कविता : बर्लिनको पर्खाल

~विनय रावल~

‘पर्खाल लगाएपछि
धेरै कुरो बाहिर पर्छ’
र, सबैभन्दा ठूलो कुरो
मान्छे—
मान्छेको आँखाबाट ओझेल हुन्छ ।

पर्खाल लगाउनु भनेको नै
मान्छेको अपमान गर्नु हो
मान्छेलाई मान्छे नहुन दिनु हो
चाहे बर्लिनको पर्खाल होस्
चाहे चाउचेस्कुको साम्यवादको पर्खाल होस्
कुनै पर्खालको नियति पनि यही हो ।
फेरि पनि मान्छे
किन लामो पर्खाल ठड्याउँछ ?

के पर्खाल लगाएर
मान्छेको जात हराएको छ ?
के पर्खाल लगाएर
मान्छेको विचार रोकिएको छ ?

पर्खाल लगाएर केही दिन
कसैलाई पनि तर्साउन सक्छौ
कसैलाई पनि एक्लो पार्न सक्छौ
तर, पर्खाल स्वयम्मा एउटा विडम्बना हो
यो कहिल्यै अजम्मरी हुँदैन ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.