~बासुदेब पोख्रेल~
कर्णाली अञ्चलका ५ जिल्लाहरू मध्ये डोल्पामा हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको संगठन थिएन । करिब २ वर्ष पहिले एउटा सम्र्पक स्थापित भएको थियो । त्यही सम्पर्कको माध्यमबाट त्यस जिल्लामा संगठन निर्माण गर्नको लागि हामी प्रयत्नशील थियौँ । यस्तैमा फागुन १३ गते साझ राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा सांगठनिक काम विशेषले बर्दिया आउनु भयो र त्यही सल्लाह भयो कि हामी दुबै जना डोल्पा जाने ।
पूर्व निर्धारित योजना अनुसार म फाल्गुन २४ गते बर्दियाबाट सुर्खेत जनकजीको घरमा बस्न जाने र २५ गते बिहान सुर्खेतबाट डोल्पाको लागि प्रस्थान गर्ने योजना थियो । त्यही अनुसार हामीले तयारी गरेका थियौँ । तर २४ गते नै मधेसी जनअधिकार फोरम नेपाल लगायतका दल सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नाममा गरिएको बन्दको कारण बिहानैदेखि बाटो सुनसान थियो । यातायातका कुनै साधनहरू चलेका थिएनन् । हामीले जसरी पनि निर्धारित समयमा हिड्ने योजना बनाएका थियौँ । जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै रा.ज.मो बाँकेका उपाध्यक्ष गुणानिधी आचार्यको सहयोगमा उहाँको मोटरसाइकलमा सुर्खेत जाने सल्लाह भयो । फोनमा गरेको सल्लाह अनुसार गुणानिधी जी मलाई लिन बाँसगढी बर्दिया स्थित मेरो घरमा आउनु भयो । दिउँसो करिब १ बजे तिर बाँसगढीबाट सुर्खेतको लागि हिड्यौँ । कोहलपुर चौराहामा पुग्दा के.स. तुल्सी सापकोटा सँग भेट भयो । त्यतिनै बेला एउटा यात्रुबाहक बस कोहलपुर बसपार्कतिरबाट आएर चौराहाको पिपल चौतारा नेर अडियो । बस सुर्खेत जाँदै थियो । अब गुणानिधी जी सुर्खेत जानु नपर्ने भयो । म एक्लै सुर्खेतको लागि उक्त बसमा चढे । कोहलपुरबाट हिडेको करिब ३ः३० घण्टामै बस विरेन्द्रनगरको पिपिराचोक पुग्यो । बसबाट उत्रेपछि राजमो भेरी कर्णालीका कोषाध्यक्ष बालकृष्ण सुुनार सँग भेट भयो करिब ३० मिनेट उहाँ सँग बिताएर चिया पिई सके पछि म झोला बोकेर बस्तीपुर जनक जीको घर तिर लागें । घर पुगे पछि जनक जीको ८४ वर्षीया बुवा सहित स–परिवार सँग भेटघाट भयो । केही छिनको सञ्चो विसञ्चो र भलाकुसारी पछि जनक जी र मैले झोला मिलाउन लाग्यौँ । जनक जीलाई मेरो झोला अली गह्रौँ लाग्यो । बाटोमा खानको लागि घरबाट इन्दिरा दिदि समेतले बनाएर पठाएको नास्ताको पोको उहाँले आफ्नोे झोलामा राख्नुभयो । केही कपडा पनि त्यही छाड्ने कुरा भयो । झोला मिलाई सकेपछि बाटोमा आवश्यक पर्ने केही सामान किन्न जनक जी र म पसल तिर लाग्यौैँ । फर्केर आउँदा साँझ परिसकेको थियो ।
