~राकेश कार्की~
सर्सर्ती समाचार पढें आज राती
कठै मरेछ बिचरा मेरो मिल्ने साथी
साह्रै खल्लो लाग्यो शोक मनाएँ
जानेको गिन्तीमा फेरी एक बढाएँ ।
कलेज पढुंन्जेल मित्रता गाढा रह्यो
कमाउन परेछी बिस्तारै टाढा भयो
इमेल लेख्छु भन्दाभन्दै त्यसै व्यस्त भएँ
दोर्याई तेर्याई मृत्युको खबर पढदै गएँ ।
साथीको निम्ति ज्यानको बाजी थाप्थ्यो
उ समिप हुँदा मेरो आत्मविश्वास जाग्थ्यो
कांध थापी थापी मलाई यति माथी चढायो
कस्तो आत्मियता मरेपछि पनि खबर सुनायो ।
जो साथीसंग लामो समय बिताएँ
ज्ञानवर्द्धक विचार उसैको पछ्याएँ
ऐर्श्वर्य सम्मानले मलाई ऊ देखि छेकिदियो
परन्तु आंखा अघि मृत्युको खबर लेखिदियो ।
दुःखमा सघाउंथ्यो ऊ साह्रै जाती
सुख पाएपछि अनायास मैले विर्से साथी
जरुरी कामले सम्झिने फुर्सद कहाँ
मृत्यु उप्रान्त सम्झी पछुताई रहेछु यहाँ ।
छातीभरी अर्ति उपदेश प्रेमको ऋण
यत्रो सम्मान, सम्पति मित्रकै देन
गुणै गुणको त्यत्रो पैंचो अब कैले मैले तिर्ने
मृत्युको खबर आंशु बनि मित्रकै स्नेह झर्ने ।।
विन्डसर विश्वविद्यालय, क्यानाडा
Issue 6 – Jestha, 2062
(स्रोत: तन्नेरी डट कम)