~मञ्जु काँचुली~
शब्दहरू झुट पनि हुने गर्छन् । अनर्थ, बहुअर्थ र कुअर्थ लगाइने पनि हुन्छन् । सही अर्थ दिने शब्दहरू बहुत् दुर्लभ हुन्छन् । दिन र दिमागले नसोचेका कुराहरू शब्दमा चिप्लिएर मान्छेको व्यक्तित्वलाई कुरूप बनाइदिन्छन् । साँचो कुरा झुटो ठहर्न पुग्छ र झुटो चाहिँ साँचो ठहर्न पुग्छ । शब्द किन सधँै दिलको ऐना बन्न सक्दैनन् । धेरैचोटि मैले शब्दलाई बुझिन र शब्दले मलाई । मेरो र शब्दको अबुझतामा धेरै ठेलीठेली बहस गर्यौँ हामीले र पनि हामीले एकले अर्कालाई बुझ्न र सहीरूपमा अर्थ्याउन सकेनौँ । मलाई शब्दसँग वैराग्य उत्पन्न भयो । त्यसैले त म कैयौँ दिन कसैसँग नबोलेर मौन बसेँ र एक शब्दसम्म पनि कलमको थोपा अक्षरको रूपमा कापीमा चुहाइनँ । शब्दसँग मलाई चित्त दुख्यो र विरक्त लाग्यो । आखिर मेरो जीवनसाथी भन्नु नै त शब्द थियो । शब्दले नै मलाई सहीरूपमा नव्यक्ताउने भएपछि अब साँचो सम्बन्धको अर्थ के पो बाँकी रहृयो र ।
राम्रा सम्बन्धको बीचमा अँध्यारो मध्यस्तकर्ता भएर किन आउनुपर्यो शब्दलाई ? आहा ती शान्त र स्थिर वनस्पति कुनै मध्यस्थकर्ताविना कति सुन्दर जीवन बिताउन पाउँछन् । वन्यजन्तु जति त शब्दविना नै सरल र आत्मीय जीवन बाँच्छन् । शब्दले मानिसलाई नराम्ररी बिगार्यो, अनि कुरूप बनायो । शब्दलाई अनेक अर्थ, ध्वनि, घनत्व, विचलन आदिले धमिल्यायो । कसैले मैले बोलेको शब्द होइन, ध्वन्यात्मक अर्थ, बिम्बात्मक अर्थ लगाएर कुअर्थमा बुझे । शब्दले धोका दियो । अब कसलाई उजुरी गर्ने जब कि शब्द नै प्रमाणको अधिनायक भएर झुटो वकालत गर्न र साक्षी बक्न फुर्तीसाथ उभिन्छ । सबैले बुझेको, मानेको, जानेको अधिनायक शब्दको रजाइँ चलेको दुनियाँमा अल्प शब्दका निमुखालाई कसले सुन्ने ? सुनेपछि अल्प शब्द अनेक कुअर्थमा अर्थ्याइन सक्छ । धिक्कार छ शब्दसँग सम्झौता गर्नु ! भो अब म बोल्दिन शब्द, यस वायुमण्डलमा ! भो कोर्दिन शब्द म यो सफा कापीमा ! बरु चित्र भए स्वच्छ भाव बोल्थेँ हुँला तर कपटी र जाली शब्दले मलाई नै धमिल्याइदियो । शब्दले हृदयको सही प्रवाह धान्न नै सकेन ।
मैले बोलेका शब्द हावामा उड्दै नदी पार गरेर पारि किनारामा बालुवासँग विस्तृत बन्दै फैलियो । मैले त्यस्तो के बोलेको थिएँ र ठूलो हुरी बताससँग कालो बादल मडारियो । घनघोर भयो आकाश । गडगडाउन थाल्यो आकाश । आकाशबाट बिजुली र चट्याङका हुरी र ढुङ्गा, बज्रपात र गोलीहरू बर्सन थाले ममाथि । यो कसरी, के भयो भनिठानेको त शब्दले मलाई छल गरेको रहेछ । फेरि कुनै बेला नजिकैको क्षितिजमा इन्द्रेणी साँझको घामसँग मुस्कुरायो जब कि मेरो शब्द त्यो मुस्कुराहट हेर्नको लागि पनि थिएन । मलाई सहीरूपमा नबताउने शब्दको के काम ? सबै शब्दहरूलाई एउटै पोको पारेर विष्णुमती पारि फ्याँकिदिन मन लाग्यो । हे भगवान्, बरु मलाई वनस्पति, जीवजन्तु, पक्षी, कीरा-फट्याङ्ग्रा वा जडीबुटी बनाइदेऊ । त्यसो हुँदा मेरो सेवाको पनि र सत्यको पनि केही हद सही अर्थ लाग्नेछ ।
