यू। चैने किन घोरिएर बसिरहनुभएको?
साहू (खुइया गर्दै) – खै, के भन्नु र?
मि. लुइँटेल – अन्त अपरेशन कस्तो भयो? तपाईंकी श्रीमती कुशलै हुनुहुन्छ नि?
साहू – कुशल? तपाईंले कुशलताको कुरा सोध्नुभएको? उहाँको कुशलताका बारेमा नसोधेकै राम्रो।
मि. लुइँटेल – चैने, अपरेशनमा कुनै गडबडी भयो के?
साहू – उफ! म भन्न सक्तिनँ! अपरेशन त अति नै सफल भयो तर…
मि. लुइँटेल – के तर तर भन्नुभएको? स्पष्टसित भन्नुहोस् न, उहाँ बोल्न थाल्नुभयो?
साहू (जोशसँग) – हो, हो, लुइँटेलज्यू, उनी बोल्न थालिन्, तर यति बिघ्न कि बम्बे एक्सप्रेसलाई पनि जित्न खोज्छिन्। अघि बिहान जब म तिनको कोठामा गएँ, तिनी कम्जोरी अवस्थामा पनि मलाई देख्नेबित्तिकै कोठामा भएका चिजबिजबारे साथै दुनियाँभरिका फेद नटुप्पोका कुरा… यस्तो गनगन गर्न थालिन् कि मेरो त मगजले नै काम गर्न छाडेछ। तिनको फुटेको बोली मेरो लागि त अभिशाप नै भइसक्यो!
मि. लुइँटेल – चैने, तपाईं केको श्राप भन्नुहुन्छ? भर्खर बोली फुटेको। यति वर्षसम्मको चैने मनमा रहेका कुरालाई आफ्ना बोलीले प्रकट गर्न पाउँदा र तपाईंसित बात मार्न पाउंटा उहाँलाई कति खुशी लाग्यो होला!
साहू (बात काट्दै) – तपाईंले सुन्नुभएको छैन, लुइँटेलज्यू! मेरो मानसिक अवस्था अहिले कस्तो भएको छ। अहिले तिनी बाहिर गएकी छिन्। तिनले बोलेको सुनेपछि मात्र तपाईंलाई थाहा हुनेछ। उफ्! के भन्नु, कतिपल्ट बाटो हिंड्दै गरेका मानिसहरू पनि तिनको एक्सप्रेस मेलजस्तो भाषा सुनेर दैलोबाट चियाउन आइपुग्छन्। यहाँसम्म कि एकपल्ट त ट्रेफिक पनि जाम भएर पुलिस धरी सोध्न आएछ।
मि. लुइँटेल – अँ, त्यसो हो भने तपाईं चैंने महान दु:खरूपी सागरमा पो चुर्लुम्म डुब्नुभएछ। हवस् त, अब मलाई आज्ञा दिनुहोस्, घरमा अलिक काम छ। (उठ्छ)
साहू (रोक्दै) – होइन, होइन लुइँटेलज्यू, भगवानका लागि मलाई एक्लै नछाड्नुहोस्! मलाई सल्लाह दिनुहोस्, म के गरूँ? कसो गरूँ? (एक ढिनपछि जोडले कराउँदै) उनी आउँदैछिन्, उनी आउँदैछिन्…!
मि. लुइँटेल – त्यसो हो भने हामी यहाँ के के लेखा-पढी गरेजस्तो गरौं। हामीलाई काममा व्यस्त भएको देखेर उनले बोल्ने छैनन्।
साहू – आह! तपाईंलाई थाहा छैन, तिनको विषयमा।
(श्रीमतीको प्रवेश र सोझै लोग्नेको छेउमा आएर)
धनमाया – तपाईं त यहाँ पो हुनुहुन्छ? मैले तपाईंलाई कहाँ कहाँ खोजें, कहाँ कहाँ! हाम्रा नोकरहरू पनि बित्थाकै छन्, केही पनि जान्दैनन्, ढाँट्नबाहेक, कामचोर कहींका। होइन? भन्नुहोस् न! तपाईं किन बोल्नुहुन्न? मुखमा बोली छैन कि क्या हो? ( साहूको काँध समाएर हाँस्छे)
साहू – हेर धनमाया, यहाँ हाम्रा वकिल मि. लुइँटेल हुनुहुन्छ, तिमीले अस्ति पनि भेटिसकेकी छौ यहाँसित। अहिले हामी एउटा जरुरी काममा व्यस्त छौं, ल!
