व्यङ्ग्य निबन्ध : सागको सुकुटी

~चूडामणि खनाल~

काम्यो लुग्लुग त्यो गरीब बिचरा त्यसमा दया गर्छ को ?” भीमनिधि तिवारीले यस प्रश्नको उत्तर पाएरै आँखा चिम्लिए कि वा यो प्रश्न अनुत्तरित नै रहृयो । यो कुरा मलाई थाहा भएन । मलाई त के मात्र थाहा छ भने भीमनिधिको पालामा जस्तै अहिले पनि काठमाडौँ उपत्यकाका सबै गाउँगाउँमा, घरघरमा, जहाँतहाँ- “छानामा पथमा तथा चहुरमा चिनी छरेझैं थियो” भइरहन्छ।

आज बिहानको प्रातःभ्रमणले उनै संवेदनशील भीमनिधि तिवारीलाई सम्झाउनसम्मन् सम्झायो ।

हेमन्तको हिमचिसे ठिहिरो चरमचुलीमा पुगेको अनि घमाउने माघ पनि नलागिसकेको अवस्थामा काठमाडौँका पवित्र तिर्थधाम त्रिवेणी (अर्थात् बल्खूं-वाग्मती-विष्णुमतीको तटमा) टेकुमा दुर्गन्ध स्नान गर्दै रहेछन्, करीब पौने शताब्दी वर्षा बूढा बा ।

बूढाबा जुन स्थानमा ध्यानमग्न थिए, त्यस ठाउँको खास नामचाहिँ बलेखू हो । त्यसै ठाउँको चक्रपथको पुलमा बूढाबा “रात्रौ चिबुकसमर्पित जानुः”को शैलीमा घोसे मुन्टो लगाएर बसेका देखिएका छन् ।

घरबुना कपडाको कछाड, त्यसै कपडाको भोटो लगाएर त्यसै कपडाको बर्को ओढेका पिण्ड खानेखाने उमेरका यी बूढाबालाई देखेपछि मेरो प्रातः भ्रमणको दौडाइको गति केही ढिला भयो, मन संवेदनशील भयो र मेरा दुवै पाइतालाहरू अनायासै बूढाबातिर लम्किए र टक्क अडिए । त्यसरी पाइतालाहरू ठप्प हुनुको रहस्य बूढाबाप्रतिको मेरो टीठ र उनले लगाएको घरबुना कपडाले उब्जाएको राष्ट्रियता थियो । मेरो घरेलु उद्योगप्रतिको आत्मीयता थियो ।

बूढाबा ! घर कहाँ हो? मेरो सम्मानपूर्वकको जिज्ञासा सुनेर उनले धनकुटातिरको कुनै गाउँको नाम लिए । धनकुटाको आवहवाले धेरथोर छोएको नाताले होला मैले बूढाबाप्रति ममताको मात्रा निकै बढाएँ । कुराकानीका क्रममा उनले पनि आफ्नो नाम घाम र कामबारे रिठ्ठो नबिर्राईकन भने ।

बूढाको नाम र धामले मेरो ध्यान त्यति खिचेनन्, जति ध्यान उनको कामले खिच्यो । यस ठन्डीमा पनि बूढाबा काठमाडौँमा आउनुको मूल रहस्य के रहेछ भने उनकी प्यारी छोरीलाई ज्यादै मन पर्ने खाद्यवस्तु सागको सुकुटी पुर्याउनु रहेछ । छोरीले हाते फोनमार्फ् गरेको आदेश तात्तातै पूरा गर्न उनी आएका रहेछन् । छोरीको माग भुइँमा खस्नासाथ पूरा गर्नुपर्ने बाध्यता बूढाबालाई अहिले पनि उत्तिकै रहेछ । उनी आदेश मान्ने कार्यमा अभ्यस्त भइसकेका रहेछन् ।

मान्छेले आफूलाई दुई किसिमको अवस्थामा सम्पूर्ण नङ्ग्याउँछ र रित्याउँछ । एक उसको अहँ चुलिएको अभिव्यक्ति दिँदा र अर्कोचाहिँ आत्मीयता घिप्लिक्कै भएर पोखिएको वेला । हुन पनि यी यस्ता किसिमका क्षण हुन्- जतिवेला मान्छेले आफ्नो आबरु खुस्किएको पनि थाहा पाउँदैन । अथवा भनूँ -उसलाई कर्तव्य वा अकर्तव्यका बीचको दूरी थाहा नै हुँदैन ।

बिचरा बूढाबा छोरीको घर नचिनेर त्यहाँ अलपत्र परेका पनि त रहेनछन् नि कुरै कुरामा उनले रहस्य खोले ।
जतिवेला आइपुगे पनि बलेखूकै पुलमा बस्नु, तर घरमा चाहिँ नआउनु नि ! छोरीले हातेफोनमार्फ् आदेश गरेकी रहिछन् । छोरीको बर्खिलाप जाने हुतीचाहिँ बूढाबाले हराइसकेका रहेछन्, त्यसैले त उनी खानु र खुट्नु केही नगरीकन पुलको छेउमा अलपत्रिएका रहेछन् । त्यसो त बूढासँग खाद्यवस्तु नभएको पनि कहाँ हो र ? ताजा घिउ र चिनीको पाक पुगेको झुरुम झुरुम चपाइने, मुखै रसाउने पाथीएक सिरौँलाको खट्टे र पाथीपाँचेक खाँटी दूध घोटेर बनाइएको कुराउनी कोट्याएर खाने ह्याउचाहिँ आएनछ । छोरीले दुवाच्यले गाली पो गर्ने हो कि ? भन्ने त्रासले उनी त्रसित भएका रहेछन् बुझ्दै जाँदा बूढाबा खानु न पिउनुसँग बस्नुको रहस्य पनि खुलिहाल्यो ।

कुरै कुरामा बूढाबाले आफूलाई निकै विस्तृत गरे । काठमाडौँमा त खानको भन्दा बढी महत्व लाउनाको हुन्छ रे । यहाँका मान्छेहरूले २००।- मूल्य बराबरको कपडाको सिलाइको ज्याला ५००।- सम्मन् पनि तिर्छन् रे खाएको त कसैले पनि देख्तैनन्, तर लगाएको त सबैले देख्छन् रे भन्ने मन्त्र साना ठूला सबैले जप्छन् रे । त्यसैले खाने लगाउने कला नसिकेका बाले घरमा आएर डिर्स्र्टब गर्न नहुने भएकाले नै छोरीले उनलाई मलेखूमा नै रोकेकी हुन् रे । यसरी बूढाबाले भित्री रहस्य खोल्दै गएपछि चित्त दुखाएर पिन्चे स्वरले भने -मलाई त मेरै छोरीले ‘पाखे’ मात्र होइन ‘खेपा’ पनि भन्छे । खेपा भनेको के हो हँ ?

‘भित्र छुरु माले, बाहिर बाहिर सुरुवाल आले भन्ने मगर भाषाको आहान भन्दै बूढाबाले भने -आफ्नो दुःखभन्दा छोरीको इज्जत नै ठूलो ह कि ? बूढाबा त गिँदरीको घाँसले हाते भैसी पग्रिएझैँ पग्रिन थाले-पहाडिया खाँटी घिउका तुलनामा शहरमा पाइने घिउको महत्व हुँदैन रे त्यसैले मैले छोरीलाई आफैंले दही मथेर घिउ ल्याइदिएको छु । उनले पोको फुकाए र टम्म घिउ भरिएको काठे ठेकी देखाए । अनदीको चाम्रे भनेपछि छोरी हुरुक्क हुन्छे । त्यसैले माना चारेक अनदीको चामल पनि ल्याएको छु, बूढाबाले आफ्नो रहस्य खोल्दै गए । फतक्क भएर पाक्ने पिँडालुमा मस्यौरा मिसाएको गलमटे तरकारी छोरीलाई औधी मन पर्छ भनेर नै आफूले पिँडालु र मस्यौराको पोको पनि बोकेको कुरा गरे र बूढाले भने- आबरु त सबैको हुन्छ नि !

