स्थान परिचय : धरानको इतिहास, पुराण र किम्बदन्ती

~डा. माधवप्रसाद पोखरेल~

धरान क्षेत्रको सबभन्दा पुरानो पौराणिक, पुरातात्त्विक वा ऐतिहासिक स्थल वराहक्षेत्र हो । वाराह पुराणमा कोसी (कौशिकी) र कोका खोलो दुइटैको नाम एकैसाथ आउँछ (अस्ति मत्स्यशिला नाम गुह्यं कोकामुखे वरम् ! धाराः पतन्ति तिस्रो वै कौशिकीमाश्रिता नदीम्) । डा. दिनेशचन्द्र सरकार के भन्दछन् भने, कौशिकी नाउँ भएका नदी भारतमा अनेक ठाउँमा भए पनि वराहक्षेत्र, कोका र कौशिकी (कोसी) तीनै ओटा नाउँ एकै ठाउँमा जोडिएको चाहिँ हाम्रै वराह क्षेत्रमा मात्र हो । वराहक्षेत्रको कोका खोलो त कर्कप्याट्रिकको नेपालको इतिहासको नक्सामा पनि परेको छ ।

वराहक्षेत्रको गुरुवराहको मूर्तिलाई रमेशजङ्ग थापा (२०३४) ले चौथो शताब्दीको ठहराएका छन् । दिनेश चन्द्र सरकारले प्रकाशित गरेका अभिलेखहरूका सङ्कलनमा अन्तिम गुप्त सम्राट बुधगुप्त (पाँचौँ छैटौं शताब्दी) का पालाका दामोदरपुरका दुइटा अभिलेखमा वराहक्षेत्रको वर्णन छ । तिनीहरू मध्ये पाँचौँ शताब्दीका ताम्रपत्रमा पुर्णियाँका सेठ ऋभुपालले वराहक्षेत्रकै श्वेतवराह र कोकामुखका नाउँमा जग्गा गुठी राखेको वर्णन छ भने, छैटौँ शताब्दीका ताम्रपत्रमा अयोध्याका सेठ अमृतदेवले आफ्नी आमाको पुण्य बढाउन जीर्णोद्धारका लागि जग्गा गुठी राखी दिएको वर्णन छ । डा. सरकारले कोकामुख तीर्थको उल्लेख महाभारत र अरू कतिपय पुराणहरूमा भएको पनि सूचना दिएका छन् ।

वराहपुराण (१४०ः८६-८७ ) मा पृथ्वीलाई वराहले पाँच योजन फैलेको रमणीय कोकामुख क्षेत्रमा दक्षिण पट्टि मुख फर्काएर देब्रे पट्टि मुख उचालेर वराह रूपले बस्छु भनेर भनेका छन् (पञ्चयोजनविस्तारं क्षेत्रं कोकामुखं मम ! तस्मिन् कोकामुखे रम्ये तिष्ठामि दक्षिणामुखः ! वराहरूपमादाय तिष्ठामि पुरुषाकृतिः ! वामोन्नतमुखं कृत्वा वामदंष्ट्रासमुन्नतम्) । वराह भगवान त पृथ्वीलाई के पनि भन्दछन् भने, म कोकामुख तीर्थ (अर्थात् वराहक्षेत्र), वदरीनाथ धाम र कुमाउँको लोहार्गल यी तीन ओटा ठाउँलाई चाहिँ एकछिन पनि छोड्न सक्तिन (तव कोकामुखं नाम यन्मया पूर्वभाषितम् ! वदरीति च विख्यातं गिरिराजशिलातलम्। स्थानं लोहार्गलं नाम म्लेच्छराजसमाश्रितम्। क्षणञ्चापि न मुञ्चामि एवमेतन्न संशयः)।

वाराह पुराण अनुसार हिरण्याक्षले हरण गरेकी पृथ्वीलाई उद्धार गर्न आएका विष्णु वराहक्षेत्रमै सुँगुरको रूप लिएर बसेका थिए । हिरण्याक्षले लुकेको सुँगुरलाई हामीहरू मार्दैनौँ भनेर तँ सुँगुरको रूप लिएर यहाँ लुकेको भनेर विष्णुलाई सोधेको पाइन्छ ।

डा.सरकारले कोकामुख र वराहक्षेत्रको बयान ब्रह्मपुराण (११९।१७, ३९, १०६, ११६) मा पनि भएको उद्धरण दिँदै के भनेका छन् (कोकामुखे दिव्यवराहरूपम्) भने, ब्रह्मपुराणले कोका खोलो छेउमा वराह भएका क्षेत्रलाई नै वराहक्षेत्र ठहराएको छ ।

डा.सरकारले वराहपुराणमा वराहक्षेत्र र कोकामुखमा भएका बीस ओटा तीर्थ स्थलहरूका नाम भएको सूचना दिएका छन् । तिनीहरू मध्ये विष्णुपाद (विष्णुपादुका) धरान क्षेत्रमा प्रसिद्ध छ । अरू १९ ओटा निम्न लिखित तीर्थहरूका विषयमा चाहिँ अनुसन्धान जारी राख्नु जरुरी देखिन्छ ः (१) जलबिन्दु, (२) विष्णुधारा, (३) विष्णुसर, (४) तुङ्गकूट, (५) सोमतीर्थ, (६) अग्निसर, (७) ब्रह्मसर, (८) धेनुवट, (९) धर्मोद्भव, (१०) कोटिवट, (११) पापप्रमोचन, (१२) यमव्यसनक, (१३) मातङ्ग, (१४) वज्रभव, (१५) शुक्ररुद्र, (१६) दंष्ट्राङ्कुर, (१७) विष्णुतीर्थ, (१८) सर्वकामिका, र (१९) मत्स्यशिला ।

जनकलाल शर्माले धरान विजयपुरमा उत्तरगुप्तकालीन माटाका भाँडा फेला पारेर विजयपुर पनि गुप्तकालको सांस्कृतिक प्रभावमा भएको प्रमाणित गरेका छन् । उनले अन्य ऐतिहासिक स्थलको पनि परिचय दिएका छन् ।
ज्ञानमणि नेपाल (२०४०) ले स्कन्द पुराणको ‘हिमवत्खण्ड’ (३४ः ३०६५) मा प्रयागका विष्णु शर्मा नाउँ गरेका बाहुन वराहक्षेत्रमा आएर सुवदनी नाम गरेकी किराँतिनी बिहे गरेर बसेको सूचना दिएका छन् । स्कन्द पुराणको यो सूचनाको पुष्टि गर्न उनले वराहक्षेत्र छेउको मैना स्थान (मैनामैनी?) का राई पुजारीसँग अन्तर्वार्ता लिँदा पुजारीले आफूहरू बाहुन बाबु र किराँतिनी आमाका सन्तान भएको सकारेको उल्लेख गरेका छन् । बी पी कोइरालाले ‘सुम्निमा’ उपन्यासमा पनि यसै कथालाई आधार माने जस्तो देखिन्छ । सुम्निमा किराँती मिथककी एउटी सम्माननीय पात्र हुन् । ‘सुम्निमा’ र स्कन्द पुराणको ‘सुवदनी’ नाम पनि झन्डै मिल्दो रहेछ । सुवदनीका बाबुको नाम किराँतीहरूको गणचिन्ह ‘बाघ’ वा ‘चितुवा’ सित मिल्छ । कविराज नरपति पोखरेलले धन्कुटा मार्गाकी देवीलाई आठपहरिया राईहरू मरौपरौ हुँदा वराहक्षेत्रबाटै लगेको पानी चढाउनु पर्ने सूचना दिएका छन् ।

