लेख : गजल र यसको इतिहास

~रवि प्राञ्जल~

कुनै पनि साहित्यिक बिधाको आरम्भ सबैभन्दा पहिले गेयात्मक वा पद्यात्मक रचनाबाटै भएको पाइन्छ । पूर्वीय साहित्यको आदि ग्रन्थ ऋग्वेदका ऋचाहरू हुन् वा होमरका इलियड अडिसी जस्ता पाश्चात्य प्राचिन ग्रन्थहरू हुन्, ती सबै पद्यमा नै लेखिएका छन् ।

साहित्यका बिबिध विधाहरूको अध्ययन गर्ने हो भने विशेष संरचनामा बाँधिएर लेखिने पद्य बिधाहरूमा लय(meter) र साँगीतिकता नै मूल रूपमा रहेको भेटिन्छ । पाश्चात्य साहित्यको प्रशिध्द बिधा sonnet र फारसी साहित्यको काब्यबिधा गजललाई यसको उदाहरणका रुपमा लिन सकिन्छ ।

फारसीबाट उर्दु र हिन्दी हुँदै नेपाली साहित्यमा प्रवेश गरेको गजल मूलत गायनमैत्री बिधा हो । लय र सङ्गीतको धरातलबाट उद्भव भएको गजल रचनाको आरम्भ नै फारसी छन्दबाट भएको हो ।

पूर्वीय साहित्यका काब्यहरू पिङ्गल छन्दमै लेखिएजस्तै उर्दुका आरम्भकालीन गजलहरू फारसी बहरमै लेखिन्थे । पूर्वीय शास्त्रमा पनि वैदिक युगमा गायत्री¸जगती त्रिष्टुप पङ्क्ति जस्ता कतिपय कठिन वैदिक छन्दहरूको प्रयोग भएको पाइन्छ भने वैदिक युगपछिको समयमा त्यस्ता कठिन वैदिक छन्दहरूको प्रयोग भएको भेटिँदैन ।

त्यस्तै, फारसीमा विद्वानहरूले अनगिन्ति बहरहरूको रचना गरेका थिए । ती मध्ये कतिपय बहरहरू प्रयोग गर्न कठिन भएका कारण कालान्तरमा केही प्रचलित लोकप्रिय बहरहरूलाई मात्र गजलमा प्रयोग गरिन थाल्यो । माथि नै उल्लेख गरियो गजलको उत्पत्ति फारसी भूमिबाट भएको हो । आजभन्दा लगभग दुई हजार वर्ष पूर्व हालको इरानको इस्पाहान क्षेत्रमा स्थित थियो फारस । इसाको सातौँ शताब्दीमा मुसलमानहरूले फारसमा विजय प्राप्त गरेपछि त्यहाँका फारसी संस्कृति लगायत अन्य ग्रन्थहरू नष्ट भए । तर त्यस अघि नै फारसमा संगीत र साहित्यको तीब्रतम विकास भइसकेको थियो । कालान्तरमा फारसका मुसलमानहरूले भारतलाई आक्रमण गरेर आफ्नो कब्जामा लिएपछि कोमल तथा ललित भाषाको धनी फारसी साहित्यको प्रभाव फारसीभूमिबाट भारतमा पुग्यो ।

फारसी साहित्यको प्रभावको कुरा गर्दा हिन्दी भाषाका पहिलो गजलस्रष्टाका रुपमा अमीर खुसरोको नाम आउँछ । उर्दू अरबी तुर्की ब्रज लगायतका भाषाका ज्ञाता अमीर खुसरो ९१२५३-१३२४० सुप्रसिध्द लेखक तथा विद्वान संगीतज्ञ थिए । उनका पिता फारस भूमिबाट भारत आएपछि उत्तर भारतको इटावा जिल्लामा अमीर खुसरोको जन्म भएको थियो । यिनलाई उर्दु साहित्यमा उर्दु भाषाका स्रष्टा तथा आदि लेखकका रुपमा चिनिन्छ । खुसरोले उर्दु लगायत हिन्दी भाषामा समेत गजल रचना गरेर गजल अनुरुपको सांगीतिक राग तथा लयउपयुक्त तालहरूको निर्माण गरेका थिए । यिनको हिन्दीमा लेखिएको पहिलो गजलको दुई शेर यस्तो थियो:-

जब यार देखा नैन भर दिल की गई चिंता उतर ।
एसा नहीँ कोई अजब राखे उसे समझाय कर ।
मेरो जो मन तुम ने लिया तुम उठा गम को दिया
तुम ने मुझे एसा किया जैसा पतंगा आग पर ।

