~सोम खनाल~
सन् २०१२ को जुलाईमा अमेरिकी दुग्ध बिज्ञान संघले आयोजना गर्ने बार्षिक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन एरिजोना राज्यको फिनिक्स सहर जाने भइयो । दुईतर्फी हवाईखर्च र पाँचतारे होटेलमा खाने बस्ने प्रबन्ध विश्वविध्यालयले नै मिलाई दिने, अनि थोरै मात्रै अतिरिक्त शुल्क तिरेर साथमा श्रीमतीलाई पनि लैजाने पाउने भएपछि के चाहियो ! जुलाई दोस्रो साता आईतबार साँझ साढे सात बजेतिर म फिनिक्स डाउनटाउनस्थित होटेल सेराटनको सोह्रौं तल्लामा रहेको कोठामा बसेर सोच्न थालें- “मरूभूमि राज्यको यो दुर्लभ भ्रमण कसरी अबिस्मरणीय बनाउने होला !”
अल्ट्रासाउण्ड प्रविधिले दूधमा रहेका जीबाणु मार्नेसम्बन्धी मेरो अनुसन्धानको प्रस्तुतीकरण भोलिपल्ट नै सकिने हुँदा पर्सि दिनभर खासै काम थिएन । साथमा दुईवटा विकल्प देखा परे: नेभाडा राज्यको लस भेगास जाने वा एरिजोनाकै अजङ्गको गल्छी “ग्राण्ड क्यानियन” जाने । आफ्नै सवारी साधन भएको खण्डमा ती दुबै ठाउँ जता गए पनि उही दिन फर्कन सकिन्थ्यो । सवारी साधन त भाडामा पाइन्थ्यो तर आफूसँग लाइसेन्स नभएकोले फसाद पर्यो। जहाँ इच्छा त्यहाँ उपाय भनेझैं सँगै सम्मेलनमा गएका स्पेनकी नुरिया गार्सिया र उसको श्रीमान फरनाण्डोसँग सल्लाह गरें र ग्राण्ड क्यानियन जान मन्जुर गराएँ ।
यसरी त्यसको पर्सिपल्ट मंगलबार बिहानै भाडामा लिएको चमचमाती कारमा फरनाण्डोले हामीलाई फिनिक्स शहरबाट उत्तरैउत्तर हुइँक्यायो- ग्राण्ड क्यानियन राष्ट्रिय निकुन्ज तिर ।
अमेरिका भारतभन्दा ३ गुणा भन्दा बढी र नेपालभन्दा ६५ गुणा भन्दा बढी ठूलो छ । प्राय: यस देशको जमिन समथर भएको हुँदा कृषिका लगि अति नै उपयोगी छ, तर हिउँदमा धेरैजसो उत्तरी भूभाग हिउँले ढाकिने हुँदा ती स्थानहरूमा एक सिजन मात्र खेती हुन्छ । दछिणमा रहेको एरिजोना राज्यको प्राय: भूभाग चाहिँ मरूभूमि नै मरूभूमि रहेछ । मैले मरूभूमि कहिले पनि देखेको थिइन । अमेरिका आउँदै गर्दा साउदी अरबको आकाशबाट तुँवालोमुनि उजाड धरती देखेकोलाई पनि के देखेको भन्नु ! बहराइनको बिमानस्थलमा जहाज चढ्दै गर्दा २ मिनेट तातो जमिन टेकेकोलाई पनि के टेकेको भन्नु ! यसपल्ट भने एरिजोनामा मरूभूमिसँग राम्रै साक्षात्कार भयो । ४५ डिग्री सेन्टिग्रेट तापक्रममा बाहिर हिँड्नडुल्नै गारो हुन्थ्यो । तर अहिले भने वातानुकुलित कारभित्र शीतलमा बसेर हामी मरुभूमि नियाल्दै गुडिरहेका थियौं । करिब २ मान्छे अग्ला सिउडीका रूखैरूखहरू भएको मरू-जंगल, लेकको जस्तो धुपिसल्लाको घना जंगल, उजाड फाँट, पातला गाउँ र खेतहरू दोहोरिईदोहोरिई आउँदैजाँदै गरिरहेका थिए । ती सबैलाई छिचोलिसकेर ९० किमि प्रतिघण्टाको गतिमा साढे पाँच घण्टा जति हुइकिसके पछि हामी विश्वको सात आश्चर्यमध्ये एक ग्राण्ड क्यानियन नजिक आइपुग्यौं ।
