~माधव ‘सयपत्री’~
मखमलीले सोचिथी- आफ्नै स्तरको दर्शनले- ‘गाउँमा धनी, गरिब, साना-ठूला, ठालू-दमित, शासक-शोषित भएझैँ भगवान्को संसारमा पनि त्यस्तै हुन्छ होला ।’ नत्र छिटफुट गाउँतिर लगाइने पुराणमा कृष्ण-सुदामाको कथा किन आउँथ्यो ।
मखमलीको निरक्षर मस्तिष्कले सोचेथ्यो- ‘कृष्ण धनी छन् र सुदामा गरिब ।’ तर उसले त अरू पनि सुनिथी- कृष्णले एकैरातमा सुदामालाई करोडपति बनाइदिए । मखमली सुदामा पत्नी कोचेली हुन चाहन्थी तर ऊ थिई- डुहुरे पत्नी ‘मखमली’ ।
मखमलीले आफू अघोर नर्कमा परेको अनुभव गरी । उसले सुनेको किताबमा लेखेको स्वर्ग-नर्कका लीलामय प्रवचन जब सुन्दै गई ।
त्यो पुराणवाचन स्थल थियो । त्यहाँ एउटा राजा थियो-पण्डित । मन्त्री थियो-उपवाचकी । जी हजुर टक्र्याएर नस्तमस्तक मुद्रामा थियो- कर्ता अर्थात् दानप्रसाद । पुराण सुनेर फर्केको दिन बाटामा मखमलीले सोचेका कुरा हुन् यी ।
पुराण प्रवचनका अन्तिम अन्तिम दिन थिए ती । लगातार लोग्ने डुहुरे भैंसी दुहुने बित्तिकै तरैसँग काँचै दूध ढुङ्ग्रोभरि लिएर पुराण सुन्न गइरहृयो । बुढ्यौलीतिर ढल्केकी उसकी सासुको त के कुरा । भन्थी- “ल है, घरबेबार जे गर्छौ गर म त साताभरि दानप्रसाद पण्डितको आँगन मरे छाड्दिन । करेसामै भने जसो पुराण छ, बूढेसकालमा पनि सुन्न नपाए कैले सुन्नु त Û आफू लगाउन सकिने हैन । त्यत्रो सम्पत्ति चाहिन्छ । अर्काले ला भनेर दिएको पनि नखाए त सधैँ भोकै रहन के बेर । यो बेला पनि यसो धर्मकर्मका कुरा सुन्न नपाए त कैले सुन्ने मरेसी ? मरेसी त कहाँ हो कहाँ आ-आˆनो भोगअनुसार चल्नुपर्छ ।”
मानौ धर्मशास्त्र पूरै पचाएर बोलेकी थिई सासुले त्यस दिन पनि । स्वर्ग-नर्क, बन्धन-मोक्ष सबै थाहा भए झैँ वा कुनै विशेषज्ञले आˆनो विषयमा प्रवचन दिए झैँ बोली थी सासु ।
पुराण सुनेर आएपछि सासुले दिएको प्रवचन झनै ‘विशेष’ हुन्थ्यो । मखमली सुनेझैँ गरी सुन्दिनथी वा थोरै सुन्थी । डुलेर राति अबेर घर आउँथ्यो । दानप्रसादको घरमा सप्ताहभरि जुनजुन काम आइलाग्यो त्यो सबै डुहुरे नै गथ्र्यो अर्थात् उसलाई काम गर्ने आदेश थियो । तर भित्रिया काम दानप्रसादका बुहारीहरू गर्थे । बाहिरको काम जति डुहुरे जिन्दावाद । काम कस्ता भने दाउरा चिर्ने, पानीको रठ्ठापठ्ठा मिलाउने । को आए, को गए, कसले के खायो, कसले खाएन आदि ।