२५ गते बिहान करिब ३ः३० बजे तिर उठेर हात मुख धोयौँ र एक एक वटा झोला पिठ्युमा बोकेर टर्च लाईट बाल्दै सुर्खेत बसपार्क तिर लाग्यौँ । बसपार्क पुगेर सुर्खेतदेखि जाजरकोटको रिम्नासम्मको टिकट लियौँ । बिहान ५ः३० बजे सुर्खेतबाट रिम्नाको लागि गाडी हिड्यो । छिन्चु बजारमा केही मिनेट रोकिए पछि भेरी नदीको किनारै किनार गाडी अगाडि बढ्यो । भेरी नदीको किनारबाट राताचौर, जहरे, मेलकुना, बोटेचौर हुँदै गाडी गुडिरहेको थियो भने बसको झ्यालबाट हेर्दा नदीको अर्को किनारातिर दशरथपुर, लेखपर्सा, गुमी र दहचौर जस्ता टारी फाटहरू तथा अति मनोरम प्राकृतिक दृश्यहरू देखिन्थ्यो । बोटेचौर भन्दा अलि अगाडि पुगेपछि तेल सिद्धिएर गाडी रोकियो । करिब १ घण्टा पछि अर्को गाडी सँग तेल मागेर मात्र अगाडि बढ्यो । गाडीवालाहरूको पनि धेरै लापर्वाही समयमै गाडीमा तेल कति छ ? गाडीको अवस्था ठीक छ की छैन ? भनेर ख्याल नराख्ने । बाटोमा जति मान्छे भेटे पनि छतमा समेत अटाउन्जेल राख्ने । गाडी अगाडि बढ्यो । पोखरे, धारापानी, बालुवा आदि ठाउँ हँुदै सल्ली बजार (देवस्थल) आएर खाना खानको लागि गाडी रोक्यो । खाना खाने ठाउँ खोज्दै जाँदा एउटा जाजरकोटी होटेलमा पुग्यौँ । जाजरकोटी भने पछि जनक जीले अलि चासो दिएर सोधखोज गर्नु हुन्थ्यो । किन भने उहाँले हाईस्कुल लेबल पढेको र विद्याथी जीवनमा राजनीतिको शुरूवात गरेको पनि जाजरकोटबाटै रहेछ । ११ः३० बजे सल्ली बजार पुगेको गाडी त्यहाँबाट हिड्न २ घण्टा लगायो । अलि अगाडि गए पछि जामुनेबजार भन्ने ठाउँ आयो त्यहाँ भेरी नदी पार गर्नु पर्दो रहेछ पुल थिएन । किस्तीमा राखेर गाडीलाई पल्लो किनार लगियो । त्यो सूर्खेत जिल्लाको बाँदेपिपल भन्ने ठाउँ रहेछ । केही घण्टाको यात्रा पछि सुर्खेत जिल्लाकै घोरेटा गा.वि.स. को ठाटी बजार पुग्यौँ । त्यसको केही अगाडि गएपछि सूर्खेत जिल्लाको सिमा समाप्त भएर जाजरकोट जिल्लाको सिम गा.वि.स. मा प्रवेश ग¥यौ । फेराबजार छेडाखोला हुँदै अगाडि बढ्दा एउटा सुन्दर टार भएको ठाउँमा पुग्यौँ । भर्खरै तोरी फुलेर पहेलै भएको त्यो ठाउँको नाम भुत्चौर रहेछ । त्यहाँबाट दक्षिणतिर भेरी नदी पारी हेर्दा तोरी फुलेको सुन्दर टार देखियो । त्यो रूकुम जिल्लामा पर्दो रहेछ । त्यस पछि क्रमशः रात पर्दै गयो वारी पारी देखिन छाड्यो । साँझ करिब ८ः३० बजे तिर जाजरकोटको सदरमुकाम खलड्डा पुग्यौँ । हामी आएको गाडी त्यो भन्दा अगाडि नबढ्ने भयो । तर हामीले रिम्नासम्मको टिकट लिएका थियौँ । त्यसकारण अर्को गाडीमा चढेर १० बजे राती मात्र हामी रिम्ना पुग्यौ । त्यो रिम्ना भन्ने ठाउँ उत्तरतिरबाट आएको ठूली भेरी र दक्षिण पूर्वतिरबाट आएको सानी भेरीको संगम स्थल रहेछ ।
