कविता : हल्ला बिकेको छ

~जीवन शर्मा~

आज बलात्कारीहरूले चमत्कार गरे अरे
काठमाडौँमा तष्करीको लस्कर बढ्यो अरे
पल्लोघरकी बोक्सीलाई रामधुलाइ गरे अरे
सुत्केरीले बच्चा जन्मनासाथ खोलामा बगाई अरे
कोही बच्चा मार्न सुई पनि लगाइदिए अरे
हो आज हल्ला बिकेको छ
सबै समाचारमा यही लेखेको छ

त्यो लमिनी प्रेम पीडाले आत्महत्या गरी अरे
अनि त्यो कालेलाई कालीले छुरी पो हानी अरे
ठूला ठूला भ्रष्टाचारीहरू वेश्यासँग रङ्गेहात भेटिए
हो आज हल्ला बिकेको छ
साच्चै पत्रिकाले यस्तै लेखेको छ

आज काठमाडौँमा पौने तीन घण्टा
चक्काजाम गर्छु
भोलि नुवाकोटको नाका ठप्प पार्छु
नगरकोटका पर्यटकलाई उतै बन्द गर्छु
काठमाडौँमा पानीको श्रोत नै सुकाइदिन्छु
तेरो मुद्दाहरूमाथि आगो लगाइदिन्छु
संविधानहरू जलाइदिन्छु
हो आज धम्की बिकेको छ
फलानोले यस्तै लेखेको देखेको छु

त्यो बच्चाको बाउ नै फेला परेन
त्यो आइमाईलाई चुस्ने दाउ कसले ग¥यो ?
त्यो कमिनीले समाजका ठिटालाई बिगारिछे
आँखा अप्रेसन गर्ने डक्टरले भुँडी पो चिरेछ
अनि बुद्धिमान डक्टरले पेटमा आँखा हुन्छ भनी पुष्टि गरेछ
आजको समाचारमा यस्तै लेखेको छ
हो आज हल्ला बिकेको छ

त्यो बुढो किसानले भूमिलाई मायाँ गरेर
ठूलो उब्जाउ गरेछ
त्यो बुढो नेता, अनि त्यो इमान्दार पार्टी
देश बचाउने अभियानमा
देश टुक्रन नदिने अभियानमा
उपनिवेशबाट हटाउने अभियानमा
लागेको छ

खोई ?
यी खवरहरूले ठाउँ पाएको
सकारात्मक भाउ पाएको
के राम्रा खबरहरू बिक्दै बिक्दैनन् ?
किन पत्रिकामा लेख्नलाई
कसैले ती स्वर देख्दै देख्दैनन् ?

–रूपन्देही, रूद्रपुर

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अंक ३ – Dec. 4, 2013 – २०७० मंसिर १९ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.