यक्ष मल्ल (१४८५-१५३९) ले आफ्नो राज्य विजयपुर सम्म फैलाएका थिए भन्ने कर्कप्याट्रिकको सूचना शिवकुमार श्रेष्ठ (२०४२) ले दिएका छन् । इमानसिंह चेम्जोङ (२०३०) ले दिएको सूचना अनुसार १५ औँ शताब्दीमा आसामबाट आएका राजा धरानको आग्नेय कोणमा पर्ने बारातप्पा (पान्बारा) मा राज्य गर्थे । उनको भनाइ अनुसार विजयनारायण राय (१६४१-१६६६) ले विजयपुर राज्य बनाएका हुन् । आसामको इतिहास अनुसार १५ औँ १६ औँ शताब्दीमा शङ्करदेवले आसाममा वैष्णव धर्मको प्रचार गरे । कुचबिहारका राजवंशी राजाहरू शङ्करदेवको प्रभावमा परेर वैष्णव भएकाले तिनीहरू आफ्नो दोस्रो नाम ‘नारायण’ राख्थे । नरनारायण त्यहाँका प्रसिद्ध राजाको नाम हो । उनका भाइको नाम चला राय थियो । नरनारायण शक्तिशाली भए पछि उनले आफ्ना सौतिने दाजु नेपालकी राजकुमारीका छोरालाई धपाए । सम्भवतः कुचबिहारबाट भागेर नेपाल पसेका तिनै नरनारायणका भाइका सन्तानहरू पान्बारामा दोस्रो नाम ‘नारायण’ लेख्थे । ती राजवंशीहरूका सात पुस्ताले बारातप्पामा राज्य गरेको सूचना इमानसिंह चेम्जोङले दिएका छन् । विजयपुर राज्य बनाउने त्यसै वंशका विजयनारायणले आफ्नो राजधानी बारातप्पाबाट विजयपुरमा सारे । धरानमा विजयपुर बजार र पञ्चकन्याको जङ्गलका बीचमा नारायणपुर भन्ने ठाउँ छ । यसै ठाउँमा ती कोचे वा राजवंशी राजाहरूले आफ्नो राजधानी बनाएका थिए । आसामको इतिहास हेर्दा के बुझिन्छ भने कोचेहरू मेचे (बोडो) हरूका गोती हुन् । पूर्वी नेपालमा कोचे र मेचे नजिक नजिकै बस्छन् ।

ह्यामिल्टन (१८९९ ई) ले दिएको सूचना अनुसार यिनै विजयनारायण रायले फेदाप थुमका राजा मुरेहाङलाई विजयपुरका चौतरिया वा देवान बनाउने परम्परा थाले र फेदाप थुमका किराँतीहरूलाई ‘राय’ पदवी दिए, तर ह्यामिल्टनका अनुसार मुरेहाङले विजयनारायणकी छोरीलाई बलात्कार गरेका हुनाले राजा र मन्त्री बीचमा फाटो भयो । यसै कमजोरीको फाइदा उठाएर पाल्पाका राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेन (१६६६-१६८६) ले विजयपुरलाई सेन राज्यमा गाभे । विजयपुर सेन राज्य भए पनि लोहाङ सेनले विजयनारायणले किराँतीहरूसित गरेको सम्झौता कायमै राखे । पहाडमा सारो पर्दा सेनहरूले सघाउने, तराईमा सारो पर्दा किराँतीहरूले सघाउने थिती कायमै रहृयो । यही थिती कोसी पारिका सेनहरूको चौडन्डी राज्य र माझ किराँतमा पनि कायम थियो ।

सेन राजाहरूकै पालामा दन्तकाली, पिण्डेश्वर र बालाम्बाको स्थापना भएको हो । त्यसै वेला नै ‘रुद्राक्षारण्य माहात्म्य’ लेखिएको थियो । योगी नरहरिनाथले त्यो पुस्तक शालिग्राम पोखरेलका घरमा फेला पारेका हुन् । शालिग्राम पोखरेल कुरुलेका बरालका भानिज थिए । कुरुलेका बरालहरू सेन राजाहरूका गुरु पुरोहित थिए । पहिले विजयपुरमा रुद्राक्षको वन थियो भन्ने कुरो त्यस किताबबाट थाह पाइन्छ ।

