~सरिता तिवारी~
बा !
तपार्इंको काँधमा चढेर
मलाई हेर्नु थियो संसार
तपाईंका पाखुरीहरूलाई सिरानी बनाएर
सुन्नु थियो
जादूको कुनै बाकस खुलेजस्ता कथा
र तपार्इंकै छातीमा ढुक्कले निदाएर
देख्नु थियो इन्द्रेणीजस्ता सपना
कुलै कुलो
त्यो साँघुरो आलीको बाटोमा
मलाई हिँड्नु थियो तपाईसित
पाइला–पाइला नाप्दै
र, पुग्नु थियो खेतमा
तपाईंले जोतिरहेको खेतमा
पछि–पछि आएर किन चरिरहेका होलान्
चिबेचराका बथान
सोध्नु थियो तपाईंसितै
तपार्इंले बनाएको खरैमाथि उक्लेर
सुनाउनु थियो मेरा साथीहरूलाई
आँप र कटहरका रुखहरूलाई
टाढा–टाढा उभिएका घरका छानाहरूलाई
र, अझैटाढा उभिएका पहाडहरूलाई
‘…हेर, कति अग्लि भएकी छु म !’
कति धेरै थिए मभित्र प्रश्न
कसले फुलाउँछ होला
बोटका हाँगाभित्र पसेर फूल ?
कसले चलाउँछ होला
चारैदिशामा बसेर
पङ्खा हम्केजस्तो हावा ?
ओहो !
कसले पो वर्षाउँछ होला
आकासबाट यस्तरी पानी ?
केले बनेको होला पानी ?
पखाल्न सक्छ कि सक्दैन होला यसले
मयल जसरी काती परेर बसेका दुःख ?
तर बा,
किन त्यस्तो हुँदैन
जस्तो हामी सोच्छौं
जस्तो कल्पना गर्छौं ?
हल्लिरहेको छ मेरो स्यानो मुटु
काँपिरहेका छन् मेरा जोर आँखा
जसरी पग्लिन्छ मैनबत्ती
र, सिद्धिन्छ आगोको सुता
मभित्र सिद्धिएका छन् अरु सारा प्रश्नहरू
तर,
बाँकी छ एउटा प्रश्न
त्यसले थिचिरहेको छ
गरुङ्गो ढुङ्गाले जसरी मेरो आत्मा
अँठ्याएर दुवै हातले मेरा साना नाडी
च्यापेर बलिया तिघ्राहरूले मेरो कमलो जिउ
चिथ्रा–चिथ्रा पारेर सिकार लुछिरहेको कुनै बाजजस्तो
त्यो कुनै दन्त्यकथाको अजङ्ग दैत्यजस्तो
अँध्यारो र कुरूप छायाँ
किन तपाईंको अनुहारसित हुबहु मिल्छ ?
०००