~भेषराज रिजाल~
आँखामा बास बसेको खुसीको उज्यालो छहलिने बेला हामीले छोड्दैथियौँ नागी कम्युनिटी लजको आँगन ।
हाम्रो खुट्टामा लेकाली शीत छोइँदा नागीगाउँ वरपरका पहाडी थुम्कामा लेसारिएको थियो पातलो कुहिरो । रातको झरीमा भिजेको रुखपात र घाँसमा बाँकी नै थियो लेकाली चिसो । हिजोको कुस्त हिडाइले शरीरमा थियो थकाइ र दुखाइ । गाउँघर सम्झेर धाउँदैआएकोले मनमा भने दगुर्दैथियो असीम खुसी, उत्सुकता र जिज्ञासाको बिजुली ।
मन फुकाएर हेर्नुथियो हरियो जङ्गलमुन्तिरको बनबढे, नागी र आसपासका लेकाली गाउँघरको सेरोफेरो । केलाउनुथियो कालीगढीले जसरी सजिएका खेतबारी, खरबारी र सरल गाउँले जनजीवन । नियाल्नुथियो गाउँले रहनसहन, चालचलन र मगर संस्कृति । भेट्नुथियो विछोडिएका गाउँलेलाई र लगाउनुथियो गाउँबस्तीको पुरानो सम्झनामा नयाँ जलप ।
नागीगाउँमा भेटिनुभयो डमबहादुर फगामी र रमन पुन । डमबहादुर हिमालय प्राविका तत्कालीन हेडसर हुनुहुन्थ्यो भने रमन हिमाञ्चल उच्च माविका हालका हेडसर । विगत ल्याएर सम्झनाको साँधमा साथित्वको सहभावमा फेरि जोडियौँ हामी ।
फापरको रोटी, ढकायो र महको नास्ताले तृप्त भएपछि राममाया, पोकमाया र साथीहरूसँग विदा भयौँ हामी । पाहुनालाई लेकाली स्वादले खुसी पार्नेहरू नजरबाट छेलिए पनि मनको भित्तामा नाचिरहृयो तिनको आतिथ्यता, सत्कार र सेवाभाव ।
लजको आँगन छोडिएपछि पुगियो हिमाञ्चल उच्च माविको प्राङ्गण । फगामीले देखाउनुभयो हातेकागज, हस्तकला, कम्प्युटर ल्याब र खेलमैदान । सूचनाप्रविधि, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रको गाउँको प्रगतिमा जोडिएको भेटियो महावीर पुनको नाम । हाल आविष्कार केन्द्रको सञ्चालनमा लागिपरेका महावीरलाई गाउँमै भेट्न नपाएकोमा भने थकथकी थियो बुढाथोकी र भट्टको ।
आलु खन्ने र कोदो रोप्ने माचो छ गाउँभर । घाँसदाउरा, गाईवस्तु, कुखराचल्ला र केटाकेटीको स्याहारसम्भारमा बितिरहेछ गाउँले दिनचर्या । कतुवाजस्तो नरिँगी धानिँदैन लेकाली जीवन । खेतबारी, वनपाखो, पँधेरी, अर्मपर्म र झाराटण्टामा नपुगी चल्दैन गुजारा ।
‘मालिङ्गो, जर्बुटो, चिप्ले आदि निगालोको टुसा खाइन्छ ।’ बुढाथोकीको जिज्ञासामा बोल्नुभएथ्यो फगामी । लेकाली निगालोको टुसा खाएको सम्झना उप्काएको थिएँ मैले चहारपाखोमा पुग्दा।
सल्लो र उत्तिसको सेपिलो पाखो छिचोलियो । अर्घेलीको झ्याङ छोडियो । उन्मादी भावनाका क्रिडास्थलजस्ता फुक्काफाल चौरमा दगुर्यो मन । ससाना खोल्साले काटेर विभाजित छन् डाँडाथुम्का । ढुङ्गेनी बाटोले जोडिदिएको छ वनपाखाको भाँचिएको मन । मनमनै सोचिरहेछु, भाँचिएको मन जोड्न चाहिँदोरहेछ यस्तै सुन्दर प्रकृतिको काख ।
