पुस्तक समीक्षा : “आधारशिला” – लाई एक विह्ङ्गम दृष्टिबाट हेर्दा

~आइ. एल. शर्मा~

सिक्किमेली साहित्याकाशमा एक सशक्त लेखक एवं पत्रकारका रूपमा चिनिने श्री सुवास दीपकले अहिलेसम्म दर्जनौं कविता, निबन्ध, नाटक, कथा आदि दिएर नेपाली साहित्य भण्डारलाई समृद्ध तुल्याउन यथेष्ट योगदान दिइसक्नुभएको कुरालाई विज्ञ पाठकवर्गले नकार्न सक्तैनन् भनी किटान गर्न सकिन्छ।

एक अनेपालीभाषी व्यक्तिले नेपाली भाषामा सशक्त रूपले कलम चलाएको विवरण एकदमै विरलै पाइन्छ। छन् केही विख्यात लेखकहरू जस्तै भवानी भिक्षु, ओकियामा ग्वाइन, रामदत्तलाल ठाकुर ‘अपतन’ आदि।

कहिले कविता, कहिले कथा, कहिले अन्तर्वार्ता, कहिले समीक्षा आदि लिएर सदैव चर्चित रहने श्री सुवास दीपकलाई यसपालि के जङ्गी चल्यो कुन्नि उनी कुल 23-वटा कविताहरूको सङ्गालो ‘आधारशिला’ लिएर हामीसमक्ष देखाहा परेका छन्। हुन त कुनै साहित्यिकको थाल्नीको कलम कविताबाटै शुरू भएको पाइन्छ र त्यसै भएर होला उनको कुखुरे बैंसको शुरुआतका दिनमा उनले लेखेका कविताहरू प्राय:जसो प्रेममा नै आसक्त भएको पाइयो। कविकै शब्दमा भन्नुपर्दा यी 23-वटा कविताहरू उनले 19-देखि 23 वर्षको उमेरमा लेखिसिद्ध्याएका थिए तर आजपर्यन्त पनि ती कविताहरू सङ्कलित रूपमा आउन नसक्नुमा अवश्यै पनि कुनै गूढ रहस्य रहेको हुनुपर्छ भनी किटान गर्न सकिन्छ, नत्रभने आफ्नै छापाखाना तथा प्रकाशन संस्था हुँदाखेरि ती कृतिहरू यत्रो लामो अवधिसम्म ‘डायरी’- का पातामा लुकेर नबस्नुपर्ने हो। जे होस्, ढिलै होस्, छोरै होस् भने झैं आज उनका साहित्यिक जीवनका शैशवकालका कविताहरू पाठकवर्गसमक्ष पुग्ने ध्येयले बाँहकटे हालेर हामी, पाठकवर्गसमक्ष, आउन समर्थ भए। हामीले यसलाई हाम्रो अहोभाग्य ठान्नुपर्छ।

भरभराउँदो बैंसमा जोसुकै पनि प्रेमको आगोमा पिल्सिएकै हुन्छन् र कतिले त्यही पहिलो प्रेममा नै सफलता हासिल गर्छन् र सुखद दाम्पत्य जीवनको प्राङ्गणमा प्रवेश गर्छन् र जीवन सार्थक भएको अनुभव बटुल्छन्. हाम्रा कवि सुवास दीपक यस श्रेणीमा परेनन्। उनको पहिलो प्रेम बृथा गयो। उनी त्यसैले यस पुस्तकमा भएका कवितामा जताततै रोएका छन् – भौंतारिएका छन् आफ्नी प्रेयसीको खोजीमा। उदाहरणका लागि उनको “अस्तित्वहीन जीवन यात्रामा” शीर्षक कविताका केही पङ्कतिहरू उद्धृत गर्न सकिन्छ –

“संघर्षमय जीवनमा एकलै छु

अभिन्न साथी यहां कोही छैन

उपहार पाएँ केवल निराशाको आंसु

सहारा हार सिवाय अरु केही छैन।

व्यथित स्मृति दोहेऱ्याउँछु

हृदयान्तरबाट व्यथा चिच्च्याउँछ

व्याकुल भएर छट्पटाउँछु

बेमोल आँसु सिवाय अरु केही छैन।

यो संसार मलाई झुटो लाग्छ! झुटो लाग्छ!!