विजयपुरका अन्तिम राजा कामदत्त सेनले रामभद्र सेनलाई दिएको स्याहामोहोरमा विजयपुर राज्यको सिमाना पूर्वमा टिस्टादेखि पश्चिममा कोसी सम्म थियो । रामभद्र र तुलारामका सन्तान दन्तकालीका खनाल पुजारीहरू हुन् । बुद्धिकर्ण राई कामदत्त सेनका देवान थिए । पछिल्लो कालमा बुद्धिकर्ण राई र कामदत्त सेनमा वैमनस्य भयो । इमानसिंह चेम्जोङका अनुसार बुद्धिकर्ण राईले कामदत्त सेनलाई मारे । यसबाट तेरथुमका राजाहरू बुद्धिकर्णसित रिसाए । यसै मौकाको फाइदा लिएर अभिमानसिंह बस्नेतले सिन्मारीमा लुकेर बसेका बुद्धिकर्ण राईलाई मारेर १८३१ सालमा विजयपुर राज्यलाई नेपाल राज्यमा एकीकरण गरे । इमानसिंह चेम्जोङले विजयपुरका बूढासुब्बालाई बुद्धिकर्ण राईको आत्मा मानेका छन् । तुलसी दिवसले बूढासुब्बा सम्बन्धी दुई ओटा लोककथा प्रकाशित गरेका छन् भने निराजन राई (२०६७) ले दुईतीन ओटा किराँती लोककथाहरूमा बूढासुब्बाको प्रसङ्ग ल्याएका छन् । बूढासुब्बा धरानका प्रसिद्ध स्थानीय देउता हुन् । बूढासुब्बामा कुखुरा र सुँगुर वलि दिइन्छ । त्यहाँका पुजारीहरूले कुखुराको मुटुकलेजामा जोखाना हेर्छन् र भक्तहरूको भूत, भविष्य, वर्तमान भन्दछन् । बूढासुब्बाका बाँसमा टुप्पा हुँदैनन् । बूढासुब्बाले कागलाई मट्याङ्ग्रा हानेर बाँसका टुप्पा हराएको लोक विश्वास पाइन्छ । बूढासुब्बाको बाँस वर्षमा एक दिन मात्र काटिन्छ । अचेल बूढासुब्बाका बाँसमा आफ्ना मायालुको नाम लेख्ता मायाँ सफल हुन्छ भन्ने लोक विश्वास स्थानीय युवाहरूमा बढेको हुनाले बूढासुब्बामा हरेक शनिबार ठूलो भिड लाग्छ ।

धरान र वराहक्षेत्र मन्दिर बीचमा चत्रा भन्ने एउटा तीर्थ छ । त्यहाँ भएका अनेक मन्दिर मध्ये औलिया बाबाको मन्दिर के कुराले अद्वितीय छ भने, त्यहाँ खाटमाथिको ओछ्यानमा पूजा गरिन्छ । औलिया बाबा एउटा सिद्धको नाम हो भन्ने स्थानीय विश्वास छ । कुनै इतिहासकारले यसको तुलना इस्लामका अल्लाहसँग पनि गरेका छन् ।

देव शमसेरलाई १९५८ सालमा चन्द्र शमसेरले धनकुटा धपाए पछि नेपाल दरबार र धनकुटाका बीचमा स्थायी आतीजाती हुने भयो । तराईमा औलो लाग्ने भएकाले र एकै दिनमा साँगुरी र टेकुनालाको उकालो छिचोलेर धनकुटा पुग्न नसकिने भएकाले १९६० सालमा चन्द्र शमसेरले धरान फँडनी गरे । धरानमा आरा काट्ने चौकी जताततै भएकाले त्यस ठाउँको नाउँ धरान भएको एउटा किम्बदन्ती छ । ज्ञानमणि नेपालका विचारमा चाहिँ थारूहरू गोरुगाडी अड्याउने ठाउँलाई धर्ना भन्दछन् । तराईबाट आउने गोरुगाडा अड्याउने ठाउँ भएकाले यस ठाउँको नाउँ धरान भएको भन्ने उनको मत छ । चन्द्र शमसेरले बनाएको हुनाले पहिले धरानलाई चन्द्रपुर बजार भनिन्थ्यो । विसं १९९० को भुइँचालामा धरान ध्वस्त भएकाले जुद्ध शमसेरले नयाँ बजार बनाए, जसलाई जुद्ध नगर भनिन्थ्यो ।

वि सं २०१० मा धरानको भोटे चौरीमा ब्रिटिस क्याम्प बसेपछि धरानको कायापलट भयो । आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान त्यस ठाउँमा छ । अहिले धरान अनेक किसिमका विविधताहरूले झार्झुट्ट छ ।

फागुन १४, २०६७
शनिबार, गोरखापत्र

This entry was posted in स्थान परिचय and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.