~डा. घनश्याम नेपाल~
यस वर्ष मैले पढ्न भ्याएका राम्रा किताबहरूमध्ये दुइवटा उपन्यास पनि पर्दछन् – ‘अलिखित’ र ‘अरण्य रोदन’। (नामलाखि पनि अकै रहेछ) – अघिल्लो उपन्यास एकजना मानिएका लेखक ध्रुवचन्द्र गौतमले लेखेका हुन्, पछिल्लो सिक्किमवासी लेखक सुवास दीपकले। अघिल्लाको विशेषता स्वैरकल्पना र प्रतीकहरूको कलात्मक संघटनाबाट यथार्थको प्रतिभासमा बढी निहित छ भने पछिल्लो पूर्णत: यथार्थवादी भएर सफल र पठनीय छ। यथार्थलाई विस्थापित तुल्याएर होइन, अपितु यथार्थलाई यथार्थकै रूपमा आँतदेखि चिनेर मूर्तता दिने प्रयास नै सुवास दीपकको उपन्यासकार खुसाएको छ। आफूले सामान्य जीवनमा देखेका – भोगेका जति मात्रै कुरा नढाँटी स्पष्टसित प्रस्तुत गरिदिँदा मात्र पनि कति महान कलाकृति, कति उत्कृष्ट साहित्य जन्मिन सक्तोरहेछ भन्ने हामीलाई यो ‘अरण्य रोदन’ – ले दिन्छ।
मानिस हिंडडुल गर्ने उद्भिद् हो। जङ्गल (अरण्य) अचर रूख-पातभन्दा चलायमान मानवतामा उद्भिदहरूको जङ्गल बढी विकट हुन्छ किनभने यसका बाक्लोपन र विकटता पनि चलायमान हुन्छन् – ख्याक् जस्तै – कुन बेला कुन घुम्तीमा कसलाई ड्याक्ने हो कसले भन्न सक्छ र! हो यस्तै जङ्गलभित्र विचल्नी परेर रोई-कराई रहेको निरीह एउटै शिशुवत सरल प्राणी – उपन्यासकार सुवास दीपक। एउटा सङ्लो वेतनजीवी शिक्षकले आफ्नो जीवनका एघारवटा वैंशालु वर्षहरू सुम्पेर (द्रष्टव्य पृ0 94) किनेका अनुभूति, हिक्का र चिमोटाइहरू नै यस उपन्यासका केन्द्रिय वस्तु हुन्। सयौं शिक्षक आफ्ना सम्पूर्ण जीवनको आधाभन्दा बढी भाग शिक्षणमा बिताउँछन्, शिक्षकीय जीवनका विडम्बनाहरू भोगे आफ्नो जीवन उत्सर्ग गर्दछन् – देशको नाउँमा, शिक्षाको नाउँमा, सरलता, साधुता र इमान्दारीको नाउँमा, आफ्नो जावन र जहान – छोरा – छोरीका पेटका नाउँमा। तर ती विडम्बनाहरूका विरुद्ध, उनीहरू निश्चित रूपमा केही भन्न सक्दैनन्, के भन्नु पर्ने हो सो थाहा नपाउँदैमा जीवन बितिसक्छ। तर कोही मानिस कतिसम्म संवेदनशील हुन्छन् भने अरूले सारा जीवन खर्चेर पनि देख्न नसकेका सम्बन्ध सूत्रहरू उनीहरू एकै झलकमा आँखाले समात्दछन्। सुवास दीपकमा यही तीव्र संवेदनात्मकता छ।
‘अरण्य रोदन’ सुवास दीपकले सन् 1966 – देखि 1977-सम्मका एघार वर्षमा सिक्किममा विभिन्न ठाउँका स्कूलहरूमा जागिरे भई बिताएका जीवनांशको इतिहास हो, उनको आत्मकथाको एउटा परिच्छेद हो, यो एउटा शिक्षकले सिक्किमको संकीर्ण नोकरशाही मनोवृत्तिबाट खप्नु परेको विडम्बनाको आवृत्ति हो, यो वर्तमान सिक्किमको तह नमिलेको शिक्षा व्यवस्था र पद्धतिको नाङ्गो चित्र हो – अत: प्रत्येक शिक्षकको जीवनी हो। यो वर्तमान भारतवर्षको रूढिग्रस्त शिक्षा प्रणालीको नक्शा हो। भारत स्वतन्त्र हुनुभन्दा अघिदेखि अङ्ग्रेजहरूले बसाएको शिक्षा – सिद्धान्तका लिकै लिकै यन्त्रवत चलिरहेको हाम्रो शिक्षा – व्यवस्था नै वस्तुत: यस पुस्तकको जनक हो। त्यसैले यो पुस्तक सुवास दीपकको मात्र होइन, अपितु वर्तमान भारतवर्षको कुनै पनि एकजना शिक्षकको आत्मकथा हो। यसो भन्नाले यो यतिमै सीमित हैन – सम्पूर्ण प्रशासनमा चलेको ब्लड क्यान्सर झैं छाएका – भ्रष्टाचार, अनैतिकता, असभ्य जङ्गली प्रवृत्तिको नक्सा पनि यहाँ पाइन्छ। अत: “अरण्य रोदन” उपन्यासको कथ्य प्रतिवादनले अभिव्यञ्जयताका मूलत: तीन तह समातेको छ – (क) सुवास दीपकको जीवन कथाको एउटा अंशको चित्र, (ख) राज्यका सम्पूर्ण शिक्षकका जैविक अवस्था र शिक्षा संस्थानहरूका गतिविधिको चित्रण, (ग) राष्ट्रिय शिक्षा – पद्धति र व्यवस्थाको चित्रण।