विवशतामा हारेको मैले यसलाई दोहोऱ्याउने छैन

जग परिधिभित्रको यात्रामा

म झैं हरुवा

अरु कोही छैन! अरु कोही छैन!!”

सायद पहिली प्रेमिकाले धोखा दिएकी हुनाले गर्दाखेरि उनले निरन्तर आँसुको बलिन्द्र धारा बगाएर रातदिन उसकै सुडोल मोहडा आफ्नो मानसपटलमा निरन्तर नचाइरहे होलान्। उनी साहित्यिक जीवनको शैशवकालमै निराश बनेका छन् – उनमा नैराश्यले सशक्त धर गरिसकेको छ र उनी आफुलाई यस विशाल संसारमा नितान्त एकलो अनुभव गर्छन् तथा आफुलाई भाग्य एवं परिस्थितिले ठगेको ठान्छन्।

संघीय भारतको सुदूर पश्चिमाञ्चलमा जन्मिएका कविलाई सिक्किमका हिमाच्छादित टाकुराहरू, सुन्दर एवं मनमोहक हरियाली तथा शान्तिपूर्ण वातावरणले निक्कै लोभ्यायो। जीवनमा डुकु राम ढेंडोको समस्या हल गर्ने हेतुले आजीविकाको खोजीमा पहिलोपल्ट सिक्किम आइपुगेर शिक्षक पेशा अप्नाएपछि (त्यतिबेला सरकारी नोकरी हिजोआजजस्तो कठिन पर्दैनथ्यो) सर्वप्रथम उनले त्यतिबेलाको स्वतन्त्र सिक्किमको वक्षस्थलबाट नै पवित्र स्नेह, प्रगाढ आत्मीयता एवं मातृत्वको झलक पाएँ भनी “सिक्किम जननी”- प्रति कृतज्ञ रहेका छन् –

“पाएँ पवित्र स्नेह, प्रगाढ आत्मीयता,

एवं मातृत्वको झलक

तिम्रैबाट बारम्बार जननी।”

कवि दीपक सिक्किमप्रति अति आसक्त भएका छन् भन्ने कुराको पुष्टि तलका पंक्तिहरूले गर्दछन् –

” हे सिक्किम जननी!

कोटि-कोटि प्रणाम एवं भक्ति

युगयुगान्तरसम्म व्यक्त गर्दै रहुँला

लाखौंपल्ट बाँचेर पनि

तिम्रै निम्ति मर्दै रहुँला।”

त्यति मात्र होइन उनी सिक्किमप्रति केही गरेर नै मरूँला भन्ने ठान्छन् र त्यसलाई उनी आफ्नो सौभाग्य सम्झन्छन्।

“यदि यस संघर्षमय जीवनमा

केही तिम्रो सेवामा गर्न सकुँला भने

त्यही हुनेछ मेरो सौभाग्य जननी।”

आफ्नो जीवनलाई सार्थक तुल्याउन तथा प्रगतिको पथमा अघि बढ्नका निम्ति कविले सिक्किम जननीसँग शक्ति र सामर्थ्य मागेका छन्। उनी जिन्दगीमा जस्तै विषम परिस्थिति आइलागे पनि कहिले विचलित नहुने तथा नि:स्वार्थ भावनाले यस संघर्षमय जीवनमा निरन्तर अघि बढ्ने प्रण गर्दछन् र त्यस्तो अदम्य साहसका निम्ति प्रार्थाना गर्दछन्। उनी सिक्किमका निम्ति हाँस्दै-हाँस्दै आफ्नो प्राम विसर्जन गर्न पनि पछि नपर्ने कुराको सङ्केत उनका तलका पंक्तिहरूमार्फत् स्पष्ट पार्ने जमर्को गरेका छन् –

