~बिपिन शर्मा~
प्याराफेटम लाखौं मान्छेहरु छन् उत्साहपूर्ण, उल्लासपूर्ण जिज्ञाषु नजरहरु खेलमैदान तिर तेर्स्याएर बसेका छन्। मैदान मा एक युवक र एक युवति उभिएको जस्तो लाग्छ । अहँ होइन, त्यहाँ त एक खेल हुँदैछ। कस्तो खेल? साँच्चै अचम्म लाग्दो। त्यहाँ न त निर्णायक छ, न रेफ्रि न त अरु कुनै सहयोगी नै। मात्र खेलाडि छन्। युवति पनि अति सुन्दरी , युवक पनि उस्तै । अनि खेल कस्तो कस्तो बिल्कुल नौलो । हेर्दा हेर्दै लाग्न थाल्यो यो खेल सुरु भएको त निकै अगडि रहेछ। एकछिन हेरेर सोच्छु यो कस्तो खेल हो ? खेलको कुनै नियम त होला, कुनै समय सीमा होला, छेउ छाउ बसेका दर्शकहरुलाई सोध्न खोज्छु, मेरो आवाज आउँदैन, इशारा गर्न खोज्छु मेरा हातहरु…… खै के भयो मेरो हातलाई….! उफ कस्तो अजिव…..! हेर्दा हेर्दै मैले आफूलाई मैदानमा पाएँ अनि अचानक लाग्यो कि एउटा खेलाडि त म नै पो रहेछु। अनि फेरि कसरि……. म आफैंलाई मैदानमा देखिराखेको छु । यो अद्भुत अनुभव ! म बुझ्न सक्दिन । अ हँ, बिलकुलै बुझ्न सक्दिन । अनि अगि मैले देखिको त्यो सुन्दरी युवति, उ…, उ नै छ, तर पनि मलाई बिल्कुलै भिन्न लाग्दैछ। मलाई अव उसको सुन्दरताले रत्तिभर आकर्षित गरको छैन। म त एउटा खेल खेल्दैछु, मात्र एउटा खेल । मनमनै आफैं सोच्छु के उ मेरो प्रतिस्पर्धी हो? के मैले उसलाई जित्नु पर्छ? खै मलाई थाहा छैन। फेरि लाग्छ यो खेलमा त जीत हारनै हुँदैन बस खेलिन्छ। कहिले सम्म? ……अहँ, मलाई नै थाहा छैन ।
दर्शकहरु बिल्कुलै शान्त छन् । कुनै आवाज छैन। कोहि आफ्नो स्थान बाट उठेको छैन्, कोहि चल्मलाएको छैन। मलाई खेल खेलाईबाट अद्भुत आनन्द आइराखेको छ, अनि हेराईबाट पनि। तर पनि म मा एक किसिमको उकुसमुकुस छ, छट्पटि छ अनि अनौठो पिडाबोध छ । फेरि त्यो पिडा पलपल रुपान्तरित हुँदैछ एक किसिमको सुखानुभुतिमा । म बोल्न खोज्छु, ब्यक्त गर्न खोज्छु, म तरल भएझैं लाग्छ, अनि पोख्न खोज्छु आफैंलाई। अहँ.. सक्तिन, म त बरफ झै जमेको छु, मेरा हात खुट्टा र सम्पूर्ण शरिर खै कस्तो जड झै लाग्छ। के म अव जिवित छैन? अचम्म….. म खेल हेरि राखेको छु। म खेल खेलिराखेको छु । तर पनि म निर्जीव झै, अनि प्याराफिट मा बसेका सारा मानिसहरु शालीक झै छन् । किन? यहाँ कोहि बोल्न सक्दैन? यहाँ कसैले आफ्ना अनुभुतिलाई ब्यक्त गर्न सक्दैन? खै म कसरि जानुँ। मैले त आफैलाई बुझेको छैन भने दुनियालाई कसरि बुझौं।
