कथा : मृत्यु र जीवनको दोसाँधमा

~विमल लामिछाने~

एलिना १७ वर्षकी थिइन् । त्यतिवेला उनी पहाडी दुर्गम गाउँको स्कुलमा कक्षा दशमा पढ्दै थिइन् । गाउँले जीवनको सामान्य परिवारमा हुर्केकी उनी इमान्दार र सोझोपनकी केटीमा चिनिन्थिन् । दिदी दाजुहरूको मायामा हुर्केकी भए पनि दिदीहरूले घरजम गरेपछि र दाजुहरूले परदेशको बाटो लिएपछि डाँडामाथिका घाम जस्तो भएका बुढ्यौली आमा–बुबा सम्हाल्ने, घर व्यवहार मिलाउने र खेती लगाउने जिम्मा उनकै काँधमा आएछ ।

अर्मपर्म र सरसापटकै भरमा भए पनि उनले आप्mनो जिम्मेवारीलाई सम्हाल्दै क्याम्पस लेभलसम्मको अध्ययन गर्न भ्याइन् । घरको दुखेसो सम्हाल्दै क्याम्पस अध्ययन गरेको २ वर्ष बितिसकेको के थियो छरछिमेकमा एलिनाको विवाहको चर्चा चल्न थालेको छ । घरले जा–जा र वनले आइज–आइज भन्ने बेलामा कतै राम्रो कुटुम्ब भेटिए लगनगाँठो कसिदिन पाए कर्म सकिने थियो भन्नेमा छन् उनका बुवा–आमा ।

धेरैतिरबाट विवाहको प्रस्ताव आउन थालेपछि उनको मन पनि दोधारे बन्न थालेको रहेछ । छटपटी बढेको छ, निद हराएको रहेछ उनको । दिनभरिको कामको थकानलाई सिरानी लगाउँदै परालको गुन्द्रीमा यताउता मडारिन्छिन्, कोल्टे फेर्छिन र सोच्छिन्, ‘राम्रो घरानको केटा पाए त ठीकै हो, तर भनेजस्तो कहाँ मिल्ला र ? फेरि आमा बुबाको रेखदेख गर्ने पनि त कोही हुन्न ।’ कयौं रात मन डुलाउँदै पिरोलिन्छिन् उनी ।

यसरी नै दिनहरू बित्तै गए । उनका बुवाआमाको पनि खटपट बढेको छ उसैगरी । हुर्केकी छोरीको हात कुटुम्बको हातमा सुम्पिदिन पाएदेखि मरिगइयो भने पनि आत्माले शान्ति पाउने थियो, नत्र ‘बुढाबुढीको खटपटी बढेको र निद हराएको राम्ररी बुझ्ने गरेकी छन् उनले । समय सन्दर्भमा धेरै केटाले ताकेका पनि छन् । कुरा चलाउने र प्रस्ताव राख्नेहरूलाई निर्णय दिन भने सकेकी छैनन् ।

एलिना दिदी… एलिना दिदी… छिमेकीको घरमा फोन आएपछि गाउँका साना नानीहरू एकै स्वरमा कराउँदै एलेनालाई सहरबाट फोन आएको खवर दिन पुग्छन् । एलिना किचनमा व्यस्त छिन् । झमक्क साँझ परिसकेको छ । गाउँका केटाकेटीले एकै स्वरमा खवर पु¥याउँछन्, ‘एलिना दिदी सहरबाट तपाईंको फोन आ’छ छिमेकमा झट्ट जानु रे ।’

एलिना, ‘हँ कहाँबाट कसको फोन ?’ कुद्दै एलिना फोनतर्फ जान्छिन् । छिमेकी दाइले होल्डमा राखिदिएको फोन रिसिभ गर्छिन् । केहिबेर फोनमा कुरा गरिसकेपछि उनी दगुर्दै फर्किन्छिन् र आमालाई सुनाउँछिन्, ‘सहरबाट भाउजुले फोन गर्नुभएको थियो, मलाई हेर्न केटाको प्रस्ताव आएको थियो रे, भाउजुसँग कुरा गरेछ, मलाई सहराँ झिकाइएको छ, तर आमा मलाई पटक्कै जान मन छैन,’ एलिनाले आमासँग बेलिविस्तार लगाइन् ।  बेलुका खानपिन सकेपछि एलिनाका बा–आमाले सल्लाह गरे । लामो परामर्शपछि एलिनालाई एकपटक सहरकी भाउजुको घर पठाउने निधो भयो ।