“देऊ मलाई सामर्थ्य एवं शक्ति

दुर्गम पथमा अघि नै बढ्ने जननी

कर्तव्य पालन एवं नि:स्वार्थ सेवामा

छैन कहिले पछि हट्ने जननी।”

सिक्किम भारतीय संघमा विलय नभइकन नै सिक्किम जननीप्रति आभार व्यक्त गरिएको यस कवितामा कविले सिक्किमको अस्मिताप्रति आफ्नो प्रगाढ श्रद्धा व्यक्त गरेका छन्। यसरी एउटा देशको अस्मिताप्रति सजग रहेर अरूलाई आफ्नो सशक्त कलमका माध्यमबाट सन्देश दिने कविलाई सारा सिक्किमे परिप्रेक्ष्यमा हुर्किएका सभ्य भनाउँदाहरूले आभार व्यक्त गर्नैपर्ने स्थिति आइपरेको छ यहाँनेर।

कविले ‘मूक अभिव्यक्ति’ शीर्षक कवितामा गतिलो व्यङ्ग्य प्रहार गरेका छन्। ढुङ्गा प्राणहीन भए तापनि त्यसले मूक भाषामा मानव प्राणीलाई ‘सबसे भला चुप’ भन्ने सन्देश दिइरहेको हुन्छ जुन सन्देश बुझ्नेहरूको सङ्ख्या हातका औंलामा गन्न सकिन्छ भने नबुझ्ने पटमूर्खहरू लछेप्रै पाइन्छन्। ढुङ्गा मूक भए तापनि विश्वको सबैभन्दा चतुरो ठहरिएको प्राणी मानव जातिका कुकृत्यहरू स्पष्टसँग देखिरहेको छौं भनी दावा गर्छन् कविका शब्दमा। कविले यहाँनेर चेतनशील प्राणीलाई गतिलो व्यङ्ग्य दिन चुकेका छैनन्। जे छ त्यो यथावत् छ र त्यसमा कुनै प्रकारको परिवर्तन आउँदैन तथा अल्पविद्या भयङ्करी भने झैं आफुलाई धुर्त सम्झिने मानव प्राणी ढुङ्गाजस्तो मूढ पदार्थको नजरमा पनि अवहेलित बन्न पुगेको छ।

‘बुझ्नेहरू कम छन्, नबुझ्नेहरू धेरै छन्।

भनिरहेका यी ढुङ्गाहरू – “आँखा छैन हाम्रो

तर पनि संसारका घटनाक्रम हेरिरहेका छौं।

कान छैन हाम्रो, तर पनि

करुण-क्रन्दन सुनिरहेका छौं।

साविक गतिमा हिंडिरहो रविलाई हेर्छौं

तर परिवर्तन छैन यसको क्रममा अझसम्म

अविरल गतिमा बग्ने नदीलाई हेर्छौं

वाधा आए तापनि रोकिन्न यो अझसम्म।

यी निष्प्राण ढुङ्गाहरू। साक्षी छन् यस ब्रह्माण्डमा।”

कविका शब्दमा प्रक्रृति यथावत् छ र सदैव यस्तै रहिरहन्छ तर मानिस परिवर्तनशील छ। उ मौकावादी हो – ताक परे तिवारी नत्र गोतामे। प्राकृतिक वस्तुहरू मूक छन् – बोल्न सक्तैनन् तापनि कुनै नकुनै सन्देश दिइरहेकै हुन्छन् हामीलाई। हिजोआज संसार यति बिध्न स्वार्थी भइसक्यो कि अब त प्रकृतिमा परिवर्तन आउन थाल्यो भन्ने कवि खेद प्रकट गर्दछन्।

