~बहादुर सिंह बराल~
गोर्खाली नाउँ हेर, बदनाम होइ नजाओस्
पूर्खाको यो फूलबारी, मसान होइ नजाओस्
कौन जातिको हामी, कस्तो भई रहनुपर्छ
बिर्सेर आफ्नो गौरव, अनजान होइ नजाओस्
रीतिथिति र चालढाल, अर्कैको गरी हिँड्दा
डर लाग्छ कतै झूठो, गुमान होइ नजाओस्
यस्तो कर्म नगर्नू, जातिलाई हानि पुग्ने
पूर्खाको नाम फाल्ने, समान होइ नजाओस्
सत्ते अबुझहरूको, चालढाल हेर्दा आज,
कर्तव्यहीन जस्तो, सन्तान होइ नजाओस्
जातिको जस्तै तनमन, अरू गुण भए पो हुन्छ
अर्कैको पछि लागी, हैरान होइ नजाओस्
बराल छ यस्तो जाली, मित्रलाई दिन्छ गाली
गोर्खाली चाल छाडी, बदनाम होइ नजाओस्