एकदिन मखमलीले दानप्रसादको आँगन टेक्ने नै भई । दिनभरि बस्ने भई । सासु बिहान एक सर्को घरायसी खटनपटन वा उर्दी जारी गरेर उहीँ पुगिसकेकी थिई । डुहुरे पनि आमाको पछिपछि भनेजसो कुद्यो । डुहुरेका सन्तान थिएनन् । भगवानले नै थपक्क हातमा छोरा नै राखिदिन्छन् कि भनेर पनि ऊ अहोरात्र त्यसरी भागवत् भक्तिमा लागेको थियो । बिहे गरेको आठ दश वर्षसम्म पनि सन्तान नहुनु त अचम्मै थियो नि Û
डुहुरेलाई अहिले आफूले बिताइरहेको संसारभन्दा पनि परको संसारको बढी चिन्ता थियो । मरेपछि एकातिर काँध हालेर घाट पुर्याउने छोपो गुथेर तेह्रदिनसम्म किरिया गरिदिने र त्यसपछि तिथिमा श्राद्ध गरिदिने एउटा सन्तान होस् भन्ने चाहन्थ्यो ऊ ।
सन्तान उत्पादनमा आवश्यक मात्रामा शुक्रकिट र डिम्ब चाहिन्छ भन्ने कुरा त्यो अनपढ डुहुरेलाई के थाहा Û त्यसैले डुहुरे सन्तान प्राप्तिको लागि लालसारत रहृयो ।
दानप्रसादको पुराणमा जाने योजना बनाई मखमलीले । बाख्रा के गर्ने ? टन्न घाँस हालिदिने । गाइगोरु के गर्ने ? फुकाएर खोलापारितिर धपाइ दिने । घर कसले कुर्ने ? ताल्चामारिदिने । वरिपरिको फलफूल कसले हेर्ने ? पाङ्ग्रेकुकुर घरपछाडि बाँधिदिने । बस यत्ति त हो । राम्रो योजना बनाई मखमलीले ।
ट्याङ्काबाट सारी झकिी । के सारी भन्नु तराईवासीले घुमाउँदै बेच्न ल्याएको । पहिले बाह्र सय मोलेको पछि दुईसयमा छाडेको । दुईचोटि धुन्दा जात हराएको, डोरा सरेको सारी । मिलाएरै लगाई मखमलीको ढङ्ग पुगेसम्म । कपाल पनि सम्याइ । थोत्रो ऐना अगाडि आफूलाई देखाइ र हाँसी मुसुक्क । उसलाई आफू राम्री लाग्यो । अझ अनुहारमा तोरीको तेल दली र मुसारी । झनै राम्री । सोची-‘यति राम्री छु म डेहुरे जस्ताकी हाताँ परे के गर्नु, कर्मै फुटेको ।’ सारा दोष भाग्यलाई थोपडी । फेरि ऐना घुमाएर हेरी । ऐनाले हैन, ऐनामा देखिएकी मखमलीको प्रतिविम्बले मखमलीलाई जिस्क्याइ । सिउँदोमा सिन्दूर भरी । ऐना थन्क्याइ र उठी । जीउ फूलको थुङ्गा झैँ हलुङ्गो भएको अनुभव गरी ।
मखमली ताल्चा मारेर निस्किइ दानप्रसादको आँगनमा पुराण सुन्न । यसो गोठतिर पसेर बाख्रालाई हेरी घाँस थपी । दाम्लो हेरी । खसीको दाम्लो चुँडिन लागेको पाई । सोची ‘यै प्यारो खसीलाई केही भइदियो भने ?’
गाइगोरु फुकाइ । छिटोछिटो लखेटी । एक्लै कराइ- “यी बस्तु पनि हिँड्न किन नमानेका भन्या । आफूलाई कति हतार छ । आज त दिनभरि पुरान सुन्छु । कस्ता मीठामीठा कुरा गर्छन् रे पण्डितले । पल्लो घरको तुलसे त भुतुक्कै भई छ । कुत्कुती लाग्ने कुरा गर्छन् रे । किताबमै लेखेको होला कि मुखले बनाएर भनेका होलान् । पाँचवर्ष पैले माइती गाउँका काजीले लगाका थी सप्ता । दुई दिन सुनेकी थिए । त्यतिखेर त त्यस्तो कुत्कुती लाग्ने कुरा त केही गरेका थिएनन् ।”
मखमली खोलामा पुगिसकिछ । “राम्ररी चरेर बेला घर आउने कि चाँडै आ’र बालीमा पस्ने हैन नि”- मखमली गाइबस्तुसित बोली । हातको सिन्को फाली र घरतिर नगै सोझै दानप्रसाद पण्डितकोमा पुगी ।
मखमलीले देखि- सासु मण्डपको भित्री भागमा एकाग्र कथा सुनिरेकी थिई, लोग्ने डुहुरे यता र उता हिँडिरहेको थियो । मखमली र डुहुरेका आँखा जुधे । डुहुरे मुर्मुरायो । सासुले अनुहार बिगारी । स्रोताको ध्यान भङ्ग हुन्छ भन्ने डरले डुहुरे बोलेन, मात्र ओठ कमायो ।
मखमलीले आँखा घुमाइ- अग्लो आसनमा पण्डित अर्थात् पण्डित राजा । अलितले अर्को लामो टुपीवाल बाहुन । अर्को तेस्रो श्रद्धालुलाई गहुत र टीकाका लागि हातैमा थाली र करुवा लिएर तयार बसेको । सुन्न बसेकाहरू चुँ सम्म नबोली पण्डित वचनतिर ध्यान दिइरहेका । मखमलीलाई बसिहाल्न पनि अप्ठेरो, उठिरहन पनि अप्ठेरो । मखमली असामञ्जस्य परी । तैपनि तुलसेकै छेउमा परालमा बसी खुसुक्क । तेस्रो बाउनले उसलाई गहत दियो र निधारमा टीका टाँसिदियो । मखमलीले भेटी चढाइन् ।
पण्डितले संस्कृत वाचन सके- मण्डपमा हरेराम हरेकृष्ण गुञ्जियो । जयगान घन्कियो । पण्डितले आˆनो बसाइँमा अलिकति यताउति गरे । अनि सुरु भयो कथा उल्था- “सुदामाको परिवार अत्यन्त गरिब थियो । तैपनि भक्ति छाडेको थिएन त्यो परिवारले । एकदिन सुदामाकी गृहिणी कोचेलीले भनिन्- “स्वामीदेव कृष्ण त तपाईंंका बालसखा मात्र हैन, मित पनि हुनुहुन्छ । उहाँ त्यस्तो उच्च पदमा हुनुहुन्छ । जानुहोस्, पुरानो साइनो जोड्न । कति दिन हामी भोकै बस्ने Û”
आˆनी श्रीमती कोचेलीको कुरा सुनेर सुदामालाई रिस पनि उठ्यो । उनले भने- “के म मैले खान पाइन भनेर हात जोड्न जानु, बरु तिमी नै जाऊ कोचेली ।”
कोचेलीको अनुनय पछाडि कनिका कोसेली लिएर सुदामा कृष्णकोमा गए । पुराना सखा र मितज्यू आएको देखेर कृष्ण भगवान् अत्यन्त खुशी हुनुभयो । कोसेलीका कुरा गर्नुभयो । सुदामा लजाए । बेलुका चौरासी व्यञ्जन तयार भएपछि सुदामा खान बसे । कोचेलीलाई सम्झे । त्यहीबेला कृष्णले कनिका कोसेली खाए । बेलुका अबेरसम्म गफिएपछि अत्यन्तै सुन्दर कोठामा सुताइदिए । बिहान भयो । कृष्णबाट केही मिलेन, बिदा भए । निरास भएर घर फर्के । उनलाई आˆनो दुःख देखाउन आएकोमा पछुतो लाग्यो । सुदामा घर पुग्दा त अचम्म, उनले आˆनो घर ठम्याउन सकेनन् । भ्रम हो कि भनेर कचेरा पुछे । हैन रहेछ । भगवान्को भक्ति र कृपाले झुप्रो त दरबारमा बदलिएछ । भगवान् कृष्णलाई धेरै नमस्कार गरे सुदामाले टाढैबाट ।” मखमली एकोहोरो पण्डितको मुखमा हेरेर ट्वाल्ल परिरही । पण्डित फेरि संस्कृत वचन वाचनमा लागे । दानप्रसाद घोप्टे आँखाले मण्डपमा हेर्न लाग्यो । शायद आउनेहरूको अनुहार हेर्न खोजेको हुनुपर्छ । डुहुरेकी आमाले डुहुरेलाई सङ्केत गरी । सङ्केतको अर्थ थियो- “तेरी स्वास्नी सप्ताह सुन्न आइछ । बस्तुभाउ कसले गर्छ । छिट्टै घर पठा ।” सङ्केत पाउने बित्तिकै मातृ आदेश तामेली गर्न डुहुरे मखमलीतिर हुट्टयिो- “राँड, घराँ बस्तुभाउ कसले गर्छ ? छिटो मुन्टी घर । कसलाई सोधेर आइस् ।” डुहुरेले हात मात्र छाडेन । तुलसेले मखमलीको पक्ष लिई- “यी दाइ पनि आफूचाहिँ रातोदिन यतै, भाउजूले पनि सुन्न हुन्छ नि ।”
डुहुरे पुरुषदम्भले सुन्नियो- “तँलाई के मतलब तुलसे । चुपो लागी बस्न । मैले तँलाई भन्या छु र Û यो राँडलाई पो घर जा भनेको ।” हल्लाखल्ला बढ्ला जस्तो ठानी मखमलीले एकवचन नबोली पुराण वाचनस्थलबाट उठी र हिँडी । डुहुरे शान्त भयो । पण्डितले संस्कृत वाचन सके । उल्था वाचन गर्न लागे । मखमलीकी सासू कथा श्रवणमा एकाग्र भई ।
दिनभरि पुराण सुन्ने इच्छाले गएकी मखमली दुईघण्टा पनि बस्न नपाई फर्की अर्थात् फर्काइ । मखमलीलाई कस्तो कस्तो अमिलो मन भएर आयो । मनमा बठ लागेर आयो । सोची, हाम्रो इच्छा अनुसार हामीले कहिले गर्न पाउँछौ । सहराँ त राजा हटाए भन्छन् । गाउँका राजा कहिले हट्लान् Û लोग्ने राजा, दानप्रसाद राजा, पण्डित राजा । झन् यहाँ त धेरै राजा । अझ ठूलो राजा त किताबमा लेखेको कृष्ण राजा ।
मखमलीलाई पापको डर लाग्यो । कृष्णप्रति आएका कुभावनाहरूलाई दबाइ र सरासरी घरतिर लागी । ‘त्यस्तै रहेछ देउताका पालामा त धनी-गरिब, ठूला-साना रहेछन् । यो त झन् कली जुग । साँच्ची म घर पुग्दा सुदामाकै जस्तो भैदिए कति राम्रो हुन्थ्यो । म हेपिनुको कारण पनि सम्पत्ति नहुनु त हो नि Û आˆना त लोग्ने पनि कस्ता कस्ता । त्यै सुदामाजस्ता माया गर्ने भए त दुःख पनि बिर्सिहालिन्थ्यो । सासू त झनै । ती पनि म जस्तै बुहारी भएर सासू भएकी हैनन् र Û’
बाटोभरि असङ्ख्य सोचाइ आए । सबै सोच्नै सकिन । मखमली सोझै गोठतिर लागी । बाख्रो दाम्लो कसिएर अनौठो आवाजले कराएको जस्तो सुने । हतारहतार टाट्नोतिर लागी । मखमलीको प्यारो खसी ‘प्याप्या’ गरी कराउँदै थियो । टाट्नामा दाम्लो धेरै फन्को बेरिएछ । मखमलीको जीउभरि पसिना आयो । खसी तेर्सो पर्यो । मखमलीले एकचोटी कृष्ण सम्झी र धिक्कारी । दाम्लो फुकाउँदै गई मखमली ।
-रामेछाप
(स्रोत : कथाकारको कथा सङ्ग्रह “मखमलीका राजाहरू” बाट सभार)