शिक्षकसित दिने मात्र हुन्छ, लिने हात हुँदैन। शिक्षक देशका निम्ति समर्थवान नागरिकहरू जन्माउँछ, अरूमा शक्ति मात्र हालिदिन्छ, आफूसित कुनै शक्ति हुँदैन. वर्तमान नोकरशाही व्यवस्थामुनि सबैभन्दा शक्तिहीन कर्मचारी खोज्नुपर्दा शिक्षक नै भेटिन्छ। शक्तिहीन शिक्षकले कसैको केही खति गरिदिन सक्दैन। त्यसैले समाजमा कसैलाई उसको कुनै त्रास पनि हुंदैन। शिक्षा विभागको वा लेखा विभागको ढोकाबाट लुते कुकुरसम्मले पनि उसलाई डुक्रेर लघारिदिने सामर्थ्य राख्दछ। त्यसैले, वर्तमान ‘अरण्य’ – मा सबैभन्दा टिठलाग्दो ‘उद्भिद्’ खोज्न परे त्यो शिक्षक हो। उद्भिद्, किनभने उसको जीवनमा एकनासेपनबाहेक केही छैन। यस एकनासेपनबाट निवृत्त हुनलाई ‘सेठी साहब’ हुनुपर्छ अथवा ‘नबाब साहब’। ‘मैडम’ – जस्ताहरू खुल्दुली मच्चाउँछन्, तर यो खुल्दुलीको जमाना होइन, यो जमाना त घासघुस…खासखुसको युग हो। त्यसैले ‘मैडम’ – को संघर्ष मात्र रहिरहन्छ। ‘डोंगरे र ‘लोकनाथ’ l त बिचरा पाठाहरू हुन् – युगको ब्वाँसोका अघिल्तिर नदीको पानीसम्म शान्तिले पिउन पाउंदैनन्। सेठी साहब प्रधानाध्यापकबाट उठेर उहिल्यै कहिल्यै माथि पुगी आज सरकारका कुनै उच्च पदाधिकारी भइरहेका होलान्, नबाव साहब पनि शिक्षक नै छन् भन्ने कुरामा पत्यार लाग्दैन किनभने यस्ता व्यक्तिहरूका खुट्टामा यस्ता पाङ्रा ज़ड़िएका हुन्छन् जो खाली उकालैतिर मात्र गुड्न जान्दछन्। तर डोंगरेजसले (सायद 1977 – को कुनै दिन) – “मैकाले साहब को अंतिम प्रणाम किया और दूसरे दिन शुभ मुहूर्त में शिक्षा विभाग के नाम – सेठी साहब के नाम, जो अब उसके जिले के शिक्षा अधिकारी थे, अपना इस्तीफा लिखा और इस ‘अरण्य रोदन’ को लिखने के लिए कलम उठा ली।” (अन्तिम पृष्ठ) आजसम्म पनि यस मानवारण्यमा उसरी नै रोइरहेको छ। अक्षरखोरहरूको दुनियाँबाट उ कहिल्यै बाहिर आउन सकेन, तर त्यहाँभित्र बसेर उ साहित्यमा ‘ह्याभी वेट’ पनि कहिलाइन पनि सकेको छैन। उसले ‘अरण्य रोदन’ निकाल्यो, तर उ अब यसलाई कोटको खल्तीमा च्यापेर अकादेमी पुरस्कारका लागि ‘धावन्ती’ गर्न सक्तैन (किनभने उसँग यो पुस्तक अटाउने खल्ती भएको कोट नै छैन)।
जे होस्, उपन्यासको रूपमा मात्र हेर्दा पनि यो एउटा सफल र जीउँदो अभिव्यक्ति एवं रूप – विधान बोकेको आधुनिक उपन्यास हो – जसको सम्पूर्ण संरचना व्याजोक्तिले भरिएको छ। भनूँ, व्याजोक्ति नै यसको रगत हो, व्याजोक्ति नै यसको ढुकढुकी हो। कुन्तक आचार्य अहिले हुँदा हुन् त, अस्ति नै डोंगरेजीलाई श्याबाशीका सय धाप दिइसक्ता हुन् तर हामी रोबोटहरूले स्वार्थ र सत्ताको लोभले दम दिइराखेको छ र दम रहिञ्जेल स्याँ स्याँ फूँ फूँ गरिरहेछौं,’हामीलाई यस्ता साहित्यकारहरूसित के मकलब छ र?’
( विचारको 2 जुलाई, 1985को अंकमा प्रकाशित)
अरण्य रोदन (सिक्किमको प्रथम हिन्दी उपन्यास), लेखक – सुवास दीपक, प्रकाशक – संबावना प्रकाशन, हापुड़, उत्तर प्रदेश, 1985) (मई 2010)
(स्रोत : रचनाकार डट कम)