~शैलेश प्रधान~
मानपुर र रोलो खोलामा पानी कति बगिसक्यो। भविष्यमा पनि मानपुर र रोलो खोलाको पानी आफ्नो गतिमा सधैँ बगिरहनेछ। प्रकृतिको यो गतिलाई सधैँ बग्न दिनुपर्छ, नत्र यसमा गतिरोध आयो भने प्राकृतिक प्रकोप आएर सुम्बुकको सुन्दर र स्वच्छ पर्यावरणलाई तहस-नहस पार्छ।
सिक्किम राज्यको सानो, सुन्दर गाउँ सुम्बुक। सुम्बुकको अधिकांश क्षेत्र पानीको अभावले प्राय: खडेरीग्रस्त क्षेत्र हो। यहाँका रैथानेहरूले साह्रै परिश्रम गरेर विभिन्न प्रकारका साग-सब्जी, पुष्पखेती, अदुवा इत्यादि उत्पादन गर्ने प्रयास गरे तापनि परिश्रम गरेको जस्तो फसल उठाउन सक्दैनन् तर जे जस्तो भए तापनि सुम्बुक भेकका बासिन्दा उज्याला छन्, स्वच्छ छन्, अर्काका कुरामा साह्रै विश्वास गर्छन्। सुम्बुकबाट रङ्गीत र टिस्टापारिको क्षेत्र नजिक परेकोले यहाँ र यहाँका बासिन्दाहरूको गहिरो आत्मीय सम्बन्ध छ, यो सम्बन्धले सुम्बुके समाजमा राजनैतिक, सामाजिक, शैक्षिक, सांस्कृतिक जनचेतना सिक्किमको अरू ठाउँ हेरी धेरै वर्ष अघाड़िदेखि नै आएको हो। सुम्बुकमा राजनैतिक – चेतनाको क्रमबद्ध रूपमा विकास भएर आयो। धर्मको आधारमा समाजबाट कुसंस्कार हटाउने, छुवाछुतको प्रथा निर्मूल पार्ने जस्ता लक्ष्यहरू राखेर हिन्दु समाजबाट धार्मिक पन्थहरू खड़ा भए – मन्दिर र कुटीहरूको निर्माण भयो – समाजलाई, गाउँलाई सभ्य, शिक्षित र जागरूक बनाउन यो क्रियाकलापले सुम्बुके समाजमा राम्रो प्रभाव पऱ्यो। विस्तारै विस्तारै राजनैतिक चेतनाको विकास भयो, अन्याय र अत्याचारको मर्म बुझे। पुरानो चम्पा पुलको (यो पुल तरेर सुम्बुकबाट टिस्टा पुग्न थोरै समय लाग्थ्यो) घटनाले सुम्बुक क्षेत्रका गाउँलेमा एक प्रकारको अन्याय र अत्याचारको विरुद्ध अघि सर्ने मनोवृत्ति आइसकेको पुष्टि गर्छ। खाएर उब्रेको आफ्नो उब्जनीलाई पारिको बजारमा लगेर बिक्री गर्नु निषेध गरिएको थियो, कानूनलाई तोड़ेर चम्पा पुलको पुलिस बललाई नटेरी स्व. आनन्द राई (गाउँमा प्रचलित नाम सिपाही) – को नेतृत्वमा गएको अभियान दलले टिस्टा बजारमा लगेर मकै बेचेर बजारमा घरको सौदापात गरेर सकुशल घर फर्कन सकेको घटनाले सुम्बुके समाजमा गहिरो प्रभाव पाऱ्यो।
सुम्बुकका जनता-जनार्दन सधैं प्रजातन्त्रप्रेमी, प्रजातन्त्रका कट्टर पक्षधर, अलैंची, सुन्तला र धानका मालिक भए तापनि सुम्बुके जनताले मान्छेको जात मान्छे मात्र हो भनेर बुझेको छ, न्याय र अन्यायको अर्थ बुझेको छ. आत्मसम्मानको कदर गरेको छ। सिक्किममा भएको प्रत्येक जन-आन्दोलनमा सुम्बुकका जनताले उत्साहपूर्वक अंश ग्रहण गरेर राजनैतिक चेतनाको परिचय दिएका छन्।
सिक्किम भारतको एउटा राज्य भएपछि केही समयसम्म यहाँ संक्रान्तिकालको परिवेश थियो। सिक्किममा प्रजातन्त्रको साँचो अर्थ सविस्तार जनतामा पुऱ्याउने खाँचो थियो, यसै प्रसङ्गमा सन् 1976-77-तिर सुम्बुक निम्न माध्यमिक विद्यालयको प्राङ्गणमा (सुम्बुक माध्यमिक विद्यालयमा बढ़ोत्तरी 1984-को शैक्षिक सत्रमा भएको हो) एउटा प्रजातन्त्रमा आधारित नेपाली नाटक साहित्यको उच्चकोटिको नाटक मञ्चन गर्ने सल्लाह भयो। हुन त सुम्बुकमा 1984-तिर नै नृत्य साथै अरू सांस्कृतिक कार्यक्रमको आयोजन हुँदैआएको हो तर ती कार्यक्रमहरू विशेष हिन्दी गीत, हिन्दी फिल्महरूको प्रभाव परेकोले समाजमा उस्तो प्रभावकारी हुनसकेनन्।
स्व.हृदयचन्द्र सिंह प्रधानको नाटक ‘गङ्गालालको चिता’-लाई मञ्चित गर्ने निधो भयो। सुम्बुक निम्न माध्यमिक विद्यालयमा तिनताक नेपाली साहित्यका विशिष्ट लेखक एवं बुद्धिजीवी नन्दकिशोर प्रसाईं र च्याखुङ – सुम्बुक निवासी युवा कलाकार टी.बी. राईजस्ता शिक्षकहरू थिए। सामाजिक जागरणमा गाउँको उन्न्तिमा सधैं हौसला र जोश दिने सु.नि.मा..वि.- का तत्कालीन प्रधान अध्यापक स्व. एस.एम. लामा थिए। यो पङ्क्तिकार ग्राम पञ्चायत र सुम्बुक स्कूल प्रबन्धन समितिको सभापति भएको नातामा सबैको सल्लाह, परिश्रम, जाँगर लगाएर ‘गङगालालको चिता’ -मा मञ्चन गर्ने निधो भएको सन्दर्भमा नाटकका निर्माता नन्दकिशोर प्रसाईं, निर्देशकमा टी.बी.राई (निर्देशक टी.बी. राईले सङ्गीत, नृत्य, ध्वनि, मञ्चको अतिरिक्त अभिभारा पनि वहन गरेका थिए) एवं यो पङ्क्तिकार, स्व. एस.एम. लामा, आर.बी. राई, स्व. आनन्द राई सल्लाहकारमा समावेश भएर ‘गङ्गालालको चिता’ प्रस्तुत गरियो। यो बृहत कार्यक्रममा मुख्य सहयोगीहरूमा वीरबहादुर दर्नाल (गाउँमा प्रचलित नाम प्रताप), चक्रबहादुर गौतम, स्व. धनबहादुर राई उर्फ सुम्तेल साधु, स्व. लालबहादुर राई उर्फ हरि केशव, शेरबहादुर राई उर्फ घुमाउने कान्छाहरूका नाम उल्लेखयोग्य थिए।
‘गङ्गालालको चिता’ नेपाली नाटक साहित्यको एउटा अमूल्य कृति हो। नेपालको राणा शासनको एकतन्त्री निरंकुशवादी व्यवस्थालाई ध्वस्त गराएर नेपालमा प्रजातन्त्र स्थापना गराउने संघर्षको एउटा दिउँदो चित्रण स्वय हृदयचन्द्र सिंह प्रधानले ‘गङ्गालालको चिता’ नाटकबाट उतारेका छन्। यो प्रजातान्त्रिक आन्दोलनमा कैंयन् नेताहरू मारिए, अपाङ्ग बनाइए, कति कालकोठरीमा थुनुवा परे, कतिको सर्वस्व जफत भयो, छोरी-चेलीको सतीत्व लुटियो – यस्तो करुण घटनाको कथा लामो छ, इतिहासका पृष्ठहरूमा बिर्सन नसकिने घटनाक्रमको विस्तृत विवरण समावेश छ। नेपालको प्रजातान्त्रिक आन्दोलन घात-प्रतिघात, शान्ति-अशान्ति, रगत र बलिदानको मिश्रित संघर्ष थियो। कुनै नकुनै उपायले राणा शासनको अन्त्य गराएर प्रजातन्त्र ल्याउने संकल्पमा नेपाल माटोमा भूमिपुत्र युवाहरूले जनक्रान्तिको नेतृत्व गरे। विभिन्न काण्डमा सामेल भएको अभियोग लगाएर ती नेताहरू पक्रा परे, नेताहरूको पक्राउमा कतिले पैसाको लोभमा फँसेर राणा शासनलाई षडयन्त्रको पूर्व सूचना दिएका घटनाहरूले मान्छेको शत्रु नजिकको, छिमेकको र नाता पर्नेहरू हुन्छन् भन्ने भनाइ सत्य साबित भएको थियो। शुक्रराज शास्त्री, धर्मभक्त, गङगालाल र दशरथचन्द्र साथै अरू क्रान्तिकारी नेताहरू वीर गणेशमान सिंह, टङ्कप्रसाद आचार्यहरूलाई राज मुकुट विरुद्धमा षडयन्त्र रचेको महाअभियोग लगाएर पक्राउ गरियो र नाम मात्रको छानबीन गरेको स्वाङ गरेर शुक्रराज, धर्मभक्त, गङगालाल र दशरथचन्द्र चारजनालाई मृत्युदण्ड र अरू नेताहरूको सर्वस्व जफत गरी आजीवन कारावासको सजाय दिइएको कुरा प्रजातान्त्रिक आन्दोलनलाई अघि बढ्न थप ऊर्जा प्राप्त भयो। ‘गङ्गालालको चिता’-को प्रमुख पात्र गङ्गालाल जसलाई राणा शासकहरूले डर, धप्की, शारीरिक, मानसिक याचना दिएर फेरि पैसा र सम्पत्तिको लोभ इत्यादि देखाएर माफी माग्न वाध्य गराउने अभिप्रायमा गङ्गालालले नेताको साँचो चिनारी, देश र माटोको माया, अत्याचारमा पिल्सिएका जनताको पक्षमा सबै कष्ट, यातना हाँसी-हाँसी स्वीकार मात्र गरेनन् तर आफ्नो बलिदानले आफ्नो रगतले एक दिन निश्चय पनि नेपालमा दर्जनौं गङगालालहरूले जन्म लिएर प्रजातन्त्र आउनेछ, यो विश्वास राखेर फाँसीमा चढ़ेर नेपाल आमाको काखमा आफ्नो जीवन बलिदान दिए। नाटकमा विभिन्न करुण दृश्यहरू, युद्धका भीषण दृश्यहरू, गङ्गालालको परिवारको मार्मिक चित्रण, गङ्गालालको दर्शकलाई गहिरोभन्दा गहिरो असर पारेको थियो। यस्तो ऐतिहासिक नाटकका सम्पूर्ण कलाकारहरू सु.नि.मा.वि.-का छात्र-छात्राहरूले मात्र अंशग्रहण गर्न लगाएर निर्माता नन्दकिशोर प्रसाईं र निर्देशक टी.बी. राईले एउटा नौलो उदाहरण समाजअघि देखाइदिनुभयो। राम्रो विचार, स्वस्थ सुझाउ, आत्मीय र स्नेही सम्बन्धले कुनै पनि गाउंको कुनै पनि व्यक्तिले जस्तै कठिन अभिनय पनि सफलतापूर्वक गर्न सक्षम हुन्छ। हामीले जस्तै ठूलो नाटक, संगीत, संस्कृति विषयका कार्यक्रमहरू आयोजना गर्दा, हाम्रै गाउंका स्थानीय कलाकार, गायक-गायिका, संगीतमा राम्रो ज्ञान भएकाहरूलाई मञ्चमा ल्याएर उनीहरूमा लुकेर बसेको कलालाई फस्टाउने र प्रकाशमा ल्याउने अठोट गर्नुपर्छ। आफ्नै घर-आंगनका कलाकारहरूले प्रस्तुत गरेका कार्यक्रमहरू गाउंको जनताले आफ्नै कार्यक्रमजस्तो अनुभव गर्छन् – त्यहां गाउँको आफ्नै पर्न आउंछ, नन्दकिशोर प्रसाईं र टी.बी. राई सुम्बुकका स्थानीय बासिन्दा नभए पनि सुम्बुके विद्यार्थी कलाकारहरूलाई ‘गङ्गालालको चिता’ जस्तो बहुआयामिक नाटकमा चाहिँदो अभिनयको प्रशिक्षण दिएर सफलतापूर्वक अंशग्रहण गर्न लगाएर आत्मीयता एवं गाउँको विकासमा ठूलो योगदान हो। जुन समयमा ‘गङगालालको चिता’ मञ्चित गरियो त्यो बेला धेरै कुराको, जस्तै – यातायात, सञ्चार, विद्युत प्रणाली इत्यादिको कमी हुँदा-हुँदै पनि यस्तो बृहत् काम सबैको सहयोग र सल्लाहले चाहेको जस्तो प्रकारले सफल भयो।
‘गङ्गालालको चिता’ नाटक सुम्बुकमा मञ्चित गर्नु अर्को तात्पर्य के थियो भने प्रजातन्त्र आफै कुदेर आउँदैन – साँचो प्रजातन्त्र ल्याउनु सजिलो छैन – साँचो प्रजातन्त्र ल्याउनु हो भने कवि भूपी शेरचनका शब्दमा –
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए,
बन्दैन मुलुक दुइ-चार सपूत मरेर नगए।
उपर्युक्त उदगारलाई व्यवहारमा ल्याउन खाँचो पर्छ। सिक्किमको एउटा सुन्दर गाउँ सुम्बुक र अन्य छिमेकी गाउँमा साँचो प्रजातन्त्र ल्याउन नेताले आफ्नो परिवार, धन-सम्पत्ति, सबै सबै बिर्सेर षड्यन्त्र, अत्याचार, दमन, यातना सहेर अन्त्यमा देशका लागि, जनताका लागि र प्रजातन्त्रका लागि आफ्नो जीवनको बलिदान दिनुपर्छ भन्ने राजनैतिक मार्गदर्शन प्रस्तुत गरेर ग्रामीण जनतामाझ राजनैतिक चेतना जगाउनु थियो। सुम्बुकमा ‘गङगालालको चिता’ नाटक प्रस्तुत भएपछि विभिन्न तहमा बेग्ला-बेग्लै रूपमा टीका-टिप्पणी, क्रिया-प्रतिक्रिया देखापऱ्यो। कहाँसम्म भने भारत सरकारको एसआईबी-का अधिकारीहरू पनि यो नाटकको खोजखबर सङ्ग्रह गर्न सुम्बुक गाउँमा पसेका थिए।
