~तिर्थराज अधिकारी~
१. कविता किन्नरी नौली गला रङ्ग रसाउँछिन्
पात बजाउँदै बाजा छन्द बेग्लै पढाउँछिन्
पोती मुहारमा माटो, माटो खेल्दै खुसाउँछिन्
केलाएर यही माटो प्राणाधार जुटाउँछिन् ।
२. पर्दा आलस्यको फ्याँकी रात ढल्दा उदाउँछिन्
झरी बादलका भित्र श्रमचित्र सजाउँछिन्
पिएर मूलको पानी प्यास भगाउँछिन् पर
लेकबेँसी जहाँ काम उहीँ पुग्छिन् सरासर ।
३. हँसिया चालमा चल्छिन् वनपाखा चुमी चुमी
जित्ने लोभ कतै छैन नौलो संसारमा घुमी
छहारी हरिया खोजी कतै झकाउँछिन् – उनी
डाली च्यापी उठी गाई–बाख्रा फकाउँछिन् – उनी ।
४. अल्प अल्प निदाएर तारा हेर्दै उतातिर
पँधेरा दूरमा धाई घर पोत्छिन् निरन्तर
अघाएर अरूलाई गाँस टिप्छिन् छ जे जति
भेटिन्छन् कतिमा यस्ता उदार भाव–सम्पति ?
५. खेल्छिन् शावकका साथ गाउँछिन् यी चरीसँगै
अल्मलिई कहाँ भुल्थिन् झुल्छिन् उल्लास, रौसमै
छलछाम कतै छैन बोक्छिन् निश्छल भावना
दिल आलोक के गल्थिन्, सिर्जनाकी उपासना !
६. झरनामा नुहाएर केशराशि सुकाउँछिन्
शिरमा फूल स्यूरेर फूलजस्तै रसाउँछिन्
रूप साँची बसेकी छिन् जूनजस्तै मनोहर
पटुकीले कसेको त्यो भेष छुट्टै छ सुन्दर ।
७. लता हात पसारेर बोटलाई समाउँछिन्
मीठो व्यञ्जन बोकेर मौरी मङ्गल गाउँछिन्
घाम–छाया मिली खेल्छन् शैल साक्षी बसाउँदै
यी हेर्छिन् जलका ऐना मन्द–मुस्कान छाउँदै ।
८. फूल यी सुनगाभा हुन् फुल्छिन् पर्वत कापमा
बनेर घरकी बत्ती घाम ढोग्छिन् प्रभातमा
पसिना प्रेमले प्यूँदै लाली ओठ खुलाउँछिन्
के पोतून् तनमा रङ्ग, इन्द्रेणी रङ्गभित्र छिन् !
९. प्रकृति रङ्गमै जम्छिन् अरू क्यै छैन लेपन
चढ्छिन्, झर्छिन् थलो आफ्नै छल्दै बाधा र उल्झन
बोक्ला पालिस के मोल, अनमोल छ यो पन
दूरकी कविता सम्झी लाग्यो भेट्न उतै मन ।
गोरखा, लप्सीबोट
हाल : सरस्वतीनगर, काठामाडौ –६