~शैलेश भट्टराई~
मैले उनलाई राम्रैसँग चिन्थें, उनले पनि मलाई राम्रैसँग चिन्थे । भेट हुँदा मैले उनलाई दस औंला जोडेर नमस्कार गरेको हुन्थेँ । उनी भने हात त परै जाओस्, ओठ पनि नखोली गजधुम्म परेर हुँम्म गर्दै नमस्कारको जवाफ दिन्थे ।
उनी र मबीच दुश्मनी पनि थिएन । मित्रता त झन् हुने कुरै भएन । सायद उनलाई म जस्ता झारको नमस्कार स्वीकार थिएन र थिएन रेस्पोन्स गरिरहने फूर्सद पनि । किनभने उनी मेरा हाकिम म उनको कारिन्दा । कारिन्दा त्यो पनि कुनै ट्रेड यूनियनमा आबद्ध नभएको बबुरो कारिन्दा । उनी भने शीर्ष राजनीतिक दलका शीर्ष नेताको हट्लाइनमा चौबिसै घण्टा सम्पर्क गर्न सक्ने हैसियत भएका निकै ठूला हाकिम ।
हाउभाउ हेर्दा, बोलिचाली सुन्दा लाग्थ्यो यो देश त उनैले पो हाँकिरहेका छन् । आफूभन्दा शक्तिशालीको चाकरीमा कुनै कसर बाँकी नराख्ने र आफूभन्दा निम्छरोको हुर्मत लिन पनि कुनै कसर बाँकी नराख्ने उनको काइदाको बानी थियो । लाग्थ्यो, उनको तरक्कीको राज नै यही हो । उनको र मेरो काम गर्ने कार्यालय एकताका एउटै थियो । पछि मेरो सरुवा भएपछि भने हाम्रो कार्यालय पनि फरक फरक भयो । ऊनी केन्द्रमा म जिल्लामा । बेलाबेलामा निरीक्षण सुपरीवेक्षण भन्दै जिल्लामा आउँदा नमस्कारका यस्ता दृष्यहरू पटक-पटक दोहोरिन्थे ।
जागिरले केही लछारपाटो लाउने छाँट मैले नदेखेको थुप्रो भा’थ्यो । विदेश हानिने सोच धेरैचोटि बनाएँ पनि । तर, कहिले के नमिल्ने कहिले के ।कहिले गाँठै नहुने कहिले आँटै नआउने । गाँठ र आँट दुवै मिलेपछि बल्ल विदेश हान्निने छाँटकाँट देखियो । जसोतसो मुस्किलले दुई बर्ष बेतलवी विदा मिलाएर सुइँकुच्चा ठोकियो समुन्द्रपारी । दुइ बर्षसम्म उत्पात दु:ख गरियो अलि अलि पैसो पनि कमाइयो । अनि आइयो आफ्नै देश ।
दुई वर्षको अन्तरालमा गणतन्त्र आएछ । तर त्यसको भेउ कतै पाइन्नथ्यो । झन् धेरै राजाहरू देखिन्थे ।टोपीधारी राजाहरू ।
आएको तीन दिनपछि विहानै पशुपतिनाथको दर्शन गर्न जानुपर्यो भनेर लम्किएँ त्यतातिर । गौशालाको पुलिस चौकीलाई दाहिने पारेर लम्कँदै थिएँ, अलि पर पुगेपछि बाटोमा उनै हाकिम आउँदै गरेको देखें । शायद पशुपतिनाथको दर्शन गरेर फर्कंदै थिए । मनमनै सोचें-`भगवानको दर्शन गर्न आको म पशुपतिनाथलाई नमस्कार नगरी यी नाथेलाई नमस्कारै गर्दिनँ । आखिर राम्रो रेस्पोन्स् गर्ने पनि होइनन् । गजधुम्म परेर हुँम्म गर्ने त हुन् नि ।’
बाटो क्रस गरी यसो तर्किन मात्र के खोजेको थिएँ, हाकिमसाप त जुम्लुङै अगाडि नै पो आइपुगेछ्न् ।कति छिटो हिँडेका । जीउ पनि अलि छरितो भएछ । भुँडी भासिएछ । पहिला टड्कारै दृष्टिगोचर हुने दोस्रो चिउँडो अहिले खोज्नुपर्ने भएछ ।
मन नलागी नलागी आफ्नो पुरानै स्टाइलले नमस्कार गरें । बडो अचम्म र उदेक! यसपालि उनले दसै औंला ट्याप्प जोडेर ‘नमस्कार भट्टराईजी’ भन्दै नमस्कारको स्तरीय रेस्पोन्स् गरे ।
मैले अनुमान लगाएँ-`शायद पशुपतिनाथको मन्दिर छेउ भएर हुनुपर्छ, यस किसिमको सम्मानित रेस्पोन्स ।´
म आफ्नो बाटो लाग्न खोजें ।
`निकै हतारमा हुनुहुन्छ भट्टराईजी ?´
`कहिले आउनु भो विदेशबाट ?´
`एकछिन फुर्सद भए चिया पिउँदै गफ गरौं न हुन्न ?´
एकाएक हाकिमसाप बोले । यसरी बोले, मानौं हाम्रो गहिरो दोस्ती थियो । यसरी चियाको अफर गरे मानौं हामी पहिला पनि चिया पिउँदै सुख दु:खका कुरा गर्थ्यौं ।
म फेरि जिल खाएँ ।
अरूबेला भेट्दा नमस्कारलाई तिरस्कार, वहिस्कारझैं गर्ने हाकिम आज नमस्कार फर्काएर पनि नपुगेर गफिन खोज्छन् ? त्यो पनि चियाको अफर गर्दै । अघिको जस्तो अनुमान अब काम लाग्नेवाला थिएन ।
‘कतै यो दुई बर्षको बीचमा यिनलाई मानसिक रोगले पो च्याप्यो कि क्या हो !’
‘अथवा गणतन्त्र आएर पो हो कि ?’
‘विदेश गएर मैले धेरै धन पो ल्याएँ कि क्या हो ?’
यस्तै यस्तै थुप्रै तर्कना गर्न म वाध्य थिएँ ।
‘होइन होइन, यिनलाई मानसिक रोग नै लाग्या हुनुपर्छ ।’ मैले मनमनै अन्दाज गरें ।
सुनेको थिएँ, जागिरबाट रिटायर्ड भएपछि कतिपयलाई मानसिक रोगले समात्छ रे ।
न मैले चियाको स्वाद पाएँ, न उनका कुरामा ध्यान दिन सकें । खाली उनको परिवर्तित व्यवहारमा मात्रै एकोहोरिएँ । नमजाले घोरिएँ ।
अब मैले छुट्टिने बिचार गर्दै-
‘हस् त सर, अब लागौं है त’ के भनेको थिएँ ‘हस् त भट्टराईजी’ भन्दै हात मिलाउन पो खोजे । मैले पनि हात अघि बढाएँ र विदावारी भएँ ।
बाटोभरी त्यही घटना मात्रै याद आइरह्यो । आएदेखि साथीभाइहरूसँग भेटघाट भएकै थिएन । विदेशबाट फर्केदेखि म आफ्नै निजी काममा मात्र व्यस्त भएको थिएँ । त्यसैले साथीभाइहरूसँग यसो जमघट गर्नु पर्यो भनेर बिचार गरें । अफिसका मेरा नजिकका साथीहरूलाई भोलिपल्ट साँझ साढे पाँच बजेतिर पुरानो बानेश्वरको ‘बाजेको सेकुवा’मा बोलाएँ ।
बोलाएजति सबै साथीहरू सही समयमा भेला भए । र म पनि ठीक समयमै पुगें । खाँदै, पिउँदै, गफिँदै, हँसीमजाक गर्दै जमघटलाई अविष्मरणीय बनाउँदै थियौं । गफ गर्दै जाँदा मैले हिजो मात्रै भेटेका हाकिमसापको कुरा पनि आयो ।
मैले हत्तपत्त अमृतलाई सोधें- ‘बुढालाई मानसिक रोग लाग्या छ ?’
अमृतले भन्यो-‘केको मानसिक रोग लाग्नु नि !’
‘स्वस्थ छन् बुढा ।’
‘रिटायर्ड हुने बेलामा बुढाले मेरो प्रमोशनमा अहम् भूमिका नखेलेका भए मेरो बढुवै नहुने यार ।´
उनलाई मानसिक रोग लागेको भन्ने मेरो अनुमानले हावा खायो ।
बरू एउटा मानसिक रोगबाट मुक्ति चाहिं पाएका रहेछ्न् । ‘पद, पैसा, प्रतिष्ठा र पावरले पनि मान्छेलाई मानसिक रोगी झैं बनाउँछ’ कता कता सुनेको यो कुरा आज हो नै झैं लाग्यो ।