लाग्छ एउटा युग वित्यो। तर यो खेल मैदान अपरिवर्तित छ। खेल सकिएको छैन। खेल खेलिंदैछ। अझै खेलिंदैछ। र अझै खेलिने छ। कहिले सम्म? म मौनतामा मौनता थपिराखेको छु, प्रश्न हरुले । खेल किन? हरेक खेलको निश्चित नियम हुन्छ, समयसीमा हुन्छ, जीत र हार हुन्छ। तर यो त कस्तो खेल? जसमा यि कुनै कुरा छैनन्। यसमा न जित्नु छ, न त हार्नुनै । बश यो खेलिन्छ, हेरिन्छ र खेलिनै रहिन्छ। यसमा न थकान छ, न आराम । उत्साह पनि त छैन । उत्साह त कुनै परिणाम प्रति लक्षित हुन्छ, यहाँ त कुनै परिणामको सम्भावनानै छैन । तर पनि खेल छ, खेलाडि छन्, दर्शक छन् र मैदान छ। सजिव र निर्जीवमा कुनै भेद छैन जस्तो लाग्ने। कस्तो अजिव, प्याराफेट र मानिसहरु मा बिल्कुल समानता देखिन्छ।
म खेल खेल्दै छु। अनि म खेल हेर्दै छु । म खेलेर पनि आफैलाई एउटा रहस्य झैं हेर्दैछु। हेर्दाहेर्दै मेरा आँखा तिर्मिराउँछन् । एक पटक खेल मैदान घुमे झैं लाग्छ, अनि वरिपरिको प्याराफेट पनि। जोड सँग धर्ती हल्लिएझै लाग्छ। भुकम्प को धक्का जस्तो । ओहो……., खै कहाँ गयो मैदान? कहाँ गयो प्याराफेट? मैले थाहै नपाई कतिबेला सवै विलिन भएछ। चारै तिर शुन्य छ, खेलाडि पनि शुन्यमा अडेका, अनि दर्शक पनि । कसरि? कुनै धरातल बिना पनि मानिस अड्न सक्ने ! म चारै तिर नजर डुलाउँछु । सवै मग्न मस्त हेर्दै छन्, हामी खेलिराखेका छौं , निरन्तर । म प्याराफेटको एउटा छेउमा हेर्छु, म नै छु । आफैलाई हेर्दै छु एकटकले मैदान तिर फर्केर। अनि बिस्तारै एक एक गरेर नजर डुलाउँछु, हरेक खेलाडिमा। सवै म नै त हुँ । अनि आफ्नै सामू उभिएकि खेलाडिलाई म हेर्छु, उ पनि त म नै हुँ । अनि मलाई बुझेझैं लाग्छ यो खेल के हो भनेर । तर बुझ्नुको पनि के अर्थ भयो र? अनि खेल किन…….? यो पनि रहस्य खुलेझै लाग्छ। तर यसलाई ब्यक्त गर्न म मा आवाज छैन, शब्द छैन, मसँग इशारा वा संकेत छैन, म मा गतिछैन, र यसलाई ब्यक्त गर्न कुनै माध्यम छैन। अनि यो खेल किन खेलिन्छ कसरि भन्ने? कता कता लाग्छ, यो त खेल होइन कारण यसमा कुनै नियम छैन, कुनै समयसीमा छैन, परिणामको सम्भावना छैन। यो त पर्खाई हो। मात्र एउटा समयको पर्खाई। प्याराफेट र खेल मैदानझै एकाएक नामोनिशान नमेटिए सम्मको पर्खाइ। फेरि अर्को सोच आउँछ कतै प्यारेफेट र मैदानले पनि मैले झै आफैलाई देखिराखेका त छैनन्। अनि अन्तिम सोचाइनै सत्यझै लाग्छ। लाग्छ म युगौ देखि यसरि नै शुन्यमा विलिन अस्तित्ववोध गरिराखेको छु ।
(स्रोत: तन्नेरी डट कम – Issue 9 – Bhadra, 2062)