~गोविन्ददेव आचार्य~
छन्द :- शिखरिणी
छ आत्मा नेपाली ! रगत छ विदेशी बगरमा
प्रिया खोज्छिन् तातो प्रियतम छ “बाँच्ने रहरमा”
अँगालोको न्यानो प्रहर नफुली जर्जर भयो
चखेबी छे एक्ली फिटफिट चखेबा पर गयो ।।
किनाराले थापे सलिलसित बग्थेँ सललल
ममा बाढी आए बगर-सित गर्थेँ खलबल
म आँधीको झोक्का पनि सहन गर्थेँ शिखर झैँ
बगैँचाले डाके भुनभुन चहार्थेँ भ्रमर झैँ ।।
चलेको बास्नाले जति छलिन खोजोस् तर पनि
दगुर्दै प्यासीले पछिपछि लखेट्छन् पख भनी
“मुना” एक्ली रानी , हृदयभरि कुण्ठा, जलन छ
यता एक्लो प्यासी “वनबिच बिरामी मदन” छ ।।
कहाँ मिल्थे मेरा हिमशिखरका गौरव यहाँ
बनेका छन् “खाडी” सय सकसका “रौरव” यहाँ
यहाँ नेपाली झैँ सरल मन भेटिन्न कहिल्यै
स्वदेशी मायाको सरस पन भेटिन्न कहिल्यै ।।
धुवाँ बन्दै उड्थेँ हुरहुर ! म दावानल भए
म दर्किन्थेँ झर्थे जलसहितको बादल भए
फुटे फोकाजस्तै रहर मरुमै क्रन्दन गरी
कठै ! टुक्र्यो पन्छी नगदपिँजडाको वश परी ।।
कहाँ पस्थेँ खाडी ! स्वमुलुकतिरै आश्रय मिले
धरा आफ्नो बन्ला हर गरिबका निम्ति कहिले ?
दुखेको बस्तीमै शवसहित बाक्सा किन खस्यो
प्रिया खोज्छिन् आत्मा तर खसम अल्प्यो पर बस्यो
भुँडी ! तेरो कस्तो नियम रचियो यो जगतमा ?
बनेँ तेरै घोडा ! मरुथल चहार्दै मफतमा
छुटिन् “माया” मेरी न त नजिक छन् सन्ततिहरू
मजस्तै जल्दै छन् दनदन चितामा कति अरू !!
– विदुर न•पा• 3 शेरा, नुवाकोट ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)