मनोवाद : हजुरआमाको अनुभूति

~सीपी अर्याल~

(हजुरआमाको सिंगो जीवन-स्केच देखाउने भिडियो रिलमा उहाँको अनुहारमा झैँ मुजा परेको छ । त्यो बज्छ कि बज्दैन, किरिङ-मिरिङ नै भए पनि दृश्य देखिन्छ वा देखिँदैन, थाहा छैन । पुरानो स्मृतिको त्यो टेप चालू गर्ने तरखरमा हजुरआमा आफैँ हुनुहुन्छ । लगभग नौ दशकअघिको पश्चिम नेपाल विशेष गरी स्याङ्जाली लबजसहित वर्तमानमा पुग्ने प्रयासमा छौँ, नाति-हजुरआमा । थिएटर हाउसमा ‘लार्जर देन लाइफ’को एउटा बूढो शरीरसँग म आफैँ भएझैँ अनुभव भइरहेको छ । जीवनको आफ्नै विज्ञान छ, उहाँको । अरुको विज्ञानमा विश्वास गर्नुहुन्न । बज्नै नमानेको प्राचीन भिडियो टेप अन्तत: नबुझिने खित्रिक-खित्रिक आवाज र किरिङमिरिङ दृश्यसहित चालू हुन्छ ।)

बिहे हुँदा म बालखै थिएँ, सात वर्षकी । अहिले भन्दा कसैले पत्याउँदैनन् । म स्यानी भएकाले बिहे गरेको एक-दुई वर्षसम्म ससुराले मलाई काँधमा बोकेर हिँड्थे । कतै भिरा’ट लड्छु कि भनेर होला ! आफू जहाँ गए नि सँगै लिएर हिँड्थे । आफ्नै बाको झल्को मेट्थेँ, ससुरासँग हिँड्दा । छोरीलाई झैँ माया गर्थे, म बुहारीलाई । मेरो यो कुरो कसले पत्याउँछ र अहिले बाबु ! सुन्दा मान्छे हाँस्छन् । ऊ बेलाँ नि हाँस्थे । उनीहरु किन हाँस्थे, मैले बुझ्दिनथेँ । पछि बुझेँ । ऊ बेलाँ ससुरालाई अनुहार देखाउन नि हुन्नथ्यो । छोइने त परैको कुरा । ससुराले मलाई त्यसरी बोकेर हिँड्दा छिमेकका सँगीसाथी जिल्ल पर्थे ।

आठ वर्षकी हुँदा ज्वरो आयो मलाई । धोती पनि लाउन नसक्नी भइथेँ । ससुराले नै लाइदिए ! स्याहारे । ससुराले म बतिली बुहारीलाई माया गरेको देखेर गामका मान्छे दंगदास परे ।

म जाती भएँ ।

ससुराका दाजुभाइ छुट्टिएर लाखा-पाखा लाए । सम्पत्ति अंशबन्डा गरेसी दु:ख हुन थाल्यो । म पनि हुर्कंदै गएँ । घरधन्दा सम्हाल्न थालेँ ।

ऊ बेला पैसाको केही भाउ थिएन । थोरै पैसामा धेरै सामान आउँथ्यो । एउ ढेउवा घिउलाई चाराना पथ्र्यो । नुनभन्दा सुन सस्तो ! नुन लिन हजुरबा बटौली जान्थे । एकफेरमा पाँच/छ पाथी बोकेर आउँथे । त्यति नुनले धेरै दिन पुग्थ्यो । गाउँका जम्मै केटा जान्थे । म घरै बस्थेँ । घाँस काट्थेँ । गोबर फाल्थेँ । एउटी केटी थिई । मलाई सघाउँथी । लाइमिली गर्थी । पहाडमा दैलो-पोतो, जुठोभाँडो गर्न पथ्र्योर् । घाँस काट्न, मकै रोप्न पनि पर्ने । मोल बो केर जानुपथ्र्यो । खेतमा ५० मुरी धान हुन्थ्यो । कोदो, मकै पनि धरै हुन्थ्यो । धान कुट्यो । कोदो पिस्यो । मकै दल्यो । भैँसी दुह्यो । गोरस खायो । खान्कीको उस्तो दु:ख थिएन । तर, कामको दु:ख थियो । कन्या दान भएर आएपछि घरकाले अह्राको काम गर्नै पर्‍यो क्यारो ! आफ्नै बाको घर पो नगरे नि हुन्थ्यो ।

