~नविन काफ्ले अभि~
मेरो पाठशालाका भित्ताहरू सेतो कमेरो र रातो माटोले चम्की रहेको थियो मानौँ त्यो मेरो पाठशाला नभई पौष,माघमा हिउँका निर्मल पछ्यौरी ओढेर चम्की रहेको कैलाश पर्वत हो । पाठशाला पोतेर चम्काए पछि हाम्रो पठन पाठन लगभग दशैका रंगहरुसँग पोतिन सुरु भई सकेको थियो । हामी विधार्थीहरु पनि एकखाले दशैका रंगहरुसँग प्रगाढहुदै दशै तिर नै लस्कीरहेका थियौ । घटस्थापनाको २ दिन अघि देखि नै हाम्रो पाठशाला लगभग बन्द जस्तै थियो, नहोस् पो किन सबै शिक्षकहरू जिल्ला बाहिरका थिए । स्कुल पनि लगभग बिदा जस्तै भए पछि म पनि स्कुल जान मन हँुदैन थियो यसका पछाडि मलाई दशैका रँगहरुले रंगाईसकेको थियो ।
बिहानको त्यस्तै आठ बजिसकेको थियो होला ,मेरी आमा बजार दूध पुर्र्र्र्र्याएर घर आईसकेकी रहीछन् ए “भुजेल” हेर यो केटो त अहिले सम्म सुत्याकै छ त सारै सुतुवा भयो यो त , म बजार दूध पुर्याईकन आईगयाँ चाँडो उठ त क्या, आज घर पोत्नु छ । आमा कराए पछि बल्ल मेरो निन्द्रा खुल्यो । सपनाका तरङ्गबाट बाहिरिएर म एकहातले सिरक पाल्दै जुरुक्क उठे । गाउँमा उ जमानामा चर्पीका नामले परिचित हालको ट्वाइलेट प्रयोग गरे, दाँत प्रायः म दुईदिनको एक चोटीमात्र माझ्ने बानीको थिए । बहिनीले दूध तताएकी रही छ , हिजो साँझ बचेको मकैको रोटी दूधमा मोलेर अलिकति आगोमा तताए जुन मेरा लागि सारै मन पस्नको खाना थियो तर यो खाना खान भन्दा बढी त्यो तताएको भाँडो माझ्न सारै कष्टकर हुन्थ्यो किनकि आगोले यसलाई राम्रै सँग रंगाउथ्यो ।
वर्षामा पानीका थोपाहरूले अन्तर स्पर्श गर्ने गरी छिचोलिएका टाकुराहरू र ती टाकुराहरूलाई औधी छिचोलीनबाट बचाएका ती विविध रुखहरूमा बिहानको शिलत घामको स्पन्दले तताई रहँदा मेरी आमा अब दशै सुरु भयो भन्दै बेला बेलामा सुस्केरा मार्ने गर्थिन । आमाले यसो भनी रहँदा बेरी बहिनी पनि आमै दशै आयो दशै आयो अब त मासु खाने है भन्दै आमालाई झस्काऊ थि ।
असोजको महिना यसै त राम्रो लाग्ने गथ्र्यो मलाइ, झन् पहारिला घाम, खेतमा लटरम्म झुलेका ती धानका बाला, बारीका पाखामा सितका थोपाहरूको मार खेपी खेपी पनि आफ्नै सौन्दर्य देखाउन बिलकुलै बाँकी नराखी झुलेका ती कोदाका बालाहरूलाई हेर्दा मेरा मनका कुनाहरूमा जीवनका सुन्दर अनुभूतिहरू चलमलाई रहन्थे । अर्का तिर परदेशीका मेरा बा घर आउने परिकल्पना भइरहन्थ्यो ।
घटस्थापनाको दिन गाउँमा पिङहाल्नका लागि बाबियो काट्न भनी अघिल्लै दिन मैयाँ दिदीले सबैका घर घर उर्दी जारी गर्दै आएकी थिइन्। बिहान ९ बजे तिर हामी मैयाँ दिदीको घरमा गाउँका सबै जना भेला भयौ । मैयाँ दिदी यस्ताकाममा सारै फुर्तिली थिइन् उनको घर पञ्चायतकालमा २ पाला प्रधान खाई सकेका बाबैको घर हो, त्यसैले उनको घरलाई सबैले प्रधानको घर भनी मान्ने गरेका थिए । बाबियो काट्ने त्यो जमातमा सबैका बा आमा दिदी सामेल भईरहदाँ मेरा घरबाट भने म सामेल थिए, किनकि मेरी आमालाई घरकै कामले फुर्सद थिएन तै पनि तँ नजा म बन गएको बेला दुई मुठा काटेर ल्याइदिउँला भन्दै थिइन् । सबैले भैगो काले तँ नजा भनिरहँदा म भने म के कम भनेर लागि परेको थिए र सफल पनि भए । तल्लो वनमा बाबियो काँटी रहँदा मन पिङका सर्काहरूसँग रमाईहरेको थियो ।