घनमाया – (मि. लुइँटेलको छेउमा गएर) – हो, म यहाँलाई चिन्दिनँ? तपाईं पनि कस्तो कुरा गर्नुहुन्छ? अस्ति अपरेशन हुने दिन यहाँले पनि त यस्ता डाक्टर छन् भनेर भन्नुभएको होइन? हामीले यहाँप्रति कृतज्ञ हुनुपर्छ। आज त मेलाको दिन हो, मेलामा जानुपर्छ, तपाईं पनि तयारी हुनुहोस्। अनि तपाईं मि. लुइँटेलज्यू, तपाईंले आफ्नो अघाड़ि यी काग-पत्र केका लागि राख्नुभएको छ? तर जे सुकै होस्, जे – जस्ता हुन्, मलाई केको खसखस! तपाईं पनि हामीसित मेला हिँड्नु पऱ्यो, होइन, मि. लुइँटेलज्यू?
साहू – होइन, हामी त एउटा जरुरी काम पो गर्दैछौं।
मि. लुइँटेल – हामी तपाईंको, चैने बिहे भएको र तपाईंको चैने बोली फुटोतो खुसीमा एउटा पार्टी दिने योजना बनाउँदै छौं र चिजबिजको लिस्ट बनाउँदैछौं…
घनमाया (बिचैमा खुसीले उफ्रँदै र साहूको छेउमा आएर) – आहा! तपाईं कति राम्रो हुनुहुन्दोरहेछ! मलाइ कति माया गर्नुहुन्छ! अन्त नि, मेरो लागि बनारका जर्जटको साडी पनि त्यो लिस्टमा लेख्नुहोस् ल! अनि मेरा भाइ-बहिनीहरूलाई पनि बोलाउनुपर्छ है! चिट्ठी म आफै लेखिदिन्छु, तपाईं टेलिग्राम गरिदिनुहोस् ल! (टेबल क्लोथ हेर्दै) आच्चि! यो टेबल क्लोथ कति मैला भएछ? नेप्टीले कहिले धुने होइन। हेर्नोस्, तपाईंको कोट पनि कति मैला भएछ, कत्ला परेछ। अहिले तपाईं यो काम सकेर मलाई धुनु दिनुहोस् ल! म आफै धुनु पऱ्यो। अनि उकिल साहेब, गजबको पार्टी गर्नुपर्छ है! तपाईंले आफ्नी श्रीमतीलाई पनि ल्याउनुपर्छ है! नबिर्सिनु होला है! अब म जान्छु, तपाईंहरूलाई भुल्याएँ हुँला।
मि. लुइँटेल – धन्यवाद।
धनमाया (अलिक पर गएर फेरि फर्केर) – ए, हाम्रो कुखुराको खोर पनि भत्किएको रहेछ। गर्जमानकोमा भएको तिरपाल किन्न पठाऊँ च्याँठेलाई? ए, साँच्चि बेलुकाका लागि कौडे भाले काट्नुपर्छ है! वकिल साहेब, जाओस् होइन बेलुकी? च्याँठेलाई एक केस रमका लागि डिस्टिलेरी पठाइदिऊँ?
साहू (टाउको समातेर) – हे भगवान, मलाई मेरो रक्षा गर्नोस्!
मि. लुइँटेल (धनमायालाई) – हुन्छ नि, तपाईंले जस्तो भन्नुहुन्छ, त्यस्तै बन्दबस्त गर्नुपर्छ। तपाईं ढुक्कै बस्नुहोस् न!
धनमाया (साहूको छेउमा आएर) – तपाईं चाहिँ किन नबोल्नुभएको? भान्साघरमा भाँडा-कुँडाहरू… तपाईंलाई थाहा छ! कोही त पक्कै फुटेछन्, कसैको बिट्टै छैन, लेग्रा र कत्ला मात्र छन्। ऐढ्ने – ओछ्याउने लुगाहरू कोही रुईं गाँठो परेर डल्ला परेका छन् भने कोही माउले खाएर धुजै-धुजा भएका छन्। नेप्टी र च्याँठे कुन्नि के के खुसु खुसु बात मारिरहन्छन्, काम गर्ने होइनन्। नेप्टी मस्किन्छे मात्र, च्याँठे कुरा मात्र बनाउँछ। यो हेर्नुहोस्, सोफाको माथिको खोलमा कति कत्ला परेको छ। भान्साघर ध्वाँसै – ध्वाँसो छ। ए, तपाईंको त्यो धुन दिएको कोट ल्याएको छैन? यो धोबीहरू पनि टाइममा लुगा कहाँ धुएर दिन्छन्? अब म आफै धुनुपऱ्यो।
साहू (उठेर) – धनमाया, प्लीज्, हामीलाई एकछिन…
धनमाया (कुरा काट्दै) – आइमाइ नभएको घर यस्तै हुन्छ। घर कसरी सफा – सुग्घर राख्नुपर्छ, लोग्नेमान्छेलाई के थाहा? नोकरहरूका भरमा कहाँ काम हुन्छ र! तपाईंले आफ्ना नोकरहरूलाई टाउकोमा चढाउनुभएको छ। (साहूलाई टाउको समातेर बसेको देखेर) हन! तपाईंलाई बिसञ्चो भयो कि कसो! म अहिले डा. हमाललाई लिन पठाउँछु (भीतर जान्छे)
मि. लुइँटेल – हवस् त साहूज्यू, म अहिले लाग्नुपऱ्यो। भोलि आउँछु। (उठ्नलाग्दा साहूले मि. लुइँटेलको हात समात्छन्)
साहू (बिन्ती गर्दै) – लुइँटेलज्यू, यो मेरो जीवन-मरणको सवाल हो, कृपया मलाई छाडेर नजानुहोस्। (मि. लुइँटेल खुइया गर्दै बस्छन्)
(धनमाया एउटा ट्रेमा ड्रिङ्क्स् र आलुचप लिएर आउँछे)
धनमाया (टेबलमा राख्दै) – तपाईंको जिउ सञ्चो छैन, अलिकति यो ब्रान्डी लिनुहोस्! (सारेर दुवैजनालाई दिँदै) उकिलज्यू तपाईं पनि लिनुहोस्। मैले च्याँठेलाई डाक्टर बोलाउन भनी पठाइसकेकी छु। आउँदै होलान्। (आलु चप दिँदै) यो आसु चप पनि खानुहोस् न! मैले आफ्नै हातले बनाएको, स्पेसियल हो। ड्रिङ्क्ससित कम्ति मिठो लाग्दैन! नोकरको हातको र घरकी स्वास्नीको हातको खानामा धेरै फरक हुन्छ। अरे! तपाईंहरू त के ट्वाँ परेर हेरिरहनुभएको, सातो हराएजस्तो! के साह्रो बिसञ्चो भयो? (गिलास उठाएर साहूको मुखमा लाँदै) एक घुट्को पिउनुहोस् न! (साहूले एकैचोटि गिलास रित्तै पार्छन्, मि. लुइँटेलले पनि)अप्पै! एकै सासमा? मुटु कम्जोर हुन्छ है! यसरी पिउनु राम्रो होइन। भरे टेकबहादुरले भेट्यो भने मेरो के हुने हो! होइन, उकिलज्यू? (उकिलतिर हेर्छे)
साहू – हे भगवान, म बरबाद भएँ। यसरी बोल्नुभन्दा त यिनी लाटी नै ठिक थिइन्। म के गरूँ, कहाँ जाऊँ?मेरो कान फुटिसक्यो। बरू म बहिरा भएको र यिनी फेरि लाटी भएदिए म एउटा गतिलो खसी काट्ने थिएँ। (स्वास्नीलाई) तिमी यहाँदेखि एकछिनका लागि जान सक्दिनौ?
धनमाया – तपाईंलाई त बिरामीले चेपेजस्तो छ है! बौलाहाजस्तो कुरा गर्नुहुँदैछ।
साहू (रिसाएर) – मैले केही गर्नुभन्दा अघि नै तिमी यहाँबाट जाइहाल, नत्र भने म आत्महत्या गर्न बेर लाउँदिनँ अब!
