कविता : अब म आफैँ लेख्छु मेरो सहरको कथा

~इश्वर देवकोटा~

अब म आफैँ लेख्छु मेरो सहरको कथा
जहाँ,
फाटेकै लुगाले भोको पेट ढाकिन्छ,
पटुका कसेर पापी रात काटिन्छ
निर्दोष हरु नर्कमा जाकिन्छ
अपराधका नाइके कुर्चीमा डाकिन्छ……!!

अब म आफैँ लेख्छु मेरो सहरको कथा
जहाँ,
पानीको तिर्खा मदिराले मेटिन्छ
उन्मादको तालमा आफन्त रेटिन्छ
पैसाको लोभमा अस्मिता बेचिन्छ
यो कथा सत्य छिमेकमै भेटिन्छ !!

अब म आफैँ लेख्छु मेरो सहरको कथा
जहाँ,
राज्यको ढुकुटीमा कुकुर नि पालिन्छ
जनताको वस्ती पो डोजरले फालिन्छ
साचो कुरा बोले जेलमा हालिन्छ
न्यायको आँखामा पट्टीले टालिन्छ !!

अब म आफैँ लेख्छु मेरो सहरको कथा
जहाँ,
आस्वासन को पोको हरबखत बाडिन्छ
जन्मिदै नागरिक ऋणमा गाडिन्छ
घुस खोर भ्रष्ट स्वतन्त्र छाडिन्छ
तिनकै सम्मानमा विभूषण बाडिन्छ !!
-2012-06-15

– इश्वर देवकोटा ,
पङ्द्रुङ्-०१, गोर्खा जराङ

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.