~जस योञ्जन ‘प्यासी’~
आफैबाट आफै निष्कासित भएपछि
आफैबाट आफै निर्वासित भएपछि
एउटा विशाल आकाशको खोजमा
अझसम्म कोही–कसैले आविष्कार गर्न नपाएको देशको खोजमा
निरुद्देश्य, निरुपाय भएर एक्लै भाग्दै–भाग्दै हिँड्दा
निःसहाय, मृतप्रायः भएर एक्लै रुँदै–रुँदै हिँड्दा
म युद्धले ध्वंस पारेको त्यो किल्लामा आइपुगेछु
जहाँ वैरीका खुँडासँग जुधेर भाँचिएका
पुर्खाहरूको खुकुरीको एक टुक्रो फलाम पनि
खिया लागेर माटो भइसकेछ ।
यसैलेअब मलाई झन्–झन् विश्वास लाग्न थालेको छ
मेरो कतै अतीत कथा भएर बाँचेको छैन
मेरो कुनै भविष्य इतिहास भएर साँचिने छैन
फगत अर्थहीन वर्तमानको व्यथा बोकेर
मैले क्यान्सर लागेको घाममा पोलिँदै सङ्क्रमित भएर पनि
मैले चमरेले निलेको जूनमा अलमलिएर आतङ्कित भएर पनि
मैले चारैतिर ढुस्से लागेको वातावरणमा दिशाहीन र भयभीत भएर पनि
चराको विष्ठा पनि नपरेको बरु
एक ढिस्को माटो आविष्कार गर्नु छ
एउटा सानो टापु भए पनि पत्ता लगाउनु छ
एउटा देश फेला पार्नु परेको छ
अनि नयाँ देशको पूर्वक्षितिजको अन्दाज लगाएर
‘मोड–फू–सान’ ले जस्तै एउटा नयाँ बिहानको प्रतीक्षा साँच्नु छ
नभन्दै एउटा नयाँ बिहान जन्माउने विचारको गर्भाधान गरेर
मैले कल्पित रातभित्र रङ्गीन सपनाहरू देख्न थालेछु—
म भास्को–डी–गामाको खुट्टाले टेकेर
रबिन्सन क्रुसोको महाराज्य चलाइरहेछु
जहाँ म सेतो दूधजस्तो सेतो केही दाग नभएको
मेरो देशको झन्डामुनि उभिएर
महाशून्य र चुपचापको लामो राष्ट्रिय गीत गाइरहेछु—
मेरो राष्ट्रिय गीत टुङ्गेपछि म देख्छु
परबाट काँडाको मुकुट लाएर अनुहारभरि रगतको पसिना लिएर
काँधमा क्रस बोकेर हाँस्दै–हाँस्दै एउटा मान्छे आउँछ र भन्छ—
‘तिम्रो नयाँ देशमा मलाई पनि धर्मको बीउ छर्न देऊ ।’
म देख्छु—
एउटा मान्छे मुण्डन गरेको कपाल र गेरुवा वस्त्र लाएर
गम्भीर मुद्रा र अर्धमुदित नयनमा माथिदेखि झरेर
मछेउ उभिन्छ र भन्छ—
‘तिम्रो नयाँ देशमा मलाई पनि अहिंसाको बिरुवा सार्न देऊ ।’
म देख्छु—
तलबाट गीताले छातीको गोलीका खोपिल्टा छोप्दै
लट्ठी टेक्दै–टेक्दै उँभो उक्लँदै आएर
एक जना बूढो मान्छे मेरो नजिकै बस्छ र मुस्कुराएर भन्छ—
‘तिम्रो नयाँ देशको माटोमा मलाई पनि सत्य–शान्ति रोप्न देऊ ।’
पूर्व–पश्चिम, उत्तर–दक्षिण दिशाहरूबाट सेता परेवाहरू
चुच्चामा बधाई–पत्रहरू बोकेर उड्दै आउँछन्
अनि मेरो अघि खसाल्दै जान्छन्
ती कोही लिङ्कन, लेनिन र हो–ची–मिन्हका हुन्छन्
ती कोही देवकोटा, रेम्ब्रान्ट र सरेसका हुन्छन्
ती कोही रोमियो, मजनुर उमर खैयामका हुन्छन्
ती कोही गल्ली, फुटपाथ र उकाली–ओरालीमा मर्नेहरूका हुन्छन्
त्यस बखत म आफैलाई महासन्तुष्टिको हाँसो दिलाएर
‘युरेका । युरेका ।।’ भन्दै विजयध्वनि लगाउँछु आफ्नै निम्ति
आविष्कारको आवाज गर्छु आफ्नै निम्ति
फलतः कल्पित रातको सपमो भित्ताहरू गल्र्यामगुर्लुम ढलेर
मलाई थिच्न खोज्छ
मलाई पुर्न खोज्छ
मलाई मार्न खोज्छ
यसरी आफ्नै सपनासँग पनि पराजित भएर
कुन्नि कस्तो जित खोज्दै–खोज्दै डुली हिँड्दा
म यस्तो ठाउँमा आइपुगेछु
जहाँ विशाल लाँकुरीको रूख पनि सुकेनासको रोगी भएर
साँझको चिसो सिरेटोसँग केही क्षण बाँच्नुको म्याद राखेर
धरमरिँदै, काँप्दै बिन्ती गरिरहेको रहेछ
यसरी म अपत्यारिलो सत्य बोकेर भौँतारिई हिँड्दा
हिमाल पनि कालो भएर उत्तानो परी
ताण्डवको शोकगीत आकाशसित गाएजस्तो लाग्छ
यसरी मैले अप्ठ्याराहरूबाट एउटा आस्था खोजी हिँड्दा
फूलबारीको फूलका थु“गाहरूबाट शब्दको गन्ध आएजस्तो लाग्छ
सिमानामा काँडेतारहरू लाएर
मान्छेले भैरवको मुखुन्डामा अनुहारहरू परिवर्तन गरेजस्तो लाग्छ
‘स्ट्रिप्टिज’ भनिने तरुनीहरूका नाङ्गा नृत्यहरूमा
यो सहरले चरम सभ्यताको विज्ञापन गरेजस्तो लाग्छ
यति मात्र होइन
विज्ञानको हातहतियारले अप्रेसन गर्दा–गर्दा
वैज्ञानिक टनिक, ट्याबलेट र पाउडरहरूले बचाउँदा–बचाउँदा
अब प्रजनन हुन नसक्ने रेत भएका खेतहरू हेर्दा
प्रत्येक मान्छेले बाँच्नुकोरहर छोड्नुपर्ला जस्तै लाग्छ
यसैले यहाँ आफैमा रहनुको अधिकार पाएर पनि
अब कति आधारहरू बताउन सकिन्छ—
अब कति प्रहरहरू रुङ्न सकिन्छ— निर्वासित योजिन्दगीको ?
मलाई निर्वासित हुन नै स्वीकार छ
मलाई बहिष्कृत हुन नै स्वीकार छ
बरु हिउँ भएर रातभर कक्रिन तयार छु
अर्थहीन भएर खोला बग्नुमा मलाई लोभ छैन
यो महानिस्पट्ट कालो युगले अन्तिम सास फेर्दा मलाई रुनु छैन
बरु एउटा नयाँ देशको
नयाँ क्षितिजबाट
नयाँ घाम झुल्केको हेर्न नै राजी छु।