कविता : एक मूर्दाको जिउँदो प्रश्न

~बिना थिङ तामाङ~

उदास थियो आँगन
उस्तै उदास थिए दुइजोर आँखाहरू

आफ्नै मनको तगारो उघारेर
जब म ठिक परें बादलसँग उड्न
किन आमा आँखाबाट पोखिनुभयो ?
किन बाले छातीमा लहरे खोकी चलाउनुभयो ?

नैतिक शिक्षा पढाउने शिक्षक
एकाबिहानै किन आइपुगे गोरेटोमा ?
बिहानै बास्नुपर्ने भाले किन झोक्राइरह्यो ?
किन पल्ला घरकी माइली दिदी बार्दलीमा मौन मौन उभिरहिन् ?
बतास यसरी बत्तियो कि
मानौँ उडाइलानेछ हाम्रो घरको छानो
मानौँ दज्र्यु टाँगिएको बाँस चिर्नेछ मध्यभागबाट

त्यस रात तेस्रो प्रहरमा देखिएको सपनामा
म फसेको ठूलो भङ् गालो
घोप्टिएको संविधानको किताब
अनि फड्फडाइरहेको देब्रे आँखाको तादम्यता के थियो ?

यी सबैसबैबाट बेखबर म
यहाँ आइपुगेको
तीन वर्ष तीन महिना तीन दिन तीन घण्टा
तीन मिनेट तीन सेकेण्डपछि
यो गुफाभित्र एक फाँको बतास पैँचो मागेर चलाउँदैछु फोक्सो
हिजोबाट शून्य यो चेतनाको घोडा ब्युँझाउँदैछु

म छुट्याउने क्रममा छु
बेस्सरी दुखेको घाउ हो कि यो मन ?
कोपरिएको यो शरीर हो कि मेरो विचार ?
बगेको यो रगत हो कि घृणाको भल ?
फाटिएका यी टाँग हुन् कि म उभिएको धर्ती ?

म झिनोसंग सम्झिँदै
ट्युशन सकेर फर्किदै गरेको अघिल्लो साँझ
आफ्नै सहपाठीले थुनिदिएको मेरो स्वर
बाँधिदिएका यि हातहरू
छोपिदिएका यी आँखाहरू
घिसार्दै लगेको गोरेटो

यतिखेर कोठामा बजिरहेको छ थोत्रो रेडियो
—एकमहिनामा आठ वटा बलात्कारका घटना घटेको छ
—बलात्कारपछिको हत्या भएको छ
—अपराधीको तिव्र खोजी हुँदैछ
—प्लेकार्ड बोकेर महिलाहरू सडकमा उत्रिए – मात्र महिला !

म मुर्दा लडिरहेछु
र जिउँदो सोचिरहेछु
—कहिलेसम्म मिडियामा बजिरहनेछ यावत खबरहरू ?
—कहिलेसम्म सामाजिक सञ्जालमा वायरल भइरहनेछ हाम्रा अर्धनग्न तस्बिरहरूस्बिरहरू
– कहिलेसम्म घरबाट छोरीहरू निस्कने समयमा आमाहरू आँखाबाट पोखिनुपर्ने हो ?
अनि कहिलेसम्म बाहरूले छातीमा लहरे खोकी चलाइरहनुपर्ने हो ?

सुन्नमा आएको छ !
यी तमाम प्रश्नहरूको सिरान हालेर
भर्खरै बालृुवाटारमा लोकतन्त्र निदाएको छ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.