जे जस्तो भए पनि मान्छेलाई दु:ख थियो । सासू-ससुराले राम्ररी लाउन-खान दिँदैनथे । तर पनि घर बस्न पर्ने । कहाँ जानी हो र ! मेरा सँगीले मैले भन्दा धेरै दु:ख पाउँथे । म त सुखमा हुर्कन पाइथेँ । सबैले माया गर्थे । पछि ससुरा र दुलहा मरेपछि दु:ख पाएँ ।

१३ वर्षकी हुँदी हुँ त्यति बेला ।

एकपटक ससुराले सोधे, “खएश्वरी पाठशाला जान्चेऊ ?”

“अहँ ।”

“जाऊ । अक्षर चिनेसी मन्छे अर्कै हुन्चन् ।”

“पढ्नै आउँदैन ।” मैले टेरिनँ । मुन्टो हल्लाएँ । खुट्टोको बूढी औँलाले भुइँ खोसि्ररहेँ ।

अनि, म पाठशाला जान परेन ।

०००००००००

पहाडको टाकुरामा बस्दा कसलाई नहोस् दु:ख ! हजुरबा हुन्जेल सुख थियो । चिचिला-बतिला थिए । तिनलाई ख्वाउन बढाउनकै लन्ठो ! कता भिरतिर ग’र गुल्टेलान् कि भन्नी पिर । मान्छेले छोराछोरी किन पाउँछन्, थाहा पाइथिनँ । तैपनि, सन्तान जन्माएँ । अघेरअघेरका मेरा गोडा-चारेक सन्तान मेरेपछि हजुबुबाले पूजा लाए । अनि, फेरि गोडा चारेक सन्तान पाएँ ।

दुइटा छोराले माटो खान्थे । तेरा हजुरबा दिक्कै भा’थे ।

“माटो खानभन्दा सिख्रेट खान बेस,” एक दिन हजुरबाले भने ।

अनि, दुइटै छोराका दौराको फेरोमा सिख्रेट बाँधिदिए । पछि, छोराहरुले पनि सिख्रेट खान सिके । मैले जान्दिनथेँ सिख्रेट खान हुन्न भन्नी । पोर-परार तेरा ठूलाबा बेस्सरी बिरामी हुँदा थाहा पाएँ, सिख्रेटले मान्छेलाई कस्तरी गलाउँदो रै’छ बाबै !

ठिङठिङ हिँडिरहनुभएको तेरा हजुरबाको ज्यान एकदिन एक्कासि तातो भयो ।

“झाँक्री बोला,” भन्नुभयो ।

झाँक्री आएर हल्लन थाले ।

“पूजा लाउँदा कमजोरी भएछ ।” झाँक्री बडबडाए, “देवीले कालो बोको खोजिन् !”

हजुरबा उप्रेत थिए । पूजा लाउन हिँड्थे । कतै पूजा लाउँदा कमजोरी भयो होला त नि झैँ लायो ।

झाँक्रीले कालो बोको खायो । तर, बोकाले हजुरबाको जोरो खान सकेन ।

चार-पाँच दिन बेथा लाइरह्यो । बेथाले अत्यायो । अघेर-अघेर नुन लिन आफैँ जान्थे बटौली । बिरामी हुँदा ओखती ल्याइदिन म जान सकिनँ । ओखती खान नपाएरै मरे । स्याना-स्याना छोराछोरी आँधीखोला सुसाएझैँ रोए ।