धनमाया (रुँदै) – हे भगवान मेरो लोग्नेलाई के भयो? (जान्छे)
(साहू खुइया गरेर बस्छन्)
लुइँटेल – तपाईंको चैने स्थिति साँच्चै नै शोचनीय रहेछ।
(दैलोमा ढक ढकको आवाजष मि. लुइँटे उठेर दैलो खोल्छन्, डा. हमाल र सुन्दरको प्रवेश)
डा. हमाल (आउँदै गर्दा) – नमस्कार साहूज्यू, तपाईंलाई के कम्पलिकेशन छ? (बसेर रक्सी सारेर पिउन थाल्छन्)
सुन्दर – यहाँले के भन्नुहुँदैछ भने, तपाईंलाई के तकलिफ छ?
डा. हमाल – तपाईंकी श्रीमतीलाई कुनै complication भएछ कि?
सुन्दर – के उहाँलाई बोल्नमा कष्ट हुँदैछ?
साहू (डाक्टरको घुँडा समातेर) – होइन डाक्टर साहेब, तिनलाई कुनै तकलिफ छैन, तकलिफ त मलाई छ!
डा. हमाल – मेरो अपरेशनमा defect निकाल्नुहुँदैछ तपाईं? Impossible, you know!
साहू – डाक्टर साहेब, मैले तपाईंलाई बोलाएको होइन, मेरी श्रीमतीले बेकारमा मलाई पो केही भएछ कि भनेर बोलाउन पठाएकी हुन्। अब तपाईं आइहाल्नु भयो, राम्रै भयो। मलाई केही छैन, म एकदम ठिक छु तर मेरी श्रीमतीको तपाईंले अपरेशन गरेपछि तिनी औधि नै बोल्न थालेकी छिन्। एकछिन पनि चूप लागेर बस्नसक्तिनन्। मेरो त कुरा नै सुन्दिनन्। तिनको बकबक सुन्दासुन्दै म बौलाहा हुन बेर छैन।
र डाक्टर साहेब, मेरो बिन्ती छ कि तिनलाई फेरि पहिलाको जस्तै लाटी बनाइदिनोस्।
डा. हमाल (साहूलाई समातेर चोकीमा बसाउँदै) – That is not possible, you know.
सुन्दर – हो यस्तो अब कसरी हुनसक्छ?
साहू (हात जोडेर) – डाक्टर साहेब, मलाई निराश नगर्नोस्। मेरो जीवन नर्क भइसकेको छ। तपाईंले जसरी भए पनि मेरो मदत गर्नोस्। पैसाका लागि कुनै सुर्ता नगर्नुहोला!
मि. लुइँटेल – हो, डाक्टर साहेब, साहूजीको चैने नौका तपाईंले चैने जसरी भए यस भवसागरबाट पार लगाइदिनुपऱ्यो।
डा. हमाल (सोच्दै) – अँ, म त केवल एउटै समाधान देख्दैछु। There is only one remedy, you know!
साहू (खुसी हुँदै) – अँ, भन्नुहोस् न डाक्टर साहेब!
डाक्टर हमाल (साहूका काँधमा हात राख्दै) – साहूजी, तपाईंकी श्रीमतीलाई फेरि लाटी बनाउन कठिन मात्र नभएर असम्भव पनि छ। तर तपाईंको समस्याको समाधान केवल एउटै उपायबाट गर्न सकिन्छ र त्यो हो तपाईंलाई surdity को अवस्थामा पुऱ्याइदिनु।
साहू – सरडिटी? यो सरडिटी भनेको के हो?
डा. हमाल – यो चाहिँ temporary हुन्छ। यो अवस्था खच्चडको एउटा लात्तीले पनि ल्याउनसक्छ। कानको छेउमा थुप्रै बन्दुकहरू पडकाए भने पनि हुनुसक्छ। तर यसो गर्दा शारीरिक कष्ट हुन्छ नै तर यो अवस्था, मैले अघि नै भनें, temporary हुन्छ।
साहू (उत्तेजित भएर) – तपाईंको भन्नुको अर्थ म बहिरो हुनु?
डा. हमाल – तपाईंले ठिक बुझ्नुभयो।
साहू – त्यसो हो भने डाक्टर साहेब, धन्यवाद, मलाई बहिरो हुनु छैन।
मि. सुन्दर – साहूज्यू, तपाईं सुर्ता नगर्नुहोस्। हामी त्यसो केही गर्दैनौं। हाम्रोमा एउटा औषधि छ, त्यो आँखा चिम्म गरेर स्वाट्टै पार्नुहोस्। तकलिप पनि हुँदैन, अनि समस्याको समाधान पनि सजिलै भइहाल्छ। त्यो औषधिको सेवन गरेपछि तपाईंका कानका छेउमा सयवटा तोप पड्काए पनि तपाईंले केही पनि सुन्नुहुन्न। र जन्मभरि तपाईंले सुन्न पाउनुहुने छैन तपाईंकी श्रीमतीको कचकच। (औषधिको बट्टा निकालेर डाक्टरलाई दिन्छ)
डा. हमाल (साहूतिर बट्टा लिएर जाँदै गर्दा) – Don’t worry Mr. Kulbahadur Sahuji, हेर्नुहोस्, यो औषधि रङ्गविहीन, गन्धविहीन र स्वादविहीन छ। यसलाई तपाईंले पिइनेबित्तिकै तपाईंका कानमा हल्का कम्पन हुनेछ र त्यसपछि तपाईंका कानले एक हजार तोप पड्केको पनि सुन्नसक्नेछैन। आउनुहोस् र यो औषधि सेवन गर्नुहोस्।
साहू (आत्तिँदै) – जाऊ, जाऊ तिमी, यहाँबाय, मलाई बहिरो हुनु छैन।
मि. लुइँटेल (हस्तक्षेप गर्दै) – साहूजीको इच्छाबिना तपाईंले जबर्जस्ति गर्नपाउनु हुने छैन।
डा. हमाल – मि. लुइँटेल, यो बिजिनेस सेक्रेट हो, आखिर तपाईं पनि professional हुनुहुन्छ! कि कसो?(आँखा झिम्काउँछ)
साहू – अहँ, म कदापि बहिरो हुन चाहन्नँ।
मि. लुइँटेल – साहूजी, तपाईंको समस्याको यो मात्र एउटा समाधान हो, अरु कुनै उपाय म देख्तिनँ। त्यसकारण खुसीसित औषधि पिउनुहोस् र जीवनभरि आनन्दसित बस्नुहोस्! दिनुहोस् डाक्टर साहेब त्यो बट्टा मलाई!
(धनमायाको प्रवेश)
(धनमायालाई आउँदै गरेको देखेर ‘म खान्नँ, म खान्नँ’ भन्ने साहूले बट्टा खोसेर एकै घुट्कोमा औषधि स्वाट्टै पार्छन्)
धनमाया – ए डाक्टर साहेब तपाईं आइपुग्नुभयो, राम्रो भयो। यहाँलाई औषधि दिनुभयो कि? (साहूतिर) तपाई औषधि पिउनु किन यति बिघ्न डराउनुभएको? तपाईंको कोट मैले च्याँठेलाई धुन पठाइदिएकी छु, नेप्टीलाई घर धुनु भनेकी छु। च्याँठेलाई बेलुकी कुखुरा काट्न भनिदिएकी छु र नेप्टी….
साहू – म केही सुन्दिनँ….(हाँस्छन्)
धनमाया (छक्क पर्दै) – डाक्टर साहेब, मेरो लोग्नेले के भन्नुहुँदैछ?
डा. हमाल – Your husband is deaf for ever.
मि. सुन्दर – तपींको श्रीमान् सधैँका लागि बहिरो हुनुभयो। तपाईं अब जे भन्नुहोस् न, तिनले केही सुने पो!
धनमाया (कानमा हात राख्दै चिच्च्याएजस्तो) – होइन!!! यो हुन सक्तैन!!!
डा. हमाल (साहूसित) – लौ अब हामी जान पऱ्यो। हाम्रो फीस!
साहू (मुसुमसु हाँस्दै र टाउको हल्लाउँदै) – म केही पनि सुन्दिनँ, म केही पनि सुन्दिनँ!!
(मि. लुइँटेल अघाडि आएर दर्शकवर्गलाई सम्बोधन गर्दै)
लौ त हाम्रो सत्यनारायणको कथा समाप्त भयो, अब बिदा पाऊँ! तर बाहुनलाई दक्षिणा दिन नबिर्सिनुहोस् है!
(पर्दा खस्छ)
(1980 मा आकाशवाणी खरसानबाट प्रसारित यस रेडियो नाटकमा केही संशोधन गरिएको छ। यस नाटकमा Ashley Dukes को हास्य नाटक The Dumb Wife of Cheapside को प्रत्यक्ष प्रभाव छ – लेखक)