~केपी अनमोल~
दसैँ कति भड्किलो,
हेर न ! छिमेकीको मन दुखाई रहेछौँ ।
चाड नि यसरी मनाउँछन् र ?
यसमा त, सबै खुसी हुनुपर्छ ।
जुम्लामा, चामल छैन,
बाजुरा नुनै छैन ,
उनको पनि त दसैँ हो नि,
फेरि अस्ति मात्रै,
घरखेत बगाइ लग्यो, आफन्त गुमे उनका !
मर्न नसकि,
खुल्ला आकाश मुनि बाँचिरहेकाहरुलाई,
नकचरो तिम्रो सरकारले,
एकसरो लुगा त फेर्न सकेन !
त्यो तीन हजार त,
तिनले तीन चुस्की,
हुस्की मै सकाउँछन् ।
न त तिम्रो नै हात उठ्यो,
त्यो टहरोमा चुल्हो सल्काउन ।
यो दसैँमा तिम्रो मात्रै चरिफुरि छ,
यसले त दशैको महत्त्व,
मात्रै घटाउँछ बाबै ।
कतिलाई खुसी पार्न,
निरीह पशु ढाल्दैछौं !
र त्यो,ढुङ्गामा रगत लिप्दैछौं ।
अनि भन्छौँ,
म पनि विजयी भएँ ।।
आफूसँगै अरूलाई पनि,
जो तिम्रो वरपर छन् !
खुसी तुल्याउन सिक,
चाडमा ।
ठान्छौँ तिमी मैले खसी ढाले,
थाहा छ, तिमीले तिम्रै छिमेकी ढालेका छौँ ।
ईश्वर भन्छन्,
छिमेकीलाई प्रेम गर,खुसी पार !
खिस्यायौं र,गिज्यायौँ भने त,
श्रापित हुनेछौँ ।
सके देऊ,र तिमीलाई पनि दिइनेछ ,
सक्तैन देखावटी चाडले,
अरूलाई नरुवाउँ ।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)