एलिनाका घरबाट सहरकी भाउजुका घरसम्म पुग्न गाडीमा करिब २ दिनको यात्रा गर्नुपर्छ । सहर जाने चाँजोपाँजो मिलाउँदा केही दिन ढिलो भयो । उताबाट तारन्तर भाउजुको फोन आइरहेको छ । छिमेकीसँग सरसापट गरेर खर्च जुटाएर एलिना सहरतिर लागिन् । ३÷४ पटक गाडी परिर्वतन गर्दामात्र उनी गन्तव्यमा पुग्थिन, गाउँले सोझी केटी भनेर उनको लवाज र बोलीचालीबाटै स्पष्ट खुल्थ्यो । सोझोपनको फाइदा उठाउँदै सहरका ठिटाहरूले एलिनालाई पछ्याइरहेका थिए । हलक्क बढेकी पहाडे केटी हेर्दै गालाबाट रगत चुहेला जस्ती झरझर देखेपछि केटाहरूको मन कागतीको रस देख्दाको जिब्रोजस्तै  । तर विचरा ! सोझी एलिनालाई त्यो पत्तै भएन । उनले केटाहरूको नियतलाई बुझ्नै सकिनन् । एलिनालाई कहिले सुन्तला दिन्थे त कहिले बदाम, चना आदि दिएर नजिकको आफन्त झै गर्दै गए गाडीको यात्रामा ।

रात परिसकेको थियो । गाडी सहर प्रवेश गर्दै थियो तर एलिनाकी भाउजुको घर सहरको गाडी स्टेण्डबाट झण्डै २ कोष पर थियो । गाडी अन्तिम स्टेण्डमा पुगेर रोकियो । सबै यात्रुहरू उत्रिए, एलिना पनि उत्रिइन् । गन्तव्यसम्म पुग्नको लागि एलिनाले रिक्सा प्रयोग गर्ने सोच बनाइन् । उनै सहरी केटाहरूले रिक्सा चढ्न सहयोग गरेझैँ गरे र एलिनाको अघि र पछि बसे, एलिनालाई चलाउन र धकेल्न थाले, तवमात्र बुझिन् एलिनाले उनीहरूको नियत !

उनको जीउ काम्यो डर लागेर आयो स्वाँ स्वाँ भइन् । सहरको लोडसेडिङको बेला थियो, एकान्त अँध्यारो ठाउँमा पुगेपछि रिक्सा रोक्न लगाए । रिक्सावाललाई केटाले हकारे उसको केही लागेन, उसले सबैलाई त्यहीँ छोडिदियो र रिक्सा फर्कायो । केटाहरू चारजना थिए, उनीहरूले एलिनालाई जवरजस्ती गर्न खोजे घम्साघम्सी प¥यो, एलिनाले कडा प्रतिरोध गरिन, चिच्याइन, कराइन्, गुहारिन्, केही समयमा अर्काे रिक्सा त्यही बाटो भएर आउँदै थियो, त्यसमा तीनओटी केटीहरू रहेछन् । एलिनाको गुहार सुनेर केटीहरू आर्लिए, उनीहरूलाई देखेपछि केटाहरू भागे ।

उनीहरूकै सहयोगमा एलिना सहरिया भाउजुको घर पुगिन् । भाउजुलाई सबै बेलीविस्तार सुनाइन् तर भाउजुले समयमा हिड्नुपर्छ’नि भनेर उल्टै गाली गर्न थालेपछि एलिनाको मन कुँडियो । एलिनालााई लागेको थियो भाउजुको सहाराले ती केटाहरूलाई केही खोजतलास होला र कार्बाही होला, तर भाउजुले यसलाई सामान्य रुपमा लिइन्, सुनेको नसुनेई गरिन् । उनलाई लाग्यो मानौं सहरको यो परिचय रहेछ ।