२६ गते बिहान करिब ५ बजे तिर होटेल मालिक्नीलाई खाना र बासको पैसा बुझाएर त्यहाँबाट हिड्यौँ । रिम्ना बजारको छेउमानै भेरी नदी पार गर्न एउटा झोलुड्डे पुल तर्नु पर्ने रहेछ । त्यो पुल तरेपछि हामी रूकुम जिल्लामा प्रवेश ग¥यौँ । करिब ३० मिनेट पैदल हिडेपछि छेपारे भन्ने ठाउमा पुग्यौँ । जहाबाट राडी ज्यूला भन्ने ठाउँसम्मका लागि जिप लाग्दो रहेछ । तर हामी त्यहाँ पुग्दा पहिलो नम्बरको जिप छुटि सकेको थियो । दोश्रो जिपको लागि हामी २ घण्टा पर्खनु पर्ने भयो । त्यतिन्जेल हामीले चिया र घरबाट बनाएर लगेको नास्ता खायौँ । त्यहाँ वरिपरि रहेका ठाउँगाउँको बारेमा जानकारी लियौँ । अनि राडी ज्यूलासम्मको जिपमा चढेर भेरी नदिको वारीपारी हेर्दै अगाडि बढ्यौँ । हामी हिंडिरहेको भेरीको किनारा रूकुममा पथ्र्यो भने अर्को किनारा जाजरकोटमा । अलि अगाडि गएपछि दल्ली भन्ने ठाउँ आयो जहाँ उत्तर तिरबाट बारकोटे नाम को एउटा खोला आएर भेरी नदीमा मिसिदो रहेछ । बिहान १० बजे राडीज्यूला पुग्यांै । त्यहा स्थानीय भाषामा खेतलाई ज्यूला भनिदो रहेछ । राडी जस्तो आकारमा मिलेको खेत भएको हुनाले त्यो ठाउँको नाम राडीज्यूला रहन गएको रे । त्यहा खाना खाने ठाउँमा हामी सँग सुर्खेत जिल्लाको कुनाथरी गा.वि.स चेपाङका तहल सिह बलामी भेटीनु भयो । उहाँले डोल्पाको जिल्ला प्रहरी कार्यलयमा परिचरको काम गर्नुृ हुदोरहेछ । उहा पहिले पनि त्यो बाटो डोल्पा जाने आउने गर्नु भएको रहेछ । उहाँ साथमा भएपछि हामीलाई बाटोको लोकेसनबारे कसैलाई सोध्नु पर्ने चिन्ता रहेने त्यहाँबाट डोल्पाको दुनै सम्म लगातार ३ दिनको पैदल यात्रा गर्नु थियो । ठीक १२ बजे हामी राडी ज्यूलाबाट हिडयौँ। भेरी नदीको झोलुड्डे पुल तरेर पुन हामी रूकुम वाट जाजरकोट जिल्लामा प्रवेश ग¥यांै । जाजरकोटकै खगेनकोट, रग्दा र भगवती गा.वि.स पार गदै भेरी नदीको झोलुड्डे पुल तरेर पुनः फेरि रूकुम जिल्लाको गोतामकोट गा.वि.स प्रवेस ग¥यांै । साँझ ६ बजे दामाचौर भन्ने ठाउँमा पुगेर बास बस्यौ । खाना त राम्रो थिएन नै बिस्तारा पनि फोहोर थियो तर पनि दिन भर पैदल हिन्दा थकित भएकोले होला चाँडै निदाइएछ ।
२७ गते बिहान ६ बजे दामाचौरबाट हिड्यौं । हिड्दै जाँदा यति अप्ठ्यारो ठाउँमा पुग्यौ कि पहराको भित्ता खोपेर बनाईएको साँघुरो खुट्टा मात्र अटाउने गोरेटो बाटो त्यसको करिब ५० मिटर माथिबाट जाजरकोट डोल्पा सडकको ट्रयाक खन्दै रहेछ । त्यहाँबाट बगेर आएको माटोले त्यी गोरेटो बाटो पनि पुरेकोछ । तल हेर्दा छाँगो भेरी नदी पनि एकै ठाउँबाट डोलिएर बगेकोमाथि हेर्दा भिर मात्रै देखिन्छ । छोप्ने ठाउँ पनि छैन । त्यस्तो खतरनाक ठाउँमा सबभन्दा पहिले जनक जी अगाडि लाग्नु भयो । उहाँले जहाँ जहाँ टेक्नु हुन्छ तिनै ठाउँमा टेक्दै म लागे । मेरो पछाडि वलामी जी । टेकेको माटो थोरै पनि लर्केको भए सिधै