~मालिकराम ‘वियोगी’~
मेरी श्रीमतिले
मलाई चिठी लेखी
तिम्रो गोठाला गर्ने वन-पाखामा
तिम्रो खेताला जाने खेत-बारीमा
सेना र प्रहरीले लाशको परेड खेल्ने गर्छ
तिम्रो घाँस-दाउरा गर्ने जंगलमा
तिम्रो खेल्ने-लुक्ने गुफा-ओडारमा
गुरिल्ला र मिलिसियाले मृत्युको तालिम लिने गर्छ
त्यसैले त आजभोलि
लाश र मृत्युको समाचारै बन्दैन
आँशु र चित्कारको वेदनै बन्दैन ।
मेरी श्रीमतिले
मलाई चिठी लेखी
हाम्रो पिरती लाउने हाट-बजारमा
हाम्रो पिपिरी बजाउने ठाँटी-चौतारीमा
सेना र गुरिल्लाको शीतयुद्ध चल्छ
हाम्रो लुकामारी खेल्ने डाँडा-भन्ज्याङमा
हाम्रो चण्डी नाच्ने चण्डीथानमा
बन्दुक र बमगोलाको प्रतिस्पर्धा चल्छ
मृत्यु र लाशको आर्तनाद सुनिन्छ
त्यसैले त आजभोलि
मान्छेभित्रको मानवता कतै देखिन्दैन
शान्ति र सम्झौताको कुरै सुनिन्दैन ।
मेरी श्रीमतिले
मलाई चिठी लेखी
हाम्रो पढ्ने स्कुल-कलेजमा
हाम्रो उपचार गर्ने स्वास्थ्य-चौकीमा
मान्छे मार्ने शिक्षा दिइन्छ
हाम्रो हिड्ने पुलपुलेसोमा
हाम्रो खेल्ने खेल-मैदानमा
बम पट्काउने कला सिकाइन्छ
मान्छेलाई दुःख दिइने प्रशिक्षण दिइन्छ
त्यसैले त आजभोलि
राज्यातंकले सीमा नाघेको छ
मृत्यु-मृत्युको प्रतिस्पर्धा चलेको छ ।
मेरी श्रीमतिले
मलाई चिठी लेखी
अब त
सहनुले सीमा नाघिसक्यो
अब त
धर्ैयको बाँध टुटिसक्यो
त्यसैले त हामी
दोसाँधको चौपतिमा बसेर
गम्न थालेका छौं
त्यसैले त हामी
बिचार र तर्कको बलेसीमा बसेर
बहस गर्न थालेका छौं —
कि बोलेर बाँचौं कि लडेर मरौं
कि सम्झौता गरौं कि व्रि्रोह गरौं
कि शान्त होऔं कि युद्ध लडौं
मेरी श्रीमतिले मलाई
यस्तै यस्तै
देशको कथा लेखी
नेपालको व्यथा लेखी
हो,
मलाई थाहा छ
तपाइँलाई पनि थाहा छ
अहिले हाम्रो देश दुःखीरहेछ
तर पनि हामी फगत
एउटा कविता कोरिरहेछौं
एउटा कविता पढिरहेछौं
बस पढि मात्र रहेछौं ।
अस्तु ।
-यो कविता साहित्य प्रतिस्ठान हङकङकोे तेस्रो कविता गोष्ठीमा अप्रतियोगीको रुपमा प्रस्तुत गर्न कारणबस नसकिएकोले यहाँ प्रस्तुत गरिएको छ ।)