~राजेन्द्र भण्डारी~
यति धेरै सामानहरू विज्ञापित छन्।
चाहिएको सामान नै
कता लुक्छ कता।
फिँज पखालिसक्दा पनि
शरीरमै टाँसिरहन्छ साबुनको विज्ञापन।
कस्तो गह्रौं
विज्ञापन अनुहारका क्लिष्ट आत्मीयताहरू
जतासुकै पछ्याइरहने।
ढुङ्गामाथि निक्खुर हाँसिरहेको
त्यो अविज्ञापित सुनाखरी
विरोधको अहो कति राम्रो स्वर!
दिनभरी अनुहारमा खिलेर हिंडेको
सिन्थेटिक मुस्कानको विज्ञापन
खोलेर हुत्याइदिन्छ साँझमा
र फर्किन्छु त्यही अविज्ञापित निर्जन चप्लेटीमा
आफैभित्रको।
एकाकार हुन्छु सधैँ
त्यस अप्रतिहत नीरवतासित।
त्यो अक्षत आदिम सङ्गीत
मैले नुहाउनेगरेको पानी
त्यो अविज्ञापित एकान्त।
(भानु-दीप-बाट साभार)
(स्रोत : रचनाकार डट कम)