‘उफ! यिनीहरू पनि निस्सासिसके

बादलले पनि रुन बिर्सिसक्यो

बिर्सिसके बतास र हुरीले आफ्नो भयानकता

बिर्सिसके खोला र नदीहरूले आफ्नो दैनिक कार्य।”

नैराश्यले जरा गाडेरै होला कविले आफुलाई नितान्त एकलो, असहाय एवं तुच्छ सम्झिन थालेका छन्। उनले आफ्नो अस्तित्व नै नभएको कुराको शंखनाद यसरी गरेका छन् –

“बिर्सिसक्यो दीपकले आफ्नो अस्तित्व

दीप जल्छ, हुरी चल्छ, निभाइदिन्छ यसलाई

तेल भइञ्जेल जलिरहन्छ, तेल सिद्धिएपछि निभ्न लाग्छ।”

मानव जीवन क्षण-भङ्गुर छ भन्ने कुरा त कविले यहाँ स्पष्टसँग व्यक्त गरेका छन्। जति नै नैराश्यले धर गरे तापनि मिति नपुञ्जेलसम्म उसले दु:ख-कष्टको सामना गरिरहनुपर्छ र मिति पुग्दै गएपछि भने शनै:शनै: उ प्रकृतिको काखमा फर्किन्छ – पञ्चभौतिक तत्वमा विलीन हुन्छ।

यस संकलनमा देखाहा परेका उनका अधिकांश कविताहरूमा कवि प्रेमकै बिरहमा चुर्लुम्म डुबेका छन्। उनको पहिलो प्रेमले उनलाई जीवनको धेरै लामो अवधिसम्म निरन्तर झक्झक्याइरह्यो भन्नमा अत्युक्ति नहोला किनकि कविले ‘हृदयरूपी भित्तामा झुन्डिएको विगतरूपी तस्बीर’ शीर्षक कवितामा त्यसको सङ्केत यसरी दिएका छन् –

“यहाँ एउटा गुलाबको कोपिलाको सम्झना आउँछ”

(जुन अब फूल बनिसकेको छ)…

उनले माया-पिर्ती गाँसेकी सानी ठिटी अब सम्पूर्ण रूपले वयस्क भइसकेकी भन्दै कवि आफ्नो मनको वेदना यसरी व्यक्त गर्न पनि चुकेका छैनन् –

“सधैं एउटा कोपिला आउँथ्यो पुष्पवाटिकाबाट

औ त्यसभित्र एउटा हृदय हुन्थ्यो रे

ग्रहण गर्थें औ सुरक्षित राख्थें हृदयभित्रको हृदयमा

अझसम्म पनि सुरक्षित राखेको छु।”

यसरी कविको पहिलो प्रेम शाश्वत बनेको छ। प्रेम गर्नु भनेको दुइ युगल एउटै प्रणयसूत्रमा बाँधिनु नै हो भन्ने केही छैन भनी कविले आफ्नो मनको पिर व्यक्त गर्दै आफुलाई विरहाग्निको रापबाट जोगाउन आफैले आफैलाई सान्त्वना दिने अथक प्रयास गरेका छन्।

नि:सन्देह कवि आफ्नो प्रेममा असफल नै भए तापनि त्यो सुखद घडीलाई, जसले उनलाई कवि बन्ने प्रेरणा प्रदान गऱ्यो, त्यसलाई उनले कहिल्यै बिर्सन सकेनन्। तर स्मृति आलो राख्नुबाहेक उनले के पो गर्न सके र! त्यसैले कवि यहाँनेर यसरी आफ्नो मनको भावना व्यक्त गरी आफ्नो मनको अव्यक्त वेदनालाई सान्त्वना दिने प्रयास गर्दछन् –

“उफ्! यो विगत!!