भेरी नदिमा । अहिले पनि सम्झदा आङ जिरिङ हुन्छ । त्यो भिर पार गरेपछि बल्ल लाग्यो साँच्चै दुस्साहस गरिएछ । दिउँसो ठिक १२ बजे त्रिवेणी भन्ने ठाउँमा पुग्यौं । त्यो ठाउँ कस्तो रहेछ भने तीन जिल्ला र तिन अञ्चलको संगम भेरी अञ्चलको जाजरकोट, कर्णाली अञ्चलको डोल्पा र राप्ती अञ्चलको रूकुम त्यहाँ उत्तरतिरबाट काँय गाउँ हुँदै एउटा खोला भेरीमा मिसिन आएको रहेछ । त्यसले डोल्पा र जाजरकोटको सिमाना छुट्याउँदो रहेछ ।
त्यस्तै अलि अगाडी पुग्दा दक्षिण पूर्वबाट तोषारे खोला भेरीमा मिसिन आएको रहेछ । त्यसले डोल्पा र रूकुमको सिमाना छुट्याउदो रहेछ । त्रिवेणीमा खाना खाएर तोषारे खोला तरे पछि हामी डोल्पा जिल्लाको ल्हाँ गा.वि.स मा प्रवेश ग¥यौं । हिड्दै थियौ साझ ४ः३० बजेतिर पानी प¥यो । छिटो छिटो हिडेर श्रीबिन्दि भन्ने ठाउँमा गएर बास बस्यांै त्यहाँबाट माथि अग्ला अग्ला पहाडहरू त हिउँ परेर सेतै ढाकेको देखिन्थ्यो ।
२८ गते बिहान करिब ६ बजे श्रीबिन्दि भन्ने ठाउबाट हिड्यौँ र १० बजे त्रिपुराकोट भन्ने ठाउँमा गएर खाना खायौँ । त्यहाँ बाला त्रिपुरासुन्दरी नामको मन्दिर रहेछ । त्यो त्यस क्षेत्रकै प्रसिद्ध तिर्थस्थल मानिँदो रहेछ । विजयादशमीको बेला सप्तमीदेखि नवमीसम्म र चैत्र अष्टमीमा पनि मेला लाग्दो रहेछ । करिब ११ बजेतिर खाना खाइसकेपछि दुनैको लागि हिड्यौ । करिब १ घण्टा हिँडेपछि डोल्पाको जुफाल एयरपोर्टको फेदीमा पुग्यौँ । जिल्ला सदरमुकाम दुनै र जुफाल एयरपोर्टबीचको दुरी करिब ३ घण्टाको पैदल यात्रा रहेछ । घरबाट हिडेदेखि नुहाउन धुन पाइएको थिएन । त्यही भेरी नदीमा नुहायौँ, कपडा धोयौँ र केही समय आराम गरेपछि हामी फेरि अगाडि बढ्यौँ । १ घण्टा जति हिडेपछि रूपागार्ड भन्ने ठाउँमा पुग्यौँ । त्यसको करिब ५०० मिटरमाथि दक्षिणतिर प्राकृतिक रूपमै तातो पानी बग्दो रहेछ । थुपै्र आन्तरिक र बाह्य पर्यटकहरू त्यहाँ नुहाउनका लागि आउँदा रहेछन् । दुनै सदरमुकाम पुग्नुभन्दा करिब १ किलोमिटर पहिले सुलीगार्ड भन्ने ठाउँ आयो । त्यहाँ उत्तरतिर से–फोक्सुन्डो तालबाट निस्केको सुलीगार्ड भन्ने खोला भेरी नदीमा आएर मिसिँदो रहेछ । यसरी हिँड्दै जाँदा हामी साँझ करिब ५ बजेतिर दुनै पुग्यौ । त्यहाँ पुग्दा त हर्कबहादुर आर.सी. (जसको सम्पर्कमा हामी डोल्पा आएका थियौँ), ७÷८ जना साथीहरू सहित हाम्रो स्वागतका लागि बजारको छेउमै आएर पर्खनु भएको रहेछ । भेट हुँदासाथ जनकजी र मलाई सेतो खादा ओढाएर हामी अघिअघि उहाँहरू पछिपछि बढो सम्मानसाथ दुनै सदरमुकाम घुमाउँदै वासस्थानमा लैजानु भयो । हामीसँगै जानु भएका प्रहरी कार्यालयका परिचर वलामीजी पनि त्यो देखेर दङ्ग परिरहनु भएको थियो । बजारवासीहरूले पनि अचम्म मान्दै हामीलाई नै हेरिरहेका थिए । साँझ खड्कबहादुर बुढाको घरमा बास बस्याँै । जुन घर हर्कबहादुर आर.सी. जीको ज्वाइँको रहेछ । काम विशेषले उहाँ नेपालगञ्ज जानु भएको थियो तर उहाँको श्रीमती लक्ष्मी बुढाले बढो सम्मानसाथ खान बस्न दिनु भयो ।
२९ गते बिहान खाना खान हामि हर्क ब. गुरूङ जीको घरमा गयौँ । उहाँ भर्खर निर्वाचन आयोगको कार्यालय डोल्पाबाट रिटायर्ड कर्मचारी हुनु हुँदो रहेछ । दिउँसो अरू साथीहरू पनि आउनु भयो । उहाँकै आँगनमा राजमो, डोल्पा जिल्लाको प्रथम भेला सम्पन्न भयो । भेलाबाट हर्कबहादुर आर.सी. जीको अध्यक्षतामा जिल्ला सङ्गठन समिति गठन गरियो । डोल्पा एफ.एम. ले प्रमुखताका साथ हाम्रो समाचार प्रसारण ग¥यो । साँझ त्यहीँ खाना खाएर राति करिब १० बजेतिर नजिकै रहेको खड्कबहादुर बुढाकै घरमा सुत्न आयाँै । अर्को दिन ३० गते राजमो जिल्ला सङ्गठन समितिका नवनिर्वाचित साथीहरू सहित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला विकास समिति लगायतका डोल्पा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरूसँग भेटघाट गर्ने र नवनिर्वाचित समितिका साथीहरूलाई परिचय गराउने काम भयो । बजारभरि राष्ट्रिय जनमोर्चाको जिल्ला सङ्गठन समिति बनेको चर्चा थियो । बीचबीचमा साथीहरूलाई वधाई मिलिरहेको थियो । अघिल्लो दिन भेलामा आउन नसकेका केही साथीहरू पनि आउनु भयो । करिब २ घण्टा उहाहरूसँग पनि राष्ट्रिय जनमोर्चाको नीति तथा कार्यक्रम र देशको तत्कालीन राजनीतिक परिस्थितिबारे छलफल भयो । साँझ पनि विभिन्न विषयमा छलफल भयो । केही योजनाहरू पनि बने त्यसपछि भोलि बिहानै फर्कने कुरा गरेर हामी सुत्यौँ ।
चैत्र १ गते बिहान ६ बजे को सी.आई.एन. को साझा खबर सुन्याँै । त्यसमा प्रधान न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रीपरिषद् गठन भएको र त्यस क्रममा जन्मको आधारमा नागरिकता लिएकाहरूका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने, नागरिकताको प्रमाण पत्र बिना पनि मतदाता परिचय पत्र दिने, गम्भीर मानव अधिकार उल्लङ्घनकोे घटनामा संलग्न रहेकाहरूलाई आम माफी दिने गरी तयार पारिएको सत्य निरूपण तथा मेलमिलाप आयोगको प्रस्तावलाई मान्यता दिने लगायतका अत्यन्तै राष्ट्रघाती र जनविरोधी विषयहरूमा समेत ठूला चार दलको बीचमा सहमति भएको कुरा सुनियो । त्यहीँबाट पार्टीको केन्द्रीय कार्यालयमा सम्पर्क ग¥यौँ । त्यस निर्दलीय कदमका विरुद्ध जिल्ला सङ्गठन समितिको तर्फबाट एउटा विज्ञप्तीको ड्राफ्ट तयार पा¥यौँ र साथीहरूलाई व्यापक रूपमा त्यो विज्ञप्ती वितरण गर्न भनेर हामी हिड्योै । हामीलाई विदाइ गर्न बजारको छेउसम्म नै साथीहरू आउनु भयो । हामीले बिहान करीव ८.३० बजेतिर दुनै बजार छाड्यौँ ।
यसरी डोल्पा जिल्लामा अत्यन्तै भरपर्दा र जनस्तरमा स्थापित साथीहरूका बीचमा प्रथम जिल्ला सङ्गठन समिति निर्माण गर्न सफल भएकामा हामी अत्यन्तै हर्षित थियौ । बाटोमा थुप्रै कुराकानी गर्दै साँझ ६ बजे करवगार्ड भन्ने ठाउँमा आएर बास बस्यौँ, जुन ठाउँमा २०६७ साल श्रावण ३ गते राति १ बजे पहिरो आएर सङ्क्रान्ति मान्न आएका छोरीज्वाइँ सहित एकै परिवारका १० जनाको मृत्यु भएको रहेछ । खाना खाएर सुत्यौँ । एक छिनपछि खुबै चिलाउन थाल्यो । जनकजीलाई पनि त्यस्तै । उठेर लाइट बालेर हेर्दा त विस्तराभरि उडुस रहेछ । जनकजीले त लाइट बालेर उडुस मार्न थाल्नु भयो । रातभरि निद्रा लागेन । त्यो रात बिताउन साह«ै गाह्रो भयो ।
चैत्र २ गते बिहानै ५ बजे उठ्यौँ । सामान लिन जाने र सामान लिन आउने खच्चडहरूको लाइन सुरू भइसकेको थियो । हामी पनि खच्चडको हुलका पछाडि पछाडि लाइट बाल्दै हिड्यौँ । मेरो दाहिने खुट्टाको घुडानिर अघिल्लो दिन अलि अलि दुखिरहेको थियो । सो दिन करिब ४ घण्टा जति हिडेपछि मेरो खुट्टामा अत्यन्तै पीडा भयो । बाँया खुट्टाको पैतलानेर जुत्तामा प्वाल परेछ र त्यहीँनेर फोका पनि उठेछ । त्यसले भन्दा पनि दाहिने खुट्टाकोे घुडाको पीडाले हिँड्न नसकने भए । जनकजीले एउटा लौरो कताबाट खोजेर ल्याउनु भयो । त्यही लौरोको सहायताले अत्यन्तै मुश्किलले करिब १ बजेतिर दामाचौर भन्ने ठाउँमा आयौँ । त्यहाँ मेडिकलबाट पेन किलर खाएको करिब २० मिनेटपछि पीडा अलि कम हुँदै गयो । हामी लौरो टेक्दै अगाडि बढिरहयौँ । जाजरकोट डोल्पा सडकको बीचबीचमा पर्ने पहराहरू फुटाल्न बम व्लाष्ट भैरहेका थिए । त्यसका लागि ठाउँठाउँमा रोकिनु पथ्र्यो । फेरि व्लाष्ट भैसकेपछि अगाडि बढ्थ्यौँ । यसो गर्दै साँझ ६ बजे तेत्रगार भन्ने ठाउँमा आएर बास बस्यौँ । म थाकेर आराम गरिरहेको थिएँ । खुट्टा पनि अलि दुखिरहेको थियो । त्यहाँ बास बस्न आएको अर्को एक जनासँग जनकजीले कुरा गरिरहनु भएको थियो । कुरा गर्दै जाँदा त खुल्यो– त्यो त दलाई लामाको मान्छे रहेछ । उसका अनुसार “फ्रि तिब्बत” का लागि भारतले ठूलो लगानी गरेको रहेछ । त्यो मान्छेले पनि दिल्लीमा बसेर तिब्ब्ती भाषाको अध्ययन गरेको रहेछ । सो मानिसको भनाइ अनुसार तिब्बतबाट भागेर नेपालमा आएका तिब्बतीहरूमध्ये, जसले नेपाल सरकारसँग आत्मसमर्पण गरे, तिनीहरूले नेपालको नागरिकता पाएका रहेछन् । जसले आत्मसर्मपण गरेनन्, तिनीहरू नागरिकताविहीन रहेछन् । त्यो मानिस पनि नागरिकताविहीनमध्येको एउटा रहेछ । ३ गते बिहान उठेर फेरि एउटा पेन किलर औँषधी खाएर ६ बजेतिर त्यहाँबाट हिडयौँ र ८ः३० बजे राडीज्यूला पुग्यौँ । त्यहाँ पुग्दा जिप लागिरहेको रहेछ । त्यसमा चढेर छेपारेसम्म आयौँ र रिम्नामा आएर खाना खायौँ र त्यहाँबाट सल्ली बजारसम्मको टिकट लिएर बसमा चढयौँ । राती करिब ९ बजे सल्ली पुग्यौँ । उही पहिले डोल्पा जाँदा खाना खाएको जाजरकोटी होटेलमा बास बस्यौँ । ४ गते बिहानै ५ बजे सल्ली बजारदेखि नेपालगञ्ज जाने बसमा चढ्यौँ । छिञ्चु आएपछि जनकजी उत्रेर विदाइका हात हल्लाउँदै सुर्खेततिर लाग्नु भयो । म भने त्यही गाडीमा कोहलपुरसम्म आएँ ।
डोल्पा यात्रामा देखियो– नेपाली जनताको जीवनस्तर त कष्टकर छ नै, अझ त्यसमा पनि डोल्पावासी जनताको जीवनस्तर झनै कष्टदायी रहेछ । हामी सुर्खेतको छिञ्चुबाट भेरी नदी नछोडिकन कहिले वल्लो किनार कहिले पल्लो किनार हुँदै डोल्पाको सदरमुकाम दुनैसम्म पुग्यौँ । तर रुकुमको राडीज्यूला भन्दा माथि गएपछि भेरी नदी यति गहिरिएर बगेको रहेछ कि त्यसको दुवै किनारामा खेतीयोग्य जग्गा खासै देखिएन् । पर्याप्त मात्रामा बोटबिरूवाहरू पनि थिएनन्, दुवैतिर पहरैपहरो र दारे भिर मात्र । डोल्पाको ल्हाँ गाविस प्रवेश गरेपछि दुनैसम्म पुग्दा भेरीको किनारामा मुश्किलले २० कुन्टल खाद्यान्न फल्ने जग्गा पनि नभएको ठहर देखियो । जाजरकोट, डोल्पा सडक बन्ने कुराले डोल्पावासीमा केही आशाको सञ्चार गरे पनि अहिले खच्चड एक मात्र यातायातको साधन बनेको रहेछ । हवाई यातायात त छ तर अत्यत्तै महङ्गो सर्वसाधारणको पहुँचभन्दा बाहिर करिब १ हप्तासम्म लगाएर खच्चडले बोकेको सामान अत्यत्तै महङ्गोे दुनैमा १ कि.लो. चिनीलाई २०० र एक किलो सामान्य चामललाई १०० रुपैयासम्म पर्दो रहेछ । सहुलियतको खाद्यान्न पर्याप्त छैन । त्यसमा पनि टाँठाबाठा राजनीतिक दलका नेता÷कार्यकर्ताहरूले राजनीति गरेको पाइयो । त्यहाँको एउटा महत्वपूर्ण आय स्रोतको साधन यार्सागुम्बा रहेछ । त्यसको व्यवस्थित सरकारी नीति र उचित संरक्षण हुन नसक्दा केही वर्षमै लोप हुने त्यहाँका जानकारहरूले बताए । डोल्पाको धेरैजसो ठाउँहरूमा रेडियो नेपालले पनि टिप्दो रहेनछ । भर्खरै स्थापित डोल्पा एफएमले सञ्चारको क्षेत्रमा केही राहत दिएको रहेछ । जनताको राजनीतिक स्तर पनि अत्यन्तै पछाडि रहेछ । लोकतन्त्र, सङ्घीयता, राष्ट्रियता, संविधान सभा, दन्डहीनता जस्ता विषयमा करिब ९० प्रतिशत डोल्पालीहरू अनभिज्ञ रहेको बुझियो । भ्रष्टाचार पनि त्यहाँको प्रमुख समस्या बनेको देखियो । एउटा सडकका लागि छुट्याइएको २२ करोडमध्ये जम्मा २ करोड मात्र खर्च भएर २० करोड भ्रष्टाचार भयो भनी अख्तियारमा मुद्दा परेको रहेछ । डोल्पाली जनताको यस्तो अवस्थाप्रति सचेत नागरिक र सरोकारवालाहरूको अलिकति पनि ध्यान जान सके राम्रो हुन्थ्यो कि ?
(समाप्त)
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २१ – April 10, 2013 – २०६९ चैत्र २८ गते, बुधबार)