कविता : ए दशैँ

~गिरिप्रसाद बुढा~

ए दशैँ,
तेरो खोक्रो आशिर्वाद अस्विकार गरेर
तेरो विषालु शुभकामना बहिष्कार गरेर
यसपाली मैले ठिकै गरेँ
नत्र मैले क्षितिजपारी बगेको बादलको टुक्रा झैँ
लागेको ऋण तिर्न कतै टाढा जानु पर्दो हो
अथवा ममा गरिबीको अर्को जीवन कथा थपिँदो हो

ए दशैँ,
एकदिनका लागि बुढीको कचकच पचाएर
ललाबालाहरूका खुशी अनि उमङ्ग दबाएर
यसपाली मैले ठिकै गरेँ
नत्र मैले जोडी गुमाएको ढुकुरले झै
आफ्नै प्यारीको प्रेम गुमाउनु पर्दो हो
अथवा लालाबालाहरूको भविष्य मेटाउनु पर्दो हो

ए दशैँ,
यस पाली मैले जमरा पनि छरेन
दही र अक्षता पनि मुछैन
मेरा नानीबाबुहरू पल्लो घरमा खसी काटेको खबर ल्याए
काट्न देउ भनिदिए
मेरा नानीबाबुहरू साथीहरूले नयाँ लुगा किनेको कुरा सुनाए
किन्न देउ भनिदिए
ए दशै,
मेरा नानीहरूका आँखामा रसाएको आँसु देखेर
मेरो ह्दय नपग्लेको होइन
तैपनि ह्दय कठोर बनाएर
यस पाली मैले ठिकै गरे
नत्र मेरी आमाको पाखामा
नेउलीको अर्को बिरह सुनिँदो हो
अथवा मेरो यात्रामा अर्को पहाड चुलिँदो हो

ए दशैँ
पोहोर साल तेरो त्यो
नवदुर्गा माताको पूजा गरेकै हुँ
तर केही दिएन तेरो तेरो भवानीले
त्यसैले तेरो भवानीलाई मैले
मेरो गरिबीको आक्रोश देखाएर
यसपाली मैले ठिकै गरेँ
नत्र मैले सधैका लागि
हरेक साँझ मझेरीमा बसेर पिरको आँसु पिउनु पर्दो हो
अथवा मेरो जीवनको सपना पानीको फोका झै फुट्दो हो

ए दशैँ
तेरै नाममा बरू रोएर वेदना पिए
यो वेदनाको क्रन्दन छोरा छोरी अनि,बुढीलाई दिए
ए दशैँ
तैले मेरो जीवनको चौतारीमा रोहटे पिङ घुमाए पनि
खुशीका लागि मैले आत्मघाती पोको फुकाएन
दुनियाले मेरो बदनामको कुरा काटे पनि
मभित्रको जटिलता र गरिबी लुकाएन
त्यसैले
ए दशै
तेरो खोक्रो आशिर्वाद अस्विकार गरेर
तेरो विषालु शुभकामना बहिस्कार गरेर
यसपाली मैले ठिकै गरेँ
नत्र मैले क्षितिज पारी बहेको बादलको टुक्रा झैँ
लागेको ऋण फाल्न कतै टाढा जानु पर्दो हो
अथवा ममा गरिबीको अर्को जीवन कथा थपिदो हो

(२०७१ भदौ ४ गतेका दिन राप्ती साहित्य परिषद,जिल्ला शाखा रूकुमद्वारा सञ्चालीत रूकुम साहित्यमालाको चौथो शृङ्खलामा वाचन गरिएको कविता)

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ४२ – Sep. 24, 2014 – २०७१ असोज ८ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.