‘बाँसखर्क, डाँडाकटेरी, बनबढे, नागी, मोहरेडाँडा हुँदै खिवाङ, हिस्तान निस्कन्छ एउटाबाटो । डाँडाखर्क, स्वाँत, खोप्रा, नारच्याङ, पाउद्वार हुँदै मुस्ताङतिर पुग्छ अर्कोबाटो । ठाउँठाउँमा कम्युनिटी लज र होटल बनिसकेका छन् ।’ पर्यटक नदेखिए पनि नयाँ पदयात्रामार्ग चिनाइरहनुभएको थियो फगामी ।
‘पहाड र पर्यटन सँगसँगै उभिनुपर्नेमा हाम्रो मुलुकमा किन विमुख फर्केका ?’ मनमा कुरा खेलाएथेँ मैले ।
हम्पालको लेक, मोहरेडाँडा, पुनहिल, खोप्रा र अग्ला लेकाली उचाइमा पुग्ने रहरले हुरुक्क भएथेँ म ।
‘वसन्तीले बनाएको बाटो र चौतारो ।’ डमबहादुरले बताइरहनुभएको छ गाउँघरको नवीन प्रगति ।
सानोखोलाको पुल तर्यौँ हामी । यही पुलले जोड्यो म्याग्दीको नागीगाउँ र पर्वतको बनबढेगाउँ ।
‘रातीँद आउनुभो ?’ डमबहादुरकी दिदीले सोध्नुभयो । बनबढेको उपल्लोगाउँस्थित दिदीको घरमा पसेका थियौँ हामी । त्यतिबेलै घाँसको भारी लिएर आइपुग्नुभयो डमबहादुरका भेना गुञ्जबहादुर । मैले गाउँ छोड्दा विदेश हुनुहुन्थ्यो गुञ्जबहादुर ।
दिदीकै घरमा खाइयो दालभात, सागआलु र सिलामको चटनी । खानेहरूको भागमा थपियो सिमी मिसाएको खसीको मासु र रमरमे रस । स्वादिलो भोजन देखेर मनमनै भनेथेँ- खानेकुरा औषधी मात्र होइन, मिठास र तृप्ति पनि रहेछ ।
उपल्लोगाउँमा भेटिनुभयो जीतबहादुर, हर्कबहादुर, छमबहादुरका बा, झङ्कुकी दिदी, बुद्धि, डिलु आदि गाउँले ।
‘बाइसवर्षपछि पनि उस्तै जवान देख्छु, देख्दिनँ त बूढो भएको कोही ।’ हिमाली हावापानीले अजर-अमर गाउँलेहरूलाई भनेको थिएँ मैले । थाहा पाएथेँ, काल पर्खेर होइन, कर्ममै डटेर बाँचिरहेथे हिमाली मान्छेहरू ।
सबैका आँखामा सल्बलाइरहेथ्यो मायाममता । सबैको बोलीमा छोइन्थ्यो आत्मीयताको स्वर । बनबढेबासीसँग मेरो पनि चासो थियो- सञ्चोविसञ्चो, छोराछोरीहरूको पढाइलेखाइ र प्रगति । आफू बसेको गाउँ, चिनजान भएका गाउँले र विद्यार्थीहरूको सम्झनाले नै डोर्याएको थियो मलाई बनबढेसम्म ।
सम्झेजति गाउँलेहरूको हालखबर भेटेजति गाउँलेहरूबाट सुन्दछु म ।
खड्कबहादुर काका र ढाकाबहादुर काका बेलायत । कुबेर, खुमबहादुर, डुकबहादुर, गोरे, सुरेश, तमबहादुर, हाइबहादुर, देवान आदिको परिवार पोखरा । कमलका बाबुआमा नवलपरासी । कुलपी मधेश । थम्मन र मनबहादुर हङकङ । खुमबहादुर र खमबहादुर कोरिया । ठूलो बुद्धि र लकु इटाली । विमला बेलायत । होमकुमार जापान । गिरु, छमबहादुर र यामबहादुर बेलायती सेनामा । केशब, झङ्कु, तमबहादुर, ठगबहादुर भारतीय सेनामा ।
गुञ्जबहादुरका आमाबाबु बिते । कुबेरका हजुरआमा र बाबु बिते । सुवेदार बमबहादुरका बूढाबूढी नै बिते । बुद्धिकी आमा बितिन् । लिलबहादुरकी आमा बितिन् । झुपे, नेम्बे र अम्बे बिते ।
यतिधेरै मान्छेले गाउँ छोडेछन्, यतिधेरै मान्छेले संसार नै छोडेछन् । गाउँ छोड्नेहरू त भेटिनन् तर संसारै छोडेकाहरूको सम्झनाले विरक्तियो मन । एकमन त लाग्यो, सम्झेर आएको व्यर्थै भएछ । यतिधेरै दुःखद खबर सुन्न नआएकै भए हुनेरहेछ ।
पहिलोपटक घर छाडेर यस गाउँमा आउँदाका दिन सम्झन्छु अहिले । पूर्वीक्षितिज अँध्यारिँदा सोच्थेँ, मेरा आमाबाबुको मनमा चिन्ताको बादल मडारिएको होला । त्यतिबेला अग्ला डाँडामा पुगेर चियाउन मन लाग्थ्यो मेरो घरआँगन । यिनै गाउँलेले कर्मक्षेत्रमा रत्याए मलाई । पछि यो गाउँमा आइपुग्दा यस्तो लाग्थ्यो, यहाँका मान्छेको मुहारमा फुलेको मुस्कानले थपिदिन्छ मभित्र खुसी । यहाँका मान्छेको फरासिलो व्यवहारले चौडा बनाइदिन्छ मेरो छाती । स्वतन्त्र डुलेको चिसो बतासले बढाइदिन्छ मेरो स्फूर्ति । र त, आफ्नो घरजस्तै लाग्थ्यो यो गाउँघर । यो स्वच्छ गाउँको उँचो धरा नै मेरो जागिरे जीवनको पहिलो खुट्किलो थियो ।
मेरो मन बेस्सरी डुलेको छ यतिखेर- घरि गाउँमाथिको सल्लेरीजङ्गल, घरि गाउँबस्ती, घरि कुहिरोमुन्तिरको क्षितिजको पहाड र हिमालतिर । धौलागिरि, अन्नपूर्णा, निलगिरि र माछापुच्छ्रेको सानिध्यको गाउँले दिनचर्या र उन्नति नियाल्छु । गाउँसम्म मोटरबाटो खन्दै ल्याएको देखियो । सदिच्छा राख्छु÷ गाउँको निधारबाट दुर्गम र विकट हटेर सुगमैसुगम कोरिएहुन्थ्यो ।
बिहानीको पहिलोकिरणले चुम्दा घामछायाको रङमा लुटपुटिँदै हिमाल र पहाडसँग उभिन्थेँ । डाँडापाखा हिउँले ढाक्दा खुला चउरमा बुर्कुसिन्थेँ । हिउँ पग्लेर खैरो चउर र सेताम्मे खोल्सा देखिँदा खुसीका पखेँटा फिजाएर आकास डुल्थेँ । तुषारो र हिउँले हर्लक्क हुर्केको हरियो जौबारी देख्दा लेकमै घरबार सार्ने तरकिब सोच्थेँ । कुहिरोको पातलो पर्दाले ढाकिँदा लेकबेँसीको उचाइ नाप्दै डाँडाकाँडा नाघ्थेँ । नयाँवर्ष मनाउन लेक उक्लँदा गुराँसको फागु खेल्दै वनपाखासँग नाच्थेँ ।
मन गर्वले अझै बोलिरहेथ्यो- ‘मेरो र्स्पर्शले बेग्लै हुन्छ प्रकृतिको रुपरङ । मेरो दृष्टिले बदलिन्छ संसारको ढबढाँचा । मसँगै बस्न खोज्छ प्रकृतिको मिहीन सौर्न्दर्य !’
मनसँग मोहित भएर सोच्छु- ‘रङ्गीन पत्रहरूको फूल रहेछ मन । सदावहार वसन्तको फुलबारी रहेछ मन । सुन्दर सपना सजिएको मन्दिर रहेछ मन । विश्वास बचाउने आस्थाको पुजारी रहेछ मन । र त, दुनियाँको खुसी समेट्नसक्छ मन । संसारमा अनेक सिर्जना भर्दै दुःख बिर्सेर खुसीखुसी रमाउनसक्छ मन ।’
पीच हुँदै गरेको खेलकूद मैदान टेकेर हिमालय प्राविमा पुग्यौँ हामी । बर्खेविदामा बन्द विद्यालयको कार्यालय खोल्नुहुन्छ बुद्धि । गाउँलेको मेहनत र विद्यालयको उन्नतिले खुसीको उन्मादी रङ पोतिन्छ मेरो मनको फाँटभरि ।
वर्तमानको सीमा भत्काएर परेलीको डिलमा आइपुग्यो विगत । गलाको बोली अड्केर गालामा गुड्यो नुनीलो पानी । माया र सम्झनाका ती दिनको स्मृति दुईचारथोपामा बगेर कहाँ सकिन्थ्यो र ? दर्केपानीको बलेनी तप्किएर रुझिरहेँ म ।
गाउँलेको माया र गुनको बदलामा झरिरहेका अश्रुबुँदहरूलाई मनमनै सोधेथेँ मैले- ‘वर्षौँपछिको मिलनमा किन बाधा हालेको ?’
द्रवित आँसुसँग शब्द हुँदोरहेनछ । बाँध फुटेको अश्रुभेल बग्नमात्र खोज्दोरहेछ । प्रवाहमा भेटेजति बगाउँदोरहेछ अश्रुभेलले । त्यही अश्रुभेलले मेरो मन बगायो । थाहा पाएथेँ, मिलनमा झन् बढी छोइँदोरहेछ विछोडको पीडा ।
त्यहाँदेखि यहाँसम्मको सम्झनाको सागरमा डुबेर निस्केँ म । सम्झनाको गहिराइबाट उत्रेपछि सोचेँ- सम्झनासँग सङ्लिन सके डुबिँदोरहेनछ ।
सुनसान लाग्यो बनबढेको तल्लोगाउँ पनि । अपरिचित देखेझैँ चुपचाप उभिए प्रत्येक घरआँगन । उस्तै मौन थिए भलिबल खेल्ने मैदान, शिक्षक आवास र गोरेटाहरू । त्यहाँ थिएनन् मेरा गाउँले दौतरीहरू । कतै देखिएन मेलाजात्रा, विवाहउत्सव र भोजभतेरको रौनक । समयको बलवान वेगले धेरैटाढा पुर्याएको रहेछ मलाई ।
पहाडका पत्रपत्रमा फैलिएको मगर संस्कृतिसँग नजिकिँदाको क्षण सम्झँदै स्मृतिको धमिलो पर्दा च्यातेर आफैसँग सोधेँ मैले- ‘उस्तै रसिलो छ त हिउँदमा तुषारो र हिउँले ढाक्ने बनबढे ? उस्तै भरिलो छ त बर्खा गुहेली पाकेर लेकाली चरी रमाउने बनबढे ? उस्तै हँसिलो छ त वसन्तमा वहार डाक्ने सल्लेरी वनमुन्तिरको बनबढे ? गाउँमा उसरी नै घुम्छ त- दशैँको रोटेपिङको तौलो, माघे सक्रान्तिको आफन्तको झझल्को, चाडपर्वको रोदीको रन्को र वसन्तपञ्चमीको मारुनीको फन्को ?’
प्रतिउत्तरमा कुकुरसम्म भुकेन गाउँमा । हावाको सानो झोक्कासम्म देखिएन रुखपातमा । चरीको मसिनो चिरबिरसम्म सुनिएन दोबाटोमा । रित्तो गाउँको मौनताले झन् बज्रपात गर्यो ममाथि । हृदयले मौनतामा निकालिरहेथ्यो झन् ठूलो डाँको ।
पँधेरोको अँध्यारो खोल्सा तरेर बनबढेसँग विदा भए पनि अँध्यारिन छोडेको थिएन मेरो मन ।
डाँडाकटेरीको उकालो उक्लन गाह्रो भयो मलाई । हातखुट्टाका जोर्नी दुख्नथाले । दुईपाइला नहिँड्दै बिसाएँ चौतारीमा । ज्वरो बढ्नथाल्यो एक्कासि ।
‘सरको झोला तपाईँ लिनुस्, हातेझोला मलाई दिनुस् ।’ कृष्णदेव भट्टलाई अह्राउँदै दुइटै हातेझोला लिनुभयो बद्री बुढाथोकी ।
डाँडाकटेरी पुग्दा झोलाको जीवनजल सम्झेँ मैले । घाँस काटिरहेको मगर भाइसँग पानीको बोलत मागेर बनाएँ जीवनजल । र त्यसकै भरमा साथीहरूको पछि लाग्दै वनभित्र छिरेँ ।
‘आलुको गह्रुङ्गो झोला यतै छोडिदिउँ कि त ?’ दुइटै हातका राताडाम देखाउँदै बुढाथोकीले भन्नुभयो ।
‘आलु झोलासँगै बाटोमै राखिदिउँ न त, कसैले लैजाला ।’ मैले सल्लाह मिलाएँ बुढाथोकीसँग ।
‘छोड्न हुन्न मायालु गाउँलेको अर्गानिक कोसेली ।’ दुइटा झोलामाथि एउटा हातेझोला थप्दै बोल्नुभएथ्यो भट्ट ।
ज्वरो र पखालालाई जित्दै हिँडिरहेथेँ जसोतसो । घनाजङ्गलको एकलासभित्र छिर्दा शंकाको पहाड ठडिएको थियो सामुन्ने- हिँड्न नसकेर बीचबाटोमा साथीहरूको बोझ त बन्दिनँ म ?
बाटो किनारमा चुपचाप थिए रुझेका पोथ्रा, घाँस र फूलपात । शायद मेरो दुःख बल्किरहेथ्यो तिनीहरूको मुटुमा । मर्म बुझिदिने भएर नै प्रकृतिको सानिध्य मनपर्छ मलाई ।
सानोखोलाको झोलुङ्गे पुल तरियो । यही पुलमा खिचेको पुरानो फोटोको याद आयो । खुसीले बुर्कुसिएर हिँडेको पलको याद आयो । सुखद याद पनि रोमाञ्चक लाग्दोरहेनछ दुःखको क्षणमा ।
सिमसिम पानी परिरहेथ्यो । कुहिरोको दुखालु च्यादर ओढेको जङ्गल झन् एकलास र निर्जन लाग्थ्यो ।
जङ्गलले भनिरहेझैँ लाग्थ्यो- ‘शरद र वसन्तमा पो डुल्नुपर्छ त, बर्खाको हिलो र कुहिरोमा किन चढेको लेक ?’
‘हिमाल र गुराँस नदेख्दा मज्जा हुँदोरहेनछ लेकाली यात्रामा ।’ जङ्गलसँग सहमति जनाएथेँ मैले ।
आफूभन्दा ठूला भारी बोकेर आउजाउ गरिरहेथे केही मान्छेहरू । मलाई भने शरीरमात्र घिसार्न पनि कठिन भइरहेथ्यो । ढाड र काछको पीडा शीरदेखि पैतालासम्म चस्किरहेथ्यो । त्यतिबेलै बेनीबाट बनबढे जाँदैगरेका टकबहादुर भेटिनुभएथ्यो । वर्षौँपछि भेटिएको साथीसँग सामान्य भलाकुसारीसमेत गर्न नसक्दा हुँदोरहेछ असहृय पीडा ।
अजङ्गको भीरमा टाँस्सिएको थियो गोरेटो । माथि हेरे पनि डर, तल हेरे पनि डर । झ्याउँकिरी पनि यही भीरमा कराउनुपर्ने । कति कठिन छ हामीलाई, उ मस्तले गाए हुने, नाचे हुने !
कुहिरोले रोक्नसक्दैन सिमसिमे पानी । रुखपातमा हिउँको जलप लगाउनसक्दैन कुहिरो । फेरि किन ओइरिन्छ नजर छेक्न ? कुहिरोको कपटी मन र कुटील व्यवहार देखेर झोक चलेथ्यो बेस्सरी ।
घनाजङ्गलमै भेटिइथिन् डाँडाकटेरीकी बुहारी करुणा । आफन्तकहाँ बसेर पढेको छोरो लिन बेनी जाँदैथिइन् उनी । हाम्रो हातेझोलाको बोझ उचाल्दै सहयात्री भइथिन् जङ्गली बाटोभर । जङ्गली सन्त्रासझैँ बिझेथ्यो दुर्घटनामा लोग्ने गुमाएकी अधवैंसेको करुण जीवनकथा । बाँसखर्कदेखि छिटो पाइला सारेकी करुणाको पदचिन्ह फेरि भेटाउन सकेनौँ हामीले ।
सुन्तलाको गाढा छायामा सुस्ताएको थियो बाँसखर्क । गलेश्वर–शिवालयलाई छुँदै कुदिरहेथ्यो कालीगण्डकी । आकासको सिरानी हालेर क्षितिजमा मस्त सुतिरहेथे सामुन्नेका महाभारत पहाड ।
बाँसखर्कको नेपानेबाट बेनी पुग्न एकघण्टा हिँड्नुपर्थ्यो । एकघण्टासँग हारेर बाटो किनारको ठूलोढुङ्गामै सुतिदिएथेँ म । थाहा पाएथेँ, एकसेकेण्ड पनि हाबी हुँदोरहेछ मान्छे हारेको बखत । हावाभन्दा हलुका, पानीभन्दा पातलो र धुलोभन्दा सुक्ष्म जिन्दगी बोकेर हिँडेको हुँदोरहेछ मान्छे । जीवनका पाइलामा मृत्युको छाया पनि साथै हुँदोरहेछ ।
समयको साथ लागेर समय हेर्ननिस्केको मलाई समयले नै किनारमा पन्छाएर छोडिगएथ्यो मिलिक्क कतै । अनुभूतिले रङ्ग्याउन चाहेको यात्राको पल पीडाले थिल्थिलिएथ्यो । थाहा पाएथेँ, जीवन समयले होइन, भोगाइले नियाल्न सकिँदोरहेछ ।
गाउँलेले रगत पसिना बगाएर बनाएको बाटोमा सिण्डिकेटले सत्ता चलाएको देखेर मन निचोरिएथ्यो । सिण्डिकेटको खुट्टा भाँच्न नसके पनि बहिष्कार गर्न हिजो धौलापहरो हुँदै फलामेडाँडा पैदल उक्लँदा जलवियोजनले ग्रसित भएँछु म ।
दर्केपानीले भिजेको चिसो रात अँध्यारोमा निसास्सिरहेथ्यो । मल्लाज पुग्दा गाडीको उज्यालोमा देखियो करुणाले बाटो किनारमा राखिदिएको आलुको झोला । करुणाको पदचिन्हभन्दा अमीट भएर हृदयमा कोरियो उनको इमान्दारिता ।
आशंकाको पहाडभन्दा हजारगुणा कठिन हुँदोरहेछ भोगाइको भुङ्ग्रो छिचोल्न । खुट्टा उठाउन नसक्नेले पाइला कसरी सारेँ हुँला । भोकैप्यासै मरुभूमिमा घिस्रिएझैँ भइरहेथ्यो मलाई । धन्य मेरा साथीहरू जसले अनकन्टार जङ्गल छिचोलेर बाँसखर्क ल्याउनुभएथ्यो । कुश्मा लगेर उपचार गराउनुभएथ्यो । मृत्युको मुखबाट फुत्काएर जीवनको गोरेटोमा डोर्याउनुभएथ्यो ।
शरीर शिथिल भएपछि मनमा बाँकी बच्दोरहेनछ- माया, सम्झना र धोको । होश, शक्ति र साहस फर्केपछि भने भरिएर आयो- रित्तोमन, शून्यहृदय र शिथिलमस्तिष्क पनि । अनि त, मनमा उसैगरी हाँस्नथाल्नुभयो- आफन्त र शुभचिन्तकहरू । आँखामा सजिनुभयो- नेपाल भोट युद्धमा प्राणाहुति गरेका बहादुर पुर्खाका सन्तान बद्री बुढाथोकी, सुदूरपश्चिमका बहादुर छोरा कृष्णदेव भट्ट र अन्य साथीहरू । हृदयमा दगुर्नुभयो- पर्वत अस्पतालका याम शर्मा र अरु स्वास्थ्यकर्मीहरू । छातीमा छोइनुभयो- काशीराज दाहाल, विष्णु प्रसाद भुसाल, सुवास लामिछाने, लोकनाथ भुसाल, विमल लामिछाने, कुमानसिं गुरुङ र विनोद पौडेलहरू । स्मृतिमा तैरनुभयो- उपचारका क्रममा एकवर्षदेखि निरन्तर भेटिरहेका त्रिवि शिक्षण अस्पतालका डा.राहुल पाठक ।
विश्राममा रोकिनखोजेको यात्राले फेरि पयर उचाल्यो । मैले पनि अङ्गालोमा आकास अटाउन खोजेँ । पैतालामा धर्ती समेट्न खोजेँ । नजरमा क्षितिज सजाउन खोजेँ । दुःस्वप्न बिर्सेर हृदयमा सङ्गाल्नखोजेँ स्नेही यादहरू ।
बिसौनी वल्तिरको डिलबाट जीवनलाई चिहाएर हेरेँ । कञ्चन खारिएर छङछङएिको जीवन-नदीको प्रवाहले मोहित भएँ । अनि, प्राणको धागोमा हल्लिरहेको जीवन-चङ्गा हेर्दै गुन्गुनाएँ म-
सापट लिई अलिकति जूनघामको रश्मी
दुबै हात फैलाएर मुस्कुराउँदा तिमी
वसन्तले जिन्दगीलाई चुमेछ कि भनी
यसो नजर उठाएर हेर्छु मैले पनि ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )