~वाक्सेली थापा~
सिंगै युगलाई पिठ्युँमा बोकेर
गाउँको पुरानो गल्लीमा
हिँडिरहेछन् एउटै लयमा
मेरो बाका अविश्रान्त पाइलाहरू।
सधैँसधैँ झिस्मिसेमै
निस्किन्छन् मेलातिर
बाका धमिला-धमिला दिनहरू
र, रोपिरहन्छन् सपनाका बिउ
पसिनाले भिजेका मलिला गराहरूमा
तर पनि कहिल्यै आएन
मेरो बाको जीवनमा
मार्क्सको वर्गहीन समाज जस्तै
दु:खको त्यो अन्तिम मैझारो।
सानो हुँदा म टुलुटुलु हेरिरहन्थेँ
खेतको आलीमा बसेर
बाले जर्जर बाँझो फोडिरहेको
आशाका गाँजहरू गोडमेल गरिरहेको
र, आज बाकै काँधमा टेकेर
यति माथि आइपुग्दा पनि
बाको अविराम दु:ख हेर्ने
सिर्फ एउटा साक्षी भएको छु।
हरेक कुशे औँशीको दिन
अँध्यारो कोठामा बसेर
जब फेसबुकको भित्तामा
बाको फोटो राखिरहेको हुन्छु म यता
बा घामको वर्षामा निथ्रुक्कै भिजेर
पसिनाले नुहाइसकेका हुन्छन् गाउँमा
र, नियालेर त्यही फोटो हेर्दा
देख्छु बाको अनुहारमा
वर्षैपिच्छे झन्झन् बढिरहेछन्
सुखको गन्तव्यसम्म पुग्न पत्तै नलाग्ने
किरिङमिरिङ गोरेटाहरू।
प्रायजसो दु:खलाई बिर्सिन्छन् बा
मेरो नसामा बगिरहेको रगतको
ऐनामा आफ्नो स्पष्ट मुहार हेरेर
जबकि–
शहरको कुनै पल्लो छेउतिर
चार आनाको एक ढिस्को माटोमा उभिएर
धुँवाग्रस्त छाती फुलाइरहेछु म
र, ठानिरहेछु-
बा बाकै लागि छन् उता
म मेरै लागि यता।
जब एक दिन
म आफैँ कसैको बा भएँ यता
त्यसपछि थाहा भयो
बा किन दिनरात सकिनसकी बोक्दारहेछन्
झरिलो फसलको गरुङ्गो भारी?
बाको छातीमा मैले मियो गाडेर
दाइँ गरेको पो रहेछु अहिलेसम्म
र, भरेको रहेछु आफ्नो भकारी
तैपनि बा किन दुख्यो भन्दैनन्?
कुन बोझले कुप्रियो बाको बलिष्ठ ढाड?
किन यतिबेला पनि अविराम चलिरहेछन्
चाउरिएका उनका पाइलाहरू
मलाई बल्ल थाहा भयो
जब म कसैको बा भएँ यता।