तिम्रो लामो आयुको कामना गर्दै
कहिल्यै नसुक्ने मखमलीको माला र
निधारमा सप्तरंगी टिकाले सजाएकी थिएँ
धेरै धेरै मंगलकामना गर्दै सगुन खुवाएकी थिएँ
तर लम्ब्याउन सकेन मखमली माला र सगुनले तिम्रो आयु
तिमी कहिल्यै नआउने गरी गयौ
मैले दैलोमा छेकेको तेलको धाराले
तिम्रो मृत्यु छेक्न सकेन
म भित्रको विश्वासलाई जीवित राखन सकेन
दाजु भाइ र दिदी बहिनीको पवित्र बन्धन
ताजा गराउन आउने यो चाड भाइटिकाले
सधै मेरो विगत कोट्याइदिन्छ
कता कता श्वास फुले जस्तो र
गला सुके जस्तो हुन्छ
त्यसै त्यसै आँखा रसाएर आउँछ
भित्री मन रोएर होला
यो तिहार नआए हुन्थ्यो जस्तो लाग्छ।
संघारमा फुटाएको ओखरले तिम्रो विपत्ती टार्न सकेन
न मैले फर्काउन सकें तिमीलाई यमराजको पंजाबाट
हरेक वर्षको भाइटिकाको आगमनले
तिम्रो सामिप्यताको स्मरण गराउँछ
अनि पीडाबोध हुन्छ तिमीसंगको विछोडले
तिमी कहाँ छौ थाहा छैन मलाई
तर पनि आँखा वरिपरी घुमिरहन्छौ
तिम्रो आवाज गुन्जिरहन्छ
कहिले निको नहुने यो पीडा
यसै गरी बेला बेलामा बल्झिरहन्छ
तिमीले छाडेर गएदेखि नै तिहार सून्य लाग्छ
भित्री मन रोएर होला
यो तिहार नआए हुन्थ्यो जस्तो लाग्छ।
हरेक बर्ष आउने तिहारमा
सयपत्री मखमली र गोदावरीका मालाहरू
किन्ने बेच्नेको होडमा मेरो कुनै सहभागिता हुदैन
टुलु टुलु हेरिरहन्छु म
आफुलाई अतितमा हराएर
एकोरिने गर्छु म त्यो बेला
तिम्रो वात्शल्य संझेर
त्यसै त्यसै पग्लिन्छु म
नियास्रो मेट्न तिम्रो सामिप्य खोजिरहेकी हुन्छु
थाहा छ तिमी आउँदैनौ भनेर
तर पनि किन किन मलाई
तिमी टुप्लुक्क आउँछौ जस्तो लाग्छ
तर्कना हो मनको संझेर चित्तलाई बुझाउँछु
भाइटिकामा बढी तिम्रो नियास्रो लाग्छ
भित्री मन रोएर होला
यो तिहार नआए हुन्थ्यो जस्तो लाग्छ।
तिमी श्रध्देय सधै मेरो मन भित्र सजाउँछु
यी हरफ तिमीलाई श्रध्दा सुमन चढाउँछु।
[नेपालीपोष्ट.कम मा प्रकाशित]
October 15, 2009
(स्रोत : रचनाकारको ब्लगबाट सभार)