~आन्विका गिरी~
आइकम पास भा’को भए, घुक्र्याउन पाउँथें । फेल भएँ, बाले आदेश दिन भ्याउनुभो । जति नै नमाने पनि बाले मलाई कतार पठाउने नै हुनुभो । गाउँमा एउटा पोल्ट्री फार्म खोल्छु, कुखुरा बेचेर भए’नि तपाईंहरूलाई पाल्छु तर म जान्न भनेको बाले कानमा बतास लाउनुभएन ।
“बाहुनको छोरो भएर कुखुरा पाल्ने ?” बाले धारे हात लाउनुभो ।
“विदेशमा चाहिं मैले पण्डित्याइँ गर्न पाउँछु ?” म पनि जङ्गिएँ ।
“त्याँ तँलाई कसले देख्छ ?”
गल्ती त बाको पनि थियो । अलिकति जग्गाजमीन जोरेको भए, म त्यसैमा हलो जोत्थें । बाले दुईछाक भात, दशैंमा म, दुई वटी दिदी र आमालाई नयाँ लुगा अनि मेरो लागि कापी किताब बाहेक केही जोर्न सक्नुभएन । अँ, मैले चार दिन भात नखाएपछि बाले मेरो लागि एउटा साइकल पनि जोरिदिनुभएको थियो । आफूले केही जोर्न नसक्नु, दिदीहरूको बिहेको जिम्मेवारी टाउकोमा हुनु र मैले आइकम पास गर्न नसक्नुलाई बाले राम्रै प्रयोग गर्ने हुनुभो ।
साँझ्मा एकछिन ढिलो हुँदा गाउँमै हल्लीखल्ली मच्चाउने मेरी आमा पनि मलाई पठाउन तयार हुनुभो ।
“अब बा धेरै काम गर्न सक्नुहुन्न, तैंले कमाएर दिदीहरूको बिहे गर, शहरमा एउटा घर बना”, आमाले रोउँला झैँ गरेर फकाउनुभो, “मलाई पनि सुख भोग्ने रहर छ बाबु !”
दिदीहरूले पनि भाइ नगइदेओस् जस्तो गरेनन् । उनीहरूको कुराको कहिल्यै सुनुवाइ भए पो यसपटक केही भनून् ।
मैले आइकम पासै गरेको भए पनि बाले मलाई खेदाउनु नै हुन्थ्यो । भन्नलाई त ‘आइकम पास गरेको भए गाउँकै स्कूलमा मास्टरी लगाइदिन्थें’ भन्नुहुन्थ्यो, तर बाको त्यत्रो सोर्स नभएको मलाई थाहा थियो । खासमा बालाई दमले च्याप्दै लगेको थियो । जीउ गल्दै गएको थियो । बिंडी एकछिन नछाड्ने ! त्यो बिंडीले’नि हामीलाई धेरैथोक जोर्नबाट रोकेको थियो ।
“छाड्नुस न बा …”, मैले धेरैपटक भनें ।
“तँ विदेश जा, तु छाडिदिन्छु”, बाले एकदिन मुटुमै हान्नुभो ।
अब बाको बिंडी छुटाउन पनि मैले विदेश जानुपर्ने भो । त्यसमाथि गाउँका सारा केटा परदेशिन खुट्टा उचालेर बसेका थिए ।
“यो देशमा केही हुन्न”, सबको एउटै रटान थियो । बा मलाई यही लाइनमा धकेलिरहनुभएको थियो ।
“सब जान ठिक्क परेका छन्, तँलाई चाहिं यहीं हल्लिन लाज लाग्दैन !”
आकाशमा उडेर विदेश जाने रहर त मलाई पनि नभाको होइन, तर गाउँमा हल्लेर खाको, परदेशमा कसरी टिक्थें होला ! न बाले हलो जोत्न सिकाउनुभो, न आमाले भात पकाउन । लुगा पनि दिदीहरूले धोइदिन्थे । मैले जानेको त तास खेल्न र साइकल दौडाउन मात्र थियो । काम गर्न नआउने बाहेक कारण अर्को पनि थियो ।
उर्मिलीलाई पेट बोकाएपछि रातारात काठमाडौं हुँदै विदेश भागेको सुमन महीना दिन नपुग्दै गाउँ आएको थियो । गाउँ फर्किएर हलो जोत्दा पनि उसलाई पुग्थ्यो । ऊ आउँदा कम्ता सनसनी मच्चिएको होइन । गाउँ आउनुअघि उसले बाउलाई गाविसमा फोन गरेको थियो ।
“बरु उर्मिलीलाई बिहे गर्छु”, उसले बाउलाई भनेको कुरा हुबहु उसैको भाइ कुमारले मलाई सुनाएको थियो, “यहाँ बाह्र घण्टा उभिएर काम गर्न सक्दिनँ ।”
उसले त्यहाँ कुकुरको जति मान नभएको कुरा पनि भनेको थियो रे !
“यहाँ त सिंह थिइस् नि”, बाले कराएछन्, “त्यही भएर ताकत देखाइस् । अब दुई चार वर्ष बस्, दुई चार पैसा कमा, उर्मिलीको अर्कैसँग बिहे हुन्छ अनि किस्सा खत्तम !”
“बरु म उर्मिलीलाई नै बिहे गर्छु”, यसरी सुमन रुन खोजेको थियो रे !
बाउले भने सात्तो नै लिएछन् । सबका बाउ उस्तै त हुन् !
तर पनि ऊ आयो र उर्मिलीलाई बिहे पनि ग¥यो । उर्मिलीका बा सार्की थिए । त्यसैले, सुमनलाई उसका बाले लात लाएर घरबाट निकाले । अनि ऊ काठमाडौं भासियो ।
“ओइ तँ उर्मिलीलाई साँच्चै माया गर्थिस् त ?”, मैले ऊ काठमाडौं जानुअघि सोधेको थिएँ ।
“गर्थिन !”, उसले भन्यो, “तर, अर्काको देशमा गधा जस्तो जोतिंदा मलाई चाहिएको उर्मिली र यहींको माटो हो भनेर थाहा भयो ।”
उसले थप्यो, “अर्काको देशमा जंगल उमार्न घोटिंदा थाहा भो, आफ्नो देशमा त म सुनै उमार्छु ।”
नभन्दै, सुमनेले काठमाडौंमा खासाको सामान बेच्न थाल्यो । उताबाट फर्कनेहरू ऊ बाइक चढेर हिंड्छ भनेर सुनाउँथे ।
“त्यो जे सुकै चढोस्”, मेरा बाको टाउको दुखेको थियो, “बाउआमाको अनुहारमा खुशी चढाउन सकेन !”
अनि मतिर आँखा तर्नुहुन्थ्यो, “बाउआमालाई आँशु दिने सन्तान पनि के सन्तान !”
सुमनको कुराले मात्र मेरो दिमाग भरिएको होइन । मेरो कोही उर्मिली, शर्मिली पनि थिएनन् । महीनाको आठ सय रियाल, काम कृषि फार्ममा भनेर बाले कतारको टुंगो गर्नुभयो । बाको टाढाका भानिज पर्ने एक जना एजेन्ट थिए ।
“भाइ, तैंले जति मेहनत गर्छस्”, उनले पनि बाकै बोली बोले, “त्यति प्रगति गर्छस्, बेकारमा यहाँ के सड्छस् ?”
