~हरीश मोक्तान ‘अल्लरे’~
(आमुख: उहिले बज्यैले भन्थिन् – असमिया केटीको पछि नलाग्नू, तिनीहरूको मोहनीमा फस्यौं भने कुकुर – बिरालो, खसी – बाख्रा भई बिताउन पर्ला नी! हाम्रा यताकाहरू धेरै नै घर फर्किआएनन्… तै – उतै बिलाए भन्छन्। असमकी केटीको मोहनी बहुत खराब हुन्छ ‘रे।)
साँच्चै म असम गएको थिइनँ। केटौले उमेर छँदा सुनेको बज्यैको अर्ती – उपदेश यो मनमा बढो अमेट छाप बसिसकेको म अझै पनि कल्पना र अनुबोध गर्न सक्छु। हाम्री बज्यैले पनि कहिल्यै असम देखिनन् तर उनलाई भने असमको जादु – टोटका, टुना – मुना, वशीकरण र सम्मोहन सम्बन्धी धेरथोर ज्ञात थियो – सायद! हुनसक्छ, ती कुराहरू सत्य पनि थिए होलान्।
… समयान्तरमा मेरो जुँघाका रेखी र कलिलो दाह्रीको सकसले मेरो जवानीलाई लैजान थालेको थियो। उच्चतर माध्यमिक पाठशाला छिचोल्दै गरेको युवा उमेरमा पनि मेरो मनलाई वैंशले मताउन लागेको बेलासम्म कहिल्यै असमिया केटीको बारेमा ख्याल नै आएन। वैंशको घोर्ले भएको स्वर र तनमनमा जवानीको रङ्ग चढ्दै गयो – यी आँखाबाट थुप्रै राम्री – राम्री दौंतरी तरुणीहरू पनि सिनेमाको पर्दामा फिलिक् – फिलिक् चिप्लने चित्रावलीजस्तै चिप्टेर गए तर त्यहाँ कुनै पनि असमिया केटीको छवि देखाहा परेन, परेको थिएन।… युवा मन मेरो आकाशमा यत्रतत्र छरपस्टिएर उडिहिंड्ने बादलका टुक्राजस्तै यताउता गरिबस्थ्यो। : बज्यैका ती अर्ती – उपदेशसमेत भुलिसकेको थिएँ। एक ता पढ्नुपर्ने बाध्यता अनि अर्को भने कुनै युवतीलाई समेत प्रीतिका चिट्ठी लेख्ने फुर्सद पनि रहेन, रहेको थिएन। विज्ञान विषयको विद्यार्थी भएकोले यो मदमस्त तन्देरीपनलाई धरि प्रयोगशालाको अन्वेषणात्मक क्रियाकलापले अथवा केमिस्ट्री र फिजिक्सका फर्मुलाहरू धोक्दैमा समय बित्दै थियो। फेरि भएन, हामी पहाडेका छोरा – छोरीलाई गणितले जति गिजोल्छ, त्यसका कुरा गरेर कुनै साध्य छैन। कसेक, ट्यान, थिटाले उधिनिएको ट्रिग्नोमेट्रीले यो मगजलाई जुन अवस्थामा पुऱ्याउँथ्यो, त्यसको कुनै हिसाब नै छैन, थिएन। म प्योर – साइन्स – सबजेक्टको विद्यार्थी। केमिस्ट्रीमा जुन जादुगरी छ, त्यस्तो फिजिक्समा छैन। बोटनीमा जुन प्राकृतिक रोमाञ्च थियो, त्यस्तै रोमाञ्च जुलोजी क्लासमा उत्तानोचित्त काटिएर ल्याङ – फ्याङ भएको भ्यागुताको सर्जरीमा पनि थियो। म यीनै विषयवस्तुमा जिज्ञासु थिएँ। म डाक्टर बन्न चाहन्थें – खुब मिहिनेत गरी गरी पढ्दथें। यस्तो बेलामा मलाई कुनै दौंतरी युवतीले पर्गेल्न सकेकी थिइन अनि मैले आफ्नो वैंशलाई समेत डिसेक्शन – बक्सको औजारसितै बन्द गरिदिएको थिएँ।… तर मसित भने एउटा अर्कै चस्का लागेको थियो, त्यो थियो – साहित्यको चस्का!
