नियात्रा : आहा सभापोखरी !

~एकु घिमिरे~

सभापोखरीमा घुमेको कथा यो
सभापोखरीमा डुलेको कथा यो ।
सभापोखरीमा भुलेको कथा यो
सभाको जलैमा घुलेको कथा यो ।।

प्राकृतिक सुन्दरता र भौगोलिक बिकटताको मिश्रणबाट बनेको ठाउँ हो सभापोखरी । समुद्री सतहवाट ४२२० मिटर उचाइमा रहेको सो पोखरी सङ्खुवासभा जिल्लाको सभापोखरी गाउँपलिकामा पर्दछ । जलजले हिमाललाई दायाँ पारेर जाँदा हामी करिब ४४०० मिटरसम्म पुगेर रोमाञ्चक यात्रा गर्न सक्छौँ जुन उचाई संसारको अग्लो पर्वतको करिव आधा हो । म वि.सं. २०७३ को श्रावणमा पहिलो पटक सभापोखरी यात्रामा निस्केको थिएँ । सो यात्राको संस्मरण मैले ‘चुहुँदो झरीमा चुलीतिर’ भन्ने शीर्षक दिएर लेखेँ अनि आफ्नै ब्लगमा प्रकाशित गरेँ । सो यात्रा संस्मरण धेरै जनाले पढिदिनुभयो । म मख्ख परेँ । मेरो जागिर हिमाली जिल्ला सङ्खुवासभाको चैनपुरमा थियो । २०७४ कार्तिकको एक साँझ प्राज्ञ उपेन्द्र पागलले फोन गर्नुभयो । मलाई फुटकर रचना मात्र हैन खण्डकाब्य लेखनमा लाग्न सुझाव मात्र हैन दवाव नै दिनुभयो । मैले प्रयास गर्छु भनिदिएँ । दाइ खुशी हुनुभयो । त्यसपछि उहाँले पटक पटक खण्डकाव्य लेखनको प्रगति सोध्न थाल्नुभयो । मैले सोच्दैछु भनेर झुट जवाफ दिइरहेँ । २०७४ मा गरिएको सभापोखरी यात्राको संस्मरण लेखिएकै थिएन । अब उपेन्द्र दाइको मान राख्न मैले सभापोखरी क्षेत्रकै खण्डकाव्य लेख्ने सोच बनाएँ । सो खण्डकाव्यको एक श्लोक माथि लेखेँ । यात्रा एकदम कठिन तर ठाउँ एकदम राम्रो भएको हुँदा खण्डकाव्यको अर्को अंश यस्तो लेखेँ :

अहो ! बस्न पाए हुने त्यै धरामा
अहो ! मर्न पाए हुने त्यै धरामा
मरे स्वर्गमा मर्न पाइन्छ के भो ?
बचे स्वर्गमा बाँच्न पाइन्छ के भो ??

वास्तवमा सभापोखरी पुग्न निक्कै कठिन छ तर पुगेपछि फर्कनै मन लाग्दैन । बाटामा कता कता आउने भीर, पहिरो अनि लेक लाग्ने समस्याले त्यतै पो मरिन्छ कि भन्ने डर पनि पैदा गरिदिन्छ । जब हामी पोखरी भएका ठाउँमा पुग्छौ तब त्यहीँ बसेर यो जीवन बिताउन पाए हुन्थ्यो जस्तो लाग्छ । तर कार्तिक नलाग्दै त्यो ठाउँ हिमालमा बद्लिन्छ । हिमालमा त सधैँ बस्न सकिँदैन । तर मनको एउटा कुनामा यस्तो ठाउँमा मर्न पाए झन मज्जा, अखिर मर्नु त छँदैछ एक दिन भनेजस्तो विचार पनि पलाउँदो रहेछ । बाटाका अनेक दु:ख हराएर त्यहाँ पुगेपछि शरीर नै हलुका भएको जस्तो लाग्दो रहेछ । अफैँलाई आफू अर्कै मान्छेमा रूपान्तरण भएको अथबा आफ्नो चोला नै बद्लिएको जस्तो लाग्दो रहेछ । मनमा अनेक कुरा आए तर पद्यमा मिलाएर लेख्न सकिनँ । मेरो खण्डकाव्य लेखन अघि बड्न सकेन । उपेन्द्र दाइ पनि वाक्क भएर होला त्यसबारे कुरा गर्न छोड्नुभयो । यसो हुँदा मेरो खण्डकाव्य लेखनमा झन सुस्तता आयो । पहिलो पटकको यात्रामा गएर मैले जुन संस्मरण लेखेँ त्यो पढेर इलामका दुई साथी पनि पछिल्लो यात्राका लागि थपिए । अघिल्लो यात्रामा आँट नपुगेर नगएका एक विराटनगरका मित्र पनि दोस्रो यात्राका सहयात्री बने । पहिलो पल्टका दुई साथी यो यात्रामा सामेल हुन सकेनन् तर मादीका मित्र ऋषिकेष पोख्रेल र मेरो चाहिँ सभापोखरी भ्रमण दोहोरियो । यसरी पाँच जनाको टोली बनेर दोस्रो सभापोखरी यात्रामा निस्कँदा इलामबाट आएका पर्यटन व्यवसायी भाई रुद्रले भिडियो क्यामेरा म तर्फ फर्काएर सोधे

‘ दाइ यो पालिको पनि यात्रासंस्मरण त पक्कै आउँछ नि ? बरु हामीले कहिले पढ्न पाउँछौ ? यो भिडियो हेर्नेे दर्शक जान्न चाहन्छ !’

हामी श्रावण १२ गते बिहिबार चैनपुरबाट त्यो लेकाली यात्रामा निस्किएका थियौँ । मलाई यात्रा संस्मरण लेख्न अलिक अल्छि लागेर हो कि किन अलिक समय लाग्छ । तर पोहोरको संस्मरण पढेर आउने भाइहरूलाई यसपालि पनि लेखिदिए हुन्थ्यो भन्ने लागिरहेको मैले बुझेको थिएँ । त्यसैले कुटिलतापूर्वक जवाफ दिएँ :

‘ २०७४ साल भित्रै आउला । यो भिडियो चाहिँ कहिले आउँछ नि ? कि मेरो गजलसङ्ग्रह विमोचन कार्यक्रमको जस्तो कहिल्यै नआउने हो ?’

‘ हैन त्यो त धरु भाइले झुक्किएर डिलिट गरेछ र पो आएन त, यो त दशैँभन्दा अगाडि नै निकालिहाल्छु ।’

हामी दाजुभाइको गफ सुनिरहेका धरानमा शिक्षण गरिरहेका इलाम फिक्कलका मनोज ओस्तीले मलाई लक्षित गर्दै भने:

‘ हैन महाभारत नै लेख्ने हो क्याहो भिनाजु, श्रावणमा गरेको यात्राको संस्मरण लेख्न चैत्रसम्म लाग्छ त ? ’

सबैजना हाँसे । मैले पनि हासोमा हा हा मिलाइदिएँ । पहिलो दिन हामी चैनपुरबाट अबेर गरी उकालो लाग्यौँ । त्यो दिन दुई–तीन घण्टा हिँडेर मयुम भन्ने गाउँमा पुगी वास बस्ने योजना थियो । यात्रामा पानी परिरहने भएकाले जुत्ता लगाएर जाँदा छाला चाउरी परेर घाउ बन्ने, चफ्ली लगाएर जाँदा चुडिने, चिप्लिएर लडिने अनि खुस्किरहेर ढिलो हुने भएकाले जुत्ता जस्तै तुना बाँध्न मिल्ने तर चफ्ली जस्तै पानी पनि नजम्ने प्लाष्टिकको जुत्ती लगाउने निर्णय गरिएको थियो । बिराटनगरका साथीले किनेको जुत्तीले हिजो तयारीका लागि लगाएर एकछिन हिँड्दैमा खुट्टामा घाउ बनाइहालेछ, चैनपुरको त्रिचौकबाट अरु तीन भाइ अघि लागे । उनी त खुट्टामा घाउ भएकाले हिँड्नै सकेनन् । उनैले हाम्रो अफिसमा मोवायल पनि छोडेछन् । यात्रामा निस्केको मान्छे फर्कनु राम्रो हुँदैन भन्ने रुढिलाई मानेर उनी पछि जान पनि सकेनन्, अघि बड्न पनि चाहेनन् । मैले छोरो सुयोगलाई फोन ल्याइदिन फोनबाटै अह्राएँ अनि नजिकैको जुत्ता बनाउने पसलमा गएर साथीको जुत्तीले घाउमा छोएर दुखाइरहने भाग काट्न लगाएँ । अब साथीको घाउ त नदुख्ने भो तर जुत्ता चाहिँ मारुनीको ढँटुवारेको जस्तै विरूप देखियो ! सुयोगले मोवायल पनि ल्याइपुर्‍याए । थुप्रैले सभापोखरीमा चढाउन पठाएका भेटी गोजीमा हाल्दै हामी दुई हत्तारिएर अघि बड्यौँ । हामीले यात्राको शुरुमै ढिलो गरेकामा रिसाएका साथीहरू विराटनगरे मित्रको जुत्तीको अवस्था हेरेर हाँस्न थाले । यहाँ काटिएको जुत्तीले हास्यरस उत्पन्न गर्न उद्दीपन विभावको काम गऱ्यो ।

हामी भिडियो अनि फोटो खिच्दै उकालियौँ । सबैका एघार किलोभन्दा धेरै गह्रौ झोला थिए । रुद्र र मनोजका लागि यात्राका हरेक ठाउँ नयाँ थिए । हामी तीन त यहीँका रैथाने शिक्षक –कर्मचारी थियौँ । वि.सं. १९९० मा गएको भुकम्पको केन्द्रविन्दु भनिएको ठाउँलाई कैद गर्दै हामी संङ्खुवासभाकै सबैभन्दा जेठो कलेज सङ्खुवासभा बहुमुखी क्याम्पसको छेउबाट कच्ची सडकमा हिँडिरह्यौँ । बादल मडारिएर कालो भएको आकाशले एकैछिन अभिषेक पनि गर्‍यो तर हाम्रो यात्रामा रोकिएन । एउटा दोकानमा अलिकति खाजा र पानी च्यापेर हामी पोखरी बजार पुगी किन्न बाँकी रहेको ओड्न मिल्ने प्लाष्टिक किन्न थाल्यौँ । पोहोर पनि सभापोखरी यात्रामा गएको अनुभवका आधारमा सबैलाई के के व्यक्तिगत सामान बोक्नुपर्छ भन्ने जानकारी मैले कम्प्युटरमा टाइप नै गरेर सबै साथीलाई दिएको थिएँ । हामी दुई त अनुभवी नै थियौ, दुई इलामेलीहरूले हाम्रो भनाइलाई मानेछन् । विराटनगर त ठूलो शहर, त्यहाँ जन्मे हुर्केका मित्रले त्यस्ता साना सुझाव याद गरेनछन् । एकदम साँघुरो निलो जिन्स पेन्ट लगाएर हिँडेछन् । एक घण्टा हिँड्दै साथीलाई काछ लागिहालेछ । सबैका झोलामा हाफप्यान्ट थिए तर उनले त बोकेनछन् । रुद्रजीले जिस्किएको पारामा भने :

‘ अघि चैनपुरमा दाजुले जुत्ती काटिदिनुभयो, अब हामी तपाईँको प्यान्ट काटिदिन्छौँ ।’ रुद्रको कुराले सबैजना हाँसियो । यो हासोको दवाबका साथमा सबैले कर गरेपछि उनले बल्ल एउटा हाफप्यान्ट किने । अब यहाँभन्दा माथि चाहिएको सामग्री किन्न पाइदैनथ्यो । बाटो पनि हामी पोहोर जानेबाहेक अरूका लागि नौलो थियो । उकालो जानुपर्ने । क्रमश: घाम पँहेलिदै गयो । हामी आकाशतर्फ गइरहँदा घाम जमिनतर्फ झर्दै थियो , त्यसको कान्ति घट्दो थियो भने हाम्रो श्वास र अनुहारमा रातोपना बड्दो थियो । निक्कै माथि पुगेपछि मित्र ऋषिकेषले सबैलाई पर्‍याङ् भन्ने हलुका बाँसको प्रजाति प्रयोग गरी लौरो बनाइदिए । बिराटनगरका साथीले भारीमाथि लौरोको भारी नथप्ने अड्डी कसे । यहाँभन्दा माथि पर्‍याङ् नपाइने हुँदा पोहोर पनि काठका गह्रौ–गह्रौ लौरा बोक्न बाध्य भएको कुरा बताएपछि बल्ल साथीले लौरो समाते । साथीलाई लौरोले यात्रामा साथ दिन्छ भन्ने अझै विश्वास लागेकै थिएन । यी सब घटनालाई खण्डकाव्यमा लेखेर देखाउन तम्सेको म झुसेको पद्य बोत्तलबाट पानी खन्याए जस्तो आउँदै–रोकिँदै ,रोकिँदै– आउँदै गरिरह्यो । यहाँनेर पुग्दा साँझ परेको अवस्था सम्झिएर लेखेको श्लोक यस्तो रहेछ :

रन–बन सब थर्क्यो, झ्याउँकीरी करायो
थर–थर–थर गोडा, जीउ नै लर्खरायो ।

अब आँखा नदेखिने साँझ पनि परिसकेको थियो । एउटा सानो लेकाली जङ्गलमा फलेको घँगरु टिपेर खाँदै हामी मयुम भन्ने शेर्पाहरूको बाहुल्य भएको शान्त बस्तीमा पुग्यौँ । गतसाल आउँदा खाजा खाएर गएको साइनो लगाउँदै बाटो मुनिको एउटा घरमा बास माग्यौ । शेर्पा परिवारले हार्दिकताका साथ हामीलाई सिकुवामा सुत्ने र गोठमा पकाउने प्रवन्ध मिलाइदियो । उनीहरूकै घरमा एउटा कुखुरो पनि किनियो । रुद्र र ऋषिले कुखुरो काटुन्जेलमा मैले खाना पकाएँ, गुन्द्रुक पनि उमाले । अन्य दुई साथीले पानी, दाउरा, शेर्पा परिवारले दिएका भाँडाकुँडा आदि ओसार्ने काम गरे । हामी यहाँ आइपुगेदेखि नै सानो पानी पर्न थालेको थियो । हामीले बोकेको खाध्यान्न सामग्रीले नपुग्ला भन्ने डर अनि शेर्पा परिवारलाई पनि अलिक आमदानी होस् भनेर चामल, नून, घिउ किनेर चलाउने काम गरियो । हामीसँग पुन्टे सिलिण्डरमा ग्याँस थियो । ग्याँस बचत गर्ने हुँदा आगोमा खाना पकाउनु परेपछि घरवेटीको कसौडी र कराइ पनि प्रयोग गरिए । पानी अलिक बिदो भएपनि चिसो हावा चलेको थियो । शेर्पा दाइको आँगनको लुङ्दर बौदिष्ट मन्त्र गाइरहेको थियो । गोठको अँगेनुमा लोकल कुखुरो पाक्न निक्कै समय लाग्ने निश्चित थियो । त्यही खाली समयमा टोलिकै फुर्तिला साथी ऋषिकेष शेर्पाको घरभित्र गएछन् । ठूलो कराइमा निक्कै भुटन मजाले भुट्दै गरेका शेर्पालाई एक–दुई प्लेट हामीलाई पनि बेच्न अनुरोध गरेछन् । तर जति ढिप्पी गरे पनि शेर्पा दाइले दिन मानेनछन् । भोकले आकुल भएका बेला भुटन किन्न माग्दा नपाएका मित्रले हामीलाई पनि गुहारे । किटको ठूलो कराइमा आधाभन्दा धेरै रक्ति मिसिएको भुटन पकाएर अगेनाको छेउमा राखिएको थियो । हामीले पनि शेर्पा दाइलाई अनुरोध गर्‍यौँ । तर उनले कसैगरी त्यो भुटन हामीलाई दिन मानेनन् । लुङ्दरको फेदमा पुगेर टोलाइरहेका शेर्पा दाइले खस्याकखुसुक गर्दै भने:

‘मैले तपाईँहरूलाई यो खान दिएर पापको भारी बोक्न सक्दिन । अब आफैँ कुरा बुझ्नुहोस् ।’

जनै पूर्णिमा छेक सभापोखरी जाने हामी चुच्चा नाक भएका हिन्दुलाई शेर्पा परिवारले म्लेच्छ हुनबाट जोगाएको रहेछ । पछि कुरा गर्दे जाँदा थाहा भयो त्यही दिन अलिक माथि भीरमा गोरु लडेर मरेको रहेछ । मरेको गोरु त्यहाँ यसरी नै सदुपयोग गर्दा रहेछन् । हामीलाई वास दिएर यत्रो सत्कार गरिरहेका बौद्धमार्गी शेर्पा परिवारले देखाएको यो धार्मिक सहिष्णुताको प्रशंशा म कुनै शब्दले पनि गर्न सक्दिन । पढेर शिक्षित भएकाले हैन धार्मिक सहिष्णुता यसरी परेर बुझेकाले मात्र वास्तविक रुपमा देखाउँदा रहेछन् जस्तो लाग्यो । त्यस्तो कर गरेर माग्दा पनि अर्काको धर्म वचाइदिन उनीहरूले आफ्नो गोपनीयता खोली–खोली हामीलाई त्यो मासु दिएनन् । आफ्नो धर्म भनेको अरूको सँस्कृतिलाई जोगाइदिनु हो भन्ने दिलैदेखि बुझेका यो शेर्पा परिवारका सदस्यलाई मनमनै सम्मान गरेँ मैले । यसपछि हामीले हाम्रो संविधानका बारेमा पनि केही बहस गर्‍यौँ, शेर्पा लगायतका जातिको सँस्कृतिका बारेमा पनि उनीहरूसँग जानकारी लियौँ । यतिन्जेलमा हाम्रो पनि खाना पाकिसकेको थियो । रातको करिब नौ बजिसकेको थियो । घिउमा पकाउने भएर कुखुराको मासु गन्धे भएछ तैपनि हामीले सफाचट पारियो । हिँडेको थकान अनि घिउ गनाएको मासु भएकाले हुनसक्छ मोरङ्का मित्रले खाना थपेनन् । ठूलो पानी पर्दा पनि अघि सजिलो काम गरेका इलामेली मनोज र विराटनगरका मित्रले निक्कै सफा पारेर भाँडाकुँडा माझे । हामीले शेर्पा परिवारले माया गरेर दिएका राडी, गुन्द्री मिलाएर ओछ्यान बनायौँ । शशस्त्र प्रहरी बल, अरुण गुल्मका मित्र बिनोद कट्टेलले यात्राका लागि फिर्ता गर्ने शर्तमा मिलाइदिएका आ–आफ्ना स्लिपिङ ब्यागभित्र पस्यौ । बहिर चुहेको बलेसीँको बाछिटाले भिजाउला भनेर शेर्पा दाइ आएर भोलि चैनपुरको शुक्रबारे हाटमा बेच्न लान बुनेका डोकाको बार लगाइदिए । यो सुताइबारे मेरो अपुरो खण्डकाव्यमा यसरी लेखिएको छ :

झिम–झिम–झिम पानी पर्न थाल्यो नसुत्दै
दर–दर–दर गर्दै झर्न थाल्यो लगत्तै ।
तप–तप–तप थोपा बाछिटाले भिजायो
तर पनि सिकुवामा मस्त टोली निदायो ।।

बिहान उज्यालो नभइ उठेर शेर्पा परिवारकै घरभित्रको अँगेनु प्रयोग गरी उनीहरूकै कित्लीमा चिया पकाइयो । उनीहरूलाई पनि कर गरेर हाम्रो चिया खान लगायौँ अनि एउटा सामूहिक फोटो खिचेर भूँई कुहिरो छिचोल्दै उकालो लाग्यौँ । त्यहाँभन्दा अलिक माथिको घरमा गएर खाजा खाइयो । विराटनगरका मित्रले चाहिँ खाजा खान मानेनन् । एक मुठा राम्रो धनियाँ पनि किनेर रुद्र भाइको झोलामा सिउरियौँ । अब यात्रामा कुनै घर भेटिने थिएन । सभापोखरी यात्राको बाटामा पर्ने त्यही अन्तिम घर भएको हामीले साथीहरूलाई जानकारी दियौँ ।

अबको बाटो पनि सानो थियो । गाईवस्तुका चरनका लागि प्रयुक्त ठूला ठूला हरिया चौरका बीच अनि छेउबाट हाम्रो टोली आकाशतर्फ अग्लिरह्यो । अनेक पिस, तुक्का अनि रमाइला गफहरू सुन्दै सुनाउँदै हामी यात्रामा अघि बडिरह्यौ । भिडियोग्राफीमा दक्ष भाइ रुद्रले हामीलाई लागेका जुकादेखि बाटाका अनेक नयाँ लाग्ने दृष्य कैद गर्न भ्याए । अब हामी लेकाली घना जङ्गलमा प्रवेश गर्‍यौँ । पानी पर्न थाल्यो । रूखबाट खरी जुका हाम्रा जीउमा झर्थे । एकछिन त जुका टिप्दै थियौँ पछि साध्य नलाग्ने गरी जुकाको आक्रमणमा परियो । एउटा टिप्न उभियो दर्जनौ जुका टाँसिदा रहेछन् । आकाश नदेखिने गुराँसको प्रधानता भएको लेकाली बाक्लो जङ्गल अनि मान्छे नहिँडेर ( ज्यादै कम हिँडेर) झोडिएको गोरेटो त्यसमाथि पानी परेको बेला भारी बोकेर उकालो हिँड्नु पर्ने ∕ पहिलो पटक यो यात्रामा हिँडेकाहरूलाई घोर निराशा जगाउने ठाउँ यही हो । यहाँ न कुनै चरा कराएको सुनिन्छ न त कुनै जनावर नै देखिन्छ । बुढा गुराँसका रूखले समेत आफूलाई छोप्न झ्याउका लुगा लगाएर नराम्रो देखिएका थिए । पतकर झरेर बाटो निक्कै चिप्लो थियो । यो जङ्गलको फेदीमा हामीसँग भएको भटमास, मकै र एक एक बोत्तल लिचीको जुस खाएर उकालिएका थियौँ हामी । अब हाम्रो गफ पनि थिएन, झरीको झ्यार–झ्यार मात्र थियो । बाटाको नजिकै बग्ने सानो खोल्सीको पानी ल्याएर ऋषि र रुद्रले सबैलाई तृप्त पारे । यहाँभन्दा माथि पानी कम पाइने भएकाले कोल्ड ड्रिङ्क्सका थोत्रा दुई बोत्तलमा पाँच लिटर पानीको भारी थपेर उकालो लागियो । पोहोरको यात्रामा घिउ लानुपर्छ भन्ने याद नभएकाले हरेक ठाउँको खाना खुवाइमा कुरा भएको थियो । यसपाली चाहिँ मित्र ऋषिले मादीबाट घिउ ल्याएका थिए । मरो ब्यागको साइडमा राखिएको घिउको बट्टा कुच्चिएर अघि गाउँ सकिन साथ पोखिएको पत्तो पाएर मिलाएको थिएँ । अब त्या पोखिएको घिउ पसीना, पानी र अन्य कुरासँग मिसिएर दुर्गन्ध आउन थालेको थियो । तर सुघ्दै हिँड्नु बाहेक कुनै उपाय थिएन । लेकाली घना जङ्गलको उकालो आधि जति पनि नहिँड्दै हामीले बोकेको आधा पानी पिएछौँ । अब पानी पनि पर्न छोड्यो, जङ्गल र जुका पातलिए, बाटो अलिक दम्स्याइलो भेटियो । कोही पनि नबोली एकनास हिँडिरहेका बेला मनोज कराए :

‘ भिनाजु टेप छ ?’

हामी थामपोखरी भन्ने ठाउँमा पुग्दा मनोजले आफ्नो घाँटीमा टोक्ने जूका काट्ने हुँदा हात काटेछन् र मलाई घाउमा लाउन हेण्डिप्लास्ट मागेका रहेछन् । यो घटनाले हाँसोको रूप लियो । यात्राभरी साथीहरूले ‘भिनाजु टेप छ ?’ भन्दै रमाइलो गरिरहे । अब भोक पनि निक्कै लागसकेको थियो । हामीले धाप पुग्ने बेलामा अलिक फराकिलो तेर्सो बाटामा भारी बिसाएर चाउचाउ खायौँ । सुख्खा चाउचाउ निल्न पानी निक्कै पिएछौँ हामीले । अब हामीसँग पानी थिएन तर बाटो कडा उकालो थियो । गत साल हामीले भात पकाएर खाएको बाटाभन्दा निक्कै तल धापको गोठ साथीहरूलाई देखाउँदै हामी उकालियाँै । यो ठाउँमा गाई भैसीको गोठ ल्याएर बर्षायामभरि राख्ने चलन रहेछ । ढाडिएका जुका शरीरभरि बोकेर चरिरहेका गाईबस्तु निहाल्दै हामी हिँडिरह्यौँ । कोही मान्छे पनि भेटिन्छ कि भनेर निक्कै आश गर्‍यौँ तर कोही देखिएन । मान्छे भेट्नु–देख्नु पनि अब खुशीको कुरा हुने ठाउँमा पुगेका थियौँ हामी ।

एकातिर विराटनगरको ठाउँमा जन्मे हुर्केका मान्छे त्यसमाथि भारी बोकेर चिप्लो बाटामा उकालो हिँड्नुपर्ने भएकाले मोरङ्का साथी पछि मात्र परेनन् झर्को लाग्ने गरी पर्खाउन थाले । उनले आत्मबल पनि मारे अनि अब आउने गोठमा मलाई छोडिदिनु भन्न थाले । भारी सजिलो गरी बोक्न सिकायो फेरि बिगारेर उस्तै परिहाल्छन् । अरू हामी पहाडको गाउँमा हुर्किएकालाई पो भारी बोक्ने तरिका थाहा हुन्छ, यी पूर्वकै ठूलो शहरका बासिन्दालाई के थाहा हुनु ∕ हिँड्न पटक्कै नसकेपछि अनेक ल्यङल्याङ गर्न थाले । समय बित्दै जाँदा सबैलाई तिर्खाले सतायो । पानी छेउछाउ कतै थिएन । तिर्खा लागेर सबै प्याकप्याक भयाँ तर कतै पानी भेटिएन । नयाँ साथीहरूले हामी गाइड भनाउँदाहरूलाई लड्ने गरी झपारे । तर पानी पाइएन, तिर्खा झन लाग्यो । उकालो बाटो, गुराँसे जङ्गल, भारी बोकेर हिँड्नुपर्ने चिप्लो बाटो । कतै घुँडा टेकेर, कतै कुहिनो टेकेर उकालिनु पर्ने । सबैका घुँडा र कुहिना हेर्दा जनयुद्धका बेला जनमिलिसिया ट्रेनिङ गरेका योद्धाजस्तै देखिएका थियौँ हामी । तर यो जङ्लमा जुका न्यून लाग्ने अनि चराचुरूङ्गी पनि कराएको सुन्न पाइने । कता कता फूलहरू पनि फुलेका देखिन्थे तर त्यो सुन्दरता थकान र तिर्खाले फिक्का लाग्थ्यो । त्यो दिन जिन्दगीकै धेरै तिर्खाले सतायो सबैलाई तर पानी भेटिएन । बल्ल तल्ल बाटोभन्दा निक्कै तल भीरमा मालिङ्गाको फेदमा पानी टल्किएको देखियो । म र मोरङ्का साथी तल जान सकेनौ, अरुले मालिङ्गोको फिफि बनाएर तोङ्बा ताने जसरी पानी चुक्र्याए ।

बल्ल जङ्गल सकियो र नागी आइपुग्यो । पहेँला फूल ढकमक्क फुलेको त्यो सुन्दर ठाउँबाट देखिने दृष्य छेलेको कुहिरोले बादलसँग समेत तालमेल गरी ठूर्लो दर्के पानी पारेर हामी चुटियाँै । तर त्यो दर्के पानीलाई छाता उल्टो पारी जम्मा गरियो र अघिकै मालिङ्गोको फिफीले तानेर तृष्णा मेटाइयो । अलिक माथि गतसाल हामी पाल टाँगेर पहिलो रात सुतेका ठाउँमा भारी विसाएर अलिक पर गई ऋषि र मैले पानी ल्यायाँै । बसाँै भने भूँइ भिजेको थियो, उभिएका ठाउँमा पनि छड्के झरीले भिजाइरह्यो । भारी बिसाए पछि पसीना पनि सेलाएर होला हामी सबै डगडगी काम्दै रसदाना, काजु र किसमिस खायौँ । यो ठाउँलाई तल्लो जडिबुटे भन्दा रहेछन् । त्यहाँ हावासँग मिसिएर हामीलाई नै छेड्ला जस्तो गरी पानी पर्‍यो । आज कहाँ पुग्ने पनि अन्यौलमै थियौँ हामी । यहाँ पुग्दाको खण्डकाव्य अंश यस्तो लेखेको रहेँछु :

झरी पर्छ तीखो र चीसो भएर
हुरी चल्छ उस्तै हिउँ झैँ बनेर ।
उकालो छ बाटो, उकालै उकालो
उकालो, उकालो, उकालो, उकालो !!

अब सबै गलेका थियौँ । दर्के पानी अलिक रोकियो । माथिको कवितामा उसै सात पटक उकालो शव्द प्रयोग गरिएको होइन । कष्टको उकालो काटेर हामी माथिल्लो जडिबुटे भन्ने ठाउँमा पुग्यौँ । पोहोर त्यहाँ गोठभित्र एउटा मात्र याक हो कि चौँरी थियो । यो साल त्यो गोठका भित्तामा भएका दुलादुली झारपातले टालेर धर्मशाला अर्थात पाटी बनाइदिएका रहेछन् । हामीले आजको रात त्यहीँ वास बस्ने निर्णय गर्‍यौ । पुरानो गोठका चिसा फल्याक चिरेर दाउरा थुपारियो । सल्लाका काठ भिजे पनि तातिएपछि मजाले बल्दा रहेछन् । सल्काउनका लागि साथीहरूले चोया जस्ता स–साना पाता निकाले । हामीसँग डिजेल पनि थियो । हामीभन्दा अगाडि वास बस्नेले चिमालका काँचा मुढा पनि ल्याएका रहेछन् । आगो दन्काएर तापियो । भिजेका लुगा सुकाइयो अनि पुन्टे ग्याँस बालेर मैले मित्रहरूको सहयोगमा खाना पकाएँ । गुन्द्रुकको रस, घिउ, मादीबाट ऋषिकी आमाले पठाइदिनुभएको टिमुर मिसाइएको अकबरेको अचार र सुकुटी मजाले खाइयो । ३४०० मिटर उचाइमा निक्कै चिसो थियो । आकाशबाट परेर आएको भलको पानी उमालेर खाइयो । त्यही चिसो पानीमा इलामेली मनोज र मोरङका मित्रले काम्दै–काम्दै भाँडा माझे । हामी भए जेनतेन भाँडा माझेर राख्थ्यौँ होला तर विराटनगरका मित्रको भाँडा मजाइ एकदम काइदाको रहेछ । स्वाइँ–स्वाँइ माझेर टिलिक्क पारेपछि मात्र चित्त बुझ्ने उनको । जाडो भएकाले पाटीमा आगो बालिराखेर सुत्ने विचारले चिमालको मुढो जोरिराखेर सुतियो । आगोले भिजेका लुगा पनि सुक्लान् भन्ने अर्को आशा पनि थियो । तर राती ब्युँझदा श्वास फेर्न एकदम कठिन भइराखेको रहेछ । आत्तेसमा टर्च लाइट पनि भेटिनछु । मधुरो आगोको प्रकाशमा म बल्लतल्ल पाटीको ढोकासम्म पुगेँ र ढोका खोली बाहिर भागेँ । एकछिन बाहिर बसेपछि बल्ल सहज अनुभव भयो । धुवाँले अक्सिजनलाई विस्थापित गरेकाले त्यस्तो गाह्रो भएको रहेछ । एक त उच्च लेकमा अक्सिजन कम हुन्छ त्यसमाथि आगो बालेर सुत्नु गलत भएछ । आगो निभाएर फेरि सुतियो ।

भोलिपल्ट उज्यालो नहुँदै उठेर चिया र तातोपानीमा सातु–चिनी भिजाएर खाएपछि टोली उकालो लाग्यो । पँहेला झार फुलेर सजिएका थिए नागी डाँडाहरू । हामी फोटो र भिडियो खिच्दै उकालियौ । त्यहाँबाट ताप्लेजुङ पाथीभरा, फुङलिङ बजार, तीनजुरे, गुफा, चैनपुर,खाँदबारी लगायत अरुण उपत्यका अधिकाशं भाग देखिँदो रहेछ । मेरो झोलामा भएको पुन्टे ग्याँस चुहिएर हैरान गरायो । हिजो पोखिएको घिउको गन्धसँग मिसिएर म पुरै गन्धे भएको थिएँ । ठाउँ ठाउँ त्यो ग्याँसलाई मिलाउन झोला बिसाएका बेलामा बिराटनगरका मित्रलाई सबैले अघि–अघि हिँड्न हौस्याए । त्यस्तो बेलामा उनलाई भेट्न हामीलाई गाह्रो हुन्थ्यो । फेरि केही गरि पछि बसे भने उनलाई पर्खिदैमा हामी हैरान हुन्थ्यौ । हामी दोबाटे कटेर उकालो लाग्ने चौतारीमा बस्यौँ । गत साल ढुङ्गाले किचेर हामीले फ्राइड माछा हालेको प्लाष्टिक राखेका थियौँ । त्यो ढुङ्गो पल्टाएर हेर्दा प्लाष्टिक जस्ताको तस्तै देखेर हामी जिल्ल पर्‍यौँ । पोहोर हामी घरबाट हिँडेको करिब तीस घण्टामा यहाँ आइपुगेका थियौँ तर यो साल ठीक बयालीस घण्टा लागेको थियो । यो साल किन ढिलो भयो भन्ने कुरा उठेपछि बिराटनगरका साथी रिसाएर आगो भइहाल्थे । फेरि उनलाई फकाएर यात्रा शुरु गर्न झन ढिलो हुन्थ्यो । उनी नजिकैको गोठमा बस्छु भनेर हामीलाई धम्की दिन्थे । त्यहाँ केही खानेकुरा खाएर हामी उकालियौँ र समुद्र सतहबाट ३७०० मिटर माथि पुगेको कुरा ऋषिको मोवायलमा राखिएको सफ्टवेयरले जानकारी गरायो ।

फेरि पनि बिराटनगरका मित्र पछाडि नै बसेछन् । हामीले सभापोखरीबाट फर्कदै गरेको एक मङ्गोलियन समूहलाई भेट्यौँ । हामीबाहेक अन्य मान्छे हिजो बिहानदेखि भेट्न पाएका थिएनौ । एकछिन् भलाकुसारी गरी हामी अगाडि बड्यौँ । चौँरी चरेर सिनिक्क भएको नागीमा केहीबेर हिँडेर हामी हिले भन्ने ठाउँको चौँरीगोठमा पस्यौ । एकदम छड्के चिसो पानी पर्न थालेको थियो । त्यहाँ चौँरीको दूधमा चिया पकाउन लगाएर खाइयो । हामी पुगेको निक्कै पछि छोडिएका मित्र हिलाम्बे भएर आइपुगे अनि सोधे :

‘हामी कुन ठाउँ आइपुग्यौँ सर ?’

