कवि विमल भौकाजी – व्यङग्यलेखनमा पनि एक चीर-परिचित नाम हो। उहाँ भूगोल विषयको विद्यार्थी भएपनि साहित्यमा बढि भिज्नुभएको छ। लेखकहरु प्रतिवद्ध भएर लागेमा नेपाली साहित्य व्यवसायिक बन्नसक्ने विचार व्यक्तगर्नुहुने उहाँ अरु कुनै पेशा नअँगालेर हाल साहित्यमा मात्र लागिरहेको कुरा बताउनुहुन्छ। कवितालाई अनुभुतिको अभिव्यक्ति भन्न रुचाउने कवि भौकाजी पाठकले के रुचाउँछन् भन्ने कुरामा ध्यान दिएर साहित्य लेखिने कुरा होइन यो त लेखकले देखेको र अनुभव गरेको सत्यलाई पाठक सामु पुर्याउने माध्यम हो भन्नुहुन्छ।
प्रस्तुत छ उहाँ सँग गरेको कुराकानि:
तपाईको साहित्यिक यात्रा कसरी सुरु भयो ?
– यो आफैं सुरु भयो। कुनै निश्चित उद्धेश्य लिएर साहित्य लेखनमा लागेको पनि होइन। सानै देखि पढ्न र लेख्न रुचि लाग्थ्यो अनि मेरो औपचारिक शिक्षाको क्षेत्र साहित्य नभएपनि नेपाली पढाउने गुरुहरु यज्ञनिधि दहाल, श्रीहरि रुपाखेति वाट भनें धेरै प्रभावित भएँ जसले गर्दा साहित्यप्रतिको रुचि अझ बढ्नगयो।
विशेषगरि तपाई कुन विधालाई रुचाउनुहुन्छ?
मेरो मुख्य रुचिको विधा त कविता नै हो तर साहित्यकारको लागि कुनै एउटा निश्चित विधा हुँदैन। परिस्थिति अनुसार आफूलाई व्यक्त गर्न जुनसुकै विधा पनि रोज्न सकिन्छ। सुरुवातमा म कवितानै लेख्थें र राष्ट्रिय कविता महोत्सवमा प्रथम पनि भएको थिएँ। देशको राजनीतिक अवस्था को कारणले गर्दा होला पछिल्लो समयमा मेरो व्यङ्ग्य लेखन ज्यादा छ।
लेखाइमा सैद्धान्तिक पक्षको कतिको प्रभाव हुन्छ?
साहित्य भनेको अनुभुतिलाई लेखाइमा व्यक्त गर्ने कुरा हो। यो कुनै निश्चित नियम र सिद्धान्तमा बाँधिएर गर्नसकिने कुरा होइन।
जस्तोकि कविले लेखेको कवितालाई संगितकारले संगीतमा ढाल्न सक्छ। कविले गीत बनाउने उद्धेश्यले लेखेको हुँदैन। उदाहरणको रुपमा �मेरो प्यारो वखलढुंगा� कवितालाईनै लिन सकिन्छ नि। जसमा छन्द मिलेको छैन तर रामेशले कुशलतापूर्वक त्यसलाई गीतमा ढाले।
तपाई किन लेख्नुहुन्छ?
यहि कारणले भनेर त भन्न सक्दिन तर आर्थिक प्रयोजनको लागि वा समाजलाई बदल्छु भन्ने उद्धेश्यले भने लेख्ने गर्दिन। लेखनलाई आफ्ना अनुभुतिहरुलाई व्यक्त गर्ने माध्यमको रुपमा लिएको छु र आफ्नो विचार अरुसम्म पुगुन् भनेर प्रकाशित गर्नुपर्दोरहेछ र त्यसो गरेको हो।
एकजना राम्रो साहित्यकारले लेखाईबाट समाजमा परिवर्तन हुनसक्दैन र?
परिवर्तन त हुनसक्छ तर साहित्य समाजमा परिवर्तन गर्नकैलागि भनेर लेखिंदैन। लेखकले आफूले देखेको सत्य लेख्ने हो । त्यस लेखाइले समाजमा प्रभाव भने अवश्य पनि पार्छ। राजनीतिले कैयौं वर्षसम्म गर्न नसकेको कुरा साहित्यले एकशव्दमा गर्नसक्छ। मानिसहरुमा साहित्यले कस्तो प्रभाव पार्छ भन्ने कुरा मा मैले मेरै पनि उदाहरण भेटेको छु। एकपल्ट कान्तिपुर मा प्रकाशित �देशको नक्सा� शिर्षकको लेख र मान्छेहरुले फोटोकपि गरेर बाँड्दै गरेको पनि देखेकोछु जसवाट यसको प्रभावको अझ अनुभव गर्नसकें।
साहित्यकारहरु राष्ट्रिय राजनीतिवाट अलग हुन सक्छन कि सक्दैनन्?
साहित्य भनेको यस्तो कुरा हो जुन राजनीति मात्र नभएर समाजको कुनैपनि पक्षवाट अलग भएर रहन सक्दैन। तर राजनीतिक धार समातेर लेखिने साहित्य वास्तवमा साहित्यनै होइनन् । राजनीतिक पार्टीको झण्डा बोकेर लेख्ने लेखकले आफ्नो विवेकलाई कुल्चेको हुन्छ र सत्यलाई आँखा चिम्लेको हुन्छ जसले गर्दा त्यस किसिमको लेखाइ साहित्य नभएर साहित्यको नाममा कलंक हुनजान्छ।
अहिले केहि लेखकहरुको अति उग्रपन पनि देखिन्छ जसले सञ्चारमाध्यमको साथ लिएर जनमानसमा नकारात्मक भावना फैलाउने कामपनि गरिरहेकाछन्। यो पनि वास्तवमा ठिक होइन। अनि अर्को कुरा साहित्यकारले कुनै घटनाको विवरण दिने मात्र नभएर सत्यलाई उजागर गर्नु पर्छ जस्तो लाग्छ।
वर्तमान अवस्था साहित्यकारहरुको लागि कस्तो छ?
स्वतन्त्रता खोसिएको समय साहित्य सृजनाको लागि उर्वर समय हो। अहिले लेख्नको लागि उपयुक्त समय छ। खुलापनमा लेखिएका कतिपय लेखानहरु नारा बन्न जान्छन्। जस्तो कि २०४६ साल ताका महेन्द्रको शालिक हल्लाउँदा गोलि लागेर शहादत प्राप्त गर्ने शहिदको बारेमा धेरै कविता लेखिए र पछि त्यसकिसिमका कविताहरु राजनीतिक नाराको रुपमा मात्र आए।
प्रतिवन्धित अवस्थामा प्रत्यक्षरुपमा लेख्न नपाइने भएकोले विम्व र संकेतहरुको प्रयोग गरिन्छ त्यसैले कलात्मकता बढ्नजान्छ। अझ स्तरिय साहित्य सृजना हुनसक्छ यस्तोबेलामा।
प्रजातान्त्रिक अभ्यासको अवस्थालाई कसरि हेर्नुभएको छ?
२०४६ सालमा पनि वास्तविक प्रजतन्त्र आएको थिएन जस्तो लाग्छ। नेपालमा पूर्ण प्रजातन्त्र त अहिलेसम्म आएकै छैन। २०४६ साल पछि जुन आंशिक प्रजातन्र पाइएको थियो त्यसको धेर थोर उपभोग सवैले गरेपनि नेताहरुले त्यसवाट गलत लाभ उठाउने काम गरेकोले गर्दा जनताले पाउनुपर्ने कुरा पाउनसकेनन्।
साहित्यिक क्षेत्रमा २०४६ सालको परिवर्तनको उपलव्धि यतिलाई मान्न सकिन्छ कि पञ्चायतकालमा साहित्यकारले लेखेको कुरा जनतासम्म पुग्नपनि गाह्रो थियो अहिले त्यो अवस्था छैन।
अपूर्ण नै भएपनि प्रजातान्रिक व्यवस्थालाई सुधार गरेर लान सकिन्नथियो होला?
त्यसै गर्नुपर्थ्यो। जुन कुरा पाइएको थियो त्यसैलाई परिष्कृत गर्दै लान सकिन्थ्यो। तर इमानदारिता भएन। नेताहरुले मात्र नभएर अन्य वर्ग जस्तो पत्रकार, लेखकहरुले पनि आफ्नो भूमीका ठिकसँग निर्वाह गर्न सकेनन्। सत्यकुरालाई लेखिनु पर्थ्यो र गलत कुरालाई गलतै भनेर लेखिनु पर्थ्यो । त्यो इमानदारिता हुनु हो भने त्यसको प्रत्यक्ष लाभ कुनै एक व्यक्ति वा वर्गलाई मात्र नभएर देशलाईनै हुनेथियो।
साहित्यिक क्षेत्रमा तपाइको अबको योजना कस्तो छ?
म यसमा प्रवेश गर्दा पनि कुनै योजना बनाएर गरेको थिइँन भने अव पनि त्यस्तो योजना केहि छैन। यति हो साहित्यमा मेरो रुचि भएकोले यसमा निन्तरता दिइरहने दृढ आकांक्षा छ।
तन्नेरीहरुको लागि केहि सन्देश दिनुहुन्छ कि?
पाठ्यक्रमको कितावले भन्दा साहित्यले धेरै व्यवहारिक ज्ञान दिनसक्छ। साहित्यले जीवनलाई सहज बनाउँछ भने मृत्यु जस्तो कठिन कुरालाई पनि स्विकार्य बनाइदिन्छ। त्यसैगरि कलमनै समाजका विकृति विसंगति हटाउन सक्ने दरिलो हतियार हो र लेखानै विरोधको सवैभन्दा प्रभावकारी माध्यम हो।
प्रस्तुती : बिपिन शर्मा
(स्रोत: तन्नेरी डट कम – Issue 11 – Kartik, 2062)