एलिनाको मन दुखेको थियो । फ्रेस हुन पाएकै थिइनन्  भाउजुको सम्पर्कबाट भोलिपल्टै एलिनालाई हेर्ने केटा आयो । मन कुँडिएको वेला आपूmलाई हेर्न आएको केटासँग दोहोरो संवाद गर्न नै सकिनन्, मात्र मुण्टो हल्लाइन् । मानौं सांकेतिक कुराकानी हुँदैछ । उनले सोच्ने र निर्णय गर्ने मौका पाएकै थिइनन् । उनलाई हेर्न आएको केटाले भाउजुसँगै एलिनालाई मन पराएको कुरा गरेपछि विवाहको कुरा सकेर फर्कियो । एकहप्तापछि घुरनसँग एलिनाको विवाह हुने निश्चित भयो । एलिनाका आँखा रसाइरहेका थिए । मन रोइरहेको थियो, नमान्दा नमान्दै एलिनाको विवाह सम्पन्न भयो ।

एकसरो सामान जुटाएरै सामान्य तवरले विधिपूर्वक नै एलिनाको विवाह सम्पन्न भयो दुलहाले बेहुली भित्रयाए । बेहुली भित्रयाएपछि दाइजोको विषयमा ठूलै खैलाबैला मच्चियो, बेहुलाकी आमाले दाइजो नपाएको झोंक  देखाइन् । मनमा आएसम्म गाली गरे आफन्तसमेत मिलेर कुरा काटे । बेहुलालाई पनि अप्ठ्यारो महसुस भयो । नन्द र आमाजु पनि धुरिए, धेरै सम्पत्तिको अपेक्षा गरेका रहेछन् भन्ने प्रस्तुति छरपस्ट भयो । गाली बेइजतीका शब्द प्रयोग गरेर पालोपालो बर्बराउन थाले । दाइजो नपाएकै कारण एलिना बेहुली भएकै दिन परिवारमा छी छी र दुरदुरको पात्र बनिन् । बेहुलाले परिवारलाई बुझाउन प्रयत्न गरे तर उनको केही जोर चलेन । दिदी–बहिनी र आमाले उनलाई भोकाएको बाजले चल्लो छोपेझैं झम्टिए ।

एलिनालाई साथ सहयोग मिल्नुको सट्टा उल्टै चोट थपियो । बेहुला घुरन पनि पारिवारिक तनावमा परे । मन बहलाउन घुरन साथीहरूका तिर समय बिताउँदथे । प्रायःजसो खाना खान आउने समयमा घुरनका घरमा रडाको मच्चिने गर्दथ्यो, घटनाहरू दोहोरिन्थे । भित्रभित्रै घुरन कुँडिइरहेका रहेछन्, विवाहको तेस्रो रात अबेरसम्म घुरन घर नआएपछि एलिनाले फोन गरिन् । पटक–पटक फोन काटिएपछि एलिना थप आशंकित भइन् ।

एलिनालाई झन् खटपट बढ्यो । उनले घुरनकी ममीलाई सोधिन्, ‘किन अहिलेसम्म घुरन घरमा आएनन् ?’ सासुले जवाफ दिइन्, ‘भरे आउँछ होला, तन्नमकी छोरी तन्किँदै गर न’ केही समयपछि घुरनकी ममीलाई घुरनका साथीको फोन आयो सबै हस्याङ र फस्याङ गर्दै आत्तिएझैँ गरिन् । घुरनले विष खाएको रहेछ  । रुवावासी चल्यो । घुरनलाई अस्पतालमा भेटिन एलिनाले । घुरनलाई हेर्नेहरूको भीड लागेको थियो । कुरा काट्नेहरू आ–आप्mना भाषामा व्याख्या गरिरहेका थिए ।

घुरन विरामी बेडमा बेहोस थिए । एलिनाले घुरनलाई रगत दिइन््, शुन्य समयमा भगवानसँग घुरनको जीवन रक्षाको प्राथना गर्दै तप.. तप.. खसेका आँसुका थोपाभित्र भविष्यको जीवन खोज्दै घुरनलाई बोलाइरहेकी थिइन् अचेत अनुहार सुम्सुम्याइरहेकी थिइन् । घुरन मृत्यु र जीवनको दोसाँधमा छटपटाइरहेका थिए ।

(स्रोत : समाचार दैनिक डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.