खुसरो स्वयं एक सिध्द संगीतज्ञ थिए । यिनको विद्वता साहित्य र संगीत दुबैमा थियो । भनिन्छ आजभोलि साङ्गीतिक गायन तथा सूरवादनहरुमा प्रयोग गरिने तबलाको आविष्कार अमीर खुसरोले नै गरेका हुन् । तबला आविष्कार हुनु अघि तबलाको पूर्व रुप पखावज थियो । जसको प्रयोग अहिले पनि ध्रुपद, धमार लगायत विशेष प्रकारका शास्त्रीय गायनहरूमा गरिन्छ । तबलाको दायाँ र बायाँ गरेर दुइवटा खण्ड वा वाद्य यन्त्र हुन्छ भने पखावज चाहिँ मादल जस्तो वृहद आकारको एउटै यन्त्र मात्र हुन्छ जसलाई काखामा राखेर वादन गरिन्छ । उनले यो पखावजलाई बीचबाट काटेर २ भागमा बिभाजन गरेर तबलाको रुप दिए । उनले यति मात्र गरेनन्, बिभिन्न शास्त्रीय राग तथा वाद्ययन्त्रका आविष्कारक खुसरोले गजल तथा अन्य रचनाहरूलाई उपयुक्त हुने बिभिन्न सम तथा विषम मात्री नवीन तालहरूको समेत निर्माण गरेका छन् ।

खुसरोको समयमा गजललाई लिपिबध्द गरिने प्रचलन थिएन । गुरु शिष्य परम्परा विकसित भइसकेको त्यो समयमा योग्य गुरुसँग ज्ञान प्राप्त गरेर योग्य भएपछि महफिलहरूमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने प्रचलन थियो । एउटै व्यक्ति गजल लेखक तथा प्रस्तुतकर्ताका रुपमा रहन्थे । साङ्गीतिक शास्त्रीय रागको ज्ञान र स्वराभ्यास गरेकाले वाद्यवादन सहित आफ्नो गजलको गायन प्रस्तुत गर्थे भने वाद्यवादन बिना नै तरन्नुम गायन गजल वाचनको एक विशिष्ट रुप प्रस्तुत गर्ने प्रचलनको पनि विकास सँगसँगै भइरहेको थियो ।

गजल गायनको कुरा गर्दा शास्त्रीय गायनमा गजल गायनलाई अर्ध शास्त्रीय रुपको शास्त्रीय उपबिधाको रुपमा राखिएको पाइन्छ । शास्त्रीय गायनको शीर्ष स्थानमा ध्रुपद गायन रहेको छ । ध्रुपद धमार पछि खयाल गायन, खयाल गायन भन्दा तल ठुमरी, दादरा, चैती जस्ता रचनाहरू र त्यसभन्दा तल गजल गायन पर्दछ । गजल भन्दा तल सुगम संगीत वा भाव संगीत, लोक संगीत, चित्रपट संगीत तथा आधुनिक गीत भजन आदि पर्दछन् ।

ध्रुपद धमार गायनको लागि पखावज नामको वाद्ययन्त्र द्वारा तालवादन कृया गरिन्छ भने अन्य गायन रचनाहरूका लागि तबला नै तालवादनको रुपमा प्रयोग गरिन्छ । विशेष गरी गजलको लागि दादरा, कहरवा, खेमटा, दीपचन्दी, रुपक तालहरू बढी प्रयोग गरिएको पाइन्छ ।

हजारौँ बहर वा छन्दहरू मध्ये सरल र लोकप्रिय लाग्ने बहरमा गजल रचना गरिँदै आएझैँ हजारौँ शास्त्रीय तालमध्ये सरल, सहज र कर्णप्रिय लाग्ने तालहरूमा नै गजललाई संगीतबध्द गरिएको देखिन्छ । रागमा पनि सामर्थ्य हुनेले जुनसुकै शास्त्रीय रागमा गजललाइ गाउन सक्छन् । तथापि भूपाली, यमन, भैरवी, भिमपलासी, ललित, दरबारी जस्ता अत्यधिक लोकप्रिय तथा प्रचलित शास्त्रीय रागहरूमा नै आधारित गजलहरू प्राय गाइएको देखिन्छ ।