“नरोओ नरोओ,” भन्न पर्‍यो, भनेँ ।

म काँ’पार रूनी हो र ! पाइनँ । सकिनँ ।

दुलाहा मरेपछि एउटा कुरो मनमा झिर्लिक्क आयो । स्याना छोराहरुलाई कसरी पठाउनी होला पाठशाला भन्नी । धेरै दिन झोक्राएँ । दुलाहा मोरे भन्ने पिरसँगै छोरालाई पढाउनी कसरी होला भन्नी पिरले मन गाँज्यो । छोराहरुले पढ्न पाए, जागिर गर्छन्, पैसा कमाउँछन् भन्नी कुरो जानेकी थिएँ । अर्थोक जानेकै थिइनँ ।

हजुरबा छँदा बैँस थियो । उनी मरेपछि बैँस गएझैँ भयो । राम्री थिएँ । कहिल्यै राम्री थिइनँ झैँ भयो । नाच्न-गाउन सिपालु थिएँ । नाच्न-गाउन बिर्सिएँ झैँ भयो ।

(हजुरआमाको अनुहारमा हजार मुजा छन् अहिले । तर, उहाँले कुरा गर्न थाल्नुहुन्छ बैँस छँदाको खिरिलो अनुहारको । उहाँ राम्ररी उभिन सक्नुहुन्न । कुप्री हुनुहुन्छ । तर, कुरा गर्नुहुन्छ, बैँसमा मेला अनि कीर्तनमा धीत मरून्जेल नाचेको । टाउको मुडुलो छ । तर, कुरा गर्नुहुन्छ, दुई चुल्ठो बाटेर हिँड्दाका दिनको । दाँत छैनन् । बैँसमा ढुंगा पनि चपाउन सक्ने दिनको बयान गर्नुहुन्छ । अहिले रिट्ठोझैँ दुब्ली हुनुहुन्छ । कुरा गर्नुहुन्छ त्यस बेलाको, जुन बेला उहाँ हट्टाकट्टा तरूनी हुनुहुन्थ्यो । लाग्छ, उहाँले ती दिन खुब मिस गर्नुहुन्छ अहिले । नभएको वस्तुको कति अपेक्षा गर्छ मानिस ।)

तेरा हजुरबा मरेपछि सबै थोक बिर्सिएँ । आफैँलाई बिर्सिएँ ।

एकफेर जमिन हल्लियो । कता-कता खुब मान्छे मरे भनेर समाचार आएको थियो । जमिन हल्लिँदा माछाले काँध फेरेको भन्दा रै’छन् ! यो जमिनमुनि सारा संसार बोक्ने ठूलो माछो छ अरे ! त्यही माछोले हामीलाई बोकेको काँध फेर्दा त्यस्तरी जमिन हल्लिँदो रै’छ भन्नी ऊ बेलाँ थाहा पाएँ ।

माछाले आफ्नो सुखका लागि काँध फेर्न तर मान्छेले दु:ख पाउने! भगवान्को लीला अचम्मैको

दुलाहा मरेपछि म एक्ली भएँ । पहाडमा बस्नै मन थिएन । जताततै दु:ख । अझ, लालाबाला हुर्काउन सबैभन्दा बढी दु:ख । एउटा बाटो थियो । मेरा दाइ थिए ।

एकफेर भने, “मधेस जान्छेस् ?”

“पाए त किन नजाँदी हुम् !” म उज्यालिएँ । दाइ गमे ।

टाकुराको जग्गा बेचिदिए दाइले । कुटुरो बोकेर मधेस झर्‍यौँ दाजुबैनी । साथमा १०/१२ वर्षका दुइटा सन्तान थिए । छोरीहरु आ-आफ्ना घर थिए ।

