कविता : राष्ट्रियता खोई ?

~एम.एल.ओली~

ओक्काउनेको प्रकोप यता
राहतको पोको उता
दियो बल्ने झुप्रा यता
टोपी ढल्ने महल त्यता
जङ्गी शासन चले यता
राष्ट्रियता खोई कता ?

भाइ फटाउने झोँक त्यता
रोग, शोक, भोक यता
गाउँ बगाउने खहरे त्यता
चोखो पानी बग्यो यता
वंश भुट्ने छली त्यता
राष्ट्रियता खोई कता ?

मिठो भतेर पाक्ने त्यता
हातमुख जोड्ने गाह्रो यता
अमिरको मस्ति त्यता
दरिद्रको बस्ती यता
परचक्री डुल्दा यता
राष्ट्रियता खोई कता ?

नारी–पुरूष समान यता
चेली बेच्ने कमान त्यता
धनभक्ति बढ्दा त्यता
जनशक्ति जुट्यो यता
नायक डरी काम्दा त्यता
राष्ट्रियता खोई कता ?

छिल्लिएको चाला त्यता
चिल्लिएको छाला यता
कुँञ्जिएका लात त्यता
खारिएका हात यता
स्वाधीनता चुक्ता त्यता
राष्ट्रियता खोई कता ?

राजनीतिमा बन्डा त्यता
बुटसँग डण्डा यता
सुनचाँदीको सुर्ता त्यता
च्यात्तिएको कुर्ता यता
माटो चोरी हुँदा त्यता
राष्ट्रियता खोई कता ?

दाइभाइ लडाइँ यता
भत्ता धेरै बढ्यो त्यता
बेरोजगार धपाइ उता
दलाल साह्रै झाङ्गियो त्यता
छिमेकीले मिच्दा यता
राष्ट्रियता खोई कता ?

काँतर लुक्ने महल त्यता
बहादुरको पहल यता
देवता बस्ने मन्दिर यता
पुजारीको तक्दिर त्यता
इसारामा शिर झुक्दा
राष्ट्रियता खोई कता ?

जनघाती भाग उता
राष्ट्रवादी लाग यता
भ्रष्टचारी जाउ उता
सदाचारी आउ यता
साँधी वामे सर्दा यता
राष्ट्रियता खोई कता ?

–रुकुम

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क १० – Jan. 21, 2015 – २०७१ माघ ७ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.