~प्रकाश थापा मगर~
इतिहास
रेल होइन कि
निश्चित ठाउँबाट सुरु हुने
बीच बीचमा निश्चित ठहराव
ठहरेको ठाउँबाट यान्त्रिक यात्रा सुरु
तर रेलले पनि
इतिहासको झल्को दिन्छ
निर्धारित समयमा नचलेर
तर, त्यसको अर्थ
होइन इतिहास विलम्बको यात्रा ।
मान्छेको जीवन र इतिहास
यस्तो लाग्दछ कि
हिँड्छन् सँगसँगै
तर बेवास्तापूर्ण
एकले गर्दैन अर्कोको वास्ता
मान्छे सजीव, जीवन्त
तर इतिहास निर्जीव, मृत
फेरि पनि
एकले अर्कालाई सिकाउन खोज्छन् पाठ
इतिहासले मान्छेलाई बताउँछ–
भावुकतामा रनभुल्ल नपर
तिम्रो यात्रा नियमानुशासित छ
मान्छे भन्छ– इतिहासलाई
तिमी यान्त्रिक छौ
तिमी बनाइएका हौ अरूद्वारा
म तिम्रो स्वरूपलाई बदल्न सक्छु
थाहा छैन
मान्छेले बदल्छ इतिहासलाई वा,
इतिहासले बदल्छ मान्छेलाई ?
तर इतिहास निर्जीव र यान्त्रिक भए पनि
मानिसलाई नियन्त्रित गरे जस्तो छ
भनिन्छ, इतिहासले हरेकलाई दिन्छ
मौका एक पटक
मानिसले पाउन सक्छ मौका पटक पटक
तर पहिलो मौका हो निर्णायक
आफ्नो क्षमता सावित गदैन भने
त्यसपछिका मौका हुन्
इतिहासका लागि अरूचिकर वा,
मानिसको प्राविधिक प्रयत्न
इतिहासले दिन्छ चुनौती कि
आफ्नो क्षमता सावित गर
अन्यथा, अर्को मौका निरर्थक
तर, मानिसको पनि आफ्नै हुन्छ धुन
बेपरवाह
लाइनमा बस्ने होइन
आफू पछाडि लाइन उभ्याउन खोज्ने
यस्तालाई इतिहासले ल्याइदिन्छ
लुडोको खेलमा झैँ
सन्तानब्बेबाट आठमा ।
तिनै मान्छे खरो उत्रिन्छन् इतिहासमा
जसले इतिहासको मौकालाई
सम्झिन्छन् अन्तिम र निर्णायक
मौकामा देखाउँछन् पूरा क्षमता
आफूलाई नियाँल्छन्
शीरदेखि पाउसम्म र,
इतिहासबाट आफूलाई
परख गर्छन्, निरीक्षण गराउँछन्
उन्निसबाट बिस, बिसबाट एक्काइस
घेराभन्दामाथि उठेर
समाउन खोज्छन् जलिरहेको सूर्यलाई
तर, त्यसो गर्दा
राख्छन् पैतलालाई जमिनसित टाँसेर
उनीहरू ख्याल राख्छन्
इतिहासको यो शिक्षा कि,
जन्मभूमिबाट अलग भएर
जितेको छैन कसैले युद्ध
कायम राखेको छैन अस्तित्व ।
इतिहास र मान्छे
मान्छे र इतिहास
पहिलो को हो ?
नटुङ्गिँने विवादका बीचबाट
मान्छेले बुझ्नु छ–
‘एक युगमा एक दिन एक पटक मात्र आउँछ’
एक दिन वा एक मौका
जीवन–मरणको प्रश्न वा,
अन्तिम प्रहरको युद्ध
जसलाई जित्नु छ हरहालतमा
अन्यथा
उसको पनि रहने छैन नामोनिशान ।
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ६ – Dec. 24, 2014 – २०७१ पौष ९ गते, बुधबार)