विश्वविद्यालयहरू, पुस्तकालयहरू, महापुरुषका वाणीहरू, अनुभवी पुर्खाका कहावतहरू, ऋषिमुनिका अर्ती उपदेशहरू, शिक्षा प्रणालीहरू, बाललीलाका शब्दहरू, कैयौँपल्ट बुजु्रकहरू, अज्ञानीहरू र अति गहिरो चिन्तन गर्नेहरूले कुअर्थ्याइएका छन् र अनर्थ्याइएका छन् । न त शब्दले घाउ लगाउनु नै थियो, न त शब्दले मलहम लगाउनु नै थियो । भो यो तुच्छ शब्दको कुरा नगरौँ । शब्दभन्दा सम्बन्ध र स्वाभाविक अर्थ धेरै माथि छ । मानव मूल्यका भावना, समवेदना र विचारलाई तुच्छ शब्दमा अवमूल्यन नगरौँ । शब्दले गर्दा अदालत भई पनि न्याय विचलित भएको छ । अपराधीले दण्डहीनताको अवसर पाएको छ । निरपराधीले अपराधको टीका लगाउनु परेको छ । जाली शब्दका झिलीमिली बुट्टाले निर्दोषीलाई कतिपल्ट, विनाअपराध दण्ड दिएको छ । शब्दका कति छली रूपहरू छन् । शब्दको आडमा दुनियाँमा ठूलाठूला पारदर्शी हीनताका व्यापार भएका छन् ।
कसले तौलन सक्यो र शब्दलाई ? कहाँ तराजु ठीक मिलाउन सक्यो र सुन्ने र बोल्नेले ? अबुझताका भण्डारहरू, समाज, सभ्यता र संस्कारका रुढीवादी व्यवहार, हिंसा र व्यक्तित्व संहारहरू ! ती सबै शब्दका आड पाएर होइनन् र ? प्रभु, बरु मलाई लाटो र शब्दहीन नबनाइदेऊ यसैले कि म आफ्नो स्वाभाविक ढाँचामा मन, बुद्धि र चेतनाको विकास गर्न सकूँ । आजकल म शब्द मितव्ययी भएको छु। यसैले कि थोरै बोल्दा सुन्नेको अबुझताको प्रतिशत पनि कम हुन जानेछ भन्ने नैराश्यपूर्ण तर्कले । शब्दमा अलङ्कार छ, ध्वनि छ, बिम्ब छ । कहिलेकाहीँ शब्दमा नभएका अलङ्कार, ध्वनि र बिम्ब खोजिने गरिन्छ । अन्जानमै आफू भ्रमित हुने र अरूलाई भ्रमित बनाइने गरिन्छ । यस्तो अप्रत्याशित नै हुने गर्छ ।
भो मलाई अब शब्द चाहिएन ! शब्द सन्न्यास लिने सोचमा बेलाबेलामा म शब्दहीन भएको छु । मैले शब्दलाई मनको प्रतिबिम्ब ठानेँ र ठूलो भुल गरेँ । शब्द ऐना भए पनि यो छली ऐना पो रहेछ । सङ्लो मनलाई धमिलो, तीखो, धारिलो वा भुत्ते देखाइदिने । शब्दले म बलिरहेको आगोले वा तातो फलामले वा पोल्ने सिस्नोले झैँ गरी ज्यादै नजिकबाट र नजिकिनेबाट पोलिएको, डामिएको र पिल्सिएको छु । मैले ‘ऐया, पोल्यो !’ भन्दा शब्दले त्यो दर्द र पीडा बोल्न सकेन, देखाउन सकेन । कोहीकोहीले उनीहरूका आफ्नै अनुभवलाई आत्मसात् गरेर मेरो दर्दनाक शब्दमा संवेदनाको रङ खोजे र अर्थ लगाए जसले सही अर्थ नै दिन सकेन ।
बोल्ने जीवभन्दा नबोल्ने निर्जीव वस्तु अझ राम्रोसँग बुझिएको छ । हिमाल, पहाड, चट्टान, नदी, खोला, जङ्गललाई विज्ञानले अनेक तरहले बुझेको छ, बुझाएको छ अनुसन्धान गरेको छ । मानिस प्रकृतिमा कति राम्ररी रमाएको छ । न त हिमाल, पहाड, चट्टान, नदी, जङ्गलले मानिसलाई वा मानिसले तिनीहरूलाई नबुझेर शब्दद्वारा बखेडा निकालेको छ । प्रकृति, जीवजन्तु, कीरा-फट्याङ्ग्रा, पक्षी, वनस्पतिले मानिसलाई इको सन्तुलनद्वारा स्वच्छ वातावरण तयार गरिदिएको छ । तिनीहरूलाई बरु मानिसले नै कलुषित पारेको छ ।
मानिस किन एक अर्कालाई शब्दले बुझ्नु वा नबुझ्नु भन्दामाथि उठ्न सकेन ? आफ्नाका लागि र तिनीहरूका लागि धेरै गर्न सक्ने मानिसले किन त्यस्तो उल्लेखनीय केही काम गर्न सकेन ?! धेरै केही गर्नुपर्ने थियो आफ्ना र अर्काका लागि तर किन ज्यादै थोरै मात्र गर्न सक्यो । ओहो ! सबै शब्दले अल्मलायो बाटो छेक्यो हरेक मोडहरूमा अनेक अबुझता ल्यायो शब्दले बिगार्यो ।
झुटको सङ्ग्रहको वकपत्र सुन्नुभन्दा चुपचाप सत्य लाटै भएको बेश । झुटको राजमा सत्य डराउनुभन्दा निःशब्द बाँच्नु बेस । कुनै आधिकारिक शब्दको आश्वासन वा आडमा कुकर्मको हुरी बतास र भेलमा हेलिनुभन्दा त्यस्ता शब्द नसुनेकै बेस ।
बालक उमेरदेखि नै जब म घरमै उपलब्ध पत्रपत्रिकामा अन्तर्राष्ट्रिय सङ्गठनहरूका विशिष्ट व्यक्तित्व तथा नेताहरूका अङ्ग्रेजी भाषामा छापिएका भाषण पढ्ने गर्थें तिनीहरूका भाषा, शब्द र अर्थहरू सोचेर चकित हुने गर्थें । शब्दमा कति धेरै तागत छ भनेर म अत्तालिने गर्थें । कोहीकोही भाषण त विचार र शब्द प्रवाहका ढाँचाबाट मोहित हुँदै म दोहोर्याई, तेहेर्याई पढ्दै र प्रभावित हुँदै जाने गर्थें । विशेष गरेर विश्वमा बढ्दै गरेको हात हतियारको सीमितीकरण, रङ्गभेद नीतिको अन्त्य अनि शान्ति र सुरक्षाका पक्षमा बोलेका तिनीहरूका भाषणका शब्दहरू पढेर म चकित पर्थें । त्यतिबेला विश्वमा शीतयुद्ध चलिरहेको थियो । यतिबेला चिसो र तातो दुवै युद्ध एकैसाथ अघि बढेका छन् र विश्व विभाजनको ढाँचा तरल अवस्थामा छ । विश्व भूमण्डलीकरणलाई अर्थ व्यवस्थाले धेरै गाँजेको छ । कूटनीतिक सम्बन्ध र शब्दको चलायन आवश्यकताको आधारमा हुने गरेको छ ।
विषयका घडा हृदयभित्र बोकेर अमृत दलेको ओठबाट अमृतकै कोटिङ लगाएका शब्दहरू थुप्रै सन्दर्भमा नजिक वा टाढाका केही व्यक्तिहरूबाट प्रशस्त सुनेको छु, अभ्यस्त छु । शेक्सपियरले भन्थे- ”संसार नाट्यशाला हो ।” म पनि ती झुटा अभिनयका शब्दहरूमा साँचो मुटु खोजिरहेको थिएँ । पत्याउँदा म मुख्र्याएको थिएँ । त्यतिबेला पनि तिनीहरूका झुटा शब्दहरूले नै जिते र म हारेँ । कहिलेकाहीँ हार पनि जीत नै हुन्छ भनेर अर्काथरिले हौस्याए, म जिल्ल परेँ । शब्दले मलाई अर्थ्याउनै सकेन । उनीहरूका शब्द सायद मैले बुझ्नै सकिनँ । शब्द ब्रहृम वा शब्द देवता भएको भन्दा मैले त शब्द राक्षस भएको धेरै अनुभव गरेको छु । शब्द चहर्याउने सिस्नो भएको र शब्द च्वास्स घोचेर घाउ बनाउने नीलकाँडा भएको अनुभव गरेको छु । कुकुरको मासु बिकाउन तयार भएको शब्द खसीको टाउको प्रदर्शित भएको यत्रतत्र देखेको छु । जुन कुरा देखिन्छ, त्यो भएकै हुँदैन, जुन सर्वत्र सुनिन्छ वा देखिन्छ त्यो घटेकै हुँदैन । भन्नुहोस् तपाइर्ँहरू नै म कसरी शब्दलाई पूर्णविश्वास गरुँ ? त्यसैले होला आजकल म निःशब्द भएर ध्यानमग्न हुँदै गइरहेँछु । जब मेरा शब्द वरपरका चर्मकर्णले ठीक सुन्दैन वा अर्थ्याउँदैन, ठूलो छलफल, गोष्ठी र बहसको बीच पनि म मौन नै रहने गर्छु र आजकाल यही जानेको छु-शब्दको आडमा आखिर सत्यको हार नै हुन्छ ।
शब्द बोल्न शब्द चाहिँदैन । के ताजमहल आफैँ एउटा चुपचाप शब्द होइन र ? त्यस्तै विकसित राष्ट्रका म्युजियममा सजिएका भ्याङ्गो, पिकासो आदिका कलाकृति आफैमा कति प्रस्ट शब्द होइनन् र ? स्वदेश वा विदेशका शास्त्रीय, आधुनिक र लोकलयहरू पनि आफूलाई छर्लङ्ग बुझाउने शब्द तरङ्ग होइनन् र ? भाव भङ्गीपूर्ण शास्त्रीय, आधुनिक र लोकनृत्यहरू के शब्द होइनन् र ? बोल्नलाई किन शब्द नै चाहियो र ? खेल जगत्का भकुण्डो, भलिबल, बास्केटबल र टेबुलटेनिसका बलहरू शब्दभन्दा धेरै स्पष्ट छैनन् र ?