हाम्रो एउटा समूह थियो। साहित्यानुरागीहरूको त्यहाँ जमघट थियो। हाम्रो समूहको नाम थियो – भत्केको गाडी। कोही कविता लेख्थे, कोही कथा – कहानी। हाम्रो समूह बडो उदेकको थियो। हामीहरू छुट्टीको दिन अथवा सरकारी विदाको दिन कुनै एक चियाको दोकानको एउटा कुनाको टेबल वरिपरि झुरुम्म बसेर कथा – कविताहरू बाँच्ने गऱ्थ्यौं। कहिले कुनै आजिलाको दोकानमा मोमो र थुक्पा खाँदै अनि तोङ्बा पनि नार्दै आ-आफना रचना पाठ गऱ्थ्यौं। कहिले कुनै साथी – भाइको घरमा कि त लाइब्रेरीमा हुन्छ, त्यहाँ कोठे गोष्ठी गर्ने गऱ्थ्यौं। भनें नि, मैले आप्नो वैंशालु जीवनलाई उफ्री – पाफ्री गरेको अनुबोध कहिल्यै गर्न भ्याएको थिइनँ भने तरुणी ठिटीको कुनै ख्याल नै रहेको थिएन।
… एक दिन मरो सहपाठी मेकेनले मलाई एउटा लभ – लेटर लेखिदिने आग्रह गऱ्यो। मैले त्यस्तो दुस्साहस कहिल्यै गरेको थिइनँ तर साथीको गन्गन् र ढिपीले गर्दा उसको मन राख्नलाई एउटा खुबै गहकिलो प्रेम – भावोद्गारपूर्ण लभ – लेटर लेखिदिएको थिएँ। साथी मेकेनको ह्यान्डराइटिङ खुबै राम्रो थियो, उसको मेरो कुखुराले खोस्रेजस्तो लेखनी भएको त्यो पत्रलाई आफ्नो सुन्दर अक्षरमा सारेर आफ्नी प्रेमिकाकहाँ पठाएको थियो।… दुइ दिनसम्म त्यो पत्रको कुनै पत्रोत्तर आएन। साथी मेकेन जवाबी पत्रको प्रतीक्षामा गजक्क परेर बसेको थियो। मलाई कुनै चिन्ता नै थिएन।
एक आइतबारको दिन। म नुहाउनलाई बाथरूम पसेको थिएँ। साथी मेकेन आफ्नो कोठामा कुनै ठूलो ठूलो घोर्ले स्वर गरेर कुनै हिन्दी फिल्मको गीत गुनगुनाउँदै थियो: ‘मेरे मितवा… मेरे गीत ‘रे, आजा तुझको पुकारे मेरे गीत ‘रे…ओ मेरे मितवा…।’
म बाथरूमबाट नै साथीको गीत सुन्दै नुहाउँदै थिएँ। एक्कासि साथी मेकेनको …आय्या… मरें नी…, सरी…सरी…’ भन्दै रोएजस्तो स्वर मैले बाथरूमभित्रै सुनें। यस्तो आभास भयो: साथी मेकेनलाई कसैले कुट्दैछ। त्यही अवधिमा – ‘तँ मेरो बहिनीलाई चिट्ठी लेख्छस्, तेरो हात – कुट्टा नै भाँचिदिन्छु, बुझिस्!’ – भन्दै रिसाएको ठूलो आवाज पनि बाहिरबाट नै थुरिएर बाथरूम हुँदै मेरो कानमा परिहाल्यो। मैले कलको पानीलाई ठूलो धारामा झररर… खोलिदिएँ। पानी ठूलो आवाजले बग्न थाल्यो। मलाई डर थियो, यदि साथी मेकेनले चिट्ठी लेख्ने चाहीँ यही हो भनेर देखाइदियो भने मेरो पनि उसको जस्तै हालत हुनेछ। म बाथरूमभित्रै लुगलुगी काम्दै कलको ठूलो धारामन्तिर बसेर नुहाउन लागें।… केही क्षणमा बाहिरबाट कुनै आवाज आएन… थिएन। केही बेर पर्खेपश्चात् म बाथरूमबाट निस्केर आफ्नो कोठाभित्र पसें, त्यहाँ साथी मेकेन डम्मा – डम्मी फुलिएको थियो। उसको नाथ्री पनि फुटेछ, उसले रूमालले नाक पुछ्दै थियो, आँखा पनि रसिएका थिए। मैले विस्तारै बुझ पचाउँदै भनिदिएँ:
– ए, के भो?… कसले तँलाई कुट्यो?