मैले तत्कालै उत्तर दिएँ : ‘ तपाईँको जीउ हेरेर उत्तर लिनुहोस्, यो ठाउँ हिले हो ।’

सबैजना गलल्ल…हाँसियो । उनी चिप्लो बाटामा लडेर यो गति भएछ । यो गोठकी साहुनी गतसाल भञ्ज्याङको गोठमा भेटिएकी थिइन् । हामी एक रात उनको गोठमा बसेका पनि थियौँ । यो वर्ष उनी यहाँ भेटिइन् । उनले भालुबाँसको ढुङ्ग्रामा मालिङ्गाको फिफीले तोङ्बा तान्दै हामीसँग गफ गरिन् । बसन्तपुरको बोर्डिङ स्कूलमा पढ्ने ती बुढीका दुई छोरा पनि बर्खे छुट्टीमा गोठमै पुगेका रहेछन् । अुँगेनु माथि भारमा छुर्पी र चौँरीको मासु सँगै सुकाउन राखिएको थियो । चिया खाइसकेपछि मात्र गोठको एक कुनामा काटेर राखिएको चौँरीको बाछाको टाउको देख्यौँ । पहिल्यै देखेको भए मलाई चाहिँ चीया नरुच्ने रहेछ । चिसो भएकाले त्यहाँ मासु कुहिने डर कम हुँदो रहेछ । घिउ पनि भाँडाबाहेक नै साबुन राखेजस्तो राख्दा रहेछन् । गोठको फोहोरी वातावरण देखेपछि दिङमिङ लाग्यो । हामी त्यहाँबाट ओरालो झर्‍यौँ । अब पानी पर्न छोडेकाले साथीहरू खुशी भए । बाटो पनि ओरालो भएकाले उकालामा भन्दा हिँड्न सहज थियो । गुराँसको जङ्गल बीचमा खहरेको बगर जस्तो नागबेली बाटो थियो । साथीहरू हौसिएर अलिक छाडा शब्द समेत मिसाएर गाउन थाले । यतिन्जेल चुप लागेर एकनासले हिँडिरहेका मनोजले अलिक कडै शब्द भएको प्यारोडी गीत के फलाकेका थिए मादी घर भएकी मित्र ऋषिकी छिमेकी महिला घुम्तीबाट फुत्त निस्किइन् । न हाँस्नु, न बोल्नु ∕ हामी दोधारमा पर्‍यौ । तर उनले नसुने जस्तो गरिन् र हामीसँग गफिएर गइन् । यो घटना र त्यो प्यारोडी गीत बाटाभरि हासोको मसला बन्यो । त्यसपछि त उनीसँगै सभापोखरी पुगेर आएकाहरू थुप्रै भेटिए । हामी हाँस्दै रमाउँदै गिद्धे तर्फ अघि बड्यौ । बिराटनगरका साथीलाई त झन् ओरालो बाटामा हिँड्न कठिन भएछ । एकै छिनमा पानी पर्ने अनि एकै छिनमा घाम लाग्ने मौषम थियो । अब जताततै पानी भएका ठाउँमा पुगिएको थियो । हामीले पानी बोत्तलमा भरेर बोक्यौँ । फ्रिजमा राखेको जस्तै चिसो थियो त्यो पानी । अबको बाटो एकदम अफ्ठेरो थियो । जङ्गलबाट भालुको नमिठो गन्ध आइरहेको थियो । कता कता भालुको दिशा भेटिन्थ्यो । कतै भालुले चिथोरेका गुराँसका बोट देखिन्थे । हामी यो ठाउँमा सबैजना सँगै हिँड्यौ । यो बेलालाई न्याय गर्ने एक श्लोक यस्तो लेखेको रहेँछु :

क्षणैमा हराउँछ हुस्से हरायो
उधो भीर देखेर साथी डरायो ।
हरे राम भन्दै उडाएर सातो
बडो कष्टले मात्र काटिन्छ बाटो ।

बल्लतल्ल हामी गिद्धेको पाटीमा पुग्यौ । गतसाल हामी यहाँ दोस्रो बास बसेका थियौ । तर यो साल हाम्रो खाम्बुले पाटीसम्म पुग्ने योजना थियो । त्यहाँ छोडिएका बिराटनगरे मित्रलाई पर्खिरहँदा रुद्रजी पाटीको भिडियो लिन बाहिर गएका थिए । यत्तिकैमा एक टोली त्यहाँ नबसिकन उकालो लाग्यो । रुद्रले उनीहरूलाई बोलाए :

‘ कुन ठाउँको टोली हौ यो ?’

‘ पाँचखपन–जलजलाको ।’ उत्तरसँगै प्रतिप्रश्न पनि आयो ‘ तपाईँहरू कहाँको टोली हो ?’

‘ हामी छ्यासमिस छौँ तर तीन जना चाहिँ इलामदेखि आएका हौँ ।’

‘इलामको एकु घिमिरेलाई चिन्नुहुन्छ ?’ प्रश्न थपियो ।

‘ हैट ! मेरो दाइ नि हौ एकु त, यही पाटीभित्र हुनुहुन्छ त ।’

गफगाफ सुनिरहेका हामी छक्क पर्‍यौँ । रुद्रसँग बोल्ने केटो मलाई भेट्न फर्किएर आए । ती मैले कक्षा आठदेखि दशसम्म चैनपुरमा पढाएका छात्र सुजन कार्की रहेछन् । एकछिन गफगाफ गरेर उनी साथी भेट्न कुदे । कक्षामा उनी अलिक कमजोर विद्यार्थी भनेर चिनिन्थे । तर उनले कक्षा आठमा गरेको प्रोजेक्ट वर्क हालसम्म मलाई शिक्षण सामग्री भइरहेको कुरा साथीहरूलाई सुनाएँ । त्यस्तो कठिन र हत्तारको यात्रामा पनि मेरो खोजी गरेकामा मलाई उनको निक्कै माया पनि लागेर आयो । कतिपय विद्यार्थीले हामीलाई गर्ने प्रेम यस्तो हुन्छ, कतिपयले चाहिँ आफ्नो काम पर्दामात्र प्रयोग गर्ने अनि आफू उत्तीर्ण भएर गएपछि हामीलाई चिन्दै नचिन्ने पनि गर्छन् । रुद्रजी बाहेक हामी सबै शिक्षक थियौँ । त्यसैले यो यात्रामा शैक्षिक क्षेत्रका थुप्रै बहस निस्किरहन्थे । सामाजिक कार्यकर्ता समेत भएकाले रुद्रजीलाई शैक्षिक विसङ्गतिका पनि थुप्रै कुराहरू राम्रैसँग थाहा भएकाले हामीलाई रमाइलो पारामा व्यङ्ग्य गरिहन्थे । कसैले भाँचिएर फ्याँकेको छाताको डण्ठी भाँचेर रुद्रले आफ्नो लौरोमा ठोके । बल्ल हाम्रा लोते साथी आइपुगे । त्यहाँ केही किसमिस, काजु र ग्लुकोज खाएर हामी उकालियाँै ।

समुद्र सतहबाट ३६०० मिटरमा थियौं हामी । गिद्धेको पाटीभन्दा अलिक माथि एउटा चौँरी गोठमा बस्छु भनेर बिराटनगरका मित्रले निक्कै जोड गरे । उनको ढिलासुस्ती र केटाकेटीपन देखेर मलाई झोँक चलेर आयो । बेसमारी गाली गरिराखेर हामी अघि अघि हिँड्यौ । अब भञ्ज्याङ सम्मको बाटो खासै अफ्ठेरो थिएन । म र मनोज खुरुखुरु हिँडिरह्यौ । भञ्याङ पुगेर भूइँ ऐसेलु टिपेर खाँदै साथीहरूलाई पर्खिरह्यौ । अब बिराटनगरका मित्रको पनि झोलाको आधा सामान ऋषिले नै बोकिदिएपछि बल्ल आउन सहमत भएछन् । फेरि भञ्ज्याङमा पनि गोठ देखेपछि साथी यहीँ बस्छु भनेर किचकिच गर्न थाले । फेरि हकारेँ अनि यात्रा अघि बड्यो । भञ्ज्याङबाट एकछिन ओरालो हिँडेपछि खाम्बुले पाटी पुगिहालिन्छ भन्ने मेरो सम्झना गलत रहेछ । यहाँ बाटोभन्दा अलिक तल जङ्गलमा एउटा भूते पोखरी भन्ने कालो पोखरी देखिन्छ । सभापोखरी जाने यात्रुले त्यो पोखरी हेर्न हुँदैन भन्ने विश्वास गरिन्छ । किंवदन्ती अनुसार यो पोखरी पहिला बाटैमा थियो रे । सभापोखरी जाने तीर्थयात्रीहरू यस्ले खान थालेछ । यो कुरा थाहा पाएर एक शेर्पा तान्त्रिकले यसलाई आफ्नो मन्त्र शक्ति प्रयोग गरी बाटाभन्दा तल सारेका रे । आजसम्म पनि हरेक वर्ष शेर्पाहरूले आफ्नो गोठ यहाँ ल्याएपछि भूते पोखरीमा आफ्ना सुँगुर वली दिने चलन छ । शुरुमा ठाडे ओडारको ओरालो अनि भुते पोखरी देखि अलिक पर पुग्दा खाम्बुले पुगिन्छ जस्तो लागेको थियो । तर एउटा गम्भिर उकालो हिँड्नै बाँकी रहेछ । अब साँझ परिसकेको थियो । जङ्गलको बाटो अनि निक्कै माथि भएकाले लेक पनि नलाग्ला भन्ने थिएन । बिराटनगरका साथीले लत्तो नै छोडेपछि सबै मिलेर उनको भारी बोकिदियौ । उनी रित्तै भएपछि अलिक हिँडे । हामी अघि गएर खाना पकाउँदै गर्ने भनेर उनको झोलामा भएको कुकर बोकेर अघि हिँडेको उकालोमा श्वास बडेर अघि बड्नै सकिएन । गतसाल हामी यो उकालामा गीत घन्काउँदै गएका थियौ । बिहानको समय थियो, जाँगर र उत्साह थियो । यो पाली झमक्कै साँझ परेको थियो । थकान र भोकले जितेको थियो । मनोज भाइ पनि हिँड्न सकेनन् । पछिका साथीले पनि भेट्टाए । यात्रामा आज मैले ज्यादै कष्टको अनुभुति गरेँ । यो अनुभूतिको प्रमाणका लागि निम्न पद्याशं लेखेको छु :

न बाटो, न पानी, न बस्ने घरै छ
उता भालु औँ लेक लाग्ने डरै छ ।

हामी पुरै अँध्यारो हुँदामात्र खाम्बुले पाटीमा वास बस्न पुग्यौँ । अघि हामीलाई गिद्धेको पाटीमा छोडेर अघि बडेका मैले पढाएका जलजलाका भाइहरू पनि त्यही पाटीमा बसेका रहेछन् । उनीहरू सामान्य खानपान गरेर सुतिसकेका रहेछन् । उनीहरूले आगो बालिरहेका भएर हामीलाई सजिलो भयो । साथीहरूले पानी खोजेर ल्याए । मैले पुन्टे ग्याँस बालेर दाल, भात पकाएँ । रुद्रले अगेनामा जोरेको चिमाललाई अचानो बनाएर सुकुटी टुक्रा पार्ने हुँदा आगो उछिट्टिएर सुतिसकेका भाइहरूलाई पोलेछ । तर शब्द शब्दमा हास्यरस घोलेर बोल्ने रुद्रले अघि नै ती भाइहरूको मन जितिसकेको हुँदा त्यो घटना एउटा रमाइलो किस्सामा सीमित भयो । खानपान गरेर मजाले सुतियो । रातभरी पानी परिरहेको थियो ।

भोलिपल्ट हामीसँगै सुतेका भाइहरू चाँडै उठेर उकालो लागिहाले । हामी उठेर चिया पकाउन थाल्यौ । मौषम सफा भएकाले नजिकै देखिएको ताप्लेजुङको सदरमुकाम फुङलिङको नेपाल टेलिकमको टावरले काम गरेको हुँदा सबैतिर फोन गरियो । आलो पालो दिशा गर्न जाँदा रुदसँग बिराटनगरका मित्र गएछन् । आफूले दिशा गरिसकेपछि अर्काको पालीमा रुद्रले चिच्याएर कराएको पाटीबाटै सुनियो । उसले नाक थुनेर लामो लेघ्रो तानेर ‘ चोइचोइ…..चोइ ’ भन्दै कुकुर बोलाएको झैँ अभिनय गरिरहेको थियो । यो कुराले हामीलाई सारै हास उठायो । अब हामी फेरि उकालो यात्रामा लाग्यौँ ।

अब निक्कै उचाइमा पुगिएको थियो । बादल हामीभन्दा तल देखिन्थ्यो । मजाले घाम लागे पनि चिसो थियो । रूखहरू पोथ्रिदै गएका देखिन्थे । अनेक प्रजातिका फूलहरू फुलेका थिए । देउरालीहरूमा मानिसले रङ्विरङका पतका, अबीर र फूल चढाएका थिए । देउरालीमा सबैले ढुङ्गो चढाउनु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै हामी उकालो लाग्याँै । अब अनेक आकृतिका ठूला ठूला ढुङ्गाहरूको बजार भएका ठाउँबाट हामी उकालियौ । मालिङ्गो घारीमा एउटा रातो र खैरो रङ्गको लेकाली जीव हामीलाई देखेर ओडारतिर पस्यो । यस्को साक्षी तलको श्लोक छ :

निगालो थियो झप्प शीतै परेको
थियो जन्तु नौलो रमाई चरेको ।
थियो रेड पाण्डा निगालो निहाल्दै
कतै मार्छ ठानी गयो फाल हान्दै ।

बाटामा बिरूवाहरूबाट शीत हामी माथि तप्किन्थ्यो । यहाँ लेकाली चरीहरूको चिर्बिर पनि मीठो सुनिएको कुरा मेरो अपुरो खण्डकाव्यमा यसरी लेखेको छु :


अभिषेक गरी पहरा, लहरा
मृदु गीत छरी छहरा र चरा ।


हिमाली चरी गीतमा मस्त हुन्थे
घुमन्ते फिरन्ते उही गीत सुन्थे ।

जति माथि गयो उति सुन्दर र आश्चार्यले भरिएको ठाउँ देखिन थाल्यो । प्रत्येक ढुङ्गाका च्यापमा फुलेका खाल खालका फूलबाट आएको सुवासले सबैलाई लठ्ठ पारेको थियो । यी चुचूरा, थुम्का र फूलबारी देखेपछि सबैथोक भुलिएको थियो । यति बेलाको अनुभूति खण्डकाव्यमा यस्तो रहेछ :

बुकीफूल फुल्ने चुचूरा पुगेर
म रम्दैछु, घुम्दैछु सारा भुलेर

अब हामी थुम्की भन्ने ठाउँमा पुगेका थियौँ । यहाँ पाल टाँगेर एउटा होटल जस्तो अस्थायी पसल थाप्दा रहेछन् । हामीले तातो पानी किनेर सातु खायौँ र अघि बड्यौँ । लगत्तै भकारी छिरुवा भन्ने प्राकृतिक ढुङ्गे द्वार भएको ठाउँमा पुग्यौ । यहाँको उचाइ ४१०० मिटर रहेछ । त्यहाँको देउरालीमा ढुङ्गा राखेर हामी दायाँतर्फ गयौँ । गतसाल हामी बायाँको बाटो भएर गएका थियौँ । आज गएको बाटामा अरु पनि दुई सुन्दर पोखरी छन् भन्ने सुनेर पोहोर मैले यो बाटो फर्किन निक्कै रहर गरेको थिएँ तर सकिएको थिएन । कुहिराको पर्दाले टाढाका दृष्य छोपिएका भए पनि नजिकैको प्राकृतिक फूलबारीको बर्णन गर्न कवि माधव घिमिरे नै चाहिने रहेछ । तेर्सो ढुङ्गे बाटाको देब्रेतिर जलजले हिमालका अनौठा अनौठा टाकुरा देखिन्थे । दाहिनेतर्फ के कस्तो थियो भन्ने कुहिरोको हूल कुदेर देख्नै पाइएन । यहाँको अनुभूति पनि अपुरो खण्डकाव्यमा यसरी लेखेको रहेँछु :

फुलेका थिए झार पाखै सिँगार्ने
सुवासै चलेको थियो लठ्ठ पार्ने ।
बसौँ वा सुतौँ ? हैन दौडौँ कि जस्तो
समातेर हुस्से म उड्दैछु जस्तो ।।

अहा ! यही अनुभूतिको नसा लागेर मानिस पटक पटक सभापोखरी आएका होलन् । के गरौँ, के गरौँ हुने । म धर्तीमै छु कि आकाशमा छु जस्तो लाग्ने । भारी पनि आफैं हलुका भएर आउने । म पनि यही अलौकिक ठाउँमा यो परं आनन्द प्राप्तिको लागि दोहोर्‍याएर आएको हुँ । यतिबेला अगाडिका सबै थकान हराएको थियो । विशाल हिमाली फाँटमा हाम्रा पाइलाहरू चलिरहेका थिए । हिउँले खाएका चप्लेटी ढुङ्गा पटक्कै चिप्ला थिएनन् । यो बाटो हामी सबैका लागि नौलो थियो । यहाँ बाटो भन्ने खास हँुदैन । यसभन्दा अघि हिँडेका मान्छेले छोड्ने मिठाइका खोल, चाउचाउका प्लाष्टिक, उखेलेर केलाउँदा छुटेका जडिबुटी अनि बनाएका देउरालीलाई चिन्हका रुपमा पहिल्याएर अघि बड्नुपर्ने । कता कता झुक्किदै भए पनि हामी अघि बडिरह्यौँ । यही बाटोबाट तिब्बत चौँरी र याक बेच्न लैजाने गोला भन्ने नाकामा पनि पुगिने रहेछ । बाटामा असाध्यै सुन्दर जलजले पोखरीहरू भेटिए । यी दुई पोखरी मध्ये शुरुमा भेटिएको चन्द्रमा आकारको पोखरीलाई ठूली र पछि भेटिएकोलाई कान्छी पोखरी भन्दा रहेछन् । पहिला यी दुबै पोखरी जोडिएका थिए होला भन्ने हामीले अनुमान गर्‍यौँ । पोखरीमा फोटो खिच्न समेत दिएन कुहिरोले । पोखरीको पानीमा मुख धोएर हामी बाटो लाग्यौँ । समय हुँदा यो क्षेत्रमा एक रात बस्नुपर्ने रहेछ । यसो गर्नसके मात्र यहाँबाट देखिने तमाम दृष्य आँखा र मनभरी हेर्न सकिने रहेछ ।

अब बाटो अलिक उकालिएको थियो । रूखबुटा थिएनन् । झारपात जति थिए सबै आ–आफ्नो रङ र आकृतिमा फुलेका देखिन्थे । फोटोग्रफीलाई समेत आफ्नो सहायक व्यवसाय बनाइरहेका भाइ रुद्रले हरेक प्रजाति र रङ्का फूलहरूको फोटो खिचेका थिए । यतातिर पुगेपछि मलाई लेक लाग्ला जस्तो भयो । वाकवाकी होला जस्तो, एकदम निद्रा लागेको झैँ हाइ–हाइ आउन थाल्यो । लेक लाग्ने विविध कारणमध्ये एक मनोविज्ञान पनि हो त्यसैले मैले आफ्नो समस्या अरुलाई सुनाइँन । मेरो चाहिँ रातो रक्तकोषको मात्रा शरीरमा सधैँ दश प्रतिशत भन्दा थोरै हुने समस्या छ । त्यसो हुँदा धेरैबेर ४००० मिटरभन्दा माथिको उचाइमा त्यै पनि कुहिरो लागेका ठाउँमा हिँडिरहँदा शरीरमा अक्सिजन कम भएको होला जस्तो ठाने । सिमसिम पानी समेत पर्न थालेको थियो । मैले एउटा सानो ओडारमा बसौँ भन्ने आग्रह गरेँ । त्यहाँ अर्को समूहका पनि तीन जना मानिस बसेर मकै, भटमास खाँदै रहेछन् । हामीले पनि मकै, भटमास, काजु, किसमिस, ग्लुकोज खायौँ । मैले एउटा अकबरे पनि चपाइदिएँ । अकबरे चपाएपछि लेक लागेको निक्कै जाति भयो । अनौठा चुचुरा देखिएर यसो क्यामेरा निकाल्दैमा कुहिरोले छोपिहाल्यो । त्यहाँ बसिरहेका मानिसमध्ये सबैभन्दा कलिलो देखिने केटालाई रुद्रजीले अँगाले मारेर अलिक पर लगेर खस्याक–खुसुक गरे । त्यस पछि हामी नजिकै बसिरहेका बुढाको छेउमा आएर :

‘ के हो त कान्छाले त बाबैले अलिकति चडाए अनि बोत्तल लडाए भन्छ त ?’ नजिकैको लडिराखेको बोत्तल उठाउँदै रुद्रजीले सोधे ।

बुढा निक्कै जङ्गिएको स्वरमा कराउँदै भने :

‘ अनि उस्ले चाहिँ घिचेन अरे ?’

‘खोइ कोनि त, हाम्रो त्यसबारे कुरै भएको छैन । मैले त यसो अनुसन्धान गरेको पो त ∕’

यो कुराले खुब हाँसियो । उनीहरू पनि हाँसे अनि हामीभन्दा अघि बाटो लागे । लेक लाग्नबाट बच्न यो क्षेत्रमा धेरैले अल्कोअल खाने गर्दछन् । यो टोली बाबु, छोरा र काकाको रहेछ । मौकामा केटाहरूले बहाना बनाएर रक्सी खाएछन् । हामीलाई रक्सी खाएको कुरा लुकाउने उनीहरूको रणनीति बुझेर रुद्रले रमाइलो गरी कुरा खोलाएका रहेछन् ।

अब निक्कै उकालो हिँड्नुपर्ने रहेछ । हाम्रो दायाँपट्टि एउटा अजङ्गको चट्टान थियो र त्यसैको फेदै फेद उकालो चड्नुपर्ने । अघि जानेहरूले जति जोगाए पनि गुड्के ढुङ्गा लड्ने पाखो थियो । म सबैभन्दा पछि परेँछु । बल्लबल्ल मात्र माथि पुगेँ । अब हामी समुद्र सतहबाट ४४०० मिटर माथि पुगेछौँ । यो मेरो जीवनको सबैभन्दा उच्च ठाउँमा पुगेको रेकर्ड थियो । मेरो मात्र हैन सबै साथीको रेकर्ड एकैसाथ तोडिएको रहेछ । यो यात्राको सर्वोच्च ठाउँ पनि यही नै हो । उक्त उच्च ठाउँ पुग्दाको कविताशं यस्तो लेखेँछु :

अनौठा चुचुरा थिए आसपास
यतै छेउमा हो कि ब्रम्हा निवास !
हरायो थकानै, न तिर्खा, न भोक
यही हो कि लाग्ने अहो ! स्वर्गलोक ।

वि.स. २०७२ को बैशाख १२ गते आएको भूकम्पले यहाँ किन तहसनहस गरेनछ भन्ने प्रश्न आयो मेरो मनमा । सानामा हामीले मकैका खोयाको महल बनाएको जसरी अडिएका थिए ढुङ्गा ∕ सातढुङ्गे खेल्दा हार लगाएका जस्ता चट्टान के को शक्तिले अडिएको होला भन्ने प्रश्नको उत्तरमा माथिको कविताशं लेखेँ । यहाँ माटो समेत थिएन, ढुङ्गाको भर ढुङ्गै हुँदा पनि अड्याउने शक्तिलाई नै हाम्रा अग्रजले भगवान मानेका होलान् ।

त्यो ठाउँमा पुगेपछि थाहा भयो कि हामी अब सभापोखरी पुग्न लागेका रहेछाँै । तल झरेर धर्मद्वारको उकालो चड्नु थियो । अनि त सभापोखरी पुगिहालिने थियो । हामी ओराले झर्न थाल्याँै । यो ओरालो जीवनकै अफ्ठेरो बाटोका रूपमा सर्वसम्मत स्वीकृत गरियो । लडे कहाँ पुगिन्छ पत्तो छैन, बाटोका नाममा गुड्के ढुङ्गा टेकेर हिँड्नुपर्ने फेरि समाउनलाई जरो बुटो केही नभएको भीर । मित्र ऋषि चाहिँ मोरङका साथीको समेत झोला आफ्नो काँधमा च्यापेर गटट ओराले झरिहाले । म र मनोजजी बल्लतल्ल झरियो । रुद्रजी भिडियो खिच्दै हामीभन्दा पछि थिए । मोरङका साथी चाहिँ पञ्चमीको ब्रतालु जस्तो बिस्तारो सर्दै थिए । उनी ठाउँ ठाउँमा अस्ति बोक्न नमानेको लौरौमा टाउको राखेर सुस्ताउँदै अनि त्यही लौरोलाई ठूलो सहयोगीका रूपमा अघि टेकाएर अड्याउँदै आउँदै थिए । यतिबेला उनले लौरोको महत्व बुझे होलान् । हामी तल समथर ठाउँमा आएर अघि अल्कोअल चडाएर हिँडेको टोलीसँग मिसिएर गफियौ । उनीहरूले त्यहाँ चाउचाउ उमालेर खाएछन् । यहाँ आगो बालेर पानी तताउन पनि एकदम कठिन काम हो । साथीहरूले चाउचाउको खोल अनि खोल्सामा भेटिएका केही चिसा दाउरामा मटितेल हालेर ओडारमा आगो बालेछन् । यहाँभन्दा माथि अहिले हेर्दा बोटबिरूवा केही पनि देखिरूदैनथ्यो तर खोल्सामा भाग्यले दुइटा झिँगटा भेटेछन् उनीहरूले । यो समथर ठाउँ मीठो पानी लिएर ओरालो बगेका स–साना खोल्साका बीचको प्राकृतिक फूलबारी थियो । गतसाल हामी यहाँसम्म आएर बाटो नदेखेर तल्लै बाटो फिरेका थियौँ । त्यो बेला हामीले देखेको भल बग्ने खोल्सो नै बाटो रहेछ । यो अपराधी बाटोमा हिँडिरहेका बेला पानी पर्नु हो भने जीवन नै वग्ने खतरा रहेछ । कसैलाई पनि यो बाटो भएर सभापोखरी नजान सुझाव दिने निर्णय गरी अर्को टोली अघि लाग्यो । करिब दुई घण्टा पर्खिदा मात्र छोडिएका साथी युद्ध जितेको जस्तो मानसिकता लिएर आइपुगे ।

यो वर्ष हामी गतसाल भन्दा करिब दश दिन अघि यो यात्रामा थियौँ । आगामी जनै पूर्णिमाका दिन चन्द्रग्रहण लाग्ने भएकाले नाग पञ्चमीकै दिन रक्षबन्धन गर्न पञ्चाङ्ग निर्णयक समितिले सबैमा अपिल गरेको थियो । यसो हुँदा धर्म गर्न आउने तागाधारीहरूको लर्को तल्लो बाटोमा देखिँदै थियो । यो लर्कोलाई मध्यनजर गर्दा आज पाटीमा वास बस्न पाइने अवस्था पनि कम होला जस्तो लाग्थ्यो । हामी अलिक बाटो पनि भुलियौँ अनि थकानले खुरुखुरु हिँड्न पनि नसकेकाले निक्कै अबेर भयो । अब एकदमै कटिलो धर्मद्वारको उकालो चढ्नु थियो । यहाँ यत्रतत्र भेडा चरिहेका थिए । एकजना भेडी गोठाला सँग भलाकुुसारी पनि गरियो । उनी पनि हराएको भेडा खोज्न सभापोखरी नै जाने रहेछन् तर घोडाको गतिमा हिँड्नसक्ने वीर । हामी जुम्सा त्यसै छोडिने नै भयौँ । पोहोरको समेत अनुभवलाई मिसाएर म यो साल सबैभन्दा अघि अघि कटिलो उकालो चड्न थालेँ । वास्तवमै यत्तिको उकालो, अफ्ठेरो र उचाइमा कमै बाटा होलान् । थोरै मानिसले मात्र यात्रामा यस्तो कष्ट र त्यो कष्ट पार गर्नसक्दा मनमा आउने आनन्दमय ज्वारभाटाको अनुभव गर्न पाउँदा हुन् । बल्ल बल्ल धर्मद्वारको चुलीमा ढुङ्गा गाडेर बनाइको गेटमा घण्टी बजाउन पुगियो । मनोजजी पनि मेरो पछि पछि आइपुगेछन् । लगत्तै ऋषिजी पनि आइपुगे । रुद्रजी भिडियो खिच्दै हाम्रो टोलीका सबैभन्दा कमजोर मित्रलाई हतेर्दै आउँदा निक्कै पछि परे । गतसाल हामी यहीँ अवस्थित पाटीमा वास बसेका थियौ तर उच्च ठाउँमा भएकाले यहाँ एकजनालाई लेक लागेको थियो । त्यसैले आज गन्तव्यकै काखमा अवस्थित पाटीमा वास भन्ने निर्णय अनुसार हामी अघि हुने हिँड्दै गर्‍यौँ ।

अबको बाटो तेर्सो मिसिएको ओरालो अनि सजिलो पनि थियो । सकेसम्म छिटो पुगेर पाटीमा हाम्रो समूहका लागि ठाउँ ओगट्नु महत्त्वपूर्ण काम थियो । हामी कम गतिमा हिँड्ने भएकाले निक्कैजनाले जितेर गइरहेका थिए । हामी तीन भाइ पनि आफूले सकेजति छिटो हिँड्यौ तर त्यो भन्दा छिटो हिँड्यो दिन र छोप्यो अँध्यारो साँझले । झमक्क हुँदामात्र हामी होचो ढोका भएको अनि एउटा पनि झ्याल नभएको सभापोखरीको पाटीमा पुग्यौँ । पानी परिहेको थियो । छाता समेत बाहिरै राखेर हामी भित्र छिर्दा कुइरीमण्डल धुँवा पारेर मादीका मदन दाहालको नेतृत्वमा आएका सत्ताइस जनाको तीर्थयात्री समूह खाना पकाउन व्यस्त रहेछ । अहो ∕ धुँवा र अँध्यारोले केही पनि देखिँदैनथ्यो । हाम्रा मित्र ऋषिले पटक पटक नाम लिएर नभेटिकनै चिनिएका मदन दाहालको यो सातौँ सभापोखरी यात्रा रहेछ । गाउँले हजुरआमा, आमा, हजुरबाहरू अनि केही युवा युवतीको नेतृत्व गर्दै उनी धेरै झरीहरू छिचोल्दै यहाँ आउने गर्दा रहेछन् । हाम्रो सामान्य परिचय आदान प्रदान भयो । अब धुँवामा पनि आँखा अलिक अभ्यस्त भए । कसिँगरको थुप्रो लागेको कुनो मात्र बाँकी रहेछ । दाहाल सरको टोलीले हामीलाई त्यही कसिँगर फ्याँकेर ओछ्यान लगाउन सुझाव दियो । तर मैले त्यही कसिँगर फिँजाएर त्यसमाथि प्लाष्टिक अनि म्याट ओछ्याएर ओछ्यान बनाउने मेलो मिलाएँ । ओछ्यान मिलाइ नसकी साथीहरु प्नि आइपुगे । भिजेका लुगा फुकालेर ओभाना लगाइयो । साथीहरू पानी लिन गए । दाहाल सरको समूहमा आउने अलिक सबल महिला र युवाहरू चिमालको दाउरा बालेर ठूलो डेक्चीमा खाना पकाउन ब्यस्त थिए । बुढाबुढी आमाहरू भजन गाउँदै थिए । आफूलाई पढाएका गुरूको टोली त्यो पनि आफ्नै गाउँको भएकाले ऋषिजी उहाँहरूका प्रश्नका उत्तर दिँदै हुनुहुन्थ्यो । कति प्रश्नका उत्तर ऋषिजी नबोली अरू नै गाउँलेहरूले पनि दिन्थे :

‘ हैन ए मदन सर यी सिकटे नानी कसका छोरा रे ?’ मदन सर बोल्नै नपाइ अर्की आमै उत्तर दिँदै :

‘हन क्या त हौ देविभक्त पंण्डित, हो उनैका नाति ,जेठा राजनका छोरा रछन् नाइ ।’

‘ अनि अरू चाहिँ को रहेछन् ? गलेर आइपुगे । केटै–केटा रछन् त्यै पनि सबै उस्तै ठेट्ना । कस्ले पकाउँदो हो, के खाँदा हुन् बरा ∕’

मैले ऋषि बाहेक हामी तीनजना इलामेली भएको र अर्का एक चैनपुरमा ऋषिले पढाउने स्कूलका विराटनगरे स्टाफ भएको बताइदिएँ । खाना साथीहरूको सहयोगमा मैले पकाउने भन्दा आगो नबलेर दिक्क भइरहेका महिला दिदीबहिनी नपत्याएर हाँसे । एकजनाले प्रश्न पनि तेस्र्याइ हालिन् :

‘ यहाँ आगो नै बल्दैन, बलेको पनि चिसो बल्छ भन्ने थाहा छ के ? हामीले यो खाना बसाएको डेढ घण्टा भइसक्यो अझै छड्किएकै छैन । अब बसाएको भात कहिले पाक्छ र खानु ?’

मैले पुन्टे ग्याँस मेरो व्यागबाट निकाल्दै भने :

‘ आगो नबलेर हामी पोहोर नै काबु भएकाले यसपाली यो ग्याँस लिएर आएका । बल्ल तातेको पानी यहाँको चिसो हावाले चिस्याइ हाल्दो रहेछ भनेर यी कुकर पनि ल्याएको छ ।’

मैले भटाभट डाडु, प्याज, लसुन, गुन्द्रुक, नून, बेसार, रूख टमाटर, अदुवा, अजिना, तेल , चामल आदि स–साना बट्टाबाट निकालेर ग्याँसको छेउमा राखेँ । एकै छिनमा कुकरमा भात पाक्यो । अर्को कुकरमा लगत्तै गुन्द्रुक पकाइयो । उनीहरू यो पाटीसँगै जोडेर अस्थायी होटल चलाउने लिम्बू दाइको खलाँती ल्याएर आगो फूक्दै थिए , हाम्रो सबैथोक पाकिहाल्यो । बिजूलीको गतिमा पकाएर खाएको देखि सबै चकित भए । सात पटक आएका मदन दाहाल पनि हाम्रो व्यवस्थित यात्रा देखेर लोभिए होलान् । खाना खाँदैगर्दा केही हजुरआमाहरूले गुन्द्रुक पिउन मन गरे । हजुरआमाहरू अघि मैले खाना पकाउँछु भन्दा छक्क परेका थिए । अहिले मैले पकाएको गुन्द्रुकको स्वाद चाखेर त्यो भन्दा छक्क परे । वास्तवमा मैले भाँति पारेर पकाएर त्यो मीठो भएको हैन, अजिना, प्याज, अदुवा र लसुन हालेर पकाएको तोरीको गुन्द्रुक लेकमा ज्यादै मिठो हुँदोरहेछ । त्यसमाथि रूख टमाटर पनि हालेको थियो ।

खानापछि मेरो त सधैँ चुठ्ने काम मात्रै हुन्थ्यो । सधैँ झैँ भाँडा माझ्ने नेतृत्व विराटनगरका साथीले गरे अनि सहयोग मनोजजीले । साथीहरूले धन्दा सकेपछि टर्च लाइट पाटीको डाँडामा झुण्डाएर तास पनि खेलियो । हाम्रो रमाइलो गर्ने तरिका देखेर अरू छक्क परे । गलेका हामी चाँडै सुत्यौ । बेला बेला ब्युँझदा हजुरआमाहरू खोकेको अनि को को घुरेको आवाज सुनिन्थ्यो । बाहिर पानी दर्किरहेको सुनिन्थ्यो । उच्च भाग भएकाले साउन १५ गते पनि त्यहाँ निक्कै जाडो थियो ।

भोलिपल्ट साउन १६ गते सोमबार हामी उज्यालो नहँुदै उठेर सभापोखरीमा नुहाउन गयौँ । हिमालबाट भर्खरै निस्किएको पानीमा उज्यालो नहँुदै नुहाउँदा जाडो भयो भनिरहनु नपर्ला । चिसो त भयो तर अस्तिदेखि भारी बोकेर हिँड्दा पसीनाले मैलिएको शरीर पखाल्दा आएको मज्जा कसरी वर्णन गरौँ ? हामी सबै तागाधारी थियौँ । सभापोखरीमा नुहाएपछि कसैले जनै लगाए, कसैले फेर्‍यौँ । यो हाम्रो साँस्कृतिक प्रचलन हो । सबैका सँस्कृति आ–आफ्नै हुन्छन् अनि गहिरिएर अध्ययन गर्दा विशिष्ट लाग्छन् । यहाँ लगाइराखेको जनै फालेर प्रसिद्ध भएका बाहुन पनि छन् अनि आफ्ना कुनै पूर्खाले नलगाएको जनै लगाउने उत्तिकै चर्चित मङ्गोलियन पनि छन् । हामी त साधारण मानिसहरू, चर्चित हुनु पनि थिएन , चलन छोड्नु पनि थिएन । यहाँ कति जनैको विरोध गर्ने अनि लामो भेष्ट लगाएर आफ्नो शरीरको जनै छोपिहिँड्ने विद्वान पनि छन् । तर हामी सबै सामान्य मानिसहरू, जनै देखिँदा लाज पनि नलाग्ने, जनै खुस्किदा जात गयो भनेर आत्तेस पनि नमान्नेहरू थियौँ । जात भनेको बंशाणुमा हुन्छ, बंशाणु हाम्रो प्रत्येक कोषको न्यूक्लियभित्र लौकाको लहरा जस्तो जेलिएको क्रोमोजोममा हुन्छ, त्यो कसै गरेर जाँदैन पनि आउँदैन पनि भनेर विद्यालयका कलिला नानीहरूलाई विज्ञान पढाउने हामी मानवीय धर्म मान्छौँ अनि हिन्दु सँस्कृति । सँस्कृति हाम्रो पहिचान हो, पहिचान र मौलिकता छोड्नु पनि भएन तर सँस्कृतिका नाममा कुसँस्कृतिलाई अँगाल्नु पनि हुँदैन भन्ने मेरो मत छ । तपाईँलाई प्रश्न उठेको होला यो पाजीको शव्दमा कुसँस्कृति भनेको चाहिँ के होला ? मेरो विचारमा अरूलाई असर पर्ने गरी गरिने तामझाम नै कुसँस्कृति हुन् । यी मेरा मनमा यो समय उव्जेका नितान्त व्यक्तिगत सोच हुन्, तपाइँलाई मन नपरे यसलाई विर्सिदिनु होला । इन्द्र ब. राईको कथा खोइ कता जुठो हो कि सुतक पर्‍यो भनेर विराटनगरका मित्रले ननुहाउने परे । नुहाउन पनि नहुने कस्तो जुठो–सुतक परेको होला ? हामी उनैलाई हाम्रा सामान रुँघ्न लगाएर पहिला नुहाउन गयौँ अनि आएर फोटो खिच्न तथा दर्शन गर्न सभापोखरीतर्फ उक्लियौँ । त्यहाँ आठ–नौ बजेसम्म मात्र मौषम सफा हुन्थ्यो, त्यसपछि कुनै भर नहुने गतसाल नै बुझेको कुरा थियो । तीर्थयात्रीहरू भक्ति दर्शन गर्न हत्तारिए, हामी चाहिँ पहिला त्यहाँको प्राकृतिक सौन्र्यतामा रमाउने सल्लाहका साथ उक्लिएका थियौँ ।

मकालु हिमालै लजाई रहेथ्यो
सभाले सुसेल्दै सुनाई रहेथ्यो ।
थिए झारपातै पनि सिर्जनामा
थियो पोखरी शान्त अर्को कुनामा ।।

अपुरो खण्डकाव्याशंमा लेखिएको कुरा एकदम सत्य लाग्यो । यहाँका झार पात पलाउन भन्दा फुल्न हत्तार गर्दारहेछन् । पातले खाना बनाउँछ अनि त्यही खाएर बिरूवाहरू बड्छन्, फल्छन् भनेर पढाएको पनि त्यहाँका झारपातले गलत सावित गरिदिने रहेछन् ∕ पहिला फुलेर बीउ बनाइहाल्ने अनि हिउँ नपरे बिस्तारै पात पलाउने त्यहाँका बिरूवाको साझा अनुकुलताको लक्षण रहेछ । खण्डकाव्य लेखन अधुरो भए पनि मेरा थुप्रै अनुभूति पद्यमा लेखेको रहेछु :

बसेको थियो ताल बुद्धै बनेर
हिमाली धरामाथि शुद्धै बनेर ।
थियो शुद्ध, सङ्लो, सफा ताल पानी
बिताऊँ कि लाग्ने उतै जिन्दगानी ।।

लाग्थ्यो सभापोखरीमा प्रकृति आफैँ एउटा धार्मिक अनुष्ठान गर्दैछ । त्यसको विधि पुर्‍याउन अनेक रङ्का स–साना फूलहरू सभापोखरीका माला बनेका देखिन्थे । ती फूलबाट चलेको सुवास धुपको काम गरिहेको थियो । वरिपरिका पहाडहरू अटल भई बसेका कर्ताहरू हुन् । सिर्स सिर्र चलेको पवन मन्त्र उच्चारण गरिरहको थियो । पोखरीको निकासबाट निस्किएको सभा खोलो आरती गाइरहेको छ ।

फूलेका थिए झार पाखै सिँगार्ने
सुवासै चलेको थियो लठ्ठ पार्ने ।
बसौँ वा सुतौँ हैन दौडौँ कि जस्तो
सभाको जलैमा म पौडौँ कि जस्तो ।।

वस्तवमा सभापोखरीलाई देखेपछि के गरौँ के गरौँ जस्तो भएर आयो । कराएर उफ्रिउँ कि, कुदेर गई त्यसैमा पौडिउँ अथवा यो प्राकृतिक फूलबारीमा मृगको पाठो जस्तो गटट कुदौँ जस्तो लाग्थ्यो । निक्कैबेर सबैजना अवाक भएर हेरियो त्यहाँको प्राकृतिक छटा अनि फोटो र भिडियो खिच्न थालियो ।

थुम्की, धर्मद्वार, भेडीगोठ, ओडार लगायतका ठाउँमा वास बसेर सभापोखरी दर्शन र स्नान गर्न आउने भक्तजन पनि यतिबेला सम्ममा आइपुगेका थिए । त्यो दिन यो पुण्य स्थानको स्पर्श गर्ने करिब सय जना भयौँ होला । लामा पढाएर सभापोखरीमा तुल टाङ्न आएका काठमाडौँका व्यपारी शेर्पाहरू आफ्नै ग्रन्थ पढिरहेका थिए । उता मादीको टोली ओम् नमो भगवते वासुदेवाय: भन्दै त्यही तुल टाङ्न सगाउँदै थिए अनि पोखरीको टापुमा अवस्थित देवीको थानमा बसेका शेर्पा पुजारीको हातबाट अवीर मुछेको टीका लगाएर आर्शीवाद लिइरहेका देखिन्थे । कोही टपरीमा बाती बालेर सभापोखरीको व्यसासन भनिने सानो टापुतिर बगाउँदै थिए । रुद्रजी त्यहाँ उपस्थित भक्तजनसँग अन्तर्वार्ता लिन थाले अनि ऋषिजी उनैलाई सघाउन । अन्य साथीहरू रमिता हेर्दै थिए, मैले सभापोखरीको देवीथान आसपास भेला भएका प्लाष्टिक, धुपका खोल आदि फोहर टिपेँ । त्यहाँ नजिकै फोहोर डढाउने ठाउँसम्म ल्याएर हालिदिएँ । त्यसपछि हामीले पनि दर्शन र पूजा गर्ने कार्यक्रम थियो । गतसाल सभापोखरी यात्रापछि मैले आमालाई त्यहाँ आफ्नो बारीमा फलेको अनाज चढाउने चलन रहेको सुनाएको थिएँ । आमाले हरियो मकैको घोगो पठाइदिनु भएको रहेछ । सुमीले चैनपुरबाट पनि आफैँलै कार्यालय परिसरमा रोपेर फलाएको लहरे आँप हालिदिएकी रहिछन् । साथमा सभापोखरीका लागि पठाइएका सबैका भेटी पनि त्यहाँ चढाएर हामीले टीका लगाइमाग्यौँ । फूल–अक्षता मागेर पोको पार्‍यौँ अनि त्यहाँबाट फर्किने तयारीमा लाग्यौँ ।

अब हिँड्ने बेलामा मनमा विरह आएको थियो । मायालु आफन्तसँग अनिश्चित समयका लागि छुट्दा जस्ता भावहरू आउँछन् त्यस्तै तरङ्ले मन कुडिँए जस्तो भएको थियो । यतिबेला यहाँ आउँदा झेलिएका अनेक झमेला बिर्सिएको थियो बरू फेरि पनि यो मनोहर ठाउँमा पटक पटक आइरहन पाऊँ भन्ने विचार उब्जिएको थियो । हामी पछाडि फर्कदै हेर्दै , पछाडि फर्कदै हेर्दै गरेर सभापोखरी सँग बिदा माग्दै थियौँ । मीठो सपना देख्दा देख्दै विउँझिए जस्तो, राम्रो साहित्य पढ्दा पढ्दै बिचैमा छोड्नु परेजस्तो अथवा भोक लागेका बेला नअघाइ उठ्नु परेको जस्तो भइरहेको थियो सभापोखरीसँग छुट्नु पर्दा । अब कुहिरो पनि नजिकै आइसकेको थियो, हामी पनि पाटीमा आएर लिम्बु दाजुको होटलमा चिया खाई बाटो लाग्यौँ ।

झोला पनि खाद्यान्न सकिँदै गएकाले अलिक हलुका भएको थियो । बाटो पनि ओरालो थियो । हामी खुरुखुरु हिँडिरह्यौँ । खाम्बुले पाटीमा आएर चाउचाउ खायौँ । बेलुकी गिद्धेको गोठमा आलु किनेर ल्यायौँ अनि त्यहीँको पाटीमा पाँचखपनका टोलिसँग मिलेर बस्यौँ । यो समूहमा आएका बहिनीहरूले सभापोखरी क्षेत्रमा आफूले देखे र भेटेजति फूल टिपेर ल्याएका रहेछन् । त्यहाँ कति किसिमका रहेछन् भनेर गन्दा एक सय सत्ताइस पुर्‍याए । कति अप्ठ्यारा पहरामा फुलेका टिप्न नसकेको उनीहरू बताउँथे । त्यसरी जम्मा गरिएको फूल उनीहरू गाउँका मानिसहरूलाई लगेर प्रसादका रूपमा लगाइदिँदा रहेछन् ।

भोलिपल्ट बिहान उज्यालो नहुँदै उठियो र झोला मिलाउन थालियो । पाँचखपनका मित्रहरूलाई चाहिँ साँझमा मात्रै गाउँ पुग्ने विचार रहेछ । बेलैमा पुग्दा यात्रामा मैलिएका अनि भिजेर नसुकेका लुगा पसीना सँग मिसिएर आएको दुर्गन्ध अरुले देखेर लाज लाग्छ भन्ने उनीहरूको मत रहेछ । त्यहाँबाट खुरुखुरु हिँड्दा एक दुई बजेसम्ममा उनीहरूको गाउँ पुगिने रहेछ । तर हाम्रो त चैनपुर पुग्न निक्कै धेरै थियो बाटो । त्यसैले अलिक हत्तार गर्दै थियौँ हामी । ब्ल्याङ्केट भित्रैबाट यात्रामा फूल सङ्कलन गर्ने एउटी बहिनी बोलिन् :

‘ म त सपनामा पनि पो भीरमा फूल नै टिप्न गइरहेको थिएँ ।’

‘ लु म पनि माथि चुचूरातिर नै कुदिहिँडेको सपना देखिरहेको थिएँ ।’– अर्का युवकले थपे । हाम्रो ओछ्यानकै छेउमा सुत्ने युवकलाई औँल्याएर रुद्रजीले भने :

‘ अरुले चाहिँ के के सपना देख्नुभयो थाहा भएन तर उहाँ साथीले चाहिँ टाउकामा शत्रुले लाठी बजारेको देख्नु भयो होला हैन ?’

रुद्रले यसो भनेपछि ती साथी ओछ्यानमा बस्दै आफ्नो दाहिने पुर्पुरो सुमसुम्यमउँदै भने :

‘ ऐया यहाँ अझै दुखिरहेको छ । हैन मैले देखेको सपना तापाईँले मिलाउनु अनि बिपनामा छाम्दा पनि लाठीले लागेको ठाउँमा दुख्नु ∕ यो कसरी भयो ? तपाईँ त भगवान् हो कि बोक्सा हौ ?’

सबैजना हाँसियो । उनको निधारमा नीलो टुटुल्कै देखियो । रुद्रले कुराको रहस्य खोल्दै भने :

‘ राती बाहिर जान उठ्ने हुँदा भित्तामा अड्याइ राखेको लौरो लडाएँछु , समाउनै नपाई तपाईँको निधारमा बज्रियो । तर तपाईँ नब्यूँझी निदाइरहनु भयो, माफी माग्न पनि पाइँन । त्यसैले क्षमा माग्न यो कुरा निकालेको थिएँ ।’

निक्कैबेर हाँसियो सबैजना । लाठीले खाने मित्र पनि निधार सुमसुम्याउँदै हासे । यत्तिकैमा अस्ति राती सभापोखरीमा सँगै वास बसेका मादीका हजुरआमाहरूको टोलि मास्तिर गोठमा बसेर ओरालो लागे । रुद्रजी त्यो साथीलाई लाग्ने लौरो लिएर हत्तपत्त बाहिर गए अनि एकजना हजुआमासँग वादविवाद गर्न थाले :

‘ हजुरआमा त्यो तपाईँले बोकेको लौरो मेरो हो यता दिनुहोस् त ।’

‘ आमोइ नि त, मादी देखि मैले टेकेको लौरो कसरी तपाईँको हुन्छ र दिनु ?’ हजुरआमाको कुरामा साथ दिँदै अन्य केही महिला वृन्दले पनि लौरो नसाटिएको जिकिर गरे । रुद्रजीले पनि पाटीको छेउमा फ्याँकिराखेको छाताको कपडा देखाउँदै आफ्नो तर्क राखे :

‘ अस्तिका दिन यही ठाउँमा आइपुग्दा यो च्यात्तिएको छाताको डण्ठी ठोकेर लौरो बनाउने म, अहिले तपाईँरू तीर्थयात्रा गएर फर्किदा सबै मिलेर भूट बोल्ने ? खुरुक्क यो लौरो लानु, त्यो लौरो दिनु । यहाँ तपाईँको छुच्चो लौरोले एकजनाको कसो टाउको फुटाइदिएन । त्यसको पनि क्षतिपूर्ति तिराउलान्, छिटो दिएर बाटो लाग्नुहोस् ।’

हजुरआमाहरूको केही जोर चलेन । आखिर रुद्रजीले सभापोखरीको पाटीमा हराएको आफ्नो छाताको डण्ठी ठोकेको लौरो यहाँ फेला पारे । हामी पाँचखपनका युवा यात्रुहरूसँग बिदा मागी बाटो लाग्यौँ ।

बाटाका किनारमा भेटिएका मालिङ्गोका टुसा भाँचेर बोक्दै हामी हिँडिरह्यौँ । दोवाटेको चौतारामा अघिका हजुरआमाको टोलीसँग भेट भयो । उनीहरू यहाँबाट गुफापोखरी तर्फ लाग्थे, हामी जडिबुटेतर्फ लाग्नु पथ्र्यो । चौतारीमा आमैहरूले भजन गाएर नाच्दै रमाइलो गरे । छुट्ने बेलामा सामूहिक फोटो खिची विदाबारी भयौँ । दोवाटेको गोठमा रु. एक सयमा अन्दाजी एक किलो आलु किनेर हामी जडिबुटेको अस्ति दोस्रो रात वास बसेका गोठमा आएर खाना बनाउन थाल्यौँ ।

ग्याँस सकिएला कि भन्ने डरले राम्रोसँग नपकाई खाएँछौ हामीले दाल । आज निक्कै पटक सिटी लगाएर पकाएको मुग, खेसरी र रहरी मिसिएको दाल खूव मिठो भयो । त्यसको साथमा लेकको आलु र मालिङ्गोका टुसाको सब्जी पकाएको थिएँ । घिउ पनि यही छाकमा सक्नुपर्ने । हिजो गिद्धेकै गोठमा तयार पारिएको सुकुटी पनि थियो तर त्यहाँ कसैले खान मन गरिएन । यो छाकको खाना यात्राकै अविस्मरणीय मिठो भयो । अब उभ्रिएको चामल, चिनी, खानेतेल, डिजेल, मकै, भटमास लगायतका भारी त्यहीँ कसैले प्रयोग गरोस् भन्ने कामनाका साथ छोडिदियौँ । बाटो लाग्न हत्तार भएका बेला पो मनोजले भने :

‘ एकैछिन है, यहाँ अस्ति जाँदा एउटा भिजेको ज्याकेट लुकाइ राखेको थिएँ कि, झिकेर लानुपर्‍यो ।’

भिजेर नसुक्ने अवस्था आएपछि उनले नयाँ ज्याकेट सुटुक्क यहीँ छोडेका रहेछन् । यही कारण गुफाको बाटो जाने चर्चा चल्नसाथ उनी विरोध गर्दा रहेछन् ∕ अब त पुरै ओह्रालो हिँड्नु थियो । अघि सब्जी मिठो भएकाले घर लान हामीले निक्कै मेहनतका साथ मालिङ्गोका टुसा भाँच्यौ । पानी पर्दै अनि रहँदै गरिरहेको थियो । हामी चाहिँ ओरालामा चिप्लिदै र लड्दै तल तल झर्दै थियौँ । एकठाउँ त साथीहरू एक माथि अर्को खप्टिएर लडेका थिए । सानो जीउ भएका मित्र ऋषिलाई मैले पेटीमा समाउन भेटेँछु र चोटपटक लाग्नबाट बचे ।

अब जुकाले आक्रमण गर्ने ठाउँ आइपुगियो । आज गाईवस्तु गोठ सारेको भएर बाटो यतिबिघ्न हिलो भएको रहेछ कि कोही पनि नलडेर रेकर्ड राख्न सकिएन । जुकालाई रक्तदान गर्दै हामी कुदिरह्यौँ । यहाँ आइपुग्दा यात्राको बारेमा टिप्पणी मात्र गरिएन सबैलाई निम्नानुसारको पद्वीले विभूषित समेत गरियो :

विराटनगरे साथी : राम्रो भाँडा ड्राइभर र ल्याङ्ल्याङ्गे

रुद्र घिमिरे : हँसाउनको माहिर र चकचके

ऋषिकेष पोख्रेल : फूर्तिलो र सहयोगी

मनोज ओस्ती : एकनासको हिफाजती हिँड्न सक्ने

एकु घिमिरे : खाना पकाउन अल्छि नगर्ने

यस बाहेक रतिरागात्मक गफको हिरोका रूपमा रुद्रजीले पाएको पद मादीकी महिलाले समेत सुन्ने गरी मनोजले छाडा प्यारोडी गाएको भनेर लिन मानेनन् । एक पटक मात्र बोलेको भए पनिमहिलाले सुनेको कारण मनोज त्यो पद स्वीकार्न बाध्य पारिए ।

बाटो चिप्लो भएका कारण यात्रा सोचेको समयमा तय भएन । मोविल पोखिएको पीचमा मोटरसाइकल चिप्लेको जस्ता भयौँ हामी । साँझ झमक्कै परिसक्दा मयुमको फेदमा आइपुगियो । अब एउटा अस्ति हामी आएको झोडीयुक्त चोर बाटो अनि अर्को गतसाल हामी हिँडेको अलिक फराकिलो बाटोमध्ये कुनमा हिँड्ने भन्ने कुरा चल्यो । ऋषि बाहेक सबैले सजिलै बाटो जाने मत राखियो । एक्लो बृहस्पतिको हार भयो । हामी मोटर हिँड्नसक्ने गरी ट्रयाक खोलिएको बाटो गफिएर हिँड्दैमा बाटो छोडेर अर्को तर्फ लागेँछौ । अब रात पनि पर्‍यो, बाटो पनि हरायो । यहाँ सबैले भक्कु दु:ख पाइयो । कष्टले हिँड्दै थियौँ लेउ लागेको बाटामा चिप्लिएर लड्ने क्रम शुरु भयो । बल्ल तल्ल आफू आफँैसँग रिसाउँदै हिँडेर हामीले बाटो भेट्यौँ । अब हामी पोखरी बजार आइपुग्न लागेका थियौँ । सबैले आ–आफ्नो घरमा खाना पकाउन अनुरोध गर्दै फोन गर्‍याँै । मनोजले सुमीलाई फर्सीका मुन्टा पकाउनु भन्दै फोन गरे । खाजा खाएर तुरुन्त हिँडिहाल्ने भन्ने सल्लाहका साथ हामी पोखरी बजार प्रवेश गर्‍यौँ ।

गलेका बेला चिल्लो मासुसँग खाजा खाएकाले हामी उठ्नै नसक्ने भयौँ । रात पनि निक्कै छिप्पिदै गयो । प्राय: सबैजना आलसतालस भइएछ । उता घरमा आइपुग्छौ भनेको हुँदा यहाँ बस्ने कुरा पनि भएन । अल्छि मान्दै त्यहाँबाट हिँडियो । बजार छोडेर अलिक वर आएपछि दर्के पानी समेत पर्न थालेपछि हामी एउटा घरको पिँडीमा सुतेको कुरा मेरो दिमागमा अहिले पनि सपनामय भएर आउँछ । ब्याट्री सकिएर स्वीच अफ भएकाले घरका मानिसहरूको फोन पनि आएनछ । बिहानको करिब दुई बजे चिसो हावाले छेडेपछि ब्युँझदा पो म आफैँलाई छक्क लाग्यो । सबै साथीहरू यत्रतत्र निदाइरहेका रहेछन् । सबैजना उठेर फेरि बाटो लागियो अनि करिब बिहानको चार बजे चैनपुर आइपुग्यौँ ।

यसरी एउटा सपनामय ठाउँमा यात्रा गरेको वर्णन खण्डकाव्यका रूपमा लेखेर प्राज्ञ दाजु उपेन्द्र पागललाई हँसाउने रहर पुरा गर्न निक्कै समय प्रयास गर्दा पनि नसके पछि मैले ढिलो गरी यो संस्मरण यस ढङ्गले लेख्न सकेँ । तपाईँहरूलाई यो यात्रा वर्णन पढ्दा पक्कै पनि उस्तो रमाइलो भएन होला । भरपुर रमाइलो अनुभूतिका लागि शरीरमा बल छँदै एकपटक सभापोखरी यात्रा गरिहाल्नुहोस् भन्ने अनुरोधका साथ अपूर्ण खण्डकाव्यको अर्को एक अंश राख्दै एउटा पूर्ण यात्राको बिट मार्छु ।

क्यामेरा कति खिच्न सक्दछ कठै, आँखा कमै देख्दछन्
लक्ष्मी, भानुहरू पुगेर शिखरै लेख्दा कमै लेख्दछन्।
सारा दु:ख थकाइ हर्छ जलले, वा ! वा !! सभापोखरी
ढुङ्गामा पनि फूल फुल्छ सहजै, आहा सभापोखरी !!

एकु घिमिरे
अन्तुडाँडा ,इलाम

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.