ओम् भूर्भूव स्व: तत्स………………………………धियो योन प्रचोदयात………
मेरो मोबाइलको घण्टी बज्यो / मेरो मोबाइलको कलिंग टोनमा स्त्री जाति र अछुतहरुले सुन्दा र सस्वर मन्त्रोचारण गर्दा अपराध हुने गायत्री मन्त्र अन्ध परम्पराको गला च्वाट्टै छिनालेर श्रुति मधुर स्वरकी धनी अनुराधा पौडवालले गाएकी हुनाले यो धून मलाई असाध्य मनपर्छ / बेलुकीको खाना पकाउने क्रममा तरकारी केलाउंदै थिएँ मोबाइल हतपत रिसिभ गर्न सकिन र धून बज्न छोड्यो / केहीबेर पछी धून फेरी बज्यो मैले मोबाइल उठाएँ र हेरें फोन लोकल थियो तर मेरो मोबाइलमा सेभ नगरिएको हुनाले अल्मलिदै हेल्लो भनें उताबाट नारी आवाज आयो ” ओ ई .. शिबिका ! फोन किन नउठाएकी ?” लोकल फोनमा ईड़ाको स्वर सुनेर म दंग परें र उनको प्रश्नको जवाफ नदिई भनें ” ओ … ई …ईड़ा ! तँ पो ! कहिले आइस ,पोखरामा ? उनले लामो सास तानेर भनिन् ” वस् ..स.. आउंदै छु होटेल आएर कोठामा पनि नपुगी काउन्टरबाटै तँलाई फोन गरेकी मोरी ! के छ तेरो हालखवर ?”
अरे मेरो हालखवरलाई मार गोलि , तँ मेरो घर सरासर नआएर किन होटेलमा गइस हँ मोरी ! होटेल सोटेल छोडदे खुरुक्क मेरो घरमा आइज , कुन होटेलमा बस्न आँटेकी तँ ? कुन ठाउँ हो भन् ? म मेरो बुढोलाई लिन पठाउँछु , अनि त्यस पछी हुन्छ कुरा /
अरे मोरी अहिले छोडदे हामी दुई जना आमा छोरा आएका छौं, तँलाई अप्ठ्यारो होला भनेर हामीले होटेल बुक गरेको /
ए ! अक्कले पनि आएको छ ? त्यो त लम्बु भैसक्यो होला हगि किन नहोस तेईस चौबीस बर्षको त भैसक्यो /
अक्कले होइन मोरी ! अलेक्स म्याकल्गन भन् /
अक्कलबहादुर सार्की अलेक्स म्याकल्गन भएछ /जति सुकै आफुलाई सभ्य भने पनि म बाहुनकी छोरी बुहारीलाई अक्कले पनि आएको छ भने पछी मुखले कर गरे जस्तो गरे पनि मनले नआईदिए हुन्थ्यो भन्ने लाग्यो र धेरै कर गरिन / भोलि होटलमै आउने वचन दिएर फोन राखें /
ईडाले बाइस तेईस वर्ष पहिले एउटा सार्कीको बच्चालाई धर्म पुत्र बनाएर सिड्नी लैजाँदा मेरो लोग्ने शंकर र म पनि एउटा साछी थिएँ / साँच्चै भन्ने हो भने ईडा पोखरा नदीपुरमा मसंगै हुर्केकि थिई / बयालीस बर्ष अघि ईडाको बाबु पेड भोलुन्टिएर सोसिएल वर्करको रुपमा डाइरेक्टर भएर पोखरा आउँदा ईडा पांच बर्षकी थिई / मेरै घरको पारि पट्टि मेरो अंकलको घरमा तल्लो फ्ल्याट पुरै भाडामा लिएर बसेका थिए / त्यो घरको वरिपरी ठुलो चौर भएको हुनाले हामी त्याँहा खेल्न जान्थ्यौ / ईडा पनि हामीसंग खेल्न आऊँथी ,हामीसंग खेल्दाखेल्दै त्यसले पनि टाक्क टुक्क नेपाली बोल्न थालेकी थिई / झनै त्यसमाथि हामी पढ्ने गरेको बोर्डिंग स्कूलमा हाम्रै कक्षामा भर्ना गरि दिए पछि हामी सहपाठी पनि भयौ / चाड पर्व दशैं तिहारमा टीका थाप्न पनि आउँन थालेकी थिई / तिहारमा मेरो भाइलाई मसंगै टीका लगाई दिन्थी यसरि साढे पांच -छ वर्ष हामीसंगै खेलेर हुर्किएकी एघार वर्षकी ईडाले आफ्नो बाबु बेन्हार्ड र आमा ईलिसासंगै आफ्नो मातृभूमि डेनमार्क फर्कने बेला गहभरी आँशु पारेकी म कहिल्यै भुल्न सक्दिन / जाने बेलामा मेरो घरको फोन नम्बर पनि लिएर गएकी थिई र बेला बेलामा फोन गरिरहन्थी / अनेकौं मौसमहरु पार गर्दै जसरि म वालिकाबाट किशोरी र किशोरीबाट वयस्क तरुनी भएँ हुँदै गएँ त्यसरी नै नारी स्वतन्त्रताको देश डेनमार्कमा ईडा पनि तरुनी हुँदै गई होलि / हामीसंग पढ्दा खेल्दा ताका केटीहरुसंग भन्दा बढी केटाहरुसंग खेल्न र संगत गर्न मनपराउने त्यो चुलबुले र चनमती कम्प्युटर ईन्जीनिएर पास गरेर नोकरीको लागि अस्ट्रेलिया आएर बसी र त्यहीं नै कम्प्युटर ईन्जीनिएर फिलिप्ससंग प्रेम विवाह गरी / यता मैले माध्यमिक तहको मास्टरसंग बिहे गरें र घर व्यवहार सम्हाल्न थाले/एक छोरा दुई छोरी जन्मिएका हुनाले तिनीहरुकै लालन पालन आदिले गर्दा मैले स्नातक पनि उतिर्ण गर्न सकेकी छैन/
आज ०६८ श्रावण २१ गते / साढे एक्काईस वर्ष अगाडी अर्थात् ०४७ सालमा मैले दुई वटी छोरी जन्माई सकेकी थिएँ ईडाको भने बिहे गरेको तीन वर्ष भए पनि बच्चा बच्ची भैसकेको थिएन आफ्नो अस्ट्रेलियाली लोग्ने लिएर पन्ध्र दिनको छुट्टीमा पोखरा घुम्न आएकी थिई/ त्यो बेला भने मेरै घरमा बसी / गाईको मासु खान रुचाउने ति गैर हिन्दु ईशाइहरुलाई मैले दश दिन जति आफ्नै घरमा राखें र खाना खान पनि भान्छा भित्रै हुलें/ अहिले त्यो अक्कले सार्की अलेक्स भएर आउँदा पनि मलाई आफ्नो घर भित्र हुल्न डिगमिग लाग्यो / खोई किन हो मलाई थाहा छैन / सायद त्यो मेरो संस्कारले गर्दा हुनु पर्छ अथवा शभ्य समाजको चाहना हो या हरियो डलर / ईडा र उनको लोग्ने मेरो घरमा दश दिन बस्दा मेरो सामाजले पनि मलाई केहि भनेनन् बरु हाम्रो ईज्जत र सम्मान उम्लने बेलाको दुध जस्तो ह्वात्तै बढ्यो / उनीहरु मेरो घरमा दश दिन पुरै बसेनन् पोखरादेखि नजिकैका गाउँहरुको भ्रमण गर्न जान्थे हामीलाई पनि संगै जान कर गर्थे तर छोरीहरु सान्सानै भएको बहाना बनाएर हामी जाँदैनथ्यौं र उनीहरु उतै वास बस्थे / आठौँ दिन भने हामीलाई उनीहरुसंगै महेन्द्र गुफा हेर्न नगई सुखै भएन त्यतिबेला ईड़ाले भन्दा उनको लोग्ने फ़िलिप्सले धेरै कर गरेका थिए / जेठको महिना भए पनि अघिल्लो रातदेखि झरी परेर थामिएको हुनाले गर्मीको अनुभूति हुदैनथ्यो बरु चर्को आन्दोलनको गर्मीले बगाएको पसिना सुकाउँदै थिए जनताहरु / हामी खानपिन गरेर एउटा ट्याक्सीमा महेन्द्र गुफा हेर्न गयौं /
गुफा हेरेर फर्कने क्रममा फिलिप्सले अंग्रेजीमा भन्यो–” मैले त यो गुफा पनि सिड्नीको जोनालेन गुफा जस्तै होला भन्ने सोंचेको थिएँ ,त्यस्तो पाइन” /
“कस्तो छ जोनालेन गुफा हामी पनि सुनौंन बरु ईडा तिमी नेपालीमा भन किनभने म पनि अंग्रेजीमा त्यति पोख्त छैन” /–मेरो लोग्ने शंकरले उत्सुकता दर्शाए /
“जोनालेनमा एघार वटा गुफाहरु छन् /जुन आज भन्दा अन्दाजी एकलाख पैंतीसहजार वर्ष पहिले समुद्रले छोडेको थियो / ति गुफाहरु भित्र विभिन्न आकृतिका हिरा,मोति जवाहरात जस्तो लाग्ने फटिक ढुंगाहरु जसलाई स्टाल्याकटाईटस भनिन्छ /यस्ता थुप्रै प्राकृतिक कलाकृतिहरुले मनै लोभ्याउँछ /” —ईड़ाले छोटकरीमा भनिन् र आफ्नो लोग्नेलाई ईंगित गर्दै अंग्रेजीमा भनिन् –“फ़िलिप्स तिमी कस्तो मान्छे ! समुद्रले छोडेको गुफा र नदीले छोडेको गुफा पनि कहीं यौटै हुन्छ ? के नेपालको जस्तै सुन्दर र विश्वमै अग्लो हिम शृंखलाहरु सिड्नी वा अन्त कतै पाइन्छ ? यहाँको जस्तै डांडा काँडा ,झरना ,नदीनाला र जंगल तिम्रो अमेरिकामा वा सिड्नीमा छ ? प्राकृतिक छटाहरुको आपसमा तुलना गर्न मिल्दैन,फ़िलिप्स ! तिम्रो जोनालेनको महत्व छुट्टै छ महेन्द्र गुफाको छुट्टै /”–ईड़ाले रोष प्रकट गर्दै भनिन् /
” मेरो आशय ………….”.फिलिप्सले के बोल्न खोजेका थिए तर ट्याक्सीको ईमरजेन्सी ब्रेकले उसको बोलीमा पनि ब्रेक लाग्यो / हामी नदीपुरको सुकुम्वासी वस्ती नेर आइपुगेका थियौं / त्यो वस्ती मेरो माइती घरबाट नजिकै पर्छ / सुकुम्वासी वस्ती नेर आइपुग्दा एउटा अन्दाजी दुई वर्षको बच्चालाई बचाउन ईमरजेन्सी ब्रेक लगाइएको रहेछ / बच्चालाई देखेर ईडा ट्याक्सीबाट ओर्ली र काखमा लिई ,चारैतिर हेरी र भनी——–” यो बच्चाको बाबु-आमा को हो ?” ……………….
बच्चाको अभिभावकहरु त आएनन् तर दर्शकहरुको भीड लाग्यो, गाडीहरु जाने बाटो नपाएर जाम भयो /टयां टयां टुं टुं हर्न बज्न थाल्यो/ केहीबेर पछी यौटी सात आठ वर्षकी बालिका आई र भनी– “यो त मेरो भाई अक्कले हो /”………..
“अनि तिम्रा बा-आमा खोई त ?”–ईड़ाले त्यो बालिकालाई सोधी …….
बालिकाले भनी –“बा ! जुत्ता सिउन भैरब टोलको चोकमा बस्नु हुन्छ …..आमा भैरे साहुको घर भाँडा माझ्न /” ईडा र त्यो बालिकाको कुरा गराई लामो हुने छाँट देखेर हामी पनि ट्याक्सीबाट ओर्लियौं र ट्याक्रसीलाई साइड लगाएर पर्खने संकेत गर्यौं / ईडाको चालामाला देखेर मलाई अचम्म लाग्यो र भनेँ –“ओ. ई ईडा ! जा… ऊँ… हिँड ,झमक्कै साँझ परिसक्यो / किन ? के गर्न लागेकी तैंले यो ?”
” म यो बच्चालाई सिड्नी लिएर जान्छु ,धर्म पुत्र बनाएर” —ईड़ाले आफ्नो निर्णय सुनाई / मैले एकै छिन् त्यसको अनुहार ट्वाँ परेर हेरें / उनको कुरा सुनेर मेरो लोग्नेले ईडालाई भन्यो— “ओ ईडा ! यस बिषयमा पहिला हामी घर पुगेर छलफल गरौँ …तिम्रो लोग्नेको ईच्छा पनि बुझौँ अनि कुरा मिल्यो भने भोलि आएर कुरा गरौला नि हुन्न ?”
“हुनत हुन्छ भिनाजु ! तर म आजै यो बच्चाको आमा-बालाई भेट्न चाहन्छु /'”
मेरो बुढाले बालिका तर्फ उन्मुख हुँदै सोध्यो ——–“नानी ! तिम्रो नाम के हो ?………….
“भु न् टी” —बालिकाले लामो लेग्रो तानेर आफ्नो नाम बताई / पछी मेरो लोग्नेले फेरी त्यो बालिकालाई सोध्यो —-“तिम्रो बाको नाम के हो नि ?” बालिकाले तुरुन्तै भनी………
“सुईरे माईला” ……….
सुइरे माईला भन्ने बित्तिकै मैले भनें” ए बुढा ! मैले चिनें, त्यो पहिला हाम्रै बाको हली थियो ,आज भोलि जुत्ता सिउन थालेछ /”–
मैले यति के भन्दै थिएँ त्यो बालिका भुन्टीले भनी—————” ऊ आमा आउनु भयो /”भुन्टीकि आमा हप्तौंदेखि कपाल नकोरेकी र ननुहाए जस्ती मैलो धोती ब्ल्लुज लगाएकी काखमा करिब आठ महिनाको बच्चा च्यापेर आएकी अन्दाजी तीस वर्षकी देखिन्थी / भुन्टीकि आमा आए पछी ट्याक्सी चालकले भन्यो —“वेटिंग चार्ज दिने भए म कुर्छु होइन भने मलाइ जान दिनोस” …..
ईडाले भनी —“ठिकै छ , एकछिन पर्ख” ——-
चालकले भन्यो…….. “मलाई दुई सय रुपियाँ थपी दिनु पर्छ /”मौकाको फाइदा उठायो चालकले / ईडा केहि नबोली भुन्टीकि आमा तिर उन्मुख भई र भनी ——-“दिदी यो तिम्रो बच्चा हो ?… हेर त आज झन्डै ट्याक्सीले किचेको /” भुन्टीकि आमाले ईड़ाको वास्तै नगरी आफ्नो काखको बच्चा भुन्टीलाई थमाइन् र छोरीको ढाडमा एक थप्पड हानेर ईडाको काखबाट आफ्नो बच्चा लिन खोज्यो / ईडाले पनि केहि नभनी बच्चा दियो /बच्चा लिएर भुन्टीकि आमा छोरीलाई घचेड्दै घर गयो / ईडा जिल्ल परी र पछी पछी लागेर भुन्टीको घर गई ,हामी पनि ईड़ाको पछी लागेर गयौं /बाटो नजिकै थियो भुन्टीको घर ,घर के भनौं छाप्रो /छाप्रो भित्र भुन्टीका अरु बहिनीहरु पनि थिए तीन जना / झन्डै दुर्घटनामा परेको अक्कले थियो र त्यस मुनिको काखे भाइ / तीस वर्षकै उमेरमा छ सन्तानकी आमा बनेकी थिईन्, भुन्टी वा अक्कलेकि आमा /परिस्थिति र अक्कलेकी आमाको मुड हेर्दा त्याहाँ कुनै कुरा गर्नुको कुनै प्रयोजन नदेखे पछी ईडाले भनी ……….”जाऊँ शिबिका ! भोलि बिहानै बच्चाको बाबुसंग भेटेर कुरा गर्नु पर्ला /”ईड़ाको त्यो भनाइले हामी सबैलाई राहत मिल्यो ,हामी सबैले लामो सास तान्दै ट्याक्सी भए ठाउँ आयौं र घर फर्क्यौं / घर फर्कदा साँझ छिप्पिएर रात पर्ने लागेको थियो /
घर आएर लुगा फेरफार गरे पछी छोरीहरुलाई टि भीमा कार्टुन लगाई दिएँ र सिधै भान्छा कोठामा पसें / केहीबेर पछी लुगा फेरेर ईडा पनि आई र मलाई सघाउन थाली / मेरो लोग्ने शंकर र ईडाको लोग्ने बार्दलीमा बसेर सोम रस पिउन थालेका थिए /उनीहरुको लागि स्न्याक्स बनाएर ईडाको हात पठाई दिएँ तर ईडा त्यो दिएर तुरुन्तै म भए ठाउँमा फर्की / ऊ फर्कने बितिकै मैले भनें —“ओ ई मोरी ! पराई बच्चालाई धर्म पुत्र पाल्ने जस्तो संवेदनशील विषयमा लोग्नेसंग स्वीकृति लिनु पर्दैन ?” ……….
“तँ लाटी सोझी छेस् , हेर् हाम्रो समाजमा लोग्ने स्वास्नी भनेको बेड पार्टनर हो / दुबैको सहमति बेगर यौन सम्बन्ध स्थापित गर्न खोज्नु बलात्कार मानिन्छ, कानुनि अपराध मानिन्छ / आ-आफ्नो कमाई आ-आफ्नै खुशी हुन्छ / बच्चा जन्माउने र नजन्माउने आ-आफ्नै खुशी हुन्छ ,स्वतन्त्र हुन्छ / धर्म पुत्र पाल्ने सम्बन्धमा पनि यस्तै हो,शिबिका / मलाई धर्म पुत्र पाल्न मन लाग्यो त यसमा मेरो लोग्नेको स्वीकृति र अस्वीकृतिको के अर्थ ?/लोग्ने स्वास्नीको जीवन यात्राको कुनै मोडमा बाटो फरक हुनसक्छ /यसको मतलब हो सम्बन्ध बिच्छेद तर फिलिप्स सोझो र ईमान्दार छ ,म ऊसंग अबस्य सल्लाह गर्ने छु /”—-ईडाको कुराले मलाई मेरो लोग्ने शंकरको व्यवहार स्मरण गरायो मैले मनमनै भनें /मेरो यौन चाहना नहुँदा नहुँदै पनि शंकरको लागि मैले मन मारेर धेरै पटक बिच्छिएको छु / रक्सी धोकेर आए पछी मेरो लोग्ने पशु बन्छ तर सहर बजारको शिक्षित आइमाई भएर पनि मैले कहिल्यै प्रतिकार गर्न सकिन / लोग्नेको प्रतिकार गर्नु भनेको हाम्रो समाजमा दुश्चरित्रको बिल्ला भिराइ माग्नु हो /स्वास्नी मान्छेहरुले सहि दिएका छन् र समाजमा शान्ति छाएको छ / हाम्रो समाजमा लोग्ने स्वास्नी वीचको शान्ति ..मुर्दा शान्ति हो भन्ने मलाई लाग्न थाल्यो /.. ……..
“ओ ई शिबिका ! के घोरिएकी ?” –ईडाको यो स्वरले मेरो एकाग्रतालाई छताछुल्ल पारि दियो / …………
“अक्कलेलाई म धर्म पुत्र बनाएरै छोड्छु ,यो मेरो दृढ संकल्प हो /.”……..
ईडाले आफ्नो संकल्पमा जोड दिदै भनी /…..”खाँटी कुरा भनूँ ,शिबिका ! म अहिले नेपाल आएकै धर्म पुत्रको खोजीमा हो / हाम्रो समाजमा त यस्तो बच्चाहरु पाउन मुश्किल हुन्छ /”…………
“तैंले आफै जन्माएको भए भइ हाल्थ्यो नि !”—-…….–मेरो कुराको जवाफमा त्यसले भनेकी थिई —“बजारमा जस्तो भन्यो उस्तै दूध किन्न पाइन्छ भने आफ्नो घरमा गाई पाल्नुको कुनै तुक छैन ,मोरी ! “…..
हाम्रो यो वार्तालाप भइरहंदा भान्छा तयार भएको पत्तै भएन /खाना पस्कदै गर्दा ईडाले भनी शिबिका ! भोलि बिहानै हामी दुई जना मात्रै त्यो अक्कलेको घर जाऊँ है !
भोलि पल्ट विहान साढे सात वजे तिर हामी अक्कलेको वावु आमालाई भेट्न गयौं / हामीलाई देखेर अक्कलेको वावु सुइरे माइलाले चिया सुरुप्प पार्दै भन्यो–“ओ.. हो..!.. शिबिका नानी ! …तपाईं ?..अनि उहाँ को हुनुहुन्छ कुन्नि ?”… ..मैले भनें–” सन्चै छौ ,दाइ ? ऊ मेरो साथी ईडा , अस्ट्रेलियाबाट मलाई भेट्न आएको /” कपाल कन्याऊँदै सुइरे माइलाले भन्यो —“धेरै समय पछी मेरो घरमा आउनु भएको , खोई मेरो घर त यस्तै छ क्यारे नानी ,लौ यो गुन्द्रीमा बस्नोस् म संग केहि काम थियो कि ? ……..
मैले गुन्द्रीमा बस्दै भनें ——“अँ माईला दाई ! यो स्वार्थले भरिएको धर्तीमा कुनै स्वार्थ नभई कसको घरमा को जाने आउने गर्छ र ? म पनि तिम्रो घरमा केहि माग्न आएको , केही मागें भने दिन्छौ कि दिन्नौ ?”–……….
मैले यो कुरा भनि रहंदा अक्कलेकी आमा पनि नजिकै आएर उभिई र हाम्रो कुरा ध्यान दिएर सुन्न थाली / सुइरे माइलाले फेरि पनि कपाल कन्याऊँदै भन्यो—- “‘ हजुरकै बा-आमाको जुठोपुरा खाएर हुर्केको म जस्तो गरीबसंग हजुरलाई दिन लायक वस्तु के नै होला र नानी ?” ………
मैले प्रसंगलाई मोड्दै भनें ‘ –“माईला दाइ ! यो महंगीको जमानामा पनि यति धेरै सन्तान जन्माउने ! हेर त भाउजू दुब्लाएर कस्तो हालत छ ? माया लाग्दैन भाउजूको ?” ………”माया त लाग्छ नि तर के गर्ने ! भगवानले दिएको सन्तान हात थापेर स्वीकार गर्ने पर्यो / अनि हजुरको छोरा छोरी कति भए साँच्चै मैले त सोध्नै भुलेछु /” … कपाल कन्याऊँदै बोल्यो ,सुइरे माइला / ………..
“मेरो त दुईटी छोरी छन् ,जेठी छ वर्षकि भई कान्छी तीन वर्षकि / सन्तान जन्माएर मात्र कहाँ सुख छ र दाइ ? जन्माए पछी जुग जमाना अनुसार तिनीहरुको लालन पालन गर्ने पर्यो , पढाउनै पर्यो ,कि कसो दाइ ? ल ..अब तिमीले पनि परिवार नियोजन गर ! छोराको ठाउँमा छोरा छ ,छोरीको ठाउँमा छोरी / कति ,छ वटा भयो हैन ?”…………..
मेरो कुरा सुनेर हाँस्दै सुइरे माइलाले भन्यो —‘” नानीले मसंग के माग्दै हुनु हुन्थ्यो.. कुरा बटार्नु भो /”………..
मैले पनि हाँस्दै भनें –‘” दाइलाई अझै सन्तान जन्माउने रहर छ भने अक्कले भदा मलाइ देऊ, म पाल्छु /अस्ट्रेलिया गएर धेरै पढ्छ र तिमीहरुलाई पनि बुढेस कालमा पाल्ने हुन्छ यो / ई यो मेरो साथी छ नि.. हो….यसले अस्ट्रेलिया लगेर पाल्छ / तिम्रो यो अक्कले भाग्यमानि रै’ छ र तिमीहरु पनि भाग्यमानि रै ‘छौ /”…………
मेरो यो प्रस्ताब अनायास हुनु पर्थ्यो ,सुइरे माइलाको लागि तर मैले सोचे जस्तो भएन / सुइरे माइलाले भन्यो —–“‘ नानीले यहि भन्नु हुन्छ भन्ने मैले लख काटी सकेको थिएँ किनभने हिजो बेलुकै अक्कलेकी आमाले भनि सकेकी थिई हिजोको घट्ना र आज एका विहानै यो नानीलाई लिएर हजुर यहाँ आउनु भो / हुन त आफ्नो कोखिको घाऊ कसलाई पो बढी हुन्थ्यो र तै पनि अक्कलेको भविष्य हामीसंग भन्दा यी नानीसंग सुरक्षीत देखेको हुनाले हुन्छ त नि लैजानुस तर मेरो एउटा सर्त छ /”………..
“कस्तो सर्त दाइ ? “—चुपचाप लागेर हाम्रो वार्तालाप सुनिरहेकी ईडा अचानक बोली / ………….
“सर्त के भने नानी ! मैले पनि यी छ जनालाई पढाउँन लेखाउन पर्छ त्यसैले अहिले मलाई एक लाख रुपियाँ दिनु पर्छ /”…..
सुइरे माइलाको सर्त सुनेर ईडाले पुलुक्क मेरो मुखमा हेरी र आँखाको ईसाराले मलाई सोधी मैले पनि आँखाको ईसाराले के गर्ने भनेर सोधें / केही वेर आँखै आँखाको भाषामा हाम्रो संवाद चलिरह्यो /ईडाको स्वीकृति सूचक ईसारा पाए पछि मैले भनें —“हुन्छ ,माइला दाइ ! हामी तिमीलाई एकलाख रुपिया दिन तयार छौं तर हाम्रो पनि केही सर्त छन् / सर्त के भने हामीले दिएको पैसा केटाकेटीको पढाईमै खर्च गर्नु पर्छ र त्यो पैसा हामी अड्डामा दिने छौं / दिउँसो खाना खाएर भाउजू र केटा केटीहरु समेत लिएर अड्डामा आउनू है त !”.. भनेर हामी घर फर्क्यौं /
ईडा खुशी देखिन्थी उनको खुशीमा मैले पनि खुशी मिसाएकी थिएँ / सिड्नी फर्कने बेलामा ईडाले मेरो हातमा पचास हजारको बिटो राख्न खोजिन् ,मैले ईन्कार गर्दा पनि उसले मानेन र लिएँ /
यसरि साढे एक्काइस वर्ष बिगतको घटना मेरो आँखा वरिपरी चलचित्रको दृश्य झैं घुमिरहँदा मेरो लोग्ने शंकर कुन बेला आइपुगेछ मैले चालै पाइन / छोरीहरु बिहे भएर जेठी क्यानाडामा आफ्नै लोग्नेसंग गएकी छे /कान्छी छोरी यसैपालि बिहे भएर काठमाडौँ आफ्नो घर बस्छे /कान्छो जुवाँई पनि बेल्जियम जाने तयारी गरिरहेको छ / बीश वर्षे छोरो प्लस टू पढ्न काठमाडौँ होस्टेलमा बस्छ ,त्यो पनि प्लस टू सके पछी अस्ट्रेलिया जान्छु भन्दै छ / /घरमा हामी बुढा बुढी मात्रै / मलाई लाग्छ मान्छेको जिन्दगी र चरा चरीको जिन्दगीमा कुनै भिन्नता छैन /मेरो लोग्ने शंकर घरको जेठो छोरो ऊ पनि ठुलो छोरी जन्मेको सालमा घरबाट छुट्टिएको थियो /आखिर के रहेछ र जिन्दगी ? मेरो लोग्ने बिहान भात खाएर स्कूल गए पछि राति आठ नौ बजे घर भित्रिन्छ /मलाइ दिनभर समय काट्न मुश्किल हुन्छ / ईडाले भने झैं लोग्ने मान्छेको जात साँच्चै नै स्वस्नीहरुलाई पाएसम्म दवाउनै खोज्छ /यस्तै यस्तै तरंगहरु मेरो मन मस्तिष्कमा उठिरहेको बेला मेरो लोग्नेको स्वर सुनें / रातको नौ बजेको थियो / रक्सीको गन्ध तिब्र रुपमा मेरो नाकमा ठोक्कियो / रक्सी खाएर रातको नौ दश बजे घर आउने मेरो लोग्नेको नियमित रुटिन थियो , तै पनि मैले कुनै प्रतिकार गरेकी छैन / आज त झनै मेरो लोग्ने कति खेर आउला र ईडा आएको खवर सुनाउँला भन्ने ब्यग्र प्रतीक्षामा बसीरहेकी मैले चुपचाप खाना पस्कि दिएँ / मेरो लोग्ने आयो र चुपचाप खाना खान थाल्यो /मैले भनें –“ए बुढा ! ईडा आएकी छे /अक्कले पनि आएको छ रे /” …….
मेरो लोग्नेले पुलुक्क मेरो मुखमा हेर्यो र भन्यो —“खोइ त यहाँ त देख्दिन.. !…………
“बाराही होटेलमा बसेकी छे /आउने बित्तिक्कै मलाई फोन गरेकी थिई /भोलि बिहान जाऊँ है भेट्न !” …………….”भेट्न होइन ,लिन जाने”—तीखो स्वरमा मेरो लोग्नेले भन्यो / ……….”आमै नि ..सार्कीलाई घर भित्र हुल्ने ?” –मैले सुस्तरी भनें ……..”अब त्यो सार्की होइन, शभ्य र शिक्षित अंग्रेज बनिसक्यो / तिमी कुन युगमा बाँचेकी छ्यौ थाहा छ ? पढे लेखेको शिक्षित सहरियाको त यो दरिद्र मानसिकता छ ,गाउँ ठाउँको मान्छेहरु झन् कस्ता होलान् /शभ्य ,शिक्षित र सफा सुग्घर मान्छेहरु जो सुकै पनि मेरो घर भित्र आउन सक्छन् तर फोहोरी र अशभ्य मान्छेहरु चाहे त्यो बाहुन क्षेत्री नेवार जो सुकै होस् उनीहरु देखी मलाई घीन लाग्छ / तिमी ईशाइलाई घर भित्र हुल्न सक्छ्यौ तर हिन्दूलाई किन घृणा गर्छ्यौ हँ ?”………..
मेरो लोग्नेको यो म प्रतिको तिब्र व्यंग्यको जवाफमा मलाई भन्न मन लागेको थियो —सार्की दमै भन्दा पनि तिमीले रक्सी खाएर रात विरात घर आएर स्वास्नी माथि शोषण गरेको मलाई घीन लाग्छ/ तर मैले त्यसो भन्न सकिन / लोग्नेको अत्याचारको प्रतिकार र बिद्रोह गर्न मलाई, मेरो अन्तर हृदयलाई के ले रोक्छ ? सम्भवत यो नेपाली नारी समाजको संस्कारले हो कि ? मेरो लोग्ने त्यति भनेर कोठामा गयो / मलाई खाना खान मन लागेन /लोग्नेले खाएको जुठो थाल माझेर म पनि कोठामा गएँ /
भोलिपल्ट बिहान मैले ईडालाई हामी आउँदै छौं भनेर फोन गरें /बाराही होटल मेरो लोग्नेको घरबाट पैदल पन्ध्र मिनेट जति टाढा पर्छ /विहानीको झलमल्ल घाममा हामी लोग्ने स्वास्नी पैदलै गयौ / ईडा ,नुहाई धुवाई गरेर हाम्रै प्रतीक्षामा लिभिंग रुममा बसेकी रहिछे / अक्कले भर्खरै नुहाउन बाथरुम पसेको रहेछ / हामी पुगेको केहि बेर पछी चिया पनि आइ पुग्यो / चियाको चुस्की लगाएर मैले सोधें –“ओ ई ईडा ! तेरो लोग्नेलाई किन नल्याएको त ?” …….
मेरो प्रश्नको उत्तर त्यसले तुरुन्तै दिईन , एक छिन चुप लागेर बसी /केहि बेरको मौनता पछी त्यसले बिस्तारै भनी —” मेरो लोग्ने दुर्घट्नामा परेर मर्यो /…..
अलेक्सलाई लिएर सिड्नी पुगेको केहि महिना पछी मलाई सन्तान चाहियो भन्न थालेको थियो /मैले भने मेरो सन्तान यही अलेक्स हो , तिमी पनि यसैलाई आफ्नो सन्तान स्वीकार गर / तर उसले मानेन र मसंग झगडा गर्न थाल्यो ,मलाई पनि रिश उठ्यो र भने, त्यसो भए तिमी भाड़मा जाऊ ,मेरो अगाडी मुख देखाउन नआऊ / रिशले भुन्भुनिदै गएको त्यसले (पब ) भट्टीमा गएर बेसरी रक्सी धोकेछ , गाडी अन्ट सन्ट चलाएछ र ट्रकमा लगेर ठोक्काएछ ,घटनास्थलमै मर्यो /त्यसको लास पोस्टमार्टम रिपोर्ट सहित बाकसमा प्याक गरेर त्यसैको आमाबाबु भएको देश अमेरिका पठाई दिएँ /……..
“बैंशमै लोग्नेको मृत्यु भएछ ,एकाकी जीवन कसरि बिताईस् त ,ईडा ?–शिबिका …………..
तँ लाटी छेस् शिबिका ! हाम्रो र तिमीहरुको संस्कारमा फरक छ /म मृतक लोग्नेको नामको माला जपेर आफ्नो जिन्दगी बर्बाद गर्ने संस्कारको केटी होइन /मैले ब्वाई फ्रेन्ड बनाई सकेकी छु /–ईडा……….
ईडाले आफ्नो लोग्नेको मृत्युको नालीबेली बताई रहँदा अनुहारमा कुनै विषाद वा दुखका धर्साहरु सल्बलाएको मैले देखिन / विधवा हुनुको कुनै चिन्ता पनि थिएन /तर मेरो लोग्नेको अनुहार पीरो धुवाँले आत्तिएको जस्तो देखिन्थ्यो र पनि आफुलाई संयमित बनाए जस्तो देखिन्थ्यो /मैले ईडालाई केहि भन्न खोज्दै थिएँ त्यतिनै बेला मेरो लोग्नेले मलाई उछिन्दै बोल्यो …”किन ? ईडा ! त्यहीं नजिकैको मेरो घरमा नआएर होटलमा बसेकी ! जाँऊ हिँड ,हामी तिमीहरुलाई लिन आएका /”……
प्रत्युत्तरमा ईडा बोली …”होइन ..भिनाजू हामी यहीं ठिक छौं / अलेक्सले मान्ने छैन /…..
“अलेक्स भनेको को ?” मेरो लोग्नेले सोध्यो ….मैले भनें-” अक्कलेको अर्को नाम अलेक्स, मैले हजुरलाई भन्नै बिर्सेकी /”त्यही बखत अक्कले पनि बाथरूमबाट निस्क्यो /गोरो अग्लो ह्यान्डसम भएको रहेछ /हामी लोग्ने स्वास्नी दुवै अक्कलेलाई हेरेको हेर्यै भयौं / आउने बितिक्कै हामीलाई पालै पालो अंकल अँटी भनेर नमस्कार गर्यो र आमासंगै बस्यो /हामीलाई त्यसले चिन्ने त कुरै भएन ,औपचारिकता पुरा गर्यो मात्र /मैले ईडालाई सोधें ….”नेपाली बोल्न जानेको छ ,यसले ?” ………………
“अँहँ ,मैले सिकाइन,आफु भन्दा ठुलालाई हात जोडेर नमस्कार गर्ने नेपाली शैली मलाई मन परेको हुनाले त्यो मात्र सिकाएँ/” –ईडाले भनी …… “अनि यसले कति पढ्दै छ त नि ?” –शिबिका ………..
“प्लस टू सकेको थियो ,ईन्जिनीयारिंग पढ भनेको मानेन /मेकानिक्सको ट्रेनिंग लिएर जुत्ता फ्याक्ट्रीमा काम गर्दैछ ,जे होस् कमाई राम्रै गर्छ /शायद यसलाई रिच्युअल भनिन्छ क्यारे / यसको वावु फाटेको जुत्ता सिएर बस्थ्यो यो फ्याक्ट्रीमा काम गर्छ फरक त्यति हो /” –ईडा…….”तेरो मतलब ट्रेडिसनल ह्युमन बिईंग अर्थात् पुर्ख्यौली संस्कार ?” –शिबिका ………
“एग्ज्याक्टलि” –ईडा ……………
“तर जे होस् ईडा ! तिमीले यो गरीब अक्कलेलाई गतिलो थाँक्रो बनेर अलेक्स बनायौ / तिमीलाई थाहा छ ,ईडा ! हरेक मानव मस्तिष्क लहरा युक्त विरुवा हो जसले गतिलो थाँक्रोको सहारा पायो भने गतिलो फल र फूल दिन्छ पाएन भने त्यसमा लाग्ने फलफूलहरु अगतिला हुन्छन् वा असमयमै मृत्यु हुन्छ / यी दुवै कुरा मानव कल्याणको निमित्त हुदैनन् / तिमीले यो अलेक्सको थाँक्रो नबनेको भए यो पनि यसका दिदीहरु र भाई जस्तै खाते बन्ने थियो /”–शंकर ……….
“हो ,भन्या ईडा ! मेरो बुढाले भनेको कुरा साँचो हो /” –शिबिका …………
“मैले दिएको लाख रुपिया के गरेर भ्याएछ त ? यसका वावु-आमाले /”–ईडा …………….
“के गर्ने ? ..पैसा भइन्जेल दिनदिनै मासु भात र रक्सी खाएर रल्लिएर हिड्यो र रक्सी खाई खाई यसको वावु मर्यो ,आमा चाहीं बच्चा पाउन नसकेर मर्यो / अहिले यसका दिदीहरु कहाँ छन् केहि थाहा छैन ,हुन् सक्छ कतै वेश्यावृति गरेर वा कसैको भाँडा माझेर जिन्दगीको ठेला गाडी धकेलीरहेको होला / भाइ चाहीं चोर भएर हिडेको छ / तिमीले दिएको रकम सदुपयोग भएको भए उनीहरु पनि केहि गर्न सक्षम हुन्थे कि !” –शिबिका ………………..
हो ,भन्या ईडा ! मेरो बुढाले भनेको कुरा साँचो हो / –शिबिका ………..
“.मैले दिएको लाख रुपिया के गरेर भ्याएछ त ? यसका वावु-आमाले /”–ईडा …………….
“के गर्ने ? ..पैसा भइन्जेल दिनदिनै मासु भात र रक्सी खाएर रल्लिएर हिड्यो र रक्सी खाई खाई यसको वावु मर्यो ,आमा चाहीं बच्चा पाउन नसकेर मर्यो / अहिले यसका दिदीहरु कहाँ छन् केहि थाहा छैन ,हुन् सक्छ कतै वेश्यावृति गरेर वा कसैको भाँडा माझेर जिन्दगीको ठेला गाडी धकेलीरहेको होला / भाइ चाहीं चोर भएर हिडेको छ / तिमीले दिएको रकम सदुपयोग भएको भए उनीहरु पनि केहि गर्न सक्षम हुन्थे कि !” –शिबिका ………….
“बालबालिकाको ,बृद्धहरुको र समग्र गरीब जनताको थाँक्रो भनेको सरकार हो तर लाचार ,निकम्मा र अनैतिक नेताहरु भए पछी देशी बिदेशी गैर सरकारी संघ संस्थाहरुको प्रयासले मात्र के हुन्छ ?सदियौंदेखि उपल्लो जात भनाऊँदाहरुको थिचो मिचोले मस्तिष्कमा बाक्लो खीया लागेका यी दलितहरुको दिमाग भुत्ते भएको छ /यसलाई धारीलो बनाउन यहि ब्यबस्थापन रहने हो भने अझै एक दशक भन्दा बढी समय लाग्न सक्छ /” –शंकर …………
“ओ भेरी स्याड न्युज , म तिनीहरुलाई नै भेट्न भनेर त्यति टाढादेखि आएको ,ब्याड लक् भयो / अब म सकेसम्म छिट्टै नै फर्कन्छु /”–ईडा ……….
“त्यति कुरा त तिमीले फोनमा पनि त सोध्न सक्थ्यौ नि ? अब नआउनु आईहाल्यौ दुईचार दिन हाम्रो घर बस्ने गरि जाऊँ /” –शंकर ………
“हो सक्थें , भिनाजु ! तर मैले यतिसम्म होला भन्ने त कल्पनासम्म पनि गरेकी थिईन र तपाइहरुलाई सरप्राइज दिने गरि नेपाल आएकी हुँ /अब म आजै नै काठमाडौँ जान्छु र सकेसम्म छिटो सिड्नी फर्कने प्रयास गर्छु / तपाईका छोरा-छोरीहरु के गर्दै छन् ?” –ईडा ……
“छोरीहरुको बिहे भैसक्यो ठुली आफ्नो लोग्नेसंग क्यानडा गएकी छे कान्छी पनि बेल्जियम जाने तरखरमा छे /छोरो ,काठमाडौँमा प्लस टू पढ्दै छ ,प्लस टू सके पछी त्यो पनि अस्ट्रलिया जान्छु भन्दैछ /”—शिबिका …………….
“.छोराको लागि म पनि केहि गरुँला / के नाम हो त्यसको ?” –ईडा ……….
“सुशान्त /… अरे मोरी आज त कमसेकम मेरो घरमा खाना खान त आऊ !” –शिबिका
जति अनुनय बिनय गरे पनि ईडा मेरो लोग्नेको घर जान मानिन / आजै काठमाडौँ फर्कन्छौं भनेर ढिपी गरी र अपरान्हको फ्लाइटमा अक्कले संगै काठमाडौँ फर्की /
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