– …। त्यो केही बोलेन, नियास्रो मुख पारेर आफ्नो गाला र नाक सुम्सुमाइरह्यो।
– ए, के भो…भन् त।
– के हुन्थ्यो, पेडेनको दाजु – भाइले मलाई चुट्यो नी, … हेर् त।
– पेडेनसित तेरो केको सम्बन्ध?
– अस्ति तैंले लेखिदिएको लभ – लेटर मैले उसैलाई नै पटाएको थिएँ नी… दाजुले हात पारेछ।
– ए, जे पनि भयो, राम्रो चाहीँ भएन। तँ कहाँको छेत्री… भोटेनी केटीलाई किन चिट्ठी पठाउनु पऱ्यो… तेरो जात मिल्छ न धर्म नै..।
– मन परेपछि के गर्नु त।
– खा बाबै केरा जस्तै भयो नी अहिले हैन र! कसो असमिया केटी भेटिनस् तैंले…।
अनायासै मेरो मुखबाट बज्यैले छाडिगएको असमिया केटीको मोहनी सम्झना फुत्त आएको थियो। म स्वयं पनि झसङ्ग भएको थिएँ। हेर, यदि पेडेन भन्ने केटी चाहीँ असमिया केटी भएकी भए यो साथी मेकेनको के कस्तो हाल हुने थियो – म आफैसित ङिच्च परेको थिएँ। त्यति नै बेला कालो बिरालो म्याउ गर्दै हाम्रो पलङ्गमन्तिरबाट निस्केर कोठादेखि बाहिर गयो: मैले साथी मेकेनलाई त्यही बिरालोमा परिणत भइसकेको अनुभव गरिबसें … मेरो तन – मन पनि केही क्षणसम्म थररर कामिरह्यो।
*********************************
… मेरो पढाइले बामे सरेर मलाई कलेजसम्म पुऱ्याइसकेको थियो। अब म पूर्ण मदमस्त युवकमा परिणत भइसकेको थिएँ। सायद, कलेज पढ्नेहरू भनेको यस्तै उमेरका हुन्छन्। म सरकारी छात्रवृत्तिअन्तर्गत् उच्च अध्ययनका लागि असमको जोरहाट महाविद्यालयमा भर्ना भएको थिएँ।… त्यहाँ पढ्नलाई जानै पर्ने हुँदा मैले आफूलाई बज्यैले भन्नुभएको असमिया केटीको मोहनीबाट खुबै सतर्क बस्ने आत्मविश्वासमा स्वयंलाई अघि लगाई त्यहाँ पुगेको थिएँ। मेरो अन्त:करणबाट भने बज्यैको कुरा अझै पनि निम्ट्याउन्न भई निस्केर बाहिर गइसकेको थिएन। म आफूलाई नै हेरचाह गर्नमा सतर्क थिएँ। मेरो समय महाविद्यालय र होस्टेलमाझ रिङ्गिँदै गइरहेथ्यो।
एक दिन एक असमिया सहपाठी सुरेन्द्र हजारिकासित भेट भयो। मैले अनायासै असमिया केटीको टुना – मुना मोहनीसम्बन्धी नजानिँदो प्रकारले कुरा बढाएँ। एक छिन त उ केही अकम्कायो… बोल्न पनि सकेन। मैले कुरालाई अर्कै मोड दिन चाहें र त्यसको सकसलाई नजरअन्दाज गरिदिएछु –
– मित्र, मलाई यो असम बडो सुन्दर लाग्यो, हाम्रै सिक्किमजस्तो लाग्यो। तिमी कहिले सिक्किम गएको छौ?
– अहँ, कहिल्यै सिक्किम गएको छुइनँ।
– हाम्रो सिक्किम यस्तै पहाडी प्रदेश हो, सानो छ तर सुन्दर छ।
– अच्छा, म तिमीसितै तिम्रो सिक्किम जाउँला नी।
– यु आर मोस्ट वेल्कम।
मैले उसलाई ग्वाम्मै छाँद हाल्दै, न्यानो अँगालोले कसिदिएँ। उ गजक्क परेर मुस्करायो।
– मित्र, तिमीले अघि ‘असमिया केटी’ सम्बन्धी केही जान्न चाहेको थियौ, हैन?
उसलाई मेरो स्नेहपूर्ण अँगालोले प्रभाव परिसकेको थियो। मैले कुरा बढाउने निहुँमा बज्यैको त्यो – रहस्यमय विषयलाई अघि राखिदिएँ –
– मित्र, उहिले हाम्री बज्यैले असमिया केटीहरूसित जोगिनु है भन्नुहुँथ्यो, आज म यहीं असममा छु… मलाई एक प्रकारको डर लागिरहन्छ।
– कस्तो डर? बज्यैले के भन्नुहुन्थ्यो?
– उनी भन्नुहुन्थ्यो – असमिया केटीदेखि जोगिनू है!
– ए, अच्छा…अच्छा, मैले कुरा बुझें। उनको कुरा केही हदसम्म सही थियो पहिले पहिले त्यस्तो जादु – टोट्का, टुना – मुना आदिले यो असम ग्रस्त थियो भन्छन्।
– अच्छा, अहिले नी… कस्तो छ त! मैले उसलाई जिस्काउँदै भनिदिएँ। – अहिले पनि त होला नी… टुना – मुना, जादु – टोट्का…हैन र?
– छ होला, तर पहिलेजस्तो भने छैन भन्न सकिन्छ।
– त्यसो भए यही असममा हाम्रै वरिपरि पनि चल्दा हुन्…हैन र?
– त्यो त मायुङ गाउँको कुरा हो ‘रे। त्यो गाउँ असम र मेघालयको सीमानामा अवस्थित छ। त्यति बेला एउटा अविकसित तर पातुलो गाउँ।
– त्यो गाउँ आज पनि छ त! त्यहाँ आज पनि त डरमर्दो रहेछ नी, हगि!
मैले आतङ्कित स्वरमा विस्तारै उसलाई सोधेको थिएँ।
– अँ, त्यस गाउँमा छिमेकीहरू पनि आपस्तमा चिया – चमेना गर्दैनन्, भन्छन्। त्यहाँ बढी तन्त्र मन्त्र चल्ने गर्छ ‘रे। त्यहाँको वातावरण, परिवेश नै भयावह देखिन्छ, भन्छन्।
मेरो सहपाठीले विस्तारै मुख बाउन थालेको थियो। म भने आफैसित डराउँदै थिएँ। कहीं यस साथीले मलाई पनि टुना – मुना गरिदियो भने? असमिया केटीको त के कुरा।
मैले सहपाठीलाई हेरिरहेको थिएँ – वाल्ल परेर। मानौ, मलाई पनि उसले वशीभूत गरिसकेको छ। मैले आफूलाई चनाखो तुल्याउँदै भनें –
– मित्र, त्यस गाउँका ठिटीहरूले हामीजस्ता ठिटाहरूलाई मोहनी लगाई कुकुर – बिरालो, भेडा – बाख्रा बनाउँछन् ‘रे, है?
– हाम्रो असम नै तन्त्रमन्त्रको लागि प्रसिद्ध छ। असमको काला जादु भनेर नै असमियाको जादु – टोना, टुना – मुना समयान्तरमा विद्रुप भएर गएको थियो, बदनाम भएर गएको छ तर त्यस्तो होइन, असममा माँ – कामख्याको मन्दिर छ, त्यहां तन्त्रमन्त्र साधना अद्यावधि हुने गर्छ।
– कस्तो विस्मयकारी प्रसिद्धि नी। एकातिर मायुङ गाउँको टुना – मुनाले असमग्रस्त, अर्कोतिर माँ कामख्या मन्दिरको तन्त्र – मन्त्र साधना नै प्रसिद्ध!