‘गङ्गालालको चिता’ नाटक सुम्बुकमा मञ्चन गरिएको लगभग 30 वर्ष नाघिसक्यो, समयले धेरै कोल्टे फेरिसक्यो, थरी थरीका राजनैतिक, सामाजिक परिवर्तनहरू देखा परे। सरकारी भौतिक पूर्वाधारहरूले सुम्बुकको अनुहार फेरिएको छ तर यति परिवर्तन हुँदा-हुँदै पनि गाउँको, समाजको लागि साझा उन्न्ति र गाउँको चाहिँदो समस्या सुल्झाउन एकजुट भएर अघि आउने आंट र जाँगरको कमी आयो। गाउँको सानो समस्या पनि सरकारद्वारा सरकारी कोषबाट नै समाधान हुनुपर्छ भन्ने मऱ्च्याँसे मानसिकता देखा पऱ्यो। सामाजिक परिवर्तन आए तापनि कायर मनोवृत्ति अझ घएको छैन, चाकरी गरेर व्यक्तिगत फाइदा लिने लाल फेटे बानी गएको छैन।
सुम्बुकमा आजसम्म अन्तरे साहेब – अन्तरी मेम साहेब भन्ने दास मनोवृत्ति गएको छैन अनि सुम्बुकबाट राजधानी गान्तोकमा रोजी रोटीको समस्याले पलायन हुन कर लाग्ने जनता कहिल्यै कुनै राज्यस्तरीय संस्थाको अगुवा गर्न आँट र आत्मविश्वास नभएर कसैको नेतृत्वमा लाम लाग्नुपरेका निराशावादी दृश्यहरू खोज्नु धेरै समय खेरो फाल्नुपर्दैन। कसैले गाउँका लागि केही ठोस काम गर्ने सुझाउ राख्दा सधैँ नकारात्मक विचार राख्ने नेता र बुद्धिजीवीहरू गाउँमा हराएर गएका छैनन्।
तर यस्ता नकारात्मक र कमी-कम्जोरी प्रवृत्तिका साथमा राजनैतिक, सामाजिक, शैक्षिक, आर्थिक स्तरमा अघि बढ़ाएर एवं पर्यटन (ग्रामीण पर्यटन-धार्मिक पर्यटन) आधारित बृहत् एकाइहरू र उच्च शिक्षण एवं अत्याधुनिk स्वास्थ्य संस्थाहरू स्थापना गराएर सुम्बुक गाउँलाई बहुआयामिक स्तरमा विकास गर्ने र सुम्बुकलाई सिक्किम राज्यको नमूनाको रूपमा आदर्श गाउँ बनाउने उत्तरदायित्व अब स्थानीय शिक्षित-उच्चशिक्षित भाइ-बहिनीहरू, स्थानीय बुद्धिजीवी-चिन्तकको काँधमा आइपरेको छ। यस अभियानमा सबै पक्षबाट शंका-उपशंका, जात-थर र स्थानीय राजनीतिलाई पर राखेर अघि आए जनताको वेगलाई कुनै शक्तिले, कुनै विचारले रोक्न सक्दैन। तर चाहिन्छ आँट र आत्मविश्वास। आत्मविश्वासको सन्दर्भमा बैरागी काइँला (तिलविक्रम नेम्बाङ) लेख्छन् –
‘आत्मविश्वास त्यो हिमालय हो, जहाँ ब्रह्माण्डका यावत दु:ख, कम्जोरी, असामर्थ्य र असाफल्य सधैँ नतमस्तक हुन्छन्।’
आजको बद्लिँदो विस्व उदारीकरणको समयमा आफ्नो विचार, आफ्ना योजनाहरू पनि उदार र पारदर्शी हुनुपर्छ नत्र हामीलाई सु.नि.मा.वि.-का पूर्व प्रधान अध्यापक स्व. एस.एम. लामाले भन्नुभए झैं हामीलाई समय र परिस्थितिले पछिबाट लात लाउँछ। लात खाँदा मात्र चेत आयो भने बेला र मौका बितिसकेको हुन्छ। सुम्बुकको विकास सुम्बुकका जनताले नै गर्नुपर्छ, सुम्बुकको विकास गर्न बाहिरबाट खेतालाहरू आउँदैनन्। पङ्क्तिकारको यो पक्षपाती दृष्टिकोण चाहिं होइन।
(मेरा दृष्टिकोणहरू – मेरा अवधारणाहरूबाट साभार, प्रथम संस्करण 2009)
(स्रोत : रचनाकार डट कम)