कविता : नरपानी र खाँची

~देवेन्द्र कुँवर~

कुन दुष्टको आँखा लाग्यो भत्काउन थाल्यो खाँची
मरूभूमि नै बनाउने भो नराख्ने भो केही नि बाँकी

सुक्न थाले मुहानहरू उठ्न थाल्यो सबको बास
मानव जब दानव हुन्छ अब गर्ने कसको आस ?

नरपानी र खाँचीकोट यो जिल्लाकै हुन शान
ती लेकलाई नै भत्काएर चुनढुङ्गा थाले ला’न

जडीबुटी पनि पाइन्छ अनेक अनेक थरका यहाँ
अत्तालिन थालेका छन् वरपरका बस्ती यहाँ

के बुझाउने सन्ततिलाई नरपानी र खाँची मागे
जोगाउन सक्छौँ पक्का सबै गाउँबस्ती जागे

एकको इच्छा पूरा गर्न सारा बस्ती सखाप पारी
दिनु हुन्न सखाप पार्न लखेटौ है डाँडापारी

जोगाउन नसके त्यो वातावरण बिगार्ने छ
त्यति मात्र हैन हजुर इतिहासले नि धिकार्ने छ

जडीबुटी, पर्यटन विकास चुनढुङ्गाको विकल्प
ती लेकलाई बचाउन गरौँ अब सब सङ्कल्प

प्रकृतिको वरदान हो जीवनको साथी
जोगाउन लागौँ अब सारा जिल्लावासी

चुनढुङ्गा मात्र हैन धेरै चिजको हो त्यो खानी
उजाड पार्न नखोज्नु है सबै कुरा जानी जानी

शरीरमा अझै भए तातो रगत बाँकी
बचाउन उठौँ अब नरपानी र खाँची

अर्घाखाँची ,२०७१–२–१७

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क २८ – June 4, 2014 – २०७१ जेष्ठ २१ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.