– ठीक भन्यो तिमीले। असमको तन्त्र – मन्त्र र यसको साधना – साधकहरूको कमी छैन, अद्यावधि छँदैछ भने मायुङ गाउँको जादु – टोना, मोहनी पनि छन् होलान्, मैले पनि सुनेको कुरा हो, त्यहाँ गएको भने छैन।
– तिमी जस्तो सुन्दर ठिटो त्यहाँ गयौ भने त्यहाँकी सुन्दर ठिटीहरूले मोहनी लगाएर भेडा – बाख्रा त निश्चय पनि बनाउने थियो होला।
– हुनसक्छ, तर हिजो आज त्यस्तो तन्त्र – मन्त्र, टुना – मुना कमै होलान् भन्ठान्छु म।
– बज्यैले भन्थिन् – त्यहाँकी युवतीहरूले आफ्ना वशमा पारेका ठिटाहरूलाई दिनभरि जन्तु बनाएर राख्ने र रातभरि आफ्नो काम – पिपासालाई शान्त गर्ने गर्छन् ‘रे। यस्तो कुरा सुन्दा म कहिले असम जानु नपरोस् भन्ठान्थें।
मैले आफ्नो डरलाई अन्त:करणबाट निकाली फ्याँकिदिएँ।
– खै, अब म अरू के भनुँ! मलाई पनि मेरै आमा – बाबुले यस्तै कुरा गरेर डराउनु हुन्थ्यो पहिला पहिला, आज म स्वयं आफूलाई यस्ता विषयहरूबाट टाढै बस्ने गर्दछु।
साथीले पनि आफ्नो मनको ढोका खोलिदिएको थियो। अब म भयमुक्त थिएँ।
महाविद्यालयको परिसरमा हामी धेरै समयसम्म यस्तै नानवलीका चर्चा गरिबस्यौं। एकार्काको परिवारसम्बन्धी, गाउँ – ठाउँसम्बन्धी अनि पढाइसम्बन्धी हालचाल मन खोलेर नै गरिबस्यौं। समय निकै बितेर गइसकेको थियो। घामको पाइलाले पर…टाढाका क्षितिजलाई टेक्न लागिसकेको थियो। हामी दुवै त्यहाँबाट उठ्यौं। केही क्षणपश्चात् हामी त्यहाँबाट छुटेका थियौं।
मेरो सहपाठी सुरेन्द्र हजारिका आफ्नो घरतर्फ लागेको थियो, म भने आफ्नो होस्टलतर्फ लागेको थिएँ। मेरो टाउकोमाथि एउटा बाक्लो साँझ शनै: शनै: झर्न लागिरहेको थियो।
*********************************
धेरै धेरै समयपश्चात् –
एक दिन आकाशवाणी, गान्तोकका कार्यक्रम निष्पादक साथी के.एस.ज्यूले मलाई मोबाइलमा नै बोलाउनुभयो –
– साथी, तपाईं एक छिन भए पनि यहाँ मेरो अफिसमा आउनुहोला।
आफ्नो अफिसबाट समय निकालेर साथी के.एस.ज्यूको अफिस पुगें। हाम्रो अभिवादन साटासाट भएपछि साथीले दुइचारवटा सेता खाम दिंदै भन्नुभयो-
– साथी, पर्सी तल सरकारी कलेजको प्रेक्षागृहमा आकाशवाणीद्वारा आयोजित ‘बसन्त उत्सव’ को कार्यक्रम छ…आफूसितै दुइचार साथीभाइलाई पनि निम्त्याउंदै आउनुहोस् है!
साथीले थमाइदिएको खामको बिटालाई हेरें। एउटामा मेरो नाम अङ्कित थियो भने अरूरू सादा थिए। यी खाम एउटा साथीलाई दिँदै भनें
– साथी, यसमा हाम्रा युवा कवि पूर्ण योञ्जनको नाम पनि लेखिदिनुपऱ्यो।
साथी केएसले त्यस्तै गर्नुभयो। एक छिनपछि त्यहाँबाट बिदा मागेर म आफ्नो अफिसपट्टि लागें।
‘बसन्त उत्सव’ को निर्धारित कार्यक्रममा सहभागी हुन म ठीक साढे चार बजे कलेजको प्रेक्षागृहमा उभेको थिएँ। कार्यक्रम साँझ पाँच बजेदेखि हुने। हलभित्र साहित्यानुरागी भइहरू पनि त्यहाँ आइपुगेका रहेछन् – अमर बानियाँ लोहोरो, घले भाइ र टीका ढुङ्गेल भाइलाई पनि त्यहीं भेटें। भाइ पूर्ण योञ्जन अझै आइपुगेका रहेनछन् – मैले मोबाइलबाट नै ‘खै’ गरें। भाइ पूर्ण योञ्जनले ‘पाकिमबाट आउँदैछु ज्योजो’ भनेपश्चात् मैले पनि आफू कलेज प्रेक्षागृहमा आइपुगेको स्थितिबारे बताइदिएँ र त्यहीं अन्य भाइहरूसित गफिन थालें।
निर्धारित समयमा ‘बसन्त उत्सव’ कार्यक्रम आरम्भ भयो। भाइ पूर्ण योञ्जन अझै आइपुगेका थिएनन्। स्टेजमा रङ्गारङ्ग कार्यक्रम शुरु भइसकेको थियो।
आकाशवाणीका वरिष्ठ तथा ख्यातिप्राप्त गायक – गायिकाहरूले खुबै मीठा – रसिला गीतहरू गाउँदै गए। यसैबीच भाइ पूर्ण योञ्जन पनि आइपुगे। हामीहरू मन्त्रमुग्ध ती मनमोहक, कर्णप्रिय प्रस्तुतिहरूमा मज्जा लिँदै गइरहेका थियौं। कार्यक्रमकी उद्घोषिकाले असमको रंगाली बिहु नृत्यको प्रस्तुति सम्बन्धी उद्घोषणा गर्नेबित्तिकै मेरो सारा तन – मन नै एकाएक सजग भइउठिहाल्यो। म चनाखो भएँ र आफूलाई तनक्क पारें। एक्कासी मेरा आँखाअघि हाम्री बज्यैको किंवदन्ती र आफूअघि असमको विश्वविद्यालयमा पढेका क्षणहरू सरर तरेर आइहाले। मलाई मेरा सहपाठी सुरेन्द्र हजारिकाले मायुङका जादू – टोटका, टुना – मुना र सम्मोहन आदिले पनि वशीभूत तुल्याएजस्तै अनुभव र आभास पनि हुँदै गयो।
अनायासै स्टेजमा तुरहीजस्तो आवाज र अनन्य वाद्य – वादनहरूको सुरिलो स्वरले मलाई झकझकाइदियो। मैले पुन: आफूलाई संयत तुल्याउँदै रंगाली बिहुको आनन्द लिन लागेको थिएँ। नृत्यको आरम्भमा युवतीहरू लहरै आ – आफ्ना वाद्य – वादनको तालमा नाच्न थाले। बडो मनमोहन ढङ्गमा तिनीहरू गाउँदै लय र तालमा नाचेको देख्दा सबै दर्शकहरूले ताली बजाइदिए।… म भने असमिया केटीहरूलाई बडो ध्यानपूर्वक हेरिरहेको थिएँ। मैले तरुणीहरूलाई हेर्दै नहेरेको हैन, देखेको हुँ तर मैले विशेष गरी असमिया युवतीहरू पनि यति राम्रा हुँदारहेछन् भन्ने सम्झेको थिइनँ। वाह! ती बिछट्ट सुन्दरीहरू… नृत्याङ्गनाहरूलाई देख्दा स्वयंलाई तिनीहरूका सम्मोहनमा परिरहेको अनुभूति मभित्र कताकता उर्लेर आएजस्तो भइरह्यो। तिनीहरूको रूप र लावण्यमा म फँसें – फँसें, त्योभन्दा मीठो अधिक रूपमा तिनीहरूले आफ्ना पातुला बारूली कम्मर भाँच्दै नाचेको देख्दा म पल प्रतिपल हुरुक्कै हुँदै गएँ। जस्तो मीठो गीतको राग त्योभन्दा नसालु नृत्यले मलाई अठ्याउँदै लैजाँदै थियो। एउटा अलौकिक रमणीयता – एउटा मनमोहक आकर्षण- एउटा स्वर्गिक चलखेल त्यहाँ छताछुल्ल थियो – गीत र तालसितै लच्किने तिनीहरूका बारूली कम्मर अनि मोहनी लगाइदिने रूप – रङ्गको बहार… मानौं त्यहाँ साक्षात इन्द्र देवको दरबार सजेको थियो। उर्वशी, मेनका र रम्भाहरू त्यहाँ मदमस्त नाचिरहेको परिदृश्यले मलाई जुन अनुभूति प्रदान गरिरहेथ्यो, त्यसको वर्णन असाध्य लागिरह्यो। मेरो मनको एउटा कुनाबाट हाम्री बज्यैको त्यो पुरानो किंवदन्ती शनै: शनै: जागृत भइआइरहेको थियो – ‘असमिया केटीको पछि नलाग्नू, तिनीहरूको मोहनीमा फ्स्यो भने कुकुर – बिरालो, खसी – बाख्रा भई जीवन बिताउनु पर्ला।’
म एक्कासि झस्किएर उठें। ‘बसन्त उत्सव’ को कार्यक्रम अघि कति बेला नै टुङ्गिसकेको थिएछ। हलबाट दर्शकहरू बाहिरिँदै थिए।
– ज्योजो, जाऊँ होइन?
भाइ पूर्ण योजनको स्वर मेरा कानमा पऱ्यो।
– ए,,,, जाऊँ…।
मैले पनि आफ्नो सीटबाट उठ्दै भनिदिएँ।
– ज्योजो, तपाईं त कस्तो मन्त्रमुग्ध हुनुभएछ, मक्ख परेर मुसुमुसु हाँस्दै बर्बराउनु हुँदैथ्यो।
भाइ पूर्ण योञ्जनले मलाई जिस्क्याउँ कटाक्ष गरे। मैले केही भनिनँ। मलाई ताहा थियो, म असमिया केटीको मोहजालमा चुर्लुम्म डुबिसकेको थिएँ।
हामीहरू पनि हलबाट बाहिरियौं।
*********************************
– मोहनी!
– मेरो हजुर, भन्नुहोस् न!
– तिमीप्रति रहेको मेरो यो प्रेमासक्ति ठ्याम्मै नटुट्ने भो!
– मैले चाहेको पनि त यही हो, मेरो हजुर!
– मोहनी, म तिम्रो यो प्रेम … यो यौवनसित हारेको छु।
– मैले चाहेको इच्छा…आकाङ्क्षा पनि यही हो, मेरो हजुर!
– आज यतिका दिन बितेर गइसके, मलाई मेरो कुनै सुध छैन… तिम्रो साथ कहिल्यै नछुटोस्, भन्छु म!
– मेरो हजुर, म पनि त यही चाहन्छु।
– मेरी प्रिये – मोहनी!
– भन्नुहोस्! मेरो हजुर!
– हेर त, बिहान हुन लागिरहेछ… कस्तो छोटो रात यो…!
– रातपछि नै त दिन उदाउँछ, हैन र!
– त्यो त हो तर हामी सधैँ अँध्यारोमा नै भेट्छौं किन? प्यारी मोहनी!
– डर लाग्छ, मेरो हजुर!
– केको डर?
– लाग्छ… तपाईं मेरो यो संसारबाटै अल्पिनु भो भने..।
– किन म अल्पिनु र…, हरेक रात हामी साथसाथ छँदैछौं नी!
– हो प्रिये, म यही त चाहन्छु।
त्यही बिहान मोहनीले आफ्नो घरको टाट्नोमा बाँधिएको एउटा कालो बोकालाई एक अँगालो घाँस दिँदै भनी – मेरो हजुर, यो तपाईंलाई दिनभरिको भोजन…।
त्यो बोकाले मोहनीलाई ट्वाल्ल हेरिरह्यो… अनि म्या..म्या गर्दै टाउको निहुऱ्यायो।
– मेरो हजुर, भरे राति भेटौंला है त…।
मेहनीले मीठो स्वरमा पुकार्दै एउटा उडन्ते चुम्बन त्यो कालो बोकापट्टि फ्याँकिदिइन् अनि स्मित मुस्काउँदै घरभित्र पसिन्।
– नोभेम्बर 2010
(स्रोत : रचनाकार डट कम)