मधेस आएपछि अर्कै लोकमा आएझैँ लाग्यो ।

मधेस पहिलोपटक देखेँ । जताततै सम्मै । सुरूमा त बिनामेसै बाटाबाटै खोलखोलै दुगुरम् जस्तो भयो । खुब रमाएँ किनभने यहाँ उकालो चढ्न पर्दैनथ्यो । ओरालो र्झन पर्दैनथ्यो । यहाँ आएपछि केही दिन दाइसँग बसेँ । पछि आफ्नै खेत किनेँ । गोरू किनेँ । भैँसी पालेँ । एक्लै । दाइ आफ्ना परिवारसित बस्न थाले । म दुइटा छोरा च्यापेर एक्लै । स-सानो कटेरो बनाइदिए दाइले । एकफेर बतास र पानी आएर सबै छानो उडार लग्यो । नरमाइलो लाग्यो । मान्छेलाई सबैभन्दा नरमाइलो त उसको घर भत्किँदा पो लाग्ने रै’छ झैँ लाग्यो । पहाड सम्भिmएँ । त्यहाँ त खेतीकिसानी गर्दै, अर्म-पर्म लाउँदै, सुखदु:ख जेनतेन थियो । यहाँ त सम्मै! बाटो पनि सम्मै । जीवन त नाक ठोक्किने भीरजस्तो अप्ठ्यारो ! रून पनि सकिनँ । क्यारम् ! मर्न मन नि लाएन ।

त्यति बेलाको मधेसमा डर भनेको औलो रोग लाउँछ भन्ने थियो । डरैडरले धन्नै मरिनँ । मधेस भनेर क्यार्ने हो र ! सम्मै भए नि जानी ठाउँ कतै थिएन । जंगल मात्रै ! छोरालाई पढाउन पठाउन नि पाइनँ । ससुराले ‘पढ्न जा नानी’ भन्दा नि ऊ बेलाँ गइनँ । अहिले पछुतो हुन्छ ।

दाइ अलिक हुनेखाने थिए । कसलाई हो भन्दिएछन् । अनि, छोराहरुले संस्कृत पाठशालामा भर्ना हुन पाए । पढ्न थाले । पास मात्रै भए । फेल भएनन् । लोकसेवा पढेर एकैफेरमा पास गरे । जाँचमा पास हुन सजिलो थियो । तर, पढ्न अप्ठ्यारो । छोराहरु यहाँबाट साइकलमा गए जाँच दिन । बाटो उधुम टाढा थियो । मधेस भनेर क्यार्ने ! मोटर थिएनन् ।

छोराहरुले पास भएपछि बिहे गरे । व्यवहार आफैँ चलाउन थाले । मैले छोड्दिएँ । अलिक वर्षपछि तँ जन्मिइस् । तँ जन्मिँदा कान्छो छोरो -तेरो बा) खुब खुसी भयो ।

“हिँड काठमाण्डू ! पशुपति दर्शन गर्न ।” कान्छो छोरोले एकदिन भन्यो ।

“जान्न ! जहाज चढ्दा देवता नाघिन्छ !” मैले भनेँ ।

तर, उसले मानेन । कान्छाले जित्यो । म हारेँ । त्यसै भएर पशुपतिको दर्शन गर्न पाएँ क्यारे !

कति वर्ष भएँ म ? ९० भएँ कि क्या हो ! तैँले ऊ बेलाका दिन सम्झाइस् बाबु ! अहिले त गोडा तिसेक नातिनातिना भए क्यारे ! नजिक भ’का र टाढा भ’काको माया बरोबर लाउने रै’छ ।

जीवन भोगियो ! केटाकेटी हुँदा सुख पाएँ । ससुरा, दुलहा मरेपछि दु:ख पाएँ । मधेस झर्दा सुख पाइएला भनेर झरियो । तर, दु:खको पहाड भत्किएन । छोराहरुले जागिर पाएपछि सुखका दिन आए । अहिले हृदय लुलो भइसक्यो ।

अब त बाबु !

‘जाम्ला बैकुण्ठैमा नाच्दै, गाम्दै बजाम्दै !’

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक)

This entry was posted in मनोवाद / स्वगत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.