मनोवाद : लोकसेवाको डाक्टर

~डा शम्भु खनाल~

बाँच्नलाई मात्र हो भने  धेरै कुरा चाहिँदैन  । चाहिने त आत्मसन्तुष्टिका  साथ बाँच्नको लागि हो। न्यूनतम पारिश्रमिकमा  बाँच्न नसकिने  हैन ।  तर सबै जना श्री कृष्णले गीतामा भनेको जस्तो योगी हुन सकिँदैन ।  न त डा गोबिन्द केसी जस्तै त्यागी हुन सकिन्छ । लोक सेवा अन्तर्गतको स्थायी  जागीरले थोरैमा बाँच्न सिकाउँछ ।  एक प्रकारले  वाध्य नै गराउँछ भन्नुपर्ला ।  हो ।  इच्छाको  कुनै सीमा हुँदैन । तर इच्छाको बिरुवा नानिमोठी सम्भव पनि छैन।

यसपटक प्लेनमा जाउँ कि गाडीमा ।  प्लेन महँगो पर्छ, गाडीबाटै जानुपर्ला ।  प्लेनबाट सजिलो त हुन्छ ।  ‘डाक्टर साब’ लाई प्लेनबाटै आशा गर्छन् ।  अरुले भनेर हुन्छ ? आफ्नो हिसाबले  चल्ने पो हो ।  ……………  यस्तै मनोवादले अन्त्यमा गाडीकै यात्रा प्रिय ।  प्लेन चढ्ने त ट्रेनिङमा जाँदा हो।

‘अहिले नयाँ मोबाइल आएको रहेछ ।  दामी छ …. आदि ।’  चियागफमा निस्किने सामान्य कुराहरु ।  सुन्दै रहर लाग्दो ।  ‘किन्नुपर्छ कि क्या हो ।’  दाम कति पर्ने रहेछ त ? ६००००  पो रहेछ ।  होस् ।  ठिकै छ आफ्नै पुरानो मोबाइल ।  काम चलिरहेको छ ।  सस्तिएपछि  किन्नुपर्ला ।’  इच्छा  नपलाउँदै मर्दै जान्छ दिनहुँ।

कपाल पनि झरिसकेछ ।  कहिल्यै फुर्सद भए पो हेर्नु ?  ऐनालेसम्म जिस्काउँदा केही फरक परेको थिएन ।  मान्छेले ‘उमेरमै कपाल झरेछ त बाबुको’ भन्दा टाउकैमा किन हेर्दा हुन्  जस्तो लाग्ने बेलाबेलामा ।  कपाल रोपेर हराभरा बनाउन  सकिने प्रविधिको विकास भइसकेको छ ।  कति लाग्दो रहेछ त भनेर बुझ्दा ३ लाख जति रे।  ८–९ महिनाको तलब एकै पटक झ्वाम्म ! ठिकै छ ।  कृत्रिम काम नगरे नि हुन्छ । क्यापले नै ढाक्नुपर्ला । लोकको सेवा गर्न किन चाहियो र ?  …..”

‘सोरुममा गाडी राम्रै रहेछ्न् ।  चलाउन राम्रै देखिन्छ ।  आरामदायी पनि ।  ५० लाख नै पर्ने रहेछ ।  एक छिन दाह्री मुसार्दै बिचार  गर्यो ।  अहँ …. पछि   इन्स्टल्मेन्टमा लिनुपर्ला ।  अहिलेलाई नेपाल यातायात नै ठीक छ । कमसल क्वार्टरमा बसेर त  २ -३ बर्ष बित्यो ।  गाडीमा सुत्ने पनि हैन।

‘१० पछिको पढाई नै ८ वर्ष भइसकेछ ।  तीनवर्ष असुबिधायुक्त ठाउँमा लोकसेवामै  बितेछ । अचेल  मान्छेको पहिलो प्रश्न नै ‘के को बिशेषज्ञ ?’ च्वास्स पर्छ र सम्झिइन्छ – अझै बाँकी पो छ त हो पढ्न ।  ठूलो डाक्टर हुन पढ्नैपर्ने भयो ।  प्रतिस्पर्धा बर्षेनी गुणात्मक छ । ……… झसंग भइन्छ बेलाबखतमा।

गान्धी जीवन अनुसरण गर्ने हो भने मजाले चल्छ जीवनचर्या । तर डाक्टर हुनुपूर्व गान्धी आदर्शको  पाठ नसिकेकोले डाक्टर भइसकेपछि त्यो आदर्श खोज्दा कठिन नै छ । यसैपनि आदर्शको मार्ग  कठीन मार्ग हो । यदाकदा भेट्टिएला ।  त्यसमाथि हाम्रो देशमा पहिले पढ्दा  राजसी सपना भिराउने र डाक्टर भइसकेपछि   ‘ गान्धीको व्यबहार राजाको सवारी’ आशा गरिने हुँदा पेशाको गरिमा ह्रास  हुँदैछ ।  सानैदेखि अब्बल विद्यार्थीले पढ्ने विषय भनी मौलाएको डाक्टर हुने सपना।  सपनाको लहरामा सामाजिक सम्पन्न्ता उनिएको उधारो आशा  ।  आशा उन्दाउन्दै यथार्थसँगको परिचय र आत्माले आदर्श पारीत्याग गर्ने कि नगर्ने भन्ने किंकर्तब्यबिमुढ अवस्था ।

हृदयलाई सम्झाउँदै सेवाउन्मुख हुने बिचार  पलाउँछ । तर, यदाकदा हुने घटनाले निमोठ्दै जान्छ ।  बेवास्ता गर्दै जान्छ । जनमानसिकताले पनि उखुजस्तै पेल्दै जान्छ ।  यस्तैमा बिचारको स्टेरिङ घुम्छ र पछ्याउँछ, उनिएको पुरानो सपना पूरा गर्न । अनि कुर्लिन्छन् सबै,  ‘डाक्टरहरुमा सेवाभाव नै भएन ।  पलायन भए ।कडा नियमले रोक्नुपर्छ।’

डाक्टरको पदले सबैलाई राम्रै झुक्याएको छ ।  कोट लगाएर चिटिक्क परेर बसेपछि ठूलै मान्छे हुन पर्योै ।  पहिरनले भएपनि ।  पैसा त बिटोका बिटो होला भन्ने भ्रम जो छ  सबैमा । तर सबैले आशा गरे अनुसारको भब्यता भने छैन । बाहिर देखिने भब्यताले नै होला काठमाडौं पुतलिसडकतिर प्रवेश परिक्षा तयारीको घुइँचो कत्ति कम नभएको।

यसरी नै बाँच्न सिकेका छन् लोकसेवाका डाक्टरहरु । डाक्टरले प्राइभेटमा काम गरेकोमा नरुचाउनेहरुले बेलाबखतमा डाक्टरको  दिनचर्याको अध्ययन गर्न पनि राम्रै हुने देखिन्छ ।  इच्छा भन्दा पनि आवश्यकता पूरा  गर्न कठिन।

‘लोक सेवाको जागिर सामातेको ब्यक्तिले हो । जागिरले समातेको हैन’ भन्ने हो भने हाल विकल्परहित अवस्थाको बाध्यता हो भन्ने बुझ्नुपर्ने हुन्छ।

This entry was posted in मनोवाद / स्वगत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.