आगन्तुक केन्द्रमा कार थन्क्याएपछि हामीलाई त्यहीँको घुम्ती बसले जंगलैजंगलको बाटो लिएर हिँड्यो । बसको दायाँबायाँ ग्राण्ड क्यानियनजस्तो कुनै खाडी देखा परिरहेको थिएन, तर मनलाई हुनुसम्म हतार भइरहेको थियो । अचानक बस जंगलबाट बाहिर मात्र के निस्केको थियो- हाम्रा अघिल्तिर आखाले भ्याउन्जेल सम्मको विशाल, उजाड र गहिरो खाल्डो देखापर्यो, हामी त ग्राण्ड क्यानियनको डिलैमा पो पुगिसकेका रहेछौ । भ्यू प्वाईन्टमा उभिएर त्यो अजङ्गको खाडीलाई पहिलोपल्ट अवलोकन गर्दा मेरो मुखबाट “बाफ रे !” भन्ने शब्द अनायासै निस्कियो । उता नुरियाचाहिँ “ओऽऽ दियोस मीऽयो” भन्दै चिच्याउँदै थिई । त्यो खाल्डो साच्चिकै अजङ्गको रहेछ, आँखालाई जति तन्काएर हेरे पनि त्यो खाडीको अन्त्य कहाँ छ भनेर भेउ पाउन नसकिने । खाडी स्वयंमा एउटा मरूभूमि। फेददेखि टुप्पासम्म चट्टानका पत्र-पत्रहरूले बनेका भित्ताहरू । माथि विशाल भएर फैलिएको खाडी पीँधमा भने साँघुरिदै गएर एउटा गहिरो गल्छीमा सीमित भएको देखिँदो रहेछ । खाडीको पीँधैपीँध भएर कोलोराडो नदी बग्दो रहेछ- मलाई पोखराको सेती नदी सम्झना आयो। तर एरिजोना तर्फबाट भने कोलोराडोको निलो पानी देखिँदो रहेनछ । खाडीको बिचबिचमा अजीब अजीबका कयौं चुचुराहरू ठडिएका रहेछन् । त्यस्ता चुचुरामध्ये उपल्लो क्षितिजमा सबैभन्दा उच्च देखिने एउटा चुचुरो मेरो जन्मस्थान तेह्थुमबाट पूर्वउत्तरमा देखिने कुम्भकर्ण हिमालजस्तै देखिइहरेको थियो । त्यसले मेरो ध्यान पनि बढी नै तानिरहेको थियो । हामी खाडीको डिलमा रहेका बिभिन्न भ्यू प्वाईन्टमा घुम्दै अवलोकन गरिरहका थियौं । एउटा बिन्दूमा ओर्लिएपछि मन अघाउन्जेल त्यही बस्न पाईने, १०\१० मिनेटमा घुम्ती बसहरू आईरहने, जति बेला चढे पनि हुने र जहाँ उत्रे पनि हुने निशुल्क ब्यबस्थाले पर्यटकहरूलाई असाध्यै सुबिधा रहेछ । विश्वासै नहुने प्रकृतिके यस्तो अनुपम सिर्जना आफ्ना सामुन्नेमा पहिलोपल्ट पर्दा त्यसको कुन चाहिँ पक्षलाई बढी ध्यान दिने भन्ने नै ठेगान नहुने रहेछ । त्यसैले कतै कतै टाँसिएका नक्साहरु हेर्दै त्यो खाडीका बिभिन्न पक्ष जतिसक्दो धेरै बुझ्ने कोशिस गरिरहेको थिएँ । यतिकैमा एउटा स्थानमा राखिएको एउटा फोटो नक्शामा मेरा आँखाहरू टक्क अडिए । त्यो नक्शामा त्यस खाडीको बीचबाट ठडिएको एउटा उच्च चुचुरोको नाम “बिष्णु मन्दिर” भनेर उल्लेख गरिएको थियो। “अघिदेखि मेरो ध्यान खिच्ने चुचुरो यही त हैन?” मैले त्यो फोटो नक्शा र स्वयं त्यो चुचुरोलाई दाँजेर हेरें: त्यो सबैभन्दा अग्लो देखिने कुम्भकर्ण हिमाल जस्तो चुचुरोको नाम नै पो “बिष्णु मन्दिर” रहेछ ! मलाई अचम्मै लाग्यो । म र मेरी श्रीमती ज्योत्सना दुबैले यो मरू-खाडीको उच्चतम बिन्दूमा मा आफ्नो आस्थाका भगवानलाई भेटौंला भनेर सपनामा पनि चिताएका थिएनौं । हामी एक अर्कालाई र त्यो “बिष्णु मन्दिर”लाई पालैपालो हेर्न थाल्यौं ।
“यो अनकण्टारको चुचुराको नाम कसरी बिष्णु मन्दिर हुन गयो हँ ?”
