~यकिना अगाध~
अरुबेला स्यालहरुको सल्लाह मिल्थ्यो तर जब खानेबेला आउँथ्यो तछाड मछाड हुन्थ्यो । तिनीहरुको यस्तो बानीले स्याल जातिलाई ठूलो नोक्सानी पुग्दथ्यो । स्यालहरुको जतिजति संख्या बढ्दै गयो उतिउति समस्या पनि झाँगिदै गयो र पृथ्वीलोकबाट नै स्याल जाति लोप हुने अवस्था सिर्जना भयो ।
तिनीहरुको बुज्रुकहरुबीचमा धेरै लामो विचार, विमर्श र छलफल भयो । विकराल बन्दै गएको यो समस्याको समाधानको लागि तिनीहरुले एउटा कडा नियम बनाउने विचार गर्यो । त्यसको लागि विश्व सम्मेलनको आयोजना गर्यो ।
सम्मेलनले सर्वसम्मत यस्तो एकबुदे नियम पारित गर्यो– ‘अब उप्रान्त खानेबेलामा स्यालहरु सबै उमेर र बलको रोलक्रम अनुसार चल्नुपर्ने ।’ यो नियम छट्टु र बुज्रुक बुढा तथा बलियाबाङ्गा स्यालहरुलाई मन परे पनि ठिटा र स–सानाहरुलाई मन परेको थिएन ।
सम्मेलन सकेपछि तिनीहरु खानको लागि नजिकको किसानहरुको बारीतिर छिर्यो । खानेकुरा देख्नेबित्तिकै तिनीहरुले अघिको नीति नियम बिस्र्यो । बुढा र बलियाबाङ्गालाई रिस उठ्यो । तिनीहरुले नियमप्रति सजग गराउन करायो– ‘यो हुलको ठूलो को हो ?’
एउटाले सम्झ्यो म मोटो र बलियाबाङ्गा छु त्यसकारण करायो– ‘म हुँ ।’
उसको कुरा अर्कोले पत्याएनन् र करायो– ‘म हुँ ।’
अघि सुरुमा यो हुलको ठूलो को हो भनी कराउने बुढालाई पनि रिस उठ्यो र करायो– ‘म हुँ ।’
आफूलाई ठूलो हुँ भन्नेहरुको चालदेखेर अघि नै रिसाइसकेका ठिटा र स–सानाहरु करायो– ‘यी हो…यी हो…।’
स्यालहरु खैलाबैला गर्दै बाली खान आफ्नो बारीमा छिरेको कुरा बालीमालिकले थाहा पायो र बालीमालिक तिनीहरुमाथि जाइ लाग्यो । खैलाबैलाले गर्दा बालीमालिक जाइ लागेको सुइँको नपाएका केही स्यालहरु ठाउँका ठाँउ मारिए र केही बचेखुचेकाहरुले भागेर ज्यान बचाए ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )