कविता : प्रकृतिका अनुपम उपहारहरू

~मनु वि.क.~

मेरो सन्तानको
अथाह सङ्घर्षपछि
जब फुट्न खोज्छ तोते शब्द
मिसिन खोज्छ आवाजमा परिष्कार
दिन र रात गर्दै
एक दिन÷दुई दिन जोड्दै
अथाह चल्मलाइपछि
अनगिन्ती पल्टाइपछि
उसका पाइला लम्किन्छन् बिस्तारै
ऊ लड्छ उभिन्छ,
उभिन्छ, लड्छ
उसको ‘लडाइँ’ र ‘उभ्याइ’ को सङ्घर्ष निरन्तर चल्छ
अन्तमा उभ्याइको अनन्त जीतसँगै
उसको पाइला धर्तीमा राख्छ
यही नै जिन्दगीको वास्तविकता हो

उसका आवाज खुलिरहेकै छ
उसका पाइला चलिरहेकै छ अब
मसँग एक आभाष छ
ऊ झुपडीको गहना हो
मेरो सर्वोत्तम प्रार्थना हो
भोलिको फलको कोपिला हो
उसको नरोकिने वृद्धि विकास नियालिरहेकै छु
म नाप्न सक्दिनँ
अब हामीबीचको स्नेह भाव
उ फुल्दै फक्रिँदै र बढ्दैछ
उसको बोलाइ, चलाइ र उफ्राइ
बिहानको उज्यालो जस्तै लाग्छ
जहाँ हुस्सुले ढपक्कै ढाकेको धर्तीमा
सूर्यले आफ्नो लाली फिजाउँछन्
छरिएका अनेक किरणले सबै बह उडाउँछन्
उसको कण्ठले ओकल्ने आवाजहरू
कुञ्जभित्रको चिरबिर जस्तै लाग्छ
हेर त ¤ प्रकृतिको अनुपम उपहार ¤
उ पोखिन्छ मसँग
म रित्तिएरै पोखिन्छु ऊसँग
म छोड्न सक्दिनँ एक पल
उ मसँगै हिँडिरहन्छ
उ मुटुमै उफ्रिइरहन्छ
मेरो विशाल छातीभित्र उसको खुशी लुकेको छ
अब म उसको
खुशी, आनन्द र भरोसाको केन्द्र हो
मेरो आगमनमा ऊ खुशी छ
उसको खुशीमा म हर्षविभोर छु
अब खुशीको सीमा रहेन यहाँ
असीम खुशीसँगै जीवन चलिरहेछ
हाम्रो खुशी त चलिरहेकै छ जसोतसो
चलोस यस्तै निरन्तर
तर खुशी छैन अनेक झुपडीहरूमा
कैयौँ सन्तानका मनहरूमा
हजार सन्तानहरू रोइरहेछन्
अँध्यारा, निन्याउरा भइरहेका छन्
उनका आवाजलाई नियालिदिने बाबा
पराइ धर्ती पुगेका छन्,
उनका चलाई, उफ्राइ र बोलाइमा
रमाइदिन्थे होला ?
तर मरुभूमिमा रातदिन पसिना चुहाइरहेका छन्

सन्तानको सम्झनामा पलपल आँसु बगाइरहेका छन्
उनीहरू रुँदा आँसु पुछिदिने
हाँस्दा हाँसिदिने
हरेक पल अँगालोमा बाँधिदिनेहरू
दलालको जालमा फसिरहेका छन्
सन्तानको खुशी थप्ने आसमा
झुपडी सजाउने कल्पनामा
परदेशी भूमि पुगिरहेका छन्
थाहा छैन कल्पनाको
खुशी थपिन्छ वा सकिन्छ ?
मायाकी खानी उनका आमा
अस्मिता जोगाउन नपाएर तड्पिएकी छन्
गुँडमा आउन नपाउँदै
शिकारीको जालमा कसिएकी छन्
अनेक सन्जालभित्र ठगिएकी छन्,
उनका बाबाआमाको
ठगिनु र तड्पिनु
रुनु र अलपत्र हुनु
दैनिकी नै बनेको छ
त्यही पर्दाभित्र ठगिएका छन्
कैयौँ लालाबालाहरू
उही क्रुरताभित्र रोइरहन बाध्य छन्
कैयौँ अबोध सन्तानहरू
प्रकृतिका अनुपम उपहारहरू ¤

–काठमाडौँ

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ३६ – July 30, 2014 – २०७१ श्रावण १५ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.