घटस्थापनाको भोलिपल्ट गाउँमा पिङबाट्नको लागि भनी साँझपख सबैलाई निम्तो गरियो र सबैका घरबाट पिङ बाट्नेका लागि खिर बनाउन भनी दूध उठाइयो । साँझ पख पिङबाट्नका लागि सबैका घरबाट बाहरु उपस्थित भइरहँदा मेरा बा लाहुरेका रूपमा परदेशीका थिए बा घर नआएको त्यस्तै १०,११ वर्ष भएको थियो त्यसैले मेरा घरबाट म उपस्थित भए ।
सबैले मेरा बा को कुरा काट्न थाले । लाले परदेशिएको पनि १० ,११ वर्ष भइगो काँ गयो होला घरमा यी लालावाला छोरा छोरीहरू छोडेर ,त्यसलाई त्यसकी बुढीको माया नलागे पनि यी भुरा भुरीको त माया लाग्नु पर्ने नि त भन्दै । साईला काकाले मलाई ए काले तँ आएर हुन्छ तेरी आमालाई पठाई दे जाँ भन्दै धकेले । म कुदै कुदै घर गए , आमै—आमै तिमी तल पिङबाट्ने ठाउँ आउरे। आमा आफ्नै सुरमा जाँतो पिस्दै थिइन् मैले भनेको सुन्दै नसुनी पिसिरहीन् ।म फेरी चिच्याएँ आमै भनन् किन तिमी नजाने मैलै जिद्धीपारमा सोधे पछि मेरी आमाका रिसहरु जुरमुराउन थालि सकेका थिए । आमैले ठुल—ठुला आँखा म तिर तर्दै तेरा बा लाई बोलाएर ल्या अनि जान्छन् तेरा बा भन्दै गर्दा आमाका आँखा रसाईसकेका थिए, तै पनि आफ्नै सुरमा जस्तो गर्दै थिइन् ।
म फेरी जिद्धी र रुन्चे हुदै भने आमै तिमी पिङ बाट्न न गए त हामीलाई भोली खेल्नै दिन्नन् हिड न क्या। आमा अहिले त सारै कराईन् “हेर काले त मेरो टाउको न खा खुरुक्क खाना खाएर पढ्न बस त, हैन कुरो बुझ्ने भईत अब तँ त म आईमाई मान्छे कसरी जाँउ भन त फेरी ती तेरा काका भनाउदाँहरु कम्तीका छैनन्, जिउँदै पोली खाउला जस्तो गर्छन् त्याँ म एउटी आईमाईको बद्नाम गराउन जाँउ त सोच त आफै” आमा रुदै भन्न थालिन् तेरा बा आज घर भईदिए मैले यतिका आरोप र दुख झेल्नु पर्दैन थियो होला ,यो समाजले मलाई पोईलाई यसैले लखेटेकी हो विचरा लाले न त काँ यस्तो गथ्र्यो र भन्ने आरोप लगाएको छ हुन त घरकाले श्रीमान्को मर्यादा गर्न नसक्ने आईमाई भन्दै बारबार हेपी रहन्छन् त बाहिरका किन नभनुन् । आमाको यति कुरा मेरो मनमा गएर भक्कानीन थाल्यो २१ औ शताब्दीको बाटो हिडिरहेको मेरो देश जहाँ राज्यका सर्वश्रेष्ठ पदहरुमा महिलाको बहाली छ , खोई त समानता खोई त मेरी आमाहरुलाई स्वतन्त्रता, कि मेरी आमाहरु पुरुष भनाउँदाहरुको अगाडी गएर ढुक्क सँग बस्न नपाउने हुन्, कि मेरी आमाहरुको बोलीहरु नसुनीने हो,के मेरा बा जस्ता धेरै बा हरु मुगलानीदा मेरी आमाहरु जस्ता आमा यस्तै पिडाको तपन भई रहने हुन् त , कहाँ छ यो समानता ? कहाँ गयो स्वतन्त्रता ? मन भरी यस्तै विविध प्रश्नहरुको बाढी उर्लेर आयो । र एक पटक मेरा बा देखि सारै रिस उठेर नि आयो “काँ गए होलान् ती बड्डा यति का वर्ष सम्म ।” अब मलाई पिङ बाट्ने ठाँउ जानै मन लागेन किनकि मेरा बा परदेशीएका छन् जसको कारणले मेरी आमा यो समाजबाट हेपीएकी छन्।
दशैमा आफ्ना घर फर्कने परदेशी लाहुरेहरु काँधमा टेप राखेर ठुलै स्वरमा घन्काउदै आउथे । सबैका घरमा परदेशबाट ल्याएको नयाँ कपडा, खाने कुराहरु हुन्थे मेरा घरमा भने उही आटो र मकैका रोटी अनि उहि पुराना झुत्रा कपडा, चुटेर पलाष्टिकको डोरीले बाटेर जोडेका चप्पल । हाम्रालागि परदेशको समान र कपडा त कल्पनामात्र थियो ।
दशैको तिन दिन अघि तल्लार बाजेकाँ खसी काटेका थिए आमा बन घाँस लिन गएकी थिइन्, बाजेले ए काले तेरा घर मासु खानेकी नाँई भन्दै चिच्चाए घरमा बहिनी र म मात्रै थियौ अलमल पर्यौ बहिनीले दाई खाने भन के, भन के कर गरी बहिनीको कुरालाई काट्न नसकेर मैले नि आदा किलो खानेहो बाजे भन्दे । घरमा मासु पनि आयो । आमा घाँसबाट आएर आराम गर्नै पाएकी थिईनन् बहिनी कुदै गएर आमै आज हामीले खसीको मासु ल्याएका छौ तल्लार बाट । बस् यति सुने पछि आमेैका रिसले कानका राँै ठाडा भई सकेका थिए । अब तिरौला के गरी तिर्ने रैछौ तिमीहरुका दुईभाईले है न कस्ता केटा केटी रहिछन् हो मेरा त नसोची नबुझी त्यसै आट्ने,अब मैले काँ बाट तिर्ने पैसा हे भगवान् । आमालाई तनाब भएछ क्यार खानै नखाईकन कोदो काट्न गईन् यति बेला सोचे त्यो मासु फिर्ता गरिदिन्छु तर फेरी सोचे यो कुनै गणितको हिसाब पनि त हैन नि जति बेला मन लाग्यो त्यति बेला फिर्ता र सापटि लिन दिन मिल्ने । साँझ आमाले पाखे धानको चामल पैचो मागेर ल्याईन जेठी आमासँग । बहिनी आमाको काखमा बस्दै भनी आमै पर्सि दशै हो त अनि मलाई कपडा खोईत, आमा चुपचाप थिइन् फेरी कराई बहिनी सुनीनौ आमै । खोई आमा के सोच्दै थिइन् पहिले नै आँखा भरी आशु बनाएकी थिइन् बहिनीको कुराले त झनै भक्कानीदै भनीन् हेर म कसरी तिमीहरुलाई कपडा हालीदिउ तिमीहरुलाई पढाउ कसरी , घर चलाउ कसरी म के गरु न त माईतीले हेर्छन् न त घरकाले हेर्छन् मैले कस्तो जिवन पाएछु । पारी पाखामा तेरा बाले मलाई भगाउन कम्तीका बहाना बनाएका थिएनन् उती बेला त राम्रै थिए घर पनि राम्रै थियो अहिले त खोई कसैले पनि हेदैनन् । यति का वर्ष भई सक्यो मुगलान गएको पनि केही अत्तो पत्तो छैन , काँ गएहोलान् मलाई यस्तो भुमरीमा पारेर । आमा रुन थालीन् ।
आमाका आँशु आमैका काखमा बसेकी बहीनीले आँखा भरी आँशु पार्दै पुछ्दै भनी आमा नरोउ क्या हामीलाई कपडा चाँहीदैन हामी तिमीले जे दिन्छ्यौ त्यहि खान्छौ लाउछौ पढ्छौ भोली जागीर खाएर तिमीलाई रानी बनाएर राख्छौ क्या किन रुन्छ्यौ । यो काले ले तिमीलाई न हेरे पनि तिमीलाई म कहिल्यै छोडेर जादैन । ११ वर्षे बहिनीको यस्तो कुरा सुनेर रुन्चे मुख पार्दै मेरी आमा फिसीक्क हाँसीन् । म वर्ष १४को भएता पनि म माँ मेरी आमालाई मेरी बहिनीले जति सम्झाउने आँट थिएन । सायद त्यहि भएर होला नारी संन्सारकै सर्वश्रेष्ठ सहनशिल र मनकारी भनेको ।
उ बेला मेरा बाले आमालाई बाख्रा गोठालाबाट भगाएर लगेका थिए रे त्यति बेला रिसाएका मेरा मामाहरु हाम्रो खासै चासो राख्दैन थे तै पनि कहिले काँही बोलाउथे । आमालाई तिजमा लगाएस् भनेर दिएको चोलीको कपडाको आमेैले बहिनीलाई कुर्ता सिलाईदिन् बहिनी त्यतिमा खुसी भई, म भने यो दशैमा उहि स्कुलमा लगाउने पछाडी पट्टी टालो हालेको पाईन्ट र त्यही स्कुलको ड्र्ेस सर्ट नै लगाउने भए । मेरी आमा भने त्यही पोहोर साल मामाले दिएको मखमलको बाउला च्यातीएको चोली मै रमाएकी थिइन् ।
दशैको दिन आमाले हामीलाई जमारा र टिका लगाईदिन् मामा घर पल्लो गाँउ थियो भैसी र गोरुलाई घाँस पात कुडो पानी गरी सकेपछि हामी मामा घर लायौ । बाटोमा सबैले हामीलाई हेर्थे तै पनि खासै वास्ता लागेन तर मामा घर पुग्नै लाग्ला आमाकी परिचीत साथिले भनिन् विचरा यिनीहरुको हालत के गर्नु बाउ राम्रा नभए पछि । मलाई यो शब्दले साह्रै पोल्यो के मेरा बा साच्चेै नराम्रा हुन त कि उनलाई यो गरिबीको चपेटाले यस्तो बनायो । कि उनले जानीजानी यस्तो गरेका हुन् ? मन पुरै असान्त भयो तै पनि मामा घरमा टिका ग्रहण पछि भाई बहिनी त्यतै खेल्न थाल्यौ मामाका छोरा छोरी सँग । सबैले नयाँ लुगा लगाएका थिए लगाएका थियौ त हामीले मात्रै पुराना । खै बहिनीलाई के लागेछ मेरो हात तान्दै दाई हिड् घर जाँउ भन्न थाली ,,मेरो मन पनि सबैका नयाँ लुगा लगाएको देख्दा कुडिएर आएको थियो ।
घर फर्किदा हामी हाम्रै गाउँमा अस्ति बाटेर हालेको पिङ खेल्ने ठाउँ गयौ ।त्यहाँ पनि सबै नयाँ नयाँ लुगामा थिए सबैले हामीलाई हेर्दै कानेखुसी गर्न थाले ,हामीलाई सबैले हेरेको देखेर मेरी बहिनी मेरो हात तान्न थाली काले हिन् के घर जाँउ ह्या सबैले हामीलाई मात्रै हेर्न लागे छिटो । मलाई पनि रति भर बस्न मन थिएन दुई बहिनी दाई घर फर्कियौ ।
सबैले नयाँ लगाउदाँ,नयाँ लगाउन नचाहने यो संन्सारमा को होला र हामीलाई मन नलाग्नु तै पनि मेरी आमाले जे दिईन् त्यहि लायौ, खायौ, पढ्यौ हामीलाई दशै तिहार जस्ता चाडपर्वले कहिल्यै रोकेन । मेरी आमाले दशै तिहार जस्ता चाडपर्वमा पनि खुसी नै राखीन् दुःख पाईन् त उनी आफैले । आज म ध्यचमि द्यबलप को कर्मचारी छु मेरी बहिनी नेपाल सरकारकोे शाखा अधिकृत छ, घाँस र दाउराको सन्सारमा रमाउने मेरी आमा काखमा नातीनी लिएर नातिनीले त्ख् मा हेर्ने मोटु पत्लु हेर्दै नातिनीसँगै रमाउदै छिन् । बेला बेलामा आजभोली पनि भनी रहन्छीन् मेरी आमा दुःख सफलताको शिखर सम्म पुर्याउने बाटो हो जसले यसमा भएका अप्ठेराहरु पन्छाउछ त्यही सफल हुन्छ ,,आत्तिनु र मात्तिनु हुँदैन ।
– नविन काफ्ले अभि
विरेन्द्रनगर ९ सुर्खेत
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )