व्यङ्ग्य निबन्ध : ए विद्यार्थी भाइ गाई लिएर कता ?

~निर्मल भट्टराई~

एउटा कलेज ड्रेस लगाएको विद्यार्थी गाई लिएर जाँदै थियो । सधैँ झोला बोकेर कलेज जाने विद्यार्थी आज एकाएक गाई डोर्याएर हिँडेको देखेपछि मैले सोधेँ– “ए भाइ, आज एकाबिहानै गाई लिएर कता ?”

“कलेज हिँडेको नि !”

“कलेज रे ! कलेज जान किन गाई ? किताब कपीको झोला खै त ?”

“दाइलाई थाहा नै छैन । स्ववियुको चुनाव आउँदैछ क्या ? म पनि यसपालि स्ववियुको सभापतिको उम्मेद्वार बन्दैछु ।”

“मैले बुझिन । के स्ववियुको चुनावमा गाईको के काम ? गाईले भोट हाल्छ कि क्या हो तिमीहरुको चुनावमा ?”

“कुरा त्यसो होइन क्या ?”

“के हो कुरा भन न त ।”

ऊ भन्न थाल्यो– “हाम्रो देश अहिले गम्भीर सङ्कटमा छ । राष्ट्रियतामाथि कालो बादल मडारिएको छ । हाम्रो पार्टीबाहेक अरु सबै पार्टीहरु राष्ट्रवादी रहेनन् । देश जोगाउन हामी अत्यन्त संवेदनशील भएर लागिपरेका छौँ । अहिले हाम्रो पढाइभन्दा देश जोगाउन चाहन्छौँ । त्यही भएर यो गाई आजदेखि हाम्रो कलेजको कम्पाउन्डमा बाँधिने छ । ”

“कलेजमा गाई बाँधेर राष्ट्रियता जोगाउने ?” म अक्क न बक्क भएँ ।

उसले प्रष्ट्याउँदै भाषण शैलीमा भन्दै गयो– “स्ववियुको चुनावमा हामी राष्ट्रवादको नारा घन्काइराखेका छौँ । नारा घन्काउँदा मात्र विद्यार्थीहरु आकर्षित नहुने भएकाले कलेजमा नेपालका राष्ट्रिय चिन्हहरुको व्यापक प्रदर्शन गर्ने हाम्रो अभियान छ । सबै कलेजतिर राष्ट्रिय झण्डा फहराइसकेका छौँ । अब क्रमैसँग अरु राष्ट्रिय चिन्ह प्रदर्शन गर्ने योजनामा छौँ । त्यही भएर आजदेखि कलेजमा गाईको प्रदर्शन गर्न लागिएको हो । हाम्रा प्रखर राष्ट्रवादी राजनेताले सम्भव भएका सबै राष्ट्रिय चिन्हहरुको कलेजमा व्यापक प्रदर्शन गर्ने आदेश दिनुभएको छ ।”

मैले आफू विद्यार्थी हुँदा स्ववियुको चुनाव सम्झेँ । त्यो बेलाको चुनाव र अहिलेको चुनावमा आएको परिवर्तन देखेर म चकित भएँ । सोचेँ तब न लोकतन्त्र, तब न गणतन्त्र ।

मैले त्यो गाई तानेर हिँड्न हतार गरिरहेको विद्यार्थीलाई फेरि रोकेर सोधेँ–“अरु राष्ट्रिय चिन्हको कलेजमा कसरी प्रदर्शन गर्छौ त भाइ ?”

“हाम्रो सङ्गठनको हिजोको बैठकबाट सबै निर्णय भइसकेको छ । हाम्रा सबै महिला साथीहरुले भोलिदेखि सिन्दूर लगाएर आउनुहुन्छ । सकेसम्म सबैलाई सिन्दूर लगाउन प्रेरित गर्नुहुन्छ । लेकतिरका साथीहरुले लालीगुँरासका स–साना रुख नै उखेलेर कलेज कम्पाउन्डमा रोप्नुहुन्छ ।”

“अनि डाँफे चाहिँ कसरी प्रदर्शन गर्ने नि ?”

“यो बारेमा हिजोको बैठकमा लामो छलफल भएको थियो । अन्त्यमा उखान टुक्काका बादशाह हाम्रा राजनेताको मुखारवृन्दबाट फुत्त समाधान निस्क्यो– ‘सकेसम्म सास, नभए लास ।’

मैले बुझिनँ ।

उसले प्रष्ट्यायो– “भोलि नै एउटा हेलिकप्टर चार्टर गरिनेछ । हिउँमा खेलेर हुर्केका शेर्पा साथीहरुको एक टोली सगरमाथा बेसक्याम्पतिर पठाइनेछ । साथमा केही अत्याधुनिक राइफलसमेत पठाइने छन् । सकेसम्म डाँफेलाई जिउँदै समातेर ल्याएर कलेज कम्पाउन्डमा ठूलो पिँजडाभित्र प्रदर्शन गरिनेछ । सो नसके हाम्रा सार्प सुटरले डाँफेको शिकार गर्नेछन् । त्यो मृत डाँफेलाई एउटा अग्लो बाँस गाडेर त्यसको टुप्पोमा निर्वाचन अवधिभर झुण्ड्याइनेछ ।”

“अनि खुकुरी ?”
उसले घुँडासम्म आउने मोजा सारेर एउटा ब्रान्ड न्यु खुकुरी देखाउँदै भन्यो– “यस्ता खुकुरी हाम्रा सबै साथीहरुले बोक्नुभएको छ । चुनाव नजिकिँदै जाँदा यथोचित यिनीहरुको प्रदर्शन गरिनेछ । यो हाम्रो सबभन्दा प्रभावशाली प्रदर्शन हुनेछ । यसैले हामीलाई चुनाव जिताउनेछ ।”

चुनाव प्रचारशैलीबारे इतिवृत्तान्त सुनेपछि मलाई लाग्यो– यिनीहरुले पक्का चुनाव जित्छन् ।
त्यो विद्यार्थी भाइलाई अग्रिम शुभकामना दिँदै मैले अन्त्यमा सोधेँ– “यसरी आकाश पाताल जोडेर चुनाव जितेपछि चाहिँ के गर्नुहुन्छ ?”
एसले नअल्मलिई उत्तर दियो– “हाम्रा महान अग्रजले गरेजस्तै हो, नेता बन्ने, गाडी किन्ने ।”
ऊ हतारियो । भाषण गर्नुछ भन्दै गाई धपाउन थाल्यो । गाई ड्वाँ ड्वाँ कराउँदै थियो । कुन्नी किन हो, त्यो गाई कलेजतिर जान मानिरहेको थिएन ।

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.