~लीला उदासी~
१.
ऊ बनकी चरीजस्तै थिई
भुर्र उडेर रूख–रूख चाहार्थी
घरकी बहार थिई
किशोरी बितेर युवती हुँदै थिई
विचरी ! नारी पनि नबन्दै विवाहित भई
र पतिका घरमा समाहित भई ।
२.
साँच्चै, जहाँF ऊ जन्मी र हुर्की
त्यस घरका उन्नतिमा ऊ फुर्की
मझेरीमा, दलिनमा र भित्तामा
ढोकामा, झ्यालमा र शिशाहरूमा
सिकुवामा, पेटीमा र आँगनमा
मिसिई, पिसिई र भुलिई
तर क्षणभरमै विवाहपछि
त्यो घर, उसको घर भएन
त्यस घरमा पूर्ववत् उसको कुनै हक रहेन
त्यस्तै भयो जस्तो अरू विवाहित नारीको हुन्छ
हिजोको घर अब माइत भयो
त्यहाँ फगत माया हुन्छ
विचरीको अरू त्यहाँ के हुन्छ र ?
३.
तवसम्मको घरलाई माइत भनेर
पालेको गाई वस्तुजस्तै
पन्छी र सागपातजस्तै
बेचेपछि या बेच्न हिँडाएपछि
सिर्जना भएको विह्वलतामा
अलिकति भलमात्र थपिएको त हो
त्यो भलले अलिकति मल मात्र पाएको हो
माया, स्नेह र ममताको बल देखिएको मात्र हो
तर अविवाहित छोरीको जस्तो कहाँ माइत हुन्छ र ?
मझेरी, दलिन र भित्ताहरूलाई कहाँ छुन्छ र ?
वामे सरेको, तोते बोलेको, नाङ्गै-भुतुङ्गै हिँडेको
नाचेको, कम्मर भाँचेको
अनन्त इच्छा बोकेर सङ्लो जिन्दगी बाँचेको
फगत अब त सम्झनाहरू मात्र सम्झना हुन्छन्
अब त औपचारिकता पूरा गरेर
साइत हेरेर मात्र माइत जानुहुन्छ भन्छन्
साँच्चै आइमाईको माइत
जसरी निर्माण भएको हुन्छ सम्झँदा त
नरम-नरम मन भएकाहरूलाई त सम्झन पनि कठोर हुन्छ ।
४.
ऊ पनि विवाहित भई
पतिका घरमा समाहित भई
घर नपस्तै
पतिको गाउँको माटो ढोगी, हावालाई माया गरी
क्षितिज र आकाश हेरी
घर पसेपछि
पुर्खाको नासो स्याहार्छु भनेर कसम खाई
दलिनसँग, मझेरीसँग, भित्तासँग
छतसँग ,परिवारका पथसँग, माया लगाई
र नआँटेका ठाउँमा माइतीको माया खुस्काएर
घरको माया सिउरी
र ऊ
त्यस गाउँको, त्यस ठाउँको शरण परी
र भनी
यो गाउँ मेरो गाउँ हो, माटो मेरो हो
यो आकाश मेरो आकाश हो
यो क्षितिज मेरो क्षितिज हो
यो घर मेरो घर हो
र फेरि भनी –
जन्मन त म पहिल्यै जन्मिसकें
म मर्ने यहीँको माटोमा हो
मेरो शवयात्राको यही बाटो हो
मेरो लास जलाउने माटो र पखाल्ने पानी यहीँको हो
मेरो चित्ताको धुवाँ उड्ने यही आकाश हो
अलिकति माटो समाती र शिरमा चढाई
ऊ, यसरी त्यस घरकी भई ।
५.
अनेक उकालीहरू, ओरालीहरू आए
भुँवरी र हुरीहरू आए
एकाध खुसीहरू पनि आए
तर धेरै रोडा र पत्थरहरू आए
आफन्तहरू गए, पराइ भए
आकाश खसेका क्षणहरू पनि आए
तर घरलाई कुरूप हुन दिनु भएन
खुसीहरू च्यात्नु भएन
उसले आकाश उठाई
कुरूपतामा सुन्दरता रोपेर मन सजाई
गाउँलेहरूले खल्लो नमानून् भनेर
मधुर आवाजका बाजा बजाई
गाउँलेको खाँचो टार्न कतिपल्ट आफ्नै मन पनि भजाई
यसरी ऊ गाउँकी भई
क्षितिजकी भई,
गाँउलेहरूको रहर भई
उसका खुसीहरू थाती रहे
तर गाउँका खुसीहरू फक्रिरहे
सबैको खुसीलाई आफ्नो खुसी ठानी
के फरक पर्यो र ? जुन माटोमा जन्मे पनि
उसले त्यो माटोलाई नैं
सर्वस्व मानी ।
६.
यसरी निर्माण भएकी, ऊ एउटा इतिहास हो
अन्धकारमा गाउँलेहरूकी ऊ राँको हो
न गाउँमा पर्ने पराईको चोट सहन सक्छे
न त स्वाभिमान र राष्ट्रियताको विरुद्धमा उम्रने बोट सहन सक्छे
आफ्नै मात्र भूमिका लागि
बलिदान हुन सक्छे
ऊ गभीर छे
अहिले त
जसले जे भनून्
ऊ, इतिहास भएर पनि त्यस देशको सम्पत्ति हुन सक्छे।
७.
एउटा लामो कालखण्डसम्म
मान्छेहरूले उसको तपस्या हेरिसके
उसको मन – मस्तिष्क र सोच देखिसके
अनि त गाउँलेहरूले मन – मनमा उसको नाम रोपिसके
विश्वासले लपक्क वेरेर उसलाई आफ्नो मनमा सारिसके
तर केही दुष्टहरू त तुच्छ हुदाँ रहेछन्
आरिस र डाहले आफैँ जल्दा रहेछन्
अनि त तिनले एउटी वृद्ध महिलालाई भने
तिमी घरकी हैनौ, माइतकी हौ
तिमी गाउँकी हैनौ परदेशकी हौ
तिमी देशकी हैनौ विदेशकी हौ ।
८.
तर मेरो मनमा एउटा प्रश्न उठिरहेछ
महिलाहरूलाई वृद्ध अवस्थामा पनि यसरी डाम्न रहर गर्नेहरू
कुन तत्वले निर्मित हुन्छन् कुन्नि !
र उसको मस्तिष्कमा के भरिएको हुन्छ
हो, कसैले सक्छौ भने
दुवैको मन र मस्तिष्क जोख
कसका छातीमा देशको धेरै माया छ ?
कसका मुटुमा माटोको कति स्नेह छ ?
र उनको त त्यागको उदाहरण
देशलाई माया गर्ने पुस्ताले आफूभित्र साँच
र उनलाई माइतीकी भन्नेहरू !
कृपया बृध्दा – अवस्थामा माइत बस्ने रहरलाई
तिमी मनबाट भाँच ।
लीला उदासी
चारपाने –१, झापा
(स्रोत : कविको कविता सङ्ग्रह “यो झापा हो“बाट सभार)