गीत : टिकुल-टिकुल

~कृष्ण वस्ती~Krishna Wasti_1

डालीमाथि टिकुल्-टिकुल झिमझिम परेली ।
बेलौतीको दानो टोक्दै नाच्छ जुरेली ।।
जिन्दगीको तीतो-मीठो भाखा सुसेली ।
टिकुल्-टिकुल डालीमाथि नाच्छ जुरेली ।।
टिकुल्-टिकुल डालीमाथि…….

डोबिल्को नै उसका लागि नुहाउने कूवा ।
पातमै बसी सुकाउँछ सानो-सानो भुवा ।।
सम्झाइदेऊ शिकारीलाई बेली-चमेली ।
जुरेलीलाई नहानिदेऊ प्याट्ट गुलेली ।।
टिकुल्-टिकुल डालीमाथि…….

सानो-सानो झोपडी त्यो गुँड बनाएको ।
बिनायोको स्वरजस्तो बोली सुहाएको ।।
अभावमै पनि खेल्छ मीठो बयेली ।
शिकारी हो नहानिदेऊ प्याट्ट गुलेली ।।
टिकुल्-टिकुल डालीमाथि……..

(टिकुल-टिकुल नाच्नुको भाव बुझाउने नवनिर्मित शब्द हो ।शिशुको हिंडाइलाई टुकुर-टुकुर हिंड्दो भनिन्छ भने त्यो उमेरको उसको नाच बालबोलीमा टुकुल-टुकुल नाच हो किन नभन्ने ?जुरेली झन् सानो छ अत: जुरेली कसरी नाच्दै छ? बालभाषाको उत्तर
हुनसक्ला कि “जुरेली टिकुल-टिकुल नाच्दैछ ” ।शब्दसँग खेल्नेक्रममा फुर्यो यो शब्द ।त्यसैले प्रयोग गरिदिएँ ।शिशुको नृत्यमा सुरताल मिल्दैन ,तैपनि राम्रो लाग्छ ,चराको पनि तालिमप्राप्त नाच होइन।केवल भाव मीठो हो ।टिकुल नाचको सहजता जस्तै यो गीतमा टिकुल-लयको प्रयोग छ ।अर्थात् लयको अनुशासनलाई भन्दा भावलाई मुख्य बनाइएको छ ।। )

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.