“कुखुरा पाल्छु भनेको होइनस् ?”, बाले मेरो ढाडमा धाप हान्नुभो, “त्यहाँ फारममै काम पाउने भइछस् ।”
पहिला त बालाई कलेजमा राजनीतिमा लागेर बिग्रेको हो कि भन्ने लागेको रै’छ । गाउँदेखि सात किलोमीटर परको भरौल बजारमा पढ्थें म । बा म कोसँग हिंड्छुदेखि लिएर कोसँग मुत्छुसम्मका खबर लिन्थे । माओवादीमा स्वेच्छिक अवकाश पाउने छापामारहरू समेत विदेश जाने खबर आएपछि बा झ्न् उचालिनुभो । भन्नुभो, “देखिस्, उनीहरू पनि विदेश नै जान्छन्, यहाँ केही हुन्न !”
पासपोर्ट बन्यो, भीसा आयो र नयाँ कपडाहरू किनियो । बाआमाको हातको टीका लगाएर नाइट बसमा दीपक, प्रदीप, विमल, कमल र सुजनसँगै काठमाडौं हिंडियो । बा पनि मलाई उडाउन आउन खोज्दै हुनुहुन्थ्यो, खोकीले च्यापेपछि ‘भैगो’ भन्नुभो ।
योभन्दा अघि पनि दुईचार पटक काठमाडौं आएकै हो । बस्ने उही सुन्धारा, अनि घुम्ने उही न्यूरोड । केटाहरूले जानुअघि भन्दै अघिल्लो रात कर गरेर बियर खुवाए । भोलिपल्ट एयरपोर्ट पुग्दा टाउको दुखिरहेको थियो ।
दीपकले उसको मावली गाउँको एक जना दाइ भेट्यो । सुकेको ज्यान भएका अग्ला दाइ घडी हेर्दै कसैलाई कुरिरहेका देखिन्थे । दीपक दौडेर गइहाल्यो । म र अरू पनि दौडियौं । एकसाथ परदेशिन हिंडेका हामी जहाँ पनि एकैसाथ पुग्थ्यौं ।
“दाजु, रविन आ’को हो ?”, दीपकले अरू हालखबर नसोधी एकैचोटि रविनबारे सोध्यो ।
“अँ आ’को हो !”, दाइले आँखा भर्दै भने, “उताबाट रविनलाई बाकसमा हालेर पठाइदिएका रहेछन् ! बुझनलाई कुर्दैछु ।”
दीपक नीलोकालो भयो । हामी सबै नीलोकालो भयौं । सुतेकै ठाउँमा मरेपछि रविनको लास नेपाल पठाइएको रहेछ । गएको चार महीना भएको थियो रे ! ऋण पनि निखनी सकेको रहेनछ ।
मैले त्यसैक्षण कुलेलम ठोक्ने विचार गरें । केटाहरूसँग कुरा गर्दा ‘कि मरिन्छ, कि झेली भरिन्छ’ भन्नेमा देखिए । म जबर्जस्ती गर्न सक्दिनथें, गरिनँ ।
सुमनको महाबौद्धमा होलसेल रहेछ । बाटादेखि सपिङ मलसम्म बेच्नेले उसको पसलबाट कपडा लैजाँदा रहेछन् ।
“कहाँबाट ल्याइस् पैसा ?”, मैले सोधें, “एक महीनामै त्यत्रो कमाइस् ?”
“आँट चाहिन्छ”, उसले भन्यो, “चिनजानका केही मान्छेको मदतले ऋण खोजेर गरें ।”
उसले मलाई ठेलामा मःम बेच्ने सल्लाह दियो– “राम्रो कमाइ हुन्छ, बरु ठाउँ राम्रो खोजूँला, चल्छ ।”
शुरूमा त के भन्छ यो भने जस्तो भयो, तर बिहान कलेज जान पाइने, दिउँसो उसकै पसलमा काम गर्ने र साँझ्मा मःम बेच्ने काम ठीकै लाग्यो । बाले दिएको दशहजार भ्याइसकेको थिएँ । कतार नजाउँला भन्ने कहाँ थियो त ! सुमनले नै पैसा हालिदिने भो ।
कुखुराको मासु त नखाने बा छोराले राँगाको मःम बेच्छ भनेर अरूले सुनाउँदा बेहोश होलान् भनेर आफैंले फोन गरें, “बा म विदेश गइनँ, काठमाडौंमै मःम बेच्दैछु !”
त्यसपछि फोन बजारेका बासँग ६ महीना बोलचाल भएन ।
“त्यो मेरो छोरै होइन”, बाले भनेको सुनाउँथे, मःम खान आउने गाउँलेले ।
बा त्यस्तै हुन् भनेर म पनि चूपै बसें । शुरूको दुई महीना खासै कमाइ भएन, तर बागबजार सरेपछि खूब चल्यो । एक्लैले भ्याउनै सकिनँ । अनि आरआरमै पढ्ने आकाशले सघाउन थाल्यो । म पनि त्यही कलेजमा आइएमा भर्ना भएको थिएँ । चार महीनामा पचासहजार जम्मा गरेर घर पठाएँ अनि फोन गरें, “बा, पैसा पाउनुभो ?”
“राँगाको मासु बेचेको पैसा मलाई चाहिन्न”, बाले फोन राख्नुभो ।
घर नगएको वर्ष दिन वितेको थियो । पैसा पठाइरहेको थिएँ । कतार पठाउन बाले लिएको ऋण चाहिं तिर्नुहोस् भन्ने थियो । आमाले ‘गइस् भने खुट्टा भाँचिदिन्छु भन्नुभएको छ बुबाले, अबदेखि मलाई फोन नगर’ भनेपछि मैले आमालाई पनि फोन गर्न छाडिदिएँ । अलि पछि सुमनको पसलमा नबसेर दिउँसैदेखि मःम बेच्न थालें । पढाइ पनि ठीकै चलिरहेको थियो । एक्कासी सुनें– दीपक पनि बाक्सामै आयो रे !
उसको बा मेरो बालाई साथ लगाएर सद्गत गर्न आएछन् । आर्यघाटमा बालाई देखें । कमेज, सुरुवाल र ढाका टोपीमा बा एकछेउमा बिंडी तान्दै हुनुहुन्थ्यो । बा झ्नै गल्नुभएछ । आँखा जुध्दा म त पिलपिल भइहालें । तर, मेरो पिलपिलले बाको हृदय गलाएन, अर्कोपट्टि फर्किनुभयो । म र दीपक सँगै आइकम फेल भाका थियौं । फर्कने वेलामा दीपकका बाले मेरो दुवै गालामा आफ्ना दुवै हात राखेर बरर्र आँशु झरे, बाले पनि देख्नुभयो ।
दीपक गए पनि काम त रोक्नु भएन । साँझ्मा मैले ठेला लगाएँ, ग्याँस खोलें, पानी उमालें अनि मःम बसालें । मःमको वासनाले मान्छेहरू तानिन थाले । सुमनले बालाई मोटरसाइकलमा ठेला अगाडि नै ल्याएर ओराल्यो अनि ‘हतार छ’, भन्दै हिंडिहाल्यो । ग्राहक बेञ्चीमा बसेर बाले मलाई एकोहोरो हेरिरहनुभयो । ग्राहकहरूको चाप बढेपछि बा बेञ्चीबाट उठिदिनुभो ।
“बा तपाईं बस्नुस् न !”
मैले भन्न सकिनँ ।
आकाश आएको थिएन, मलाई मःम दिन भ्याईनभ्याई पनि थियो ।
“तँ राँगाको मात्र बेच्छस् ?”, दुईघण्टामा ग्राहक अलि कम भएपछि बाले सोध्नुभो ।
“बा सब्जीको पनि बेच्छु !”, मेरो आँखा पिलपिल भइहाल्यो । एक–दुई जना ग्राहकले अचम्म मानेर हेरे ।
“एक पेलेट दे त मलाई नि, मःम कस्तो हुँदो र’छ चाखुम् !”
बाका आँखा पनि रसाइसकेका थिए ।
(स्रोत : हिमाल खबर ३ कात्तिक २०७०)