काँटीले ठोकेको भित्तामा झुन्डेको

तस्बीर झैं हल्लिरहेछ

तर भित्तादेखि कतै जान सक्तैन

यसरी नै

समस्यारूपी काँटीले ठोकिएको

मेरो हृदयरूपी भित्तामा

विगतरूपी झुन्डिएको तस्बीर

हल्लिनुसक्छ, हल्लिरहेछ

तर कतै फुत्केर जान सक्तैन।”

आफुले हृदयदेखि नै रुचाएकी प्रेयसी अर्काकी भइसकेकीले कवि विक्षिप्त भई यसरी खेद प्रकट गर्छन् –

“तैंले रोजेको फूल कसैको भइसकेको छ।”

कविले आन्तरिक हृदयदेखि नै एउटीलाई रुचाए तर भाग्यको विडम्बनाले गर्दाखेरि उनले जीवन धान्नु पऱ्यो अर्कैसँग र त्यसमा पनि उनले विस्वादै माने क्यार र यहाँ कवि यसरी बिरक्तिएका छन्। सायद जीवन सुखद नभएर विषाक्त ङएर हो कि वा अभावमै जन्मिएर अभावकै जीवनमा पाँच दशक बिताइसक्न लाग्दाखेरि पनि कविलाई प्रथम प्रणयको झझल्को आरहन्छ। उनी विस्मात मान्दै आफ्नी प्रथम प्रेयसीको स्मरणमा भग्न रहन्छन् जो अब अर्कैकी अंकशायिनी भइसकेकी छन्। यो पनि उनको विवशता नै हो क्यारे हामी सबैले ठिठ्याइदिनुपर्ने।

सायद सम्पूर्ण जीवन नै असफलताको चपेटा परेको अनुभव गरेरै होला उनले आफुलाई एउटा असहाय, निर्धो र निकम्मा ठानेका छन्। आफुलाई एउटा गतिलो पर्खालले छेकाबार लाएको ठानेका छन् र उनी त्यसबाट उन्मुक्ति चाहनका साटो निराश भई आफ्नो मनको व्यथा यसरी व्यक्त गर्छन् –

“तँजस्तो मान्छेलाई संसारले गर्नु नै पो के सक्छ र?”

यहाँनेर कवि अति व्याकुल भएर आफ्नो मनको व्यथा यसरी व्यक्त गर्न हिच्किचाएका छैनन्। उनलाई जीवनमा साह्रै ठूलो धोको रह्यो जो आजीवन रहिरहनेछ भन्ने तथ्यलाई उनले मनन गरेका भए तापनि आफुलाई त्यसबाट मुक्ति दिलाउन सकेनन् र नै उनको कलम यसरी कुद्यो –

“अनन्त प्रतीक्षा” शीर्षक कवितामा पनि कविले आफुलाई प्रेमरोगको पिण्डबाट उन्मुक्त राख्न सकेनन् र आफ्नी मायालुका यादमा तड्पिरहेका छन्। निरन्तर लामो अवधिसम्म तड्पिएपछि उनी पुन: आफ्नी प्रेयसीको यादमा मनको व्यथा व्यक्त गर्न यसरी अग्रसर भएका छन् –

“चाँप र गुराँस फुलिसके मायालु!

तर तिमी वसन्तसित फर्केर आइनौ।”

“सुखपछि दु:ख र दिनपछि रात” भनेझैं उनले बिछोडपछि सुखद मिलनको मिठो कल्पनालाई आफ्नो अन्तरहृदयबाट बाहिर निकाल्न सकेनन्। मुटुमा मिठो माया साँचिरहे वास्तविकता जान्दाजान्दै पनि।

उनी अझै आशालु नेत्रले देउरालीमा सुस्ताएर आफ्नी मन परेकी ठिटीको यादमा यसरी भौंतारिएका छन् –

“तिमी आउँछौ कि भनेर

तिम्रो पदचाप सुन्नु सुस्ताइरहेछु देउरालीमा।”