हाम्रा ज्वाइँले छोरीको रूपसँग बिहे गरेका हुन् रे । हाम्रो कुल त के को कुल हुन्थ्यो रे? “समानकुलशीलस्य” भन्ने आदर्शर्को त मनुमहाराज सँगसँगै मृत्यु भएको हो रे । कहाँको राजाराम, कहाँको गने भण्डारी भनेझैँ हामी ज्वाइँ ससुरालीका बीचमा तुलनै हुन सक्तैन रे । शहरिया सुकिला मुकिला ज्वाइँका परिवारसँग हामी पहाडिया भैमालेहरूको उठबस नै मिल्दैन रे हो बाबु? बूढाबाले जिज्ञासामूलक विस्तारित नेत्रले मलाई हेरे ।

लोग्ने पाउनासाथ छोरी बिरानी हुने कुरा थाहा पाएको भए धामा गरीगरी किन पो पढाउँदो हुँ, गाउँघरका ढिकी, जाँतो र हलो जोतारामा रमाउने ज्वाइँसँग छोरीको विवाह भएको भए अहिले मेरो पनि त आबरु रहँदो हो शहरिया ज्वाइँको स्तरको लवाइखवाइ र रहनसहन बुझेका भए यतिखेर बलेखूको तीरमा मुटुछेड सिरेटो खाएर बस्नु पथ्र्यो र ? इत्यादि इत्यादि खालका हृदय छुने प्रश्नहरू गरेर बूढाबाले मलाई पो झिज्याए । मैले एसम्यानलेझैँ उनले बोलेका कुरालाई सुनिरहेको भए छोरी र आफ्नो बीचको सम्बन्धलाई पर्दा नै नराखीकन भन्ने उनको सुर थियो । छोरीले आफ्नो लवाइमा, खवाइमा र बोलाइमा गरेको नकारात्मक टिप्पणीले आफूलाई छियाछिया पारेको कुरा भन्ने आँट उनले गरेझैँ लाग्यो । यतिबेला मैले ठाने-अर्काको हुमत सुन्नु पनि त ठीक होइन ।

आफू त प्रातः भ्रमणका निम्ति निस्किएको मान्छे भएकाले धेरै बेरसम्म बूढाबाको गथासो सुन्ने समय पनि थिएन । त्यसैले म आफ्नो बाटो लागेँ । बूढाबाले दिमागभरि नयाँ-नयाँ खरखजना राखिदिएका थिए । मैले पनि त्यसै खजनाका सहराले बाटो काट्न थालेँ । बूढाबाकी सहरिया छोरीलाई गुन्दु्रक पनि चाहिँदो रहेछ । उनलाई ताजा घिउ पनि उत्तिकै मात्रामा पिउनुपर्दो रहेछ । च्यापुमै टाँसिने गरी अनदीको चाम्रे पनि हसुर्नु पर्ने रहेछ । मस्यौरा मिसाएको र थोर-थोरै अमिलो राखेको खरी पिँडालुको तरकारी पनि त छोरीले बिर्सिएकी रहिनछन् । मान्छे सहरिया भए पनि ज्रि्रो भने उस्तै उस्तै हुँदो रहेछ । कहीँ ज्रि्राले पनि सहरिया र गाउँले भनेर छुट्याउँछ र ? छोरीका लागि बाबुको बूढो शरीरभन्दा पनि आफ्नै लोग्नेको घरको इज्जत ठूलो लाग्दो रहेछ । अन्यथा सकीनसकी खरखजना बोकेर आएका बूढाबा किन बाटैमा अलपत्र पर्थे त ?

बूढाबा र उनकी छोरीका बीचमा कतिबेपछि भेट भयो वा भएन, भेट भएको भए कतिबेरपछि भयो होला ? आफ्ना बालाई ती छोरीले बलेखूको पुल काट्न दिएर आफ्नो इज्जत फाल्ने सम्भावना नै थिएन । म आफू छुट्टिएपछि ती बाबु र छोरीका बीचमा के के वार्तालाप भए होलान् त्यसबारेमा त मैले केही सोचिनँ, तर त्यतिबेला मेरो मस्तिष्कबाट भीमनिधि तिवारीकै शैलीमा यस्तो पङ्क्ति निस्कियो- “बूढाबा अहहा परे विपतमा पीडा त बुझ्ने छ को ?

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.