तर कपटी, छली, बहुअर्थी, जाली शब्द नै कहलिएका शब्दहरू अति अस्पष्ट छन् । लोग्ने, स्वास्नीको ‘तलाक’, अदालतको गलत फैसला, मास्टरजीको दण्ड सजाय, अधिनायकका हुकुम आदि कति कहाली लाग्दा निष्ठुर शब्द हुन् । यदि केवल शब्दै मात्र फेरिइने र बाँझिने हो भने हामीलाई त्यो नयाँ बन्ने संविधानमा धारा र उपधाराहरूका शब्द पनि चाहिएन । कहिलेकाहीँ त बोलिएका शब्दहरूभन्दा नबोलिएका शब्द र भाव धेरै मीठा र सत्य हुन्छन् । यस्तो कुरा सायद व्यावहारिक नहोला तर एकान्तमा ‘माया गर्छु’ भन्नेले एकान्तमै हिंसा पनि गरेकै छ । अनर्थमा अर्थ खोज्नुपर्ने हो भने शब्दको पो के मूल्य भो र ?
कति मानिसहरू एक पश्चिमी दार्शनिक बट्रान्ड रेसेलले भनेजस्तै भन्दा हुन्,- विज्ञानलाई दोष दिनुभन्दा त्यसको सदुपयोग (सिर्जना) वा दुरूपयोग (संहार) गर्ने चलनलाई महानता वा तुच्छता सम्झनु पर्छ वा अक्षरको पनि सही उपयोग गर्न जान्नेले जस पाउँछ र उपयोग गर्न नजान्नेले दुःख पाउँछ । यस सन्दर्भमा कतिपय मञ्चहरूमा मैले, अर्काका शब्दलाई भौतिकी र आसुरीरूपमा प्रकट भएको भोगेको छु । तिनीहरूले शब्दलाई दुनियाँको माइकमा नचाएर असम्भव फलहरू पनि चाखेका हुन्छन् । कतिले शब्द हतियार बनाए र कतिले चाहिँ मलहम । अर्काथरिले शब्दलाई कठोर र अतिवादी सिद्धान्तको होडबाजीमा होमेर विश्व, परिवार, समुदाय, समाज र देश विभाजन गरे । राज्य र जीवनका विभिन्न फाँटहरूमा आज शब्दयुद्धको होडबाजी, खिचातानी बढ्दो र चढ्दो अवस्थामा छ । त्यसो त शब्द दमन गर्नेहरूले कार्य वमन पनि गर्ने गर्छन् । दमन र वमनका संयमीहरू जुनसुकै क्षेत्रमा पनि मध्यममार्गी हुने गर्छन् ।
म भने आफ्ना र अर्काका शब्द क्रमशः बोल्दै र सुन्दै गर्दा प्रशस्त थाकेको छु । राता, नीला, हरिया, पहेँला, प्याजी, बैजनी र काला शब्दहरू यत्रतत्र नीति, योजना, निष्कर्ष र कार्यमा आ-आफ्ना ठाउँमा आफ्नाआफ्ना ढङ्गमा विभाजित छन्, विकसित छन् । मैले भने- ”कम बोल्नू विस्तारै बोल्नू मीठो बोल्नू” भन्ने कहावत मुटुमा टाँसेको छु । त्यसैले मलाई आजकल क्षर र अक्षरभन्दा पर अर्कै अनन्त जगत्को सैर गर्ने चाहना हुन्छ जुन कि शब्दभन्दा फरक, विराट, शुद्ध र रमणीय छ ।
(स्रोत : मधुपर्क २०६७ जेठ)