शास्त्रीय रागको कुरा गर्दा संगीतको इतिहासमा शास्त्रीय ग्रन्थ संगीत रत्नाकरको नाम अग्रस्थानमा आउँछ । बाह्रौँ शताब्दीका पण्डित शार्ङगदेबद्वारा रचित विशाल एवं विशिष्ट ग्रन्थका रुपमा प्रकाशित संगीत रत्नाकर नै एउटा यस्तो ग्रन्थ थियो जसको अध्ययन गर्दा त्यो समयमा भारतीय संगीतमा पूर्ववरती वैदिक संगीतको चरम विकास भइसकेको रहेछ भन्ने पुष्टि हुन्छ । उत्तरवर्ती संगीतज्ञहरका लागि त यही ग्रन्थ नै अद्यापि शास्त्रीय संगीतको मुख्य आधारस्तम्भको रुपमा रहेको छ । यो कृतिको श्रोत सामवेद नै थियो । सामवेदबाटै शास्त्रीय संगीतको उत्पत्ति हुन पुगेको हो ।

उर्दु गजलमा प्रयुक्त शब्द तथा काफियाहरूको कथ्य र लेख्य शब्दमा भेद रहन्छ । यस्तो भेद रहने गुण भएकै कारण उर्दु गजलमा पिंगलको छन्दमा जस्तो लघु गुरु नियमको कठोरता अपनाइँदैन । उर्दु गजलमा मात्रा गिरावटलाइ सहज रुपमा प्रयोग गरिएको भेटिन्छ । तथापि उर्दुको छन्द शास्त्रलाई पुर्ण पालना गरेर नै गजल लेखिने र तरन्नुम वाचन र गायन गरिने परम्परा १८औँ शताब्दीको अन्त्यसम्म रह्यो । १९ औँ शताब्दीपछि गाइएको गजललाइ रेकर्ड गरेर राख्ने प्रचलन शुरु भएपछि गजल गायनप्रति धेरै शास्त्रीय गायकगायिकाहरू आकर्षित हुन थालेको देखिन्छ ।

गजल गायनको इतिहासमा नारी संगीत साधक गायिकाको ठूलो भूमिका रहेको छ । शास्त्रीय खयाल गायन लगायत ठुमरी गायनमा प्रशिध्द धुरन्धर गायिकाहरू बेगम अख्तर¸ मलिका पुखराज¸ गोहरजान, बडी मोतीबाइ, जद्दन बाई, कलकत्ते वाली जस्ता लोकप्रिय स्वरसिध्द गायिकाहरूको नाम १९ औँ शताब्दीको आरम्भमा अग्रस्थानमा रहेको पाइन्छ ।

यसै क्रममा जब हिन्दी चलचित्रमा कुन्दन लाल सहगलको गजलले प्रवेश पायो । बौध्दिक वर्गमा मात्र सीमित रहँदै आएको गजल रचनाप्रति त्यसपछि गजलको लोकप्रियता ह्वात्तै बढेको देखिन्छ । सहगल पछि तलत महमूद, मेहंदी हसन, गुलाम अली, जगजित सिँहजस्ता विशिष्ट स्वर र शैली भएका गायकहरूको गजल गायनमा आगमन भएपछि गजल बिधाले उच्च लोकप्रियता प्राप्त गर्यो । नेपालमा भने विसं १९६५ मा सेतुरामले पहिलो नेपाली गजल रेकर्ड गराएको तथ्य प्रकाशमा आएकोछ ।

नेपालमा मोतिरामदेखि भीमनिधि तिवारीलगायतका गजलकारहरुका केही गजलहरू लगभग ६ दशकअघि नै संगीतबद्ध भएको पाइएता पनि संरचनागत रुपमा सबल नेपाली गजलहरु भने चालिसको दशकबाट मात्र गाइन थालिएको हो । यस क्रममा २०४६ सालपछि ललिजन रावलका केही नेपाली गजलहरू सि. के. रसाइली र नरेन्द्र प्यासीका संगीतमा रेकर्ड भएर रेडियोमा प्रशारण हुन थालेको देखिन्छ ।

पचासको दशकसम्म लेखिएका अधिकांश गजलहरुमा छन्द–मात्राको सन्तुलन कायम हुन नसक्नु, सन्तुलित बनेका गजलहरुपनि प्रायः ‘गैर मुसलसल’भएकाकारण संगीतकारलाई धून सृजना गर्ने मुड नआउनु र ‘मुसलसल’ गजलको पनि भाव अनुरुप संगीत सिर्जना गरी प्रभावकारी ढंगबाट गाउनका लागि गजल गायकीको विकास हुन नसक्नुले नै नेपाली गजल गायनमा पछि परेको हो भन्ने यो पंक्तिकारको धारणा छ ।

यसरी लामो इतिहास बोकेको गजल बिधाले नेपाली साहित्यमा प्रवेश गरेको एक शताब्दी चानचुन समय मात्र भएको छ । वि सं १९५० भन्दा अघि नै मोतीरामद्वारा बहरबध्द गजलका रूपबाट माध्यमिककालमा नेपाली साहित्यमा भित्रिएको नेपाली गजलले दुई हजार चालीसको दशकमा अर्थात् नेपालमा गजलको प्रवेश भएको लगभग एक शताब्दी समय पश्चात् गजलको लयगुणमा केही परिवर्तन सहित नया शैलीमा नेपाली गजलको रुप देखापर्न थाल्यो । यो नवीन शैलीको गजललेखन तथा प्रकाशनको शुरुवात ज्ञानुवाकरबाट भएको थियो । यसको केही वर्षपछि नै गजलकार मनु ब्राजाकीले ’कुनै न कुनै स्वनिर्मित नै भए पनि छन्दमा बन्द हुनैपर्छ ।’ भन्दै नेपाली गजलमा हराउँदै गएको बहर र लयलाई आत्मसात गर्दै नेपाली माटो सुहाउँदो लोकप्रिय परम्परित र स्वनिर्मित छन्दमा गजल लेख्ने परम्पराको थालनी गरे । मनु ब्राजाकी पछि मनुले देखाएको मात्रा–छन्दलाई आधार मानेर ललिजन रावल, बूंद राना, रवि प्राञ्जल, डा. घनश्याम परिश्रमी लगायत असङख्य गजलकारहरुले नेपाली गजल रचना गरेर र तिनका सङ्ग्रह प्रकाशित गरेर नेपाली साहित्यलाई शोभित गराएको तथ्यलाई भुल्न सकिँदैन ।

साठीको दशकको पूर्वार्ध सम्म आइपुग्दा भने नेपाली गजलमा अर्को एउटा धार सशक्त रुपमा देखा पर्यो । त्यो धार थियो पिंगल छन्द तथा फारसी बहरमा केन्द्रित गजल लेख्ने धार । सनत कुमार वस्तीका शास्त्रीय धारका गजलहरूको प्रकाशन हुन थाल्यो भने बुँद राना जस्ता स्वनिर्मित लयमा लेख्ने केही गजलकारहरूको शास्त्रीय तथा फारसी बहरमा गजलहरू प्रकाशित भएको पाइयो । साठीकै दशकमा शिव प्रणत, घनेन्द्र अझा, सरोज काफ्ले र गोर्खे साइँलोको गजलकृतिहरूको प्रकाशनसँगै २०६३ मा अनाममण्डलीको पहलमा ‘बहरमाला’ र २०६६ मा ‘गजलमाला’ को प्रकाशन भएपश्चात नेपाली गजलमा गजलको मूललाई केन्द्रमा राखेर गजल लेख्ने सर्जकहरूको वृध्दि भएको पाइएको छ ।

निश्चय नै गजलको मूल संगीत नै हो लय नै हो । तर लयलाइ प्रस्तुत गर्ने नाममा गजलको आन्तरिक तत्व मिजाजलाई अझेलमा पारिएको रचना एउटा गीति कविता मात्र हुन सक्छ । छन्दमा काफिया र अन्त्यानुप्रास मिलाउँदैमा मात्र गजल बन्न सक्दैन । वाह्य तथा आन्तरिक गुणहरूको सफल संयोजनबाट नै स्तरीय गजलको निर्माण हुन सक्छ ।

अर्को तर्फ दुइ पंक्तिमा गजलमा जस्तै भावको पूर्णता भएकै आधारमा त्यस्ता रचनालाइ गजल वा शेर नै मान्नु पर्ने किन ? यदि त्यो रचना कुनै पनि लयमा बाँधिएकै छैन भने । हो त्यसलाइ एउटा सुन्दर मुक्तक सम्म अवश्य भन्न सकिन्छ ।

नेपाली गजलमा लयलाई हेर्ने र बुझ्ने चेष्टा नगर्नेहरूले नै अहिले नेपाली गजलमा बिवाद सृजना गरिरहेका छन् । साहित्यमा मतमतान्तर हुनु स्वाभाविक हो तर त्यसलाई छलफलबाट समाधान गरिनु नै बुध्दिमता हुन आउँछ ।

साहित्यमा मतमतान्तर नभएको त कहाँ हो र, पूर्वीय र पाश्चात्य साहित्यहरू दुबै तर्फ कविताको स्वरुप र परिभाषाहरुमा बिभिन्न मतमतान्तरहरू छन् । वर्डस्वर्थले कवितामा भावपक्षलाइ महत्व दिएकाछन भने कलरिजले सङ्गीत र पदविन्यासलाइ । शेलीले दुखको कथालाइ नै मिठो गीत वा कविता हो भनेकाछन् । त्यसैगरी पूर्वीय वा संस्कृत साहित्यमा कविताको परिभाषा गर्ने अलङ्कार, ध्वनि, रीति, रस जस्ता ६ वटा सम्प्रदाय वा धारणाहरू रहेकाछन् । तर ती वादहरू मात्र हुन्, धारणाहरू मात्र हुन् । विवाद हैनन् । गजलमा चाहिँ धारणाभन्दा बढी बिबाद गर्न खोजिएको देखिन्छ ।

नेपाली गजलको आजसम्मको इतिहास हेर्दा आरम्भदेखि हालसम्म देखापरेको प्रमुख धार भनेको (१) मोतीरामले आरम्भ गरेको फारसी बहर र पिङ्गलछन्दमा लेख्ने धार (२) मनु ब्राजाकीले आरम्भ गरेर ललिजन रावल लगायतका गजलकारहरूले पछ्याएको स्वनिर्मित वा परम्परित लयको धार र (३) ज्ञानुवाकर पौडेलले आरम्भ गरेको लय निरपेक्ष धार । यी तीन वटै धारमा लेखिएका गजलहरू सबै सशक्त पनि छैनन् र सबै गजलहरू कमजोर पनि छैनन् ।

तर कुनै पनि लेख्य नाटक वा एकाङ्कीलाई रंगमञ्चमा प्रस्तुत गरेपछि मात्र नाटकको पूर्ण प्रभाव दर्शकमा परेजस्तै गजल पनि गायनको माध्यमबाट श्रोताको कानमा पुगेपछि श्रोतासँग गजलको भावनात्मक सम्बन्ध स्थापित हुन पुग्छ र गजल जीवन्त बन्न पुग्ने हुँदा लय र साँगीतिकतालाई आधार मानेर लेखिएका गजल नै बढी प्रभावकारी हुन्छन् भन्ने ठम्याइ यो पंक्तिकारको रहेकोछ । किनकी मानवमनमा शब्दको अपेक्षा श्रुतिको र वाचनको अपेक्षा गायनको प्रभाव सुक्षम रुपमा रहिरहन्छ ।

उपर्युक्त लयको जुन धारमा गजल लेखिए पनि गजल साहित्यिक गुणले युक्त छ, अभिव्यक्ति कुशलता (मिजाज) ले युक्त छ शेरहरुमा एकाध मात्रा कम बेसी भए पनि वाचन गर्दा लयात्मक सुनिन्छ र प्रस्तुत गरिएको गजलको शिल्प सौन्दर्यले यदि पाठक र श्रोताको मन सम्प्रेषण गर्न सकिन्छ भने गजल जसरी लेखे पनि हुने त हैन ? हजारौँ गजललेखक र अध्येताहरूको लागि अहिले यो प्रश्न यक्ष प्रश्न बनेर खडा भएकोछ । तसर्थ नेपाली गजलमा प्रचलित यी ३ वटै धारहरूलाई सम्बोधन गर्ने गरी नेपाली गजलको एउटा सर्वमान्य मानक बनाउन अब विलम्ब भइसकेकोछ ।

( वि सं २०१७ जेठ ११ काठमाण्डौमा जन्मनु भएका बरिष्ठ गजलकार रवि प्राञ्जलले सङ्गीतमा समेत स्नातक (बि म्युज) गर्नुभएको छ । उहाँका ‘आँशुका फूलहरू’ (२०४७) कविता सङ्ग्रह, ‘घामका झुल्काहरू’ (२०४७) गीत/गजल सङ्ग्रह, ‘तारिदेऊ न माझी दाइ’ (२०४७) गजल सङ्ग्रह, ‘उही बाढी उही भेल’ (२०५२) गजल सङ्ग्रह र ‘प्यालामा आँसु’ (२०७१) गजल एल्बम प्रकाशित छन् ।)

This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.