हे पाषाणहृदयी! अब त तिम्रो मनमा कतै दयाको एउटा सानो कण पलायो होला कि भनेर प्रतीक्षा गर्दागर्दै यति लामो अवधि बितिसक्यो भन्दै कवि आलाप र विलाप गर्छन् यसरी –

“एक युग बितिसक्यो पर्खिँदा

कि तिम्रो देश (अन्तर)-बाट कुनै

जहाज आउला कि भनेर

पुऱ्याउन मलाई सुनौलो किनारसम्म।”

मान्छे जब निराशाको चपेटामा पर्छ र त्यसले विह्वल बन्दछ, तब उसले रक्सीलाई नै सर्वोत्तम सहारा सम्झिन्छ। हु त खुसियालीमा पनि मानिसहरू सुरापान गर्ने पर्छन् तर दु:खद परिस्थितिमा त्यसलाई सहारा, आँट र भरोसा ठानेर पिउँछन् – सारा दर्द भुल्न। विस्तारै-विस्तारै त्यसले पिउने व्यक्ति स्वयंलाई खाइदिन्छ, पचाइदिन्छ र अनन्तकालको गर्भमा धकेलिदिन्छ भन्ने तथ्य यहाँनेर टढकारो देखाहा परेको छ उनको कवितामा जुन तलका पंक्तिमा स्पष्टसँग व्यक्त्याउने प्रयास गरेका छन् कवि दीपकले –

“दुर्बल भइरहेछ अङ्ग-प्रत्यङ्ग

त्यसकारण एक सम्बन्ध जोडिदिन्छु रक्सीसित

म पनि रक्सी बनिदिन्छु

तिम्रो यादमा पिइदिन्छ मलाई।”

“मेरो अभियान वर्तमानसित” शीर्षक कवितामा कविले आफ्नो विगत र वर्तमानलाई दुइ समानान्तर रेखाका रूपमा तुलना गरेका छन्। ती दुइ समानान्तर रूपमा कोरिएका रेखाहरूको मिलन कहिल्यै पनि हुँदैन भन्ने कुरो ध्रुव सत्य हो भनी रेखागणितले उहिले नै प्रमाणित गरिदिइएको कुरालाई कविले आन्तरिक हृदयदेखि नै स्वीकारेका छन्। विगतको मिठो याद र वर्तमानको शाश्वत परिस्थितिबीच सधैँ मेल नकाएको व्यथा कविले यसरी व्यक्त गरेका छन् –

“आपस्तमा ठक्कर खाँदाखाँदै रक्ताम्मे हुन्छन्

औ म भिजिरहन्छु यिनका रगतसित सधैँ।”

यहाँनेर कवि भूतको मिठो याद, वर्तमानको जटिलता एवं भविष्यको सुखद कल्पनामा तल्लीन भएका छन्। उनलाई वर्तमानको जटिलताले गर्दाखेरि सम्पूर्ण जीवन नै कारागारजस्तो लाग्छ। उनलाई विगतको सुखद स्मृतिले कहिल्यै पिछा छोडेन।

त्यसरी नै ‘आलो चिहान’ शीर्षक कवितामा कवि दीपकले आफ्नो चिहान आफै खनेको कुराको उल्लेख गरेका छन्। उनले भन्न खोजेको चिहान ढुङ्गा, माटो र बालुवाले बलिएको चिहान होइन तर त्यो आस्था, विश्वास एवं तिरस्कारले बिएको चिहान हो। कविकै शब्दमा भन्नुपर्दा –

“ढुङ्गा, माटो र बालुवाले बनिएको चिहान होइन यो

तर आस्था, विश्वास एवं

तिरस्कारले बनिएको चिहान हो यो।”

सूर्य उदाउँदै-अस्ताउँदै गर्नु प्रकृतिको नियम नै हो भनौं यो एउटा यथावत् दिनचर्या हो विधिको। कविले ‘अव्यक्त विवेचना’ शीर्षक कवितामा जसरी सूर्य उदाउँदै गर्छ त्यसरी नै मानवप्राणी पनि यस विश्वमा जन्मंदै-मर्दै गर्छ। यसै क्रममा उनले आफुलाई पनि तेर्स्याएका छन्। उनले बालककाल निश्पाप एवं निष्कलङ्क हुन्छ भन्ने कुरा यसरी स्पष्ट पार्ने प्रयास गरेका छन् –

“मेरो शैशवकालको त्यो काल

अनभिज्ञताको जेलखानामा थुनिएको थियो

अपरिपक्वता! मेरो प्रत्येक अवयवको।”

बालककालमा आमाको न्यानो काख र स्तनपान नै सर्वस्व हुन्छ एउटा शिशुको र उनको पनि आफुलाई त्यसैमा रमाइरेहोको सुखद स्मृति यसरी व्यक्त गरेका छन् –

“मातृत्वको न्यानो औ सुखद काखमा

आमाको दुधे स्तनमा मेरो संसारको अभिव्यञ्जना थियो।”

जसरी रविले दिउँसो प्रखर एवं प्रचन्ड ताप दिनसक्छ त्यसरी नै मानवप्राणी पनि पूर्णरूपले मात्र युवा भइसक्दा उसमा पनि उदन्डता आउँछ र उ के गरौं तथा कसरी आफ्नो प्रभुत्व फिँजाउँ भनी चिन्तित बन्न थाल्छ। जीवनको यही ऊहापोहमा उसले आफ्नी जीवन सहचरी पनि छान्न पुग्छ। यो एउटा स्वाभाविक प्रकृया हो भन्ने कुरालाई कविले ‘अव्यक्त विवेचना’-मा व्यक्त गर्न खोजेका छन् –

“घुम्दै-फिर्दै सम्झें टार” भनेझैं कवि दीपक उनका प्रत्येक कवितामा आफ्नी प्रथम प्रेयसीका कल्पनातीत बाहुपाशबाट मुक्त हुनसकेका छैनन्। यस संगालोमा उनको जीवनको वेदना एवं अन्तर्व्यथा स्पष्टसँग प्रतिबिम्बित भएका उदाहरणहरू लछेप्रै पाइन्छन् ‘आधारशिला’-भरि नै।

अब म उनका मनका वेदनाहरूबारे अरु चर्चा गर्न उचित ठान्दिनँ किनभने उनलाई सम्पूर्ण रूपले नङ्ग्याउनु नै मेरो ध्येय होइन। अपितु उनलाई चिन्हाउनु मै मेरो परम कर्तव्य ठान्छु।

सुन्दर आवरणमा सुसज्जित तथा एक सुदक्ष साहित्यिकका सम्पादनमा निस्केको यो 23-वटा कविताहरूको संगालो – ‘आधारशिला’-को मूल्य केवल 10 रुपियाँ मात्र राखिएको छ जुन यस मंहगीको जमानामा उचित नै त के सस्तो हो भन्नुपर्छ। ‘जान्नेलाई श्रीखण्ड नजान्नेली खुर्पाको बिंड’ भनेझैं साहित्यप्रति अबिरुचि भएका पाठकवर्गले त्यसको मूल्याह्कन स्वयं गर्छन्। मैले यहाँ अकबरी सुनलाई कसी लाइरहनुपर्ने कुनै आवश्यकता देखिनँ।

अन्त्यमा नेपाली साहित्य भण्डारले उहाँबाट यस्तै अन्य धेरै उत्कृष्ट कृतिहरूको चाहना राखेको कुरा भन्ने म खुस्रुक्क उहांका कानमा पुऱ्याउन भने पछि पर्दिनँ। उहाँ आफ्नो मार्गमा बिना रोकटोक सदैव अघि बढिरहन सकून् भन्ने शुभकामना व्यक्त गर्दछु।

(समीक्षाको रचनाकाल -1993)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.