हुन त म त्यस्तो धर्मभिरू ब्यक्ति हैन, तर पनि एउटा सहिष्णु सनातनी हिन्दु हुँ । मेरो आफ्नो आस्थाको धर्म भएर मात्र हैन, वास्तवमा संसारका धेरै धर्महरूमध्ये लचिलो, सजिलो, मानवियताले ओतप्रोत, र मानव जातिको आदिम सभ्यतासँगै विकसित र परिष्कृत हुँदै गइरहेको हिन्दू धर्म र दर्शन संसारकै एक महत्वपूर्ण प्रेरक धर्म दर्शनको रूपमा चिनिन्छ र म पनि त्यसको “ब्यबहारिक” अनुयायी हुनुमा गर्ब गर्छु । यस धर्मले मलाई आफ्नो सार्थक लक्षमा जहाँसम्म पुग्न पनि छेकेको छैन । कहिलेकाही यस धर्मलाई पनि स्व-घोषित ठेकेदारहरूले उनीहरूका संकिर्ण स्वार्थहरूमा लटपट्याउन खोज्छन्, तर त्यस्ता पाखण्डका पञ्जाहरूबाट हिन्दूत्व सदैब मुक्त हुन सकेको छ र अनेक साँघुरा कुतर्कबाट बच्दै ग्राण्ड क्यानियन जस्तै फराकिलो मानव हृदयके उच्चतम स्थानमा स्थापित हुन सकेको छ ।
हामीले ग्राण्ड क्यानियनको त्यो उच्चतम चुलीमा आफ्नो आस्थाको प्रतीकलाई देख्दा आफूलाई अनायासै एउटा तीर्थस्थलमा उभिएको महसुस गर्यौं । ग्राण्ड क्यानियनको मेरो पहिलो यात्रा अनकण्टारको यो बिष्णुमन्दिर सम्बन्धी कौतुहलमा जेलिइसकेको थियो । मलाई यसको रहस्य थाहा पाउने हुटहुटी नै भइरहेको थियो । आगन्तुकहरूको हातबाटै खानेकुराहरू खोसेर सताउने स्वयंभूका बाँदर जत्तिकै थेत्तराग्राण्ड क्यानियनका लोखर्केहरूले मेरो कुम कुममा चढेर उछित्तो काढिरहेका थिए । तर त्यो बिष्णुमन्दिरले खिचेको मेरो ध्यान तिनीहरूले पनि भङ्ग गर्न सकेका थिएनन् ।
त्यो यात्राबाट फर्किएपछि म पून: सम्मेलनमा ब्यस्त भएँ । विभिन्न देशहरूका विश्वविध्यालयबाट प्रतिनिधित्व गरी आएका १०\१२ जना नेपाली बिध्यार्थी र प्राध्यापकले सम्मेलनको बीचबीचमा खुबै रमाईलो गर्यौं । सम्मेलनपछि पनि पढाइ सकेर नेपाल फर्किने हतारो शुरु हुन थाल्यो । फर्केपछि दुई बर्षमा भेट भएका बाआमा, छोरा र आफन्त, साथीभाइसँग रमाउनमै ब्यस्त भईयो । त्यसैले ग्राण्ड क्यानियन र त्यो अनकण्टारको बिष्णुमन्दिर प्रतिको जिज्ञासा मेरे हृदयके कुनै कुनामा संचित भएर रह्यो ।
विस्कन्सिन म्याडिसनको विश्वविध्यालयमा विध्यावारिधीको लागि भर्ना भएर पुन: अमेरिका आएपछि शुरुका केही दिन मेरो हातमा खासै केही काम थिएन । त्यो बेला मैले त्यो अनकण्टारको बिष्णुमन्दिर प्रति केही खोजीगर्ने समय पाएँ । खोजबिन गर्दा के थाहा लाग्यो भने कोलोराडो नदीले निर्माण गरेको बेसीको एक हिस्साको रूपमा रहेको त्यो बिशाल खाडी करीब ४५४०० बर्ग किलोमिटरमा फैलिएको रहेछ । यो खाडीले एरीजोना, युटाहा र नेभाडा तीन राज्यलाई छुँदो रहेछ, यद्यपि यसको धेरै हिस्सा चाहिँ ग्राण्ड क्यानियन राष्ट्रिय निकुन्जको रूपमा एरिजोना राज्य तर्फ पर्दोरहेछ । हजारौ लाखौ बर्षमा कोलोराडो नदी पृथ्वीको गर्तमा भासिने क्रममा यत्रो ठूलो खाडल बनेको रहेछ । ग्राण्ड क्यानियनमा कोलोराडो नदीले बनाएको गल्छी संसारकै गहिरो गल्छीमध्ये एक भए पनि यसको गहिराइले म्याग्दी र मुस्ताङ जिल्लाको सिमानामा रहेको कालिगण्डकीको गल्छी (सौभाग्यले म यहाँ पनि पुगेको छु) को गहिराइलाई जितेको रहेनछ।
अनकण्टारको त्यो बिष्णु मन्दिरको बारेमा चाही अत्यन्तै उत्साहप्रद र सारगर्भित इतिहास रहेछ । भएको के रहेछ भने करीब १३३ बर्ष अगाडि सन् १८८० मा अमेरिकी सेनामा कार्यरत भुगोलबिद क्लारेन्स ड्युटनले ग्राण्ड क्यानियनको नक्शांकनका दौरान यसको बिशालता र र अद्भुत दृश्य देखेर अति नै प्रभावित भएछन् । उनले दूरदृष्टिका साथ सोचेछन्: ‘प्रकृतिले निर्माण गरेको यस्तो अद्भुत स्थान संसारमा अन्यत्र नहुन पनि सक्छ, त्यसैले भबिष्यमा यो स्थान संसारका बिभिन्न स्थानमा रहेका हरेक मानिसहरूको लागि एउटा उत्कृष्ट पर्यटन गन्तब्य हुन सक्दछ ! त्यसैले यस स्थानमा रहेका बिभिन्न भूभागहरू, चट्टानहरू र चुचुराहरूलाई बिश्वब्यापी परिचय दिन पाए संसारका बिभिन्न ठाउबाट अनेक धर्म सम्प्रदायका मानिस यहाँ आउदा उनीहरूले पनि यो स्थानमा अपनत्व महसुस गर्न सक्ने थिए र यस स्थानको मिठो स्मृति हृदयमा लिएर फर्कन सक्ने थिए ।’
यस्तो सोचेर उनले ग्राण्ड क्यानियनको एउटा आधारभूत चट्टानलाई बिष्णु चट्टान र त्यसमाथि खडा भएको त्यो बिशाल चुचुरोलाई बिष्णु मन्दिर नामाकरण गरिदिएछन् । पछि थप अनुसन्धान गर्ने अन्य ब्यक्तिहरूले बिष्णू मन्दिर आसपासका अन्य चुचुराहरूलाई राम मन्दिर, शीब मन्दिर, बौध्द मन्दिर, मनु मन्दिर आदि नामाकरण पनि गरिदिएका रहेछन् । यसरी एकजना दुरदर्शी भूगोलबिदको सुन्दर सोचबाट त्यो अनकण्टार मरूभूमिमा बिष्णुको एउटा अद्वितीय मन्दिर स्थापना भएको रहेछ । मलाई यो तथ्य थाहा पाउँदा अत्यन्तै हर्ष लाग्यो ।
बास्तबमा बिभिन्न समयमा जन्म लिन पुगेका बिशाल हृदय भएका मानिसहरूको दुरदृष्टि, उत्कृष्ट चेतना र प्रेरणादायी सत्कर्महरूको कारण नै यो धर्ती बस्न लायक भएको हो । जहाँजहाँ यस्ता विचारकहरूले प्रेरणा दिए, त्यहाँत्यहाँ मानवता मौलायो र संसारबाट मानिसहरू त्यस्ता स्थानहरू प्रति आकर्षित भए ।
आज भन्दा १३३ बर्ष अगाडि अमेरिकी महादिपमा के एक जना पनि हिन्दू धर्म मान्ने मानिस थियो होला ? क्लारेन्स ड्युटनलाई कुन हिन्दू मानवको कुन सत्कर्मले यति धेरै प्रेरित गर्यो होला कि उनले त्यो उच्चतम चुचुरोलाई हिन्दूहरूको नाममा समर्पित गरिदिए ? यस्ता प्रश्नहरुका उत्तर त मसँग छैनन् तर, अनकण्टारको त्यो बिष्णु मन्दिरको सम्झना गर्दा मेरो हृदय सँधै क्लारेन्स ड्युटनप्रति नतमस्तक हुने गर्छ । म कल्पनामै अनकण्टारको त्यो बिष्णु मन्दिरकै समानान्तर त्यस्तै चुचुरोको निर्माण गरिरहेको हुन्छु र त्यसको हार्दिक नामाकरण गरिरहेको हुन्छु– क्लारेन्स ड्युटन मन्दिर।